Saturday, May 12, 2007

लिनक्सका बारेमा केही सत्य, अर्धसत्य र असत्य धारणाहरू

लिनक्स सञ्चालन प्रणाली (operating system) अहिले निकै चलन चल्तीमा आइरहेको छ।विश्वभरनै लिनक्सका प्रयोगकर्ताहरुको सङ्ख्या बढ्दो छ। नेपालमा पनि लिनक्स प्रयोगकर्ताहरु बढ्दै गइरहेको पाइएको छ। यस सन्दर्भमा हामी लिनक्सको बारेमा रहेक केही सत्य तथा अर्धसत्य धारणाहरूका बारेमा चर्चा गर्दैछौं।

लिनक्स इन्स्टल (install) गर्न गार्‍हो हुन्छ

असत्य

लिनक्सका विभिन्न संस्करणहरुका आधारमा भन्ने हो भने प्रायजसो संस्करणहरु विन्डोज अपरेटिङ्ग सिस्टम भन्दा छिटो र सजिलोसंग इन्स्टल (install) गर्न सकिन्छ। कतिपय लिनक्स संस्करणहरु एक घन्टा भन्दा कम समयमा सम्पुर्ण आवश्यक पर्ने अन्य सफ्ट्वेयरहरु र अपडेटहरुका साथमा लिनक्स इन्स्टल गर्न सकिन्छ जस्तो रेडह्याट (Redhat) लिनक्स, फेडोरा (Fedora) लिनक्स, म्यान्ड्रिभा (Mandriva) लिनक्स र उबन्टु (Ubuntu) लिनक्स। वास्तवमा कुनै कुनै लिनक्स संस्करणहरु धेरै थपघट गरेर इन्स्टल गर्न सकिने खालका हुन्छन, जसले गर्दा ती संस्करणहरुको इन्स्टलेसन प्रक्रिया केहि गार्‍हो हुन्छ जस्तो जेन्टु (Gentoo) लिनक्स। लिनक्स इन्स्टल गर्दा पुरा सुबिधासम्पन्न डेस्कटप, अफिस प्याकेज, सिडि-डिभिडि बर्न गर्ने सफ्टवेयर, चित्र सम्पादन गर्ने टुल्सहरु, ई-मेल इन्टरनेटका प्रोग्रामहरु र धेरै भन्दा धेरै खेल प्रोग्रामहरु हुन्छन। त्यो पनि सम्पुर्ण स्वतन्त्रताका साथ र निशुल्क। यसका साथै अन्य प्रोग्रामहरुको आवश्यकता परे सजिलै उपलब्ध हुन्छन्।

लिनक्समा प्रोग्रामहरु हाल्न गार्‍हो हुन्छ

अर्ध सत्य

केही बर्ष पहिले सम्म लिनक्समा प्रोग्रामहरु हाल्न निकै नै गार्‍हो हुन्थ्यो। तर लिनक्सका पछिल्ला संस्करणहरुमा नयाँ प्रोग्रामहरु खोज्न र हाल्न निकै सजिलो भएको छ। यदि तपाईसंग इन्टर्नेटको सुविधा छ भने सजिलैसँग सफ्टवेयरहरु डाउनलोड गरेर आफ्नो कम्प्युटरमा हाल्न सकिन्छ। इन्टर्नेटमा रहेका सफ्टवेयरहरु त्यस्ता भण्डारलाई रिपोजिटेरि (Repository) भनिन्छ। यदि तपाईलाई चाहिएको सफ्टवेयर रिपोजिटेरिमा छन् भने सफ्टवेयर हाल्न कुनै समस्या हुदैन। तर यदि सफ्टवेयर रिपोजिटेरिमा रिपोजिटेरिमा छैन भने चाहि सफ्टवेयर हाल्न केही गार्‍हो हुन सक्छ। तर लिनक्समा चल्ने अधिकांश सफ्टवेयरहरु रिपोजिटेरिमा हुने गर्छन्। त्यसैले लिनक्समा सफ्टवेयर हाल्न खासै समस्या पर्दैन।


लिनक्सका लागि एन्टि भाइरस (Anti Virus) प्रोग्राम चाहिन्छ

असत्य

लिनक्समा भाइरसको समस्या हुदैन। लिनक्समा भाइरस नै नहुने त हैन तर ती अत्यन्तै कम (केहि दर्जन) मात्र छन्। र ती केही भाइरस पनि अन्य भाइरस जस्तै एक कम्प्युटरबाट अन्य कम्प्युटरमा सर्ने खालका छैनन्। त्यसैले लिनक्स चलाउदा भाइरसको कुनै चिन्ता लिनु पर्दैन।

लिनक्स अति नै सुरक्षित सञ्चालन प्रणाली (Operating System) हो। कुनै पनि भाइरसलाई एक कम्प्युटर बाट अर्को कम्प्युटरमा सर्नका निम्ति जुन खुकुलो सञ्चालन प्रणालीको आवश्यकता पर्छ त्यो लिनक्समा सम्भव हुदैन।


लिनक्सलाई ह्‍याक (hack) गर्न सकिन्न

असत्य

कुनैपनि जटिल सफ्टवेयर जस्तै लिनक्समा पनि समस्याहरु आउन सक्छन् र ती समस्याहरुलाई समाधान गर्नुपर्ने हुन सक्छ। त्यसैले लिनक्स ह्‍याक गर्न सकिन्न भन्नु गलत हो। तर लिनक्स विश्‍वभर फैलिएर रहेका लिनक्स बिकासकर्ता (developers) हरुले बनाउने हुनाले लिनक्सलाई ह्‍याक गर्न सकिने सम्भावनाहरु कमै हुने गर्छन्।

त्यस्तै तपाईलाई लिनक्समा कुनै समस्या पर्‍यो भनेपनि इन्टर्नेटमा रहेका विभिन्न फोरुम (forum) हरुमा आफ्नो समस्या राखिदिनुभयो भने केही घण्टामै तपाईको समस्याको समाधान विश्‍वभर रहेका अन्य लिनक्स प्रयोगकर्ताहरुले गरिदिनेछन्। त्यसैले लिनक्सलाई ह्‍याक गर्नै नसकिने हैन तर यदि समस्या आईहालेको खण्डमा पनि इन्टर्नेटको माध्यमबाट समस्या तुरुन्तै समाधान हुने गर्छ।

यसबाहेक बुझ्नुपर्ने अर्को कुरा के छ भने, लिनक्सलाई अति नै सुरक्षित सञ्चालन प्रणाली (Operating System) मानिन्छ। लिनक्सलाई अन्य सञ्चालन प्रणालीभन्दा ह्‍याक गर्न निकै गार्‍हो प्रणालीका रुपमा चिनिन्छ।


लिनक्समा कम्प्युटर हार्डवेयरहरु राम्रो सँग चल्दैन

अर्ध सत्य

सत्य के हो भने लिनक्सको हार्डवेयर सञ्चालन विधि अन्य सञ्चालन प्रणालीहरू (Operating System) भन्दा राम्रो छ। तर तपाईसँग कुनै अति नयाँ हार्डवेयर छ भने त्यो लिनक्समा नचल्न पनि सक्छ। तर विश्‍वभर फैलिएर रहेका लिनक्स developer हरुले यो समस्याको समाधान गरिरहेका हुन्छन्। केहि समय पर्खिनुभयो भने तपाईको हार्डवेयर सम्बन्धि समस्या समाधान हुनेछ।

यसबाहेक लिनक्समा विन्डोज सञ्चालन प्रणालीका निम्ति बनाइएका सस्ता मोडेम (Modem) हरु नचल्न पनि सक्छन्। यसका निम्ति तपाईले अर्को राम्रो खालको मोडेम किन्नुपर्ने हुन सक्छ।


लिनक्स चलाउन गार्‍हो हुन्छ

असत्य

कुनै नयाँ कुरा सिक्न सामान्यतया गार्‍हो नै हुने गर्छ। लिनक्समा पनि यहि कुरा लागु हुन्छ। तपाई अरु नै कम्प्युटर प्रणालीमा अभ्यस्त हुनुहुन्छ भने लिनक्स चलाउदा सुरु सुरुमा गार्‍हो हुनु स्वभाविक हो तर लिनक्स आफैमा गार्‍हो पक्कै पनि हैन।


विन्डोजको प्रोग्राम लिनक्समा चल्दैन

अर्ध सत्य

विन्डोजको प्रोग्राम लिनक्समा सिधै चलाउन सकिन्न तर वाइन (Wine) वा क्रसओभर लिनक्स (Crossover Linux) जस्ता प्रोग्रामका माध्यमद्वारा विन्डोजको प्रोग्राम लिनक्समा चलाउन सकिन्छ। तर सामान्यतया लिनक्समा विन्डोजको प्रोग्रामनै चलाउनुपर्ने आवश्यकता नपर्न सक्छ। विन्डोजका प्रोग्रामका सट्टामा लिनक्समा छुट्टै प्रकारका प्रोग्रामहरु हुन्छन्। उदाहरणका लागि, विन्दोजमा चल्ने फोटोसप (Photoshop) भन्ने प्रोग्रामको सट्टमा लिनक्समा जिम्प (GIMP) भन्ने प्रोग्राम हुन्छ। त्यस्तै माइक्रोसफ्ट अफिसको (Microsoft Office) सट्टमा ओपनअफिस (OpenOffice) भन्ने प्रोग्राम हुन्छ। त्यस्तै इन्टर्नेट चलाउन, ईमेल पढ्न, सङ्गीत सुन्न, ईत्यादी कामका लागि लिनक्समा भिन्नै प्रकारका प्रोग्रामहरु पाईन्छन्। यी प्रोग्रामहरु विन्डोजका प्रोग्रामहरू भन्दा सामान्यतया उस्तै वा अझै राम्रा हुन्छन्।


(यस लेख लेख्न सहयोग पुर्‍याउनु हुने अंकुर शर्मा तथा हिमाली किरण भुसाल लाई धेरै धेरै धन्यवाद)