यदि तपाई मोबाइल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले Bluetooth को बारेमा पक्कै पनि सुन्नु भएको होला। सामान्यतया मोबाइल र कम्प्युटरको बीचमा फाइल आदानप्रदान गर्न प्रयोग हुने यस प्रविधिको माध्यमबाट फाइल आदानप्रदान गर्ने मात्र नभइ अन्य विभिन्न कार्यहरू गर्न सकिन्छ। यसै Bluetooth प्रविधि तथा यसको विभिन्न उपयोगिताको बारेमा केही चर्चा गरौँं।
Bluetooth अत्यन्त कम बिजुली खपत गर्ने छोटो दुरीको वायरलेस प्रविधि हो। यसरी छोटो दुरीमा रहेका कम्प्युटर तथा मोबाइल उपकरणहरूको बीच तार रहित सञ्जालको प्रयोग गरि Bluetooth प्रविधिद्वारा फाइल देखि श्रव्य-दृश्य सम्म आदानप्रदान गर्ने कार्य गर्न सकिन्छ। Bluetooth नाम डेनमार्कका राजा Harold Bluetooth बाट लिइएको हो। राजा Harold ले डेनमार्क, स्वीडेन तथा नर्वेलाई एकीकरण गर्ने कार्य गरेका थिए। यसरी नै विभिन्न कम्प्युटर तथा अन्य उपकरणहरूलाई एकै प्रकारको सञ्जाल प्रविधिले एकीकरण गर्ने उद्देश्यका निम्ति Bluetooth प्रविधिको विकास भएको हो। Bluetooth को सवैभन्दा रमाइलो पक्ष भनेको यसको ताररहित प्रविधि नै हो। Bluetooth को माध्यमद्वारा कुनै दुई उपकरणहरूको बीच सूचना आदानप्रदान गर्दा ती उपकरणहरूलाई एक अर्काको signal समात्ने ठाउँमा जता राखेपनि हुन्छ। जसले गर्दा तारका कारणले हुने झन्झट तथा उपकरणहरू राखिएको डेस्क फोहोर हुने समस्याबाट पनि बच्न सकिन्छ।
Bluetooth को प्रयोग मोबाइलमा फाइल आदानप्रदान गर्न धेरै प्रयोग हुने गरे तापनि यसको प्रयोग विभिन्न प्रयोजनका निम्ति हुने गर्दछ। मोबाइल प्रयोगकर्ताहरूका निम्ति Bluetooth, wireless headset को रुपमा पनि प्रयोग हुने गर्दछ। यस्ता wireless headset ले तपाईँको मोबाइल फोनसंग Bluetooth को माध्यमद्वारा आवाज आदानप्रदान गर्ने गर्दछ, जसको फलस्वरुप मोबाइल फोन खल्तीमै हाली wireless headset मात्र कानमा अड्काएर मोबाइलमा कुरा गर्न सकिन्छ।
धेरैले Bluetooth को प्रयोग मोबाइलमा मात्र हुने देखे पनि यसको प्रयोग कम्प्युटरमा पनि गर्न सकिन्छ। अचेल Bluetooth को माध्यमद्वारा कम्प्युटरसँग सम्पर्क गर्न सकिने किबोर्ड तथा माउसहरू उपलब्ध छन्, जसको माध्यमद्वारा किबोर्ड तथा माउसलाई तारको माध्यमद्वारा कम्प्युटरमै जोडिराख्नुपर्ने झन्झट हुँदैन। त्यस्तै यस्ता Bluetooth किबोर्ड तपाईँको मोबाइलमा टाइप गर्नका निम्ति पनि प्रयोग गर्न सकिन्छ।
Bluetooth लाई दुई वा दुई भन्दा बढी कम्प्युटर नेटवोर्किङ्ग गर्न पनि प्रयोग गर्न सकिन्छ। Bluetooth प्रणाली आफैमा पनि एक नेटवर्किङ्ग प्रणाली भएकाले अन्य कार्यका निम्ति Bluetooth को प्रयोग गर्दा पनि एक प्रकारको सञ्जालकै प्रयोग हुने गर्दछ।
त्यस्तै अचेलका नया प्रिन्टरहरूमा पनि Bluetooth को सुविधा हुने गरेको छ, जसले गर्दा बिना तारनै प्रिन्टर र कम्प्युटरलाई जोड्न सकिन्छ। अचेलका केही नयाँ फोन तथा क्यामेरामा पनि Bluetooth को सुविधा हुने भएकाले कम्प्युटरमा नजोडि सिधै Bluetooth को माध्यमद्वारा तस्विरहरू प्रिन्ट गर्न सकिन्छ।
त्यस्तै Bluetooth प्रविधिको माध्यमद्वारा आफ्नो मोबाइल फोनलाई रिमोट कन्ट्रोलको रुपमा पनि प्रयोग गर्न सकिन्छ। यसरी मोबाइलबाटै कम्प्युटरमा बजिरहेको गीत परिवर्तन गर्ने देखि लिएर कम्प्युटरका विभिन्न गतिविधिहरू पनि सञ्चालन गर्न सकिन्छ।
यी त भए Bluetooth का केही प्रयोगहरू। अब लागौ Bluetooth प्रविधि तर्फ। Bluetooth २.५ गिगाहर्ज को रेडियो फ्रिक्वेन्सीमा चल्ने गर्दछ। Bluetooth अन्यन्त कम दुरी १० मिटरका चल्ने गर्दछ र यसको गति ३०० किलोबाइट प्रति सेकेण्ड हुने गर्दछ। Bluetooth सञ्चालन हुने २.५ गिगाहर्ज को रेडियो फ्रिक्वेन्सीले कडा बस्तु जस्तै भित्ता पनि पार गर्न सक्ने हुनाले Bluetooth उपकरणहरूले एक देखि अर्को कोठामा पनि वायरलेस सम्पर्क गर्न सक्दछ।
Bluetooth को प्रयोग हुने कुनै दुई उपकरण तदर्थ रुपमा बन्ने नेटवर्क को माध्यमद्वारा जोडिने गर्दछन्। Bluetooth प्रविधि भएका कुनै दुई उपकरणहरू संगै ल्याउदा ती उपकरणहरूले एक अर्कालाई चिनेर तत्कालै एक सञ्जालको माध्यमद्वारा जोडिने गर्दछन्। यस्ता सञ्जाललाई Ad-hoc Network भन्ने गरिन्छ। त्यस्तै आफ्नो दुरीबाट बाहिर गएमा त्यस्तो नेटवर्क तुरुन्तै टुट्ने पनि गर्दछ।
कुनै दुई Bluetooth भएका उपकरणहरू network मा जोडिएपछि ती दुई बीचमा फाइल आदानप्रदान गर्ने देखि लिएर बिभिन्न कार्यहरू गर्न सकिन्छ। यस्ता फरक फरक कार्य गर्नका निम्ति छुट्टा छुट्टै तरिकाहरू हुने गर्दछन्। यस्ता तरिकाहरूलाई प्रोटोकल भन्ने गरिन्छ। उदाहरणको निम्ति फाइल पठाउन, Bluetooth किबोर्ड तथा माउस प्रयोग गर्न अनि मोबाइल फोनलाई मोडेमको रुपमा प्रयोग गर्न छुट्टाछुट्टै प्रोटोकल हरू रहेका छन्।
Bluetooth को यति जानकारी पछि यसको प्रयोग कम्प्युटरमा कसरी गर्ने भन्ने तिर लागौ। अचेलका नयाँ ल्यापटपहरूमा Bluetooth को सुबिधा आन्तरिक रुपमै हुने भए तापनि डेस्कटप कम्प्युटरमा यो सुविधा नहुन पनि सक्छ। यसका निम्ति सानो पेनड्राइभ आकारको Bluetooth dongle नामको उपकरणको प्रयोग गर्नु पर्दछ। यस्ता उपकरणहरू बजारमा सजिलै किन्न पाइन्छन्।
यदि तपाई विन्डोज xp को SP2 भन्दा पहिलेको सँस्करण चलाउनुहुन्छ भने Bluetooth चलाउनका निम्ति Bluetooth dongle सैगै उपलब्ध हुने driver software कम्प्युटरमा हाल्नु पर्ने हुन्छ। तर यदी तपाई विन्डोज xp SP2 वा यो भन्दा नयाँ सँस्करणको प्रयोग गर्नु हुन्छ भने Bluetooth dongle लाई USB मा हाल्ने बित्तिकै यसको प्रयोग गर्न सक्नु हुन्छ।
त्यस्तै तपाई लिनक्सको प्रयोग गर्नु हुन्छ भने पनि यसमा Bluetooth को अत्यन्त राम्रो सुविधा रहेको छ, जसका निम्ति कुनै driver हालीरहनुपर्ने झन्झट हुदैन।
यसरी Bluetooth dongle कम्प्युटरमा हालीसकेपछि कम्प्युटरलाई मोबाईल वा कुनै कम्प्युटरसंग जोड्नका निम्ति pairing गर्नु जरुरी हुन्छ। pairing भन्नाले सामान्य रुपमा बुझ्दा कुनै दुई उपकरणहरूको बीच सूचना आदानप्रदान गर्न स्वीकृति प्रदान गर्नु भन्ने बुझिन्छ।
तत्कात वायरलेस सञ्जाल सुरु गर्न सक्ने भएकाले Bluetooth को सुरक्षामा पनि विशेष ध्यान दिइएको छ। कुनै दुई Bluetooth उपकरणहरू जोड्दा pairing गर्नु जरुरी हुन्छ। त्यस्तै दुई Bluetooth उपकरणहरूले सूचना आदानप्रदान गर्दा सूचनालाई encrypt पनि गर्न सकिन्छ।
तर यति हुँदा हुँदै पनि Bluetooth उपकरणहरूमा सुरक्षाका केही समस्याहरू देखा परेका छन्। मोबाइलहरूमा लाग्ने Bluetooth virus हरु यसैका उदाहरणहरू हुन्। यस्ता भाइरस तथा अन्य सुरक्षा सम्बन्धी समस्याहरू बाट बच्ने सबै भन्दा सजिलो उपाय नचाहिएको बेला आफ्नो मोबाइल वा कम्प्युटरको Bluetooth बन्द गर्नु नै हो। Bluetooth चलाइराख्नु परेमा पनि मोबाइल वा कम्प्युटरलाई Bluetooth को माध्यमद्वारा पत्ता लगाउन नसकिने अर्थात् discovery mode लाई बन्द गर्नु नै राम्रो हुन्छ।
Bluetooth को माध्यमद्वारा स-साना उपकरणहरू बीचको सूचना आदानप्रदान तथा तारका कारणले हुने झन्झटबाट मुक्ति पाउन सकिन्छ। Bluetooth को क्षेत्रमा निकै नै कार्य भैसकेतापनि यो प्रविधि अहिले पनि बिकासको क्रममा नै छ। Bluetooth का आउँदा सँस्करणहरूले १०० मिटरको दुरी सम्म काम गर्ने तथा १०० मेगाबाइट प्रति सेकेन्डको गतिमा पनि कार्य गर्ने बनाउनका निम्ति अनुसन्धानहरू भैरहेका छन्। यसरी आउँदा दिनहरूमा Bluetooth को माध्यमद्वारा कम्प्युटरमा केबल बिजुलीको तार मात्र जोडे पुग्ने तथा अन्य सबै उपकरणहरू Bluetooth को माध्यमद्वारा जोडिने नहोला भन्न सकिन्न।
Friday, March 7, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment