Sunday, March 2, 2008

इन्टरनेट ब्राउजरहरूको युद्ध

हामी सबैले इन्टरनेट चलाउन प्रयोग गर्ने इन्टरनेट ब्राउजर संभवत सबैभन्दा बढि प्रयोग हुने कम्प्युटर सफ्टवेयर हो। यसकारण पनि यस प्रकारका इन्टरनेट ब्राउजिङका निम्ति प्रयोग हुने निकै नै धेरै सफ्टवेयरहरूको विकास भएको छ। र यस्ता सफ्टवेयरहरू बीच एक आपसमा निकै नै धेरै प्रतिस्पर्धा हुने गरेको पाइएको छ। स-साना सफ्टवेयरहरू बीच त्यति ठूलो खालको प्रतिस्पर्धा नभए पनि केही ठूला तथा प्रमुख ब्राउजरहरू बीच युद्धस्तरमा नै प्रतिस्पर्धा हुने गरेको पाइएको छ। यस ब्राउजर युद्धको प्रमुख प्रतिस्पर्धीको रुपमा इन्टरनेट एक्सप्लोरर् (Internet Explorer), मोजिला फायरफक्स (Mozilla Firefox) तथा ओपेरा (Opera) ब्राउजर पर्ने गरेका छन्।

इन्टरनेट ब्राउजरको इतिहास खोतल्दै जादाँ सन् १९९० को सुरुतिर भएको इन्टरनेट प्रविधिको विकास तथा सर्वसाधारणको त्यससम्मको पहुँच सम्म पुग्न सकिन्छ। सन् १९९० को सुरु तिर इन्टरनेट सर्वसाधारणका लागि खुला हुन थाले पछि HTML को विकास भयो। HTML कोडिङ प्रणालीको माध्यमबाट इन्टरनेटको मार्फत अक्षर तथा तस्विरहरू हेर्न सकिन्थ्यो। तर त्यति बेला कुनै ब्राउजरको विकास भैसकेको थिएन। तर Mosiac नामको ब्राउजरको विकासपछि इन्टरनेट चलाउने तरिका बारे व्यापक परिवर्तन आयो। Mosiac सुरुमा Unix Operating System का निम्ति बनाइएको भए पनि पछि यसलाई Windows तथा Apple मा पनि चल्ने बनाइयो। यसबाट Mosiac ब्राउजर निकै प्रचलित हुनुका साथै प्रयोगकर्ताहरू माझ इन्टरनेट तथा www को अवधारणा विकसित गरिदियो। पछि Mosiac का विकासकर्ताहरू ले Netscape Communications Corporation नामक कम्पनीको सुरुवात गरे र निकै नै प्रसिद्ध Netscape Navigator नामको ब्राउजरको बिकास गरे। निकै लामो समय सम्म यस Netscape Navigator निकै नै चलन चल्तीमा रह्यो।

यसै बीचमा Spyglass नामको कम्पनी ले Internet Explorer नामको ब्राउजरको विकास गरेको थियो, जुन पछि माइक्रोसफ्ट ले खरिद गर्‍यो र Internet Explorer को बिक्रीवितरण माइक्रोसफ्टले गर्न थाल्यो, जुन अहिले विश्वको सबै भन्दा बढि प्रयोग हुने ब्राउजरमा पर्दछ। धेरैलाई यो कुरा अचम्म लाग्न सक्छ कि माइक्रोसफ्टको यति धेरै प्रचलित ब्राउजर Internet Explorer माइक्रोसफ्ट आफैले विकास गरेको थिएन।

Internet Explorer को बिकास हुनु भन्दा अगाडि Netscape Navigator प्रमुख ब्राउजर थियो। Internet Explorer को चौथो संस्करण आउँदा सम्म पनि यसको बजार केबल १८% मात्र थियो। Netscape Navigator गुणात्मक तथा प्रयोगको हिसाबले पनि Internet Explorer भन्दा निकै नै अगाडि थियो।

तर internet explorer को चौथो संस्करणले धरै कुरामा परिवर्तन ल्याइदियो। Internet explorer को यस संस्करण निकै छिटो हुनुका साथै सबै गुणस्तर तथा मापदण्डहरु प्रयोग गरि बनाइएको थियो। माइक्रोसफ्ट विन्डोजको update रुपमा वितरण गरिएको यस Internet Explorer को यस संस्करण कम्प्युटरमा हालेपछि ब्राउजर मात्र नभइ कम्प्युटरमा mp3 तथा अन्य श्रव्य दृश्यको सुविधा पनि उपलब्ध हुने गर्नाले Internet Explorer को यस चौथो संस्करण निकै नै प्रचलित रह्यो। Netscape Navigator तथा Internet Explorer बीचको युद्ध त्यसपश्चात निकै चर्को रुपमा बढ्न थाल्यो।

ब्राउजरहरूको यस युद्धमा माइक्रोसफ्टका केही फाइदा पुर्‍याउने विषयहरू थिए। माइक्रोसफ्ट निकै नै धनी कम्पनीको रुपमा विकसित भइसकेको थियो। Netscape जम्मा एक सफ्टवेयर Netscape Navigator को भरमा टिकेको थियो भने माइक्रोसफ्टमा बिभिन्न सफ्टवेयरहरू थिए। त्यसकारण पनि Netscape Navigator मा लगानी गर्न Netscape का निम्ति कुनै अन्य आर्थिक श्रोत थिएन।

माइक्रोसफ्टको विन्डोजको बजार करिब ९०% थियो, र हरेक विन्डोज संगै Internet Explorer सित्तैमा उपलब्ध हुने गर्दथ्यो। त्यसकारण पनि हरेक विन्डोजको प्रयोगकर्तासंग सित्तैमा Internet Explorer उपलब्ध हुने गर्दथ्यो। सुरु सुरुमा Netscape Navigator को गुणस्तर Internet Explorer भन्दा निकै राम्रो भएकाले Internet Explorer हुदाहुदै पनि धेरै प्रयोगकर्ताहरूले Netscape Navigator कम्प्युटरका हालेर प्रयोग गर्ने गर्दथे। तर विस्तारै Internet Explorer को गुणस्तरमा सुधार हुदै गएपछि धेरैले विन्डोजमै सित्तैमा उपलब्ध हुने Internet Explorer नै चलाउन थाले।

यसबाहेक माइक्रोसफ्टले आफ्नो प्रभावको फाइदा उठाउदै Internet Explorer लाई निकै अगाडि ल्याएको थियो। माइक्रोसफ्टले Mac कम्प्युटरमा पनि Internet Explorer चलाउनु पर्ने गरि Apple Computer संग सम्झौता गर्न सफल भएको थियो, जसका कारणले Mac कम्प्युटरमा पनि सन् १९९७ देखि ५ वर्षका निम्ति माइक्रोसफ्टको Internet Explorer चलाउनु पर्ने भयो। सन् २००२ सम्म आइपुग्दा Internet Explorer को बजार ९६% पुगिसकेको थियो। Netscape यस अवस्था सम्ममा पूर्ण रुपमा यस युद्धबाट बाहिर पुगिसकेको थियो। Internet Explorer विश्वको प्रमुख ब्राउजर बन्न पुग्यो।

Internet Explorer को यस जित माइक्रोसफ्टको निम्ति सुखद भएपनि प्रयोगकर्ता को निम्ति यो निकै नै दुर्भाग्यपूर्ण हुन गयो। एउटै मात्र ब्राउजर भएका कारण ब्राउजरमा कुनै पनि महत्वपूर्ण सुधारहरु भएनन्। आफुमात्र ब्राउजरहरू मध्ये प्रमुख भएकाले Internet Explorer ले वेबपेजहरुका गुणस्तर तथा मापदण्डहरु पालना गर्न जरुरी मानेन। त्यसतै Internet Explorer मा रहेका विशेषत सुरक्षा प्रणालीमा रहेका खराबीहरू पनि सुधार भएनन्।

Internet Explorer लाई सुरक्षा तथा गुणात्मक हिसाबले निकै नै नराम्रो ब्राउजर भएका कारण तथा एकै मात्र ब्राउजरको प्रभाव भएको हुदा यस ब्राउजरको प्रतिस्पर्धीको रुपमा फायरफक्स वेब ब्राउजर अगाडि आयो Mozilla Firefox पहिले प्रचलित Netscape Navigator मा आधारित छ र यसलाई Mozilla Foundation ले मोजिला प्रोजेक्ट अन्तर्गत निर्माण गर्ने गर्दछ। यसको सबैभन्दा पहिलो सँस्करण सन् २००४ मा निकालिएको थियो।

अहिले पनि Internet Explorer को बजार निकै नै माथि भएपनि मोजिला फायरफक्सले बढ्दो रुपमा बजार लिइरहेको छ। गुणस्तर तथा सुरक्षाको हिसाबले पनि मोजिला फायरफक्स निकै नै उच्चस्तरीय रहेको पाइएको छ। त्यसमाथि Internet Explorer को पछिल्लो सातौ संस्करण लाई निकै नै कम प्रयोगकर्ताले मात्र रुचाउने गरेको पाइएको छ।

ब्राउजरको यस युद्धमा Opera ब्राउजर पनि निकै नै बलियो रुपमा पहिले देखि आइरहेको छ। निकै नै सुविधाहरु तथा छिटो यस ब्राउजर पनि निके धेरै प्रयोगकर्ताहरूले रुचाउने गरेको पाइएको छ। यसबाहेक यस Opera ब्राउजर मोबाइलहरूमा पनि उपलब्ध हुने गरेकाले कम्प्युटरमा भन्दा मोबाइल जस्ता स-साना उपलकरणहरूमा यस Opera ब्राउजर धेरै प्रचलित रहेको छ।

No comments: