केही समय यता लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट विन्डोजमा हुने भाइरस तथा कम्प्युटर ह्याङग हुने समस्या अनि सुरक्षा सम्बन्धी कारणले गर्दा दिक्क भई विश्वका धेरै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग तथा सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका कारणले पनि लिनक्सको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ।
तर लिनक्स चलाउन चाहने जोसुकै सबै भन्दा पहिले लिनक्सका सयौं प्रकारहरूका बीच हराउने गर्दछन्। लिनक्सका बारेमा पहिले सुन्नु भएको छ भने पक्कै पनि तपाईले रेडह्याट, फेडोरा, उबुन्तु जस्ता विभिन्न लिनक्सका प्रकारका बारेमा सुन्नु भएको होला। यस्ता लिनक्सका प्रकारहरूलाई distribution वा छोटकरीमा distro भन्ने गरिन्छ। अहिलेसम्म पाच सय भन्दा बढि यस्ता डिस्ट्रोहरूको विकास भैसकेको छ। रमाइलो कुरा के छ भने, यदि तपाईसँग लिनक्सको ज्ञान छ भने तपाई पनि आफ्नै यस्तो डिस्ट्रो बनाउन सक्नु हुन्छ।
फरक फरक डिस्ट्रोको आ-आफ्नै विशेषता हुने गर्दछ। कुनै डिस्ट्रो डेस्कटप कार्यहरूका निम्ति उपयुक्त हुन्छ भने कुनै डिस्ट्रो सर्भरका निम्ति। त्यस्तै वैज्ञानिक खोज, इन्जिनियरिङ्ग कार्य तथा विभिन्न क्षेत्रको निम्ति फरक फरक विशेषता भएका डिस्ट्रोहरु पाउन सकिन्छ। आज हामी लिनक्सका केही प्रमुख डिस्ट्रोहरू तथा ती डिस्ट्रोहरू के कार्यका निम्ति प्रयोग गर्न सकिन्छ भनेर चर्चा गर्नेछौ।
यदि तपाइ घरमा टाइप गर्न, इमेल इन्टरनेट प्रयोग गर्न, भिडियो तथा अडियो कार्यहरूका निम्ति प्रयोग गर्न लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ भने उबुन्तु लिनक्स उपयुक्त हुन सक्छ। केही समय यता उबुन्तु लिनक्स निकै नै राम्रो हुदै गइरहेको तथा बढि भन्दा बढि हार्डवेयर हरू चल्ने हुँदै गइरहेको छ। त्यसमाथि Canonical नामको कम्पनीले निर्माण गर्ने तथा हरेक ६ महिनामा नया सँस्करण निकालिने हुनाले पनि यस डिस्ट्रोको प्रयोग गर्दा सधै updated भइने कुराको ग्यारेन्टी हुने गर्दछ। यदि तपाईको कम्प्युटरमा इन्टरनेटको सुविधा छ भने नयाँ सफ्टवेयरहरू हाल्न पनि यस उबुन्तु लिनक्समा निकै नै सजिलो हुने गर्दछ।
यसबाहेक घरको कम्प्युटरमा प्रयोग गर्नको निम्ति Fedora लिनक्स पनि निकै नै प्रचलित छ। उबुन्तु लिनक्स जस्तै ६ ६ महिनामा नयाँ सँस्करण आउने नभए पनि यस लिनक्स विश्वव्यापी रुपमा धेरै प्रयोगकर्ताहरूले प्रयोग गर्ने गर्दछन्।
यदि तपाई चलउादा विन्डोज जस्तै लाग्ने लिनक्सको खोजीमा हुनुहुन्छ भने सबै भन्दा राम्रो डिस्ट्रो Xandros Desktop हुन सक्छ। Xandros Desktop विन्डोजको प्रयोगकर्ताहरूलाई गार्हो नहुने गरि तथा चलाउँदा प्राय विन्डोज जस्तै लाग्ने गरि बनाइएको छ। हुन त लिनक्स चलाउने भनेपछि विन्डोज जस्तै देखिनु त्यति सान्दर्भिक नहोला, तर कसै कसै लाई यो पक्ष महत्वपूर्ण हुन सक्छ।
Linspire नामको डिस्ट्रो पनि विन्डोजका प्रयोगकर्ताहरूलाई सजिलो लाग्न सक्छ। Xandros जस्तै विन्डोजसंग मेल खाने बनाइएको भए तापनि यसमा Xandros को भन्दा सजिलो सँग सफ्टवेयरहरू हाल्न सकिन्छ। केही क्लिकमै सफ्टवेयर सर्च गर्ने तथा इन्स्टल गर्ने सुविधा Linspire मा रहेको छ।
यदि तपाई Xandros वा Linspire प्रयोग गर्ने सुरमा हुनुहुन्छ भने तपाईका निम्ति Progression Desktop नामको सफ्टवेयर पनि निकै काम लाग्न सक्छ। यस सफ्टवेयरले कम्प्युटरमा रहेको विन्डोजका सेटिङ् तथा फाइलहरूलाई लिनक्समा सार्ने गर्दछ।
विन्डोजमा चल्ने गेम लिनक्समा खेल्नका लागि विशेष प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्। यस प्रकारका कार्यका निम्ति Win4Lin नामको डिस्ट्रो उपयुक्त हुन सक्छ। तर यस डिस्ट्रोमा इन्टर्नेट चलाउन भने अलि अप्ठ्यारो भएको कुरा यसका प्रयोगकर्ताहरूले बताएका छन्। त्यस्तै TransGaming Technologies ले बनाएको Cedega नामको सफ्टवेयरको प्रयोगबाट पनि कुनै पनि लिनक्स डिस्ट्रोमा विन्डोजका गेमहरु खेल्न सकिन्छ।
यसबाहेक विन्डोजमा चल्ने सफ्टवेयरहरू लिनक्समा चलाउनको निम्ति Wine नामको सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ।
अफिसका निम्ति प्रयोग गर्न पनि विभिन्न प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्।
यदि तपाइ हेर्दा राम्रो तथा चलाउन पनि सजिलो लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ भने Novell को OpenSUSE प्रयोग गर्न सक्नु हुन्छ।
अफिसका निम्ति RedHat Enterprise Edition लिनक्स पनि प्रयोग गर्न सकिन्छ। केहि समय यता उबुन्तु लिनक्स पनि निकै राम्रो तथा सुधारिएको रुपमा उपलब्ध हुन थालेको छ। त्यसकारण यस लिनक्स पनि अफिसहरूमा प्रयोग गर्न सकिन्छ।
त्यस्तै यदि तपाई शैक्षिक कार्यका निम्ति लिनक्सको प्रयोग गर्न चाहनुहुन्छ भने Edubuntu नामको लिनक्समा निकै नै शैक्षिक सामाग्रीहरू रहेका छन्। बालबालिका निम्ति शैक्षिक खेलहरू देखि लिएर कलेज पढ्ने विद्यार्थीहरूका निम्ति पनि विभिन्न सफ्टवेयरहरू रहेको यस Edubuntu उबुन्तु लिनक्सलाई परिमार्जित गरि बनाइएको हो, र प्रत्येक ६ ६ महिनामा यसको नयाँ सँस्करण आउने गर्दछ।
श्रव्य दृश्य सम्बन्धी कार्यको निम्ति उबुन्तुकै छुट्टै डिस्ट्रो पनि रहेको छ। Ubuntu Studio नाम दिइएको यस लिनक्स डिस्ट्रोमा श्रव्य तथा दृश्य सम्पादनका निम्ति थुप्रै सफ्टवेयरहरू रहेका छन्।
यदि तपाई कम्प्युटर सम्बन्धी काम गर्नु हुन्छ र लिनक्स सिकि यसलाई आफ्नो पेसा बनाउन चाहनुहुन्छ भने तपाईको निम्ति Redhat Linux उपयुक्त हुने गर्दछ। Redhat linux ले लिनक्सका विभिन्न पाठ्यक्रम बनाउनुका साथै परीक्षा पनि लिने गर्दछ। Redhat को Redhat Certified Professional नामको लिनक्स सम्बन्धी पाठ्यक्रम तथा यसको परीक्षा विश्वभरी नै चर्चित रहेको छ र यसको परीक्षा उत्तीर्ण गरेको जो कोहीलाई विश्वव्यापी रूपमा लिनक्सको विज्ञको मान्यता दिइने गरिन्छ।
लिनक्सलाई निकै नै पुरानो कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुराना कम्प्युटरहरूमै प्रयोग गर्न बनाइएको Damn Small Linux नामको लिनक्स डिस्ट्रो पुरानो Pentium तथा 486 कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुरानो कम्प्युटरमा चल्ने भए तापनि यस Damn Small Linux मा नयाँ लिनक्समा रहेका सम्पूर्ण सुविधाहरू रहेका छन्। यसरी लिनक्सको प्रयोग गरि तपाइ फाल्न तयार पारिएका कम्प्युटरहरूमा पनि नयाँ ज्यान भर्न सक्नुहुन्छ।
यदि तपाइ नेपाली मा लिनक्स चलाउन चाहनुहुन्छ भने यो सुविधा पनि लिनक्समा उपलब्ध छ। यसको निम्ति मदन पुरस्कार पुस्तकालयद्वारा निर्माण गरिएको नेपालीनक्स निकै नै राम्रो रहेको छ। हुन त अरू लिनक्स डिस्ट्रोहरू पनि नेपाली भाषामा आउने बनाउन सकिन्छ तर यस नेपालीनक्सलाई विशेषत नेपालीमै चलाउन मिल्ने गरि बनाइएको छ। यसमा रहेका सम्पूर्ण सफ्टवेयरहरू नेपाली भाषामा रहेको छन्। त्यसकारण अंग्रेजी भाषाको प्रयोगको कारण कम्प्युटरको प्रयोग गर्न गार्हो हुने गरेको छ भने यस नेपालीनक्स निकै नै सजिलो हुन सक्छ। नेपालीनक्सको सिडि ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयको कार्यालयमा निकै नै कम मूल्यमा प्राप्त गर्न सक्नु हुन्छ।
यति धेरै रहेका लिनक्सका डिस्ट्रोहरुमा निकै नै विविधता पाउन सकिन्छ। विभिन्न लिनक्स डिस्ट्रोका आ-आफ्नै विशेषता हुने भएका ले कुनै एक लिनक्स डिस्ट्रोलाई उत्तम भन्न सकिन्न। जति धेरै डिस्ट्रोहरु भए तापनि लिनक्सको प्रयोग गर्नु भन्दा पहिले आफ्नो आवश्यकताहरूको सहि पहिचान गर्न सकियो भने लिनक्स डिस्ट्रो छान्नु कुनै गार्हो कार्य भने पक्कै पनि हैन।
Friday, January 25, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment