Thursday, August 30, 2007

इन्टरनेटको इतिहास

इन्टरनेट आफैमा एउटा सञ्जाल नभइ विश्वभर छरिएर रहेका एउटा निश्चित नियममा काम गर्ने तथा एकैखाले सुविधा प्रदान गर्ने विभिन्न सञ्जालहरूको समूह हो। इन्टरनेट कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम सुरुवात भएको हैन। त्यस्तै इन्टरनेट कसैको नियन्त्रणमा पनि छैन।

इन्टरनेटको इतिहास खोतल्दै जाँदा संयुक्त राज्य अमेरिकाले विकास गरेको आर्पानेट सम्म पुग्न सकिन्छ। सन् १९५० को अन्त्य तिर जति बेला शीतयुद्ध चरम अवस्थामा पुगेको थियो, त्यति बेला अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रुपमा काम गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो। त्यतिबेला प्रयोग हुने सबै टेलिफोन प्रणाली केन्द्रीय स्तरमा काम गर्ने गर्थे, जुन अति नै असुरक्षित थियो। टेलिफोनको केन्द्रमा हमला भएको खण्डमा पुरै टेलिफोन प्रणाली नै ध्वस्त हुने सम्भावना थियो। त्यसैले टेलिफोन सञ्जाल प्रणालीको विकल्पको रुपमा अमेरिकाको Department of Defense ले RAND Corporation लाई एक सुरक्षित तथा भरपर्दो सञ्जाल प्रणालीको बिकास गर्ने काम सुम्पियो।

त्यस RAND Corporation का Paul Baran नामक एक इन्जिनियरले स्विचिङ प्रविधिमा आधारित एक विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा अगाडि ल्याए। Baran ले यस सम्बन्धी धेरै रिपोर्टहरू अमेरिकाको Pentagon मा पठाए र अन्ततः Pentagon ले यस प्रकारको सञ्जाल विकास गर्ने जिम्मा अमेरिकाको त्यस बेलाको सबैभन्दा ठूलो टेलिफोन कम्पनी AT&T लाई दियो। तर AT&T जस्तो ठूलो कम्पनीले Baran जस्तो सामान्य व्यक्तिले विकास गरेको प्रविधिलाई पत्याउने कुरै भएन। स्विचिङ प्रविधिमा आधारित त्यस विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा त्यसै तुहिएर गयो।

निकै लामो समयसम्म पनि भरपर्दो सञ्जाल प्रणालीको विकास हुन नसकेपछि अमेरिकी सरकारले यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नका निम्ति Advanced Research Projects Agency वा ARPA नामक संस्थाको सुरुवात गर्‍यो। सन् १९६७ तिर ARPA का निर्देशक Larry Roberts ले Paul Baran ले विकास गरेजस्तै Packet Switching मा आधारित सञ्जाल प्रणाली को अवधारणा अगाडि ल्याए। यसै प्रविधिमा आधारित ARPANET नामक सञ्जाल प्रणालीको पनि उनले निर्माण गरे।

यस प्रविधिद्वारा विभिन्न स्थानमा रहेका दुई कम्प्युटरहरूलाई जोड्न सकिन्थ्यो। यसरी सूचना आदानप्रदानका निम्ति कम्प्युटरमा Interface Message Processors अर्थात् IMP नामक मिनि-कम्प्युटर जोडिन्थ्यो। फरक फरक स्थानमा रहेका यी दुई IMP हरुबीच टेलिफोन लाइनको माध्यमद्वारा ५६ किलोवाइटको गतिमा सूचना आदानप्रदान हुन्थ्यो। यस ARPANET सञ्जाल प्रणालीमा सर्वप्रथम California विश्वविद्यालय, क्याम्ब्रिज अनुसन्धान केन्द्र, UCSB Utah विश्वविद्यालय जोडिए। सन् १९७० को मध्यसम्ममा MIT, Harvard, BBN Systems Development Corporation पनि यस सञ्जालमा जोडिए। आउँदा वर्षहरूमा अन्य धेरै संघ संस्था तथा विश्वविद्यालयहरू यस सञ्जालमा जोडिए।

ARPANET को यस स्वरूप नै इन्टरनेटको सुरुवात थियो। तर यो इन्टरनेटको सञ्जाल अहिलेजस्तो चलाउन सजिलो पक्कै पनि थिएन। यस ARPANET को प्रयोग केबल कम्प्युटर विज्ञ, इन्जिनियर तथा वैज्ञानिकहरू ले गर्ने गर्दथे।

सन् १९७२ मा Ray Tomlinsonले इन्टरनेटको सम्भवत: सबैभन्दा महत्वपूर्ण आविष्कार इमेलको बिकास गरे। इमेल ठेगानामा प्रयोग हुने प्रख्यात @ को छनौट पनि उनैले गरेका हुन्। यसबाहेक सञ्जालमा रहेका कम्प्युटरहरू चलाउन प्रयोग हुने telnet तथा फाइलहरू आदानप्रदान गर्न प्रयोग हुने ftp को विकास पनि त्यसैताका भयो।

इन्टरनेटको यति विकास भइसक्दा पनि सूचना आदानप्रदान गर्न कुनै एक निश्चित प्रणाली थिएन। सन् १९७० को दशकमा Stanford विश्वविद्यालयका Bob Kahn Vint Cerf ले TCP/IP नामक सुचना आदानप्रदान गर्ने प्रणालीको बिकास गरे, जुन आज पनि प्रयोग हुने गर्दछ। यस प्रणालीको प्रयोग गर्ने पहिलो संस्था अमेरिकाकै Defense Department थियो। सन् १९८३ सम्ममा इन्टरनेटमा जोडिएका सबैले यस TCP/IP प्रणालीको प्रयोग गर्न थाले। सन् १९८० दशकको अन्त्यसम्ममा धेरै व्यापारिक संघसंस्थाहरू पनि इन्टरनेटमा जोडिन थाले जसले गर्दा इन्टरनेटको विकास द्रुत गतिमा हुन थाल्यो।

इन्टरनेटको यति विकास भइसक्दा पनि सन् १९९० को सुरुवात सम्म इन्टरनेटको प्रयोग केवल अनुसन्धानकर्ता, सरकारी क्षेत्र तथा विश्वविद्यालयहरूले मात्र गर्थे। इन्टरनेट सर्वसाधारणले प्रयोग गर्न मिल्ने गरी सजिलो भइसकेको थिएन। तर सन् १९९० मा CERN अनुसन्धान केन्द्रका वैज्ञानिक Tim Berners Lee ले विकास गरेको World Wide Web ले इन्टरनेटको नयाँ ढोका खोलिदियो। World Wide Webलाई हामी www को नामबाट पनि चिन्दछौ।

धेरैले www लाई नै इन्टरनेट भन्ने गर्छन्, तर यो गलत धारणा हो। इन्टरनेट भन्नाले विश्वभर रहेका सञ्जालको समूहलाई जनाउँछ, जबकि www इन्टरनेटमा सूचना आदानप्रदान गर्न प्रयोग गरिने धेरै प्रणालीहरू मध्ये एक हो।

www को निर्माणले इन्टरनेटमा सूचना आदानप्रदान गर्न धेरै सजिलो भए पनि अहिले जस्तो क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सुविधा थिएन। यसरी क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सफ्टवेयर, जसलाई Browser भनेर चिनिन्छ, यसको निर्माण Illinios स्थित National center for Supercomputer Application का अनुसन्धानकर्ता Marc Andreessen ले गरेका हुन। यस पहिलो Browser को नाम Mosiac थियो। पछि उनै Marc Andreessen ले Netscape Corporation को पनि सुरुवात गरे जसले निर्माण गरेको Netscape Navigator नामक इन्टरनेट browser निकै प्रख्यात पनि भयो। यसै इन्टरनेट browser को सफलतालाई पछ्याउदै माइक्रोसफ्टले पनि Internet Explorer नामक browser को विकास गर्‍यो, जुन अहिलेको एक प्रमुख ब्राउजरमा पर्दछ।

इन्टरनेटको विकासका लागि अमेरिकी सरकारले लगानी गरेकाले पहिले सर्वसाधारणलाई इन्टरनेटको प्रयोग गर्ने अनुमति थिएन। तर www को सफलता पछि धेरै इन्टरनेट प्रदायक कम्पनीहरू खुले जसले सरकारी सञ्जालको भर नपर्ने गरि आफ्नै सञ्जालको विकास गरे। सन् १९९५ सम्ममा अमेरिकी सरकारले इन्टरनेट प्रयोग गर्न बन्देज लगाउने सम्पूर्ण नियमहरू खारेज गर्‍यो। अमेरिकामा AOL, Prodigy CompuServe जस्ता चर्चित इन्टरनेट प्रदायक कम्पनीहरू सुरु भए। इन्टरनेटको प्रयोग विश्वव्यापी रुपमा पनि हुन थाल्यो।

आजको दिन सम्ममा इन्टरनेटले लामो फड्को मारिसकेको छ। ARPANET मा जोडिएका ४ कम्प्युटरहरूबाट सुरु भएको इन्टरनेटमा अहिले एकैपटकमा १ अरब भन्दा बढि प्रयोगकर्ताहरू जोडिएर रहेको हुने गर्दछ। इन्टरनेटको विकासको क्रम अझै पनि जारी छ र भविष्यमा अहिलेको भन्दा द्रुत गतिको र उच्चस्तरीय सुविधायुक्त इन्टरनेटको विकास हुने कुरामा दुईमत नहोला।


Saturday, August 18, 2007

ओएलपिसि

ओएलपिसि एक सस्तो शैक्षिक ल्यापटप कम्प्युटर हो जसलाई विश्वभरका हरेक बालबालिकाहरू माझ बाँड्ने योजना बनाइएको छ, खास गरेर विकासोन्मुख मुलुकहरूमा। १०० डलरको ल्यापटप वा प्रति बच्चा एक ल्यापटप भनेर चिनिने यस ल्यापटपको आधिकारिक नाम XO-1 हो। नेपालमा यस ल्यापटपलाई 'मेरो सानो साथी' भनेर नामकरण गरिएको छ। यस ल्यापटपको मुख्य उद्देश्य ज्ञान र शिक्षाको आधुनिक रूपको पहुँच बालबालिकाहरू माझ पुर्‍याउनु रहेको छ। यस ल्यापटपको विकास प्रति बच्चा एक ल्यापटप (अर्थात, One Laptop Per Child, OLPC) ले गरिरहेको छ। ओएलपिसि अमेरिका स्थित एक गैर सरकारी नाफा रहित संस्था हो, जसको स्थापना एमआइटि मिडिया ल्याबका अध्यापकहरूले त्यस ल्यापटपको परिकल्पना, निर्माण र वितरणका लागी गरेका हुन्।

विशेषत: बलियो तथा कम उर्जा प्रयोग गर्ने यो ल्यापटपमा हार्ड डिस्कको सट्टामा फ्ल्यास मेमोरी राखिएको छ र सञ्चालन प्रणालीको रुपमा लिनक्स राखिएको छ। यसमा रहेको ताररहित सञ्जालको सुविधाद्वारा एक भन्दा बढि ल्यापटप बीच सूचना आदानप्रदान गर्ने सुविधा पनि यस ल्यापटपमा रहेको छ।

यस ल्यापटपलाई बालबालिकाहरूका अभिभावकले किन्ने नभइ सरकारी तवरमा देशका हरेक बच्चालाई बाँड्ने लक्ष्य राखिएको छ। यस ल्यापटपको मूल्य अहिले १३५ देखि १७५ डलरसम्म पर्ने गर्दछ। तर सन् २००८ सम्ममा ठुलो मात्रामा उत्पादन गर्दा यसको मूल्य १०० डलर सम्ममा झार्ने लक्ष्य राखिएको छ। यस ल्यापटपको उत्पादन गर्ने ठेक्का ताइवानको क्वान्टा नामक कम्पनीले पाएको छ। ओएलपिसिलाई ए.एम्.डि, -बे, गुगल, मार्भल, न्युज कर्पोरेसन, रेड ह्याट जस्ता बिभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले प्रायोजन गरेको छ। पछिल्लो समयमा इन्टेल पनि यो सुचीमा थपिएको छ। त्यस्तै संयुक्त राष्ट्र बिकास कार्यक्रम (UNDP) ले पनि यस ल्यापटपलाई सहयोग पुर्‍याउने बताएका छन्।

अहिले सम्म ७ वटा राष्ट्रहरु अर्जेन्टीना, ब्राजिल, लिबिया, नाइजेरिया, रुवान्डा, थाइल्यान्ड र उरुग्वेले यस ल्यापटप खरिद गर्ने सहमति जनाइसकेका छन्। नाइजेरियाले १० लाख प्रति ल्यापटप खरिद गर्ने भैसकेको छ। त्यस्तै लिबियाले १२ लाख प्रति खरिद गर्ने भएको छ। अन्य देशहरूमा यस ल्यापटपको सम्भाव्यता सम्बन्धी अध्ययनहरु भइरहेका छन्। भर्खरै नेपाल सरकारले पनि प्रयोगको रूपमा दुई जिल्लामा यस ल्यापटपको वितरण गर्ने कुरा बताएको छ।

ओएलपिसि सेमोर पेपर्ट तथा एलेन कि द्वारा प्रतिपादित रचनात्मक सिकाइको सिद्धान्तमा आधारित छ। यस ल्यापटपको परिकल्पना तथा अनुसन्धान धेरै पहिले देखि भए पनि नोभेम्बर १६, २००५ मा ट्युनिसियामा भएको World Summit on the Information Society मा ओएलपिसिका संस्थापक निकोलस नेग्रोपोन्ते तथा संयुक्त राष्ट्रका पुर्व महासचिव कोफी अन्नानद्वारा सार्वजनिक गरे पछि यस ल्यापटप चर्चामा आएको हो। ओएलपिसिको पहिलो काम गर्ने मोडेल मे २३, २००६ मा सार्वजनिक भएको थियो।

यस ल्यापटपको बिकास गर्दा सानो आकार, कम मूल्य तथा धेरै खप्ने बनाउने प्रयास गरिएको छ। प्राबिधिक रुपमा हेर्दा यस ल्यापटपमा भिडियो क्यामेरा, माइक र लामो दुरीको ताररहित वाइ-फाई सञ्जालको सुबिधा रहेका छन्। ल्यापटपको बिकासका लागि निम्न कुराहरुमा बिशेष ध्यान पुर्‍याइएको छ।

  • कम उर्जा खपत, करिब २-३ वाट मात्र

  • सस्तो

  • हेर्दा राम्रो देखिने

  • ल्यापटपमा किताब पढ्नका निम्ति कम उर्जा प्रयोग हुने छुट्टै प्रणाली

  • प्रयोग हुने सम्पुर्ण सफ्टवेयरहरु खुला तथा स्वतन्त्र

ल्यापटपको हार्डवेयर पक्षहरुमा यस ल्यापटपमा ०.८ वाट् मा चल्ने ४३३ मेगाहर्जको प्रोसेसरको प्रयोग गरिएको छ। त्यसतै यस सानो आकारको ल्यापटपमा ७.५ इन्चको एल सि डि स्क्रिन रहेको छ। भण्डारण क्षमताको रुपमा २५६ मेगाबाइट र्‍याम तथा हार्ड डिस्कको सट्टामा १ गिगाबाइटको फ्ल्यास मेमोरीको प्रयोग गरिएको छ। त्यस्तै यसमा लामो दुरी सम्म काम गर्ने ताररहित सञ्जालको उपकरणहरुको प्रयोग गरिएको छ, जसको एन्टेना ल्यापटप बन्द गर्दा पनि काम गर्ने गर्दछ। श्रव्य दृश्यको लागि यस ल्यापटपमा भिडियो क्यामेरा, माइक र स्पिकरहरु रहेका छन्। यसमा प्रयोग हुने ब्याट्रि सामान्य ल्यापटपहरुको भन्दा १० गुणा बढि टिक्ने खालको छ। बत्ती नभएको ठाउँमा प्रयोग गर्नका निम्ति यसमा हातले दम दिई चार्ज गर्न सकिने प्रबिधिको पनि बिकास गरिएको छ। यस ल्यापटपमा USB को माध्यमद्वारा प्रिन्टर जस्ता अन्य उपकरणहरु पनि जोड्न सकिन्छ।

यस ल्यापटपको बिकास गर्दा कम उर्जा खपतमा बिशेष ध्यान दिइएको छ। यस ल्यापटपले सामान्य कार्य गर्दा करिब २ वाट् बिजुली खपत गर्ने गर्दछ, जब कि अन्य सामान्य ल्यापटपहरुले ४५ वाट सम्म बिजुली खपत गर्ने गर्दछ। त्यस्तै यसमा किताब पढ्नका निम्ति कम उर्जा प्रयोग हुने छुट्टै प्रणाली रहेको छ, जसको उर्जा खपत जम्मा ०.३ वाट् रहेको छ।

यस ल्यापटपमा प्रयोग हुने सम्पुर्ण सफ्टवेयरहरु खुला तथा स्वतन्त्र रहेको छ। यसको मतलब यसमा रहेका सफ्टवेयरले कसरी काम गर्छ भनी जान्न चाहेमा यस सुबिधा बालबालिकाहरूलाई हुने गर्छ र चाहेमा त्यसमा सुधार ल्याउने तथा परिवर्तन गर्ने सुबिधा पनि बालबालिकाहरूमा हुने गर्दछ।

ओएलपिसिको प्राबिधिक पक्षको जतिसुकै चर्चा गरेपनि यो एक शैक्षिक परियोजना हो। यस ल्यापटपको प्रयोग गर्दा बालबालिकाहरूको सिकाईलाई प्रमुख प्राथमिकता दिइएको छ। विकासोन्मुख देशहरु जहाँ बालबालिकाहरूको विद्यालयसम्मको पहुँच कम छ, त्यस्ता ठाउँहरूमा यस ल्यापटपको प्रयोग महत्वपूर्ण हुन सक्छ। यस ल्यापटपको प्रमुख उद्देश्य बालबालिकाहरूलाई ल्यापटपमा बिभिन्न शैक्षिक खेलहरु खेल्दै सिक्न प्रेरित गर्नु रहेको छ। यसकारण यो ल्यापटप बालबालिकाहरूका लागि शिक्षा हासिल गर्ने एक साधनका रुपमा बिकास गरिएको छ।

धेरैलाई यस ल्यापटपको मुल्य अलि चर्को पनि लाग्न सक्छ। तर यो ल्यापटपलाई किताबको सट्टामा पनि प्रयोग गर्न सकिन्छ। यसरी किताबको सट्टामा मात्रै यस ल्यापटपको प्रयोग गर्दा पनि लगभग ल्यापटपको खर्च उठाउन सकिन्छ। यसबाहेक यस ल्यापटपलाई बालबालिकाहरूले पढ्न, लेख्न तथा रचनात्मक कार्य गर्न सहयोग पुर्‍याउने सानो साथीका रुपमा प्रयोग गर्न सक्छन्।

ओएलपिसि ल्यापटपको यति धेरै गुणहरू हुँदा हुँदै पनि यसका आलोचकहरु पनि नभएका हैनन्। धेरैले यस ल्यापटपको सुरक्षा तथा अवैध चोरी निकासी प्रति प्रश्‍न उठाएका छन्। हाम्रै छिमेकी राष्ट्र भारतले आफै छुट्टै खालको प्रबिधि बिकास गरी ल्यापटपको उत्पादन तथा वितरण गर्ने बताएको छ। त्यस्तै कसैले यस ल्यापटपको प्रयोग शिक्षा हासिल गर्न नभई अरु नै गलत कार्यको लागि पनि हुन सक्ने प्रति सतर्क गराएका छन्।

ओएलपिसि विद्यालय सम्मको पहुँच कम भएका बालबालिकाहरूको लागि आशा लाग्दो प्रबिधि हो। नेपाल जस्तो मुलुक जहाँ अझै पनि रटन्ते सिकाइ हावी छ, त्यहाँ ओएलपिसि ल्यापटपले बालबालिकाहरूले शिक्षा हासिल गर्ने तरिकामा आमूल परिवर्तन ल्याउन सक्छ। यस ल्यापटप अझै पनि बिकासको क्रममा छ, तर बालबालिकाहरूको हातमा पुगुन्जेल सम्ममा पक्कै पनि यो ल्यापटप बालबालिकाहरूको एक सानो साथीको रुपमा प्रस्तुत हुने कुरामा हामी आशावादी हुन सक्छौ।


Wednesday, August 8, 2007

विकिपेडिया

सायद तपाइले विकिपेडियाको बारे कतै न कतै सुन्‍नुभएको होला वा इन्टर्नेट सर्फ गर्दा विकिपेडियामा रहेका लेखहरु पढ्नु पनि भएको होला। विकिपेडिया यति प्रख्यात भएको छ कि, गुगलमा सर्च गर्दा धेरै पटक विकिपेडियाका लेखहरु देखिने गर्छन्। विकिपेडिया विश्वको प्रमुख १०० वेबसाइटमा पनि परेको छ।

यति प्रख्यात हुँदा हुदै पनि धेरैलाई विकिपेडियाको बारेमा खासै थाहा नहुन सक्छ। विकिपेडियामा रहेका त्यति धेरै लेखहरु कहाँबाट आउछ? के ती लेखहरु भरपर्दा छन्? विकिपेडिया यति धेरै चर्चित हुनुको कारण के हो? यस सम्बन्धमा केहि चर्चा गरौ।

विकिपेडियालाई बुझ्नु भन्दा पहिले विकिको बारेमा जानकारी हुनु आवश्यक हुन्छ। सामान्यत वेबसाइटहरु निर्माण गर्दा त्यस वेबसाइटमा रहेका विषयवस्तु त्यस वेबसाइटकै बिकासकर्ताले राख्ने गर्छन्। त्यस्ता वेबसाइटमा रहेका बिषयबस्तु त्यस वेबसाइटका निर्माताले परिवर्तन नगरुन्जेल जस्ताको तस्तै रहने गर्छ र कसैलाई त्यस वेबसाइटमा रहेका लेख तथा अन्य बिषयबस्तु अनुपयुक्त लागेमा त्यस सम्बन्धि केहि गर्ने सुबिधा हुदैन। त्यस्ता वेबसाइटका सम्पुर्ण कुराहरु त्यस बवेबसाइटका निर्मातामै निर्भर रहेको हुन्छ।

तर विकि भन्‍नाले त्यस्ता वेबसाइटहरुलाई जनाउदछ, जसमा रहेका लेखहरु वेबसाइटका बिकासकर्ताले नभइ त्यस वेबसाइटका प्रयोगकर्ताले राख्ने गर्छन्। वेबसाइटका प्रयोगकर्तालाई वेबसाइटमा लेख राख्न वा सम्पादन गर्ने सुबिधा हुने गर्दछ। वेबसाइटका आधारभुत कुराहरु वेबसाइटका बिकासकर्ताले राखे पनि वेबसाइटमा रहेका लेख तथा बिषयबस्तु प्रयोगकर्ताहरुले नै निर्माण गर्ने गर्छन्।

विकिको यति जानकारी पछि विकिपेडियातिर लागौ। विकिपेडिया एक खुला विश्वकोष हो जुन विकि प्रबिधिमा आधारित छ। अझ विस्तृत रुपमा भन्नु पर्दा विकिपेडिया एक बहुभाषिक, इन्टर्नेटमा आधारित, खुला विश्वकोष हो जसलाई विकिमिडिया नामक गैर नाफामुलक संस्थाले सञ्चालन गरेको छ। विकि प्रबिधिमा आधारित भएको हुँदा यस विश्वकोषमा रहेका लेखहरु जोसुकैले लेख्न वा सम्पादन गर्न सक्छन्। अहिले सम्म विकिपेडियामा बिभिन्न २५३ भाषाहरुमा गरी करिब ८० लाख लेखहरु रहेका छन् जसमध्ये करिब २० लाख लेखहरु अंग्रेजीमा रहेका छन्। यसमा रहेका विषयवस्तुहरु विश्वभर रहेका प्रयोगकर्ताहरुले लेखेका वा सम्पादन गरेका हुन्। विकिपेडियाको अंग्रेजी संस्करणको वेव ठेगाना en.wikipedia.org हो।

विकिपेडियाको बिकास एक बहुभाषिक तथा खुला विश्वकोश निर्माणका लागि भएको हो। यसैकारण विकिपेडिया अंग्रेजी बाहेक अन्य २५२ भाषाहरुमा उपलब्ध छ। विकिपेडियाको प्रयोगको आधारमा अंग्रेजी विकिपेडिया सबैभन्दा अगाडि भए पनि अन्य भाषाहरुमा पनि विकिपेडिया प्रयोग हुने गर्दछ। विकिपेडियाको कुल प्रयोगमध्ये कुल ४९% प्रयोग अंग्रेजी बाहेक अन्य भाषाहरुका लागि हुने गर्दछ।

विकिपेडियाको नेपाली संस्करण पनि उपलब्ध छ, जसको वेव ठगाना ne.wikipedia.org रहेको छ।

विकिपेडियाको अंग्रेजी संस्करणको सुरुवात जनवरी १५, २००१ मा जिमि वेल्स र ल्यारी सेन्जरले गरेका हुन। विकिपेडिया सञ्चालन गर्नका लागि मिडियाविकि नामक सफ्टवेयरको प्रयोग गरिएको छ। यस खुला तथा स्वतन्त्र सफ्टवेयरको निर्माण PHP मा गरिएको छ र विकिपेडियाका लेखहरु MySQL डेटाबेसमा रहने गर्दछ। त्यस्तै विकिपेडिया Apache नामक सर्भर प्रणालीमा सञ्चालन हुन्छ। स्मरण रहोस्, यी तीनै खुला तथा स्वतन्त्र सफ्टवेयरहरु हुन्। विकिपेडियामा धेरै मात्रामा लेखहरु रहने गर्नाले र बहुभाषिक हुनाले यसको सर्भर विश्वका बिभिन्न ठाउँहरुमा छरिएर रहेका छन्।

विकिपेडियामा रहेका हरेक लेखलाई सम्पादन गर्न सकिन्छ। यसको मतलब जोसुकैले जुनसुकै बेला विकिपेडियाका लेखहरुलाई बिगार्न सक्छन्। तर यति हुदाहुदै पनि विकिपेडियाका लेखहरु सधै किन सधै उच्‍चस्तरीय हुन्छन्? किन विकिपेडियाका लेखहरु बिगारिएका अबस्थामा हुदैनन् त?

यसरी विकिपेडियाका लेखहरु सधै ठिक रहिरहनुमा सामुदायिक योगदानको ठुलो भुमिका हुन्छ। विकिपेडियामा रहेका विभिन्‍न सुबिधाहरुद्वारा विकिपेडियाका प्रयोगकर्ताको समुदायले विकिपेडियालाई बिग्रनबाट बचाउने गर्दछन्। विकिपेडियाका बिभिन्न प्रकारका प्रयोगकर्ताहरु हुने गर्दछन्।

धेरैजसो प्रयोगकर्ताहरु पाठकहरु हुने गर्दछन्। यी पाठकहरुमध्ये कोही लेखकहरु पनि हुन सक्छन् जसले विकिपेडियामा नयाँ लेखहरु थप्ने गर्छन्। त्यस्तै कोही प्रयोगकर्ताहरु सम्पादक पनि हुन सक्छन् जसले विकिपेडियाका लेखहरुमा कुनै गल्ती फेला पर्नासाथ त्यसलाई सच्याउने काम गर्ने गर्छन्। लामो समयसम्म वा धेरै सम्पादन गर्ने व्यक्तिलाई विकिपेडियाले लेखहरु सम्पादन गर्नका लागि चाहिने अन्य विशेष अधिकारहरु दिने गर्दछ। यी विभिन्न प्रकारका विकिपेडिया प्रयोगकर्ताहरु मिलेर विकिपेडियामा अत्यन्त राम्रा लेखहरु निर्माण गर्ने गर्दछन्।

विकिपेडियाको कार्यशैलीको बारे अझ राम्ररी बुझ्न चाहनुहुन्छ भने तपाई एउटा सानो प्रयोग गर्न सक्नु हुन्छ। विकिपेडियामा गई आफुलाई जानकारी भएको कुनै लेखमा जानुहोस र त्यसमा आफुलाई थाहा भएको कुनै कुरा थपघट गर्नुहोस्। केहि दिन पछि पुन त्यस लेखमा जानुहोस्। तपाईले गर्नुभएको परिवर्तनमा निम्न कुराहरु भएको हुन सक्छन्।

तपाइले गर्नुभएको थपघटको बारेमा त्यस लेखका लेखक तथा अन्य सरोकारवालाहरुलाई विकिपेडियाले इमेल मार्फत जानकारी गराउने गर्दछ। यसरी लेखमा परिवर्तन आइसकेपछि ती लेखक तथा सरोकारवालाहरुले तपाईले गर्नुभएको परिवर्तनलाई हेर्ने गर्दछन्। यदि तपाईले गर्नु भएको परिवर्तन ठिक छ भने ती लेखकले परिवर्तनलाई स्वीकारि त्यसै छोडिदिन सक्छन्। तर यदि तपाईले गर्नुभएको परिवर्तन गलत छ भने लेखलाई पुरानै अवस्थामै लैजाने सुविधा विकिपेडियामा हुन्छ। यसरी विकिपेडियाका लेखहरुलाई बिगार्नबाट विकिपेडियाका प्रयोगकर्ताको समुदायले बचाउने गर्दछन् र यसरी सामुदायिक योगदान हुने गर्दा विकिपेडियाका लेखहरु अति नै उच्‍चस्तरीय तथा प्रयोगयोग्य हुने गर्दछन्।



Saturday, August 4, 2007

लिनक्स किन प्रयोग गर्ने?

विश्वभर व्यापारिक, शिक्षण, सरकारी तथा अन्य संघसंस्थाहरुले आफ्नो सञ्चालन प्रणाली लिनक्समा परिवर्तन गर्ने क्रम बढिरहेको छ। त्यसतै गरी अन्य कामकाजमा प्रयोग हुने सफ्टवेयरहरु पनि खुला तथा स्वतन्त्र प्रयोग गर्न थालिएको छ। यसरी खुला तथा स्वतन्त्र सफ्टवेयर प्रयोग गर्नुको कारण के हो त? यस सम्बन्धी केहि छलफल गरौ।

. खुला तथा स्वतन्त्र भएका कारण लिनक्स तथा अन्य सफ्टवेयरहरु सित्तैमा पाइन्छ। यी सफ्टवेयरहरुलाई ईन्टर्नेटबाट कुनै शुल्कबिना डाउनलोड गरि प्रयोग गर्न सकिन्छ। त्यस्तै यी सफ्टवेयरहरुको चाहेजति प्रतिलिपी बनाउन सकिन्छ जुन सुबिधा माइक्रोसफ्ट विन्डोज जस्ता सफ्टवेयरहरुमा छैन।

. लिनक्सको स्रोत खुला भएका कारण यसलाई आफुले चाहेजस्तै परिवर्तन गरि चलाउन सकिन्छ।

. लिनक्सका लागि इन्टर्नेटमा रहेका न्युजग्रुप तथा फोरुमहरुमा उच्‍चस्तरको सहयोग पाउन सकिन्छ। विश्वभर छरिएर रहेका लिनक्सका बिकासकर्ता तथा अन्य प्रयोगकर्ताहरुले लिनक्समा आइपरेका कुनै पनि समस्याहरुलाई अत्यन्त कम समयमा समाधान गरिदिन्छन्।

. लिनक्सको बिकास भविष्यमा कुनै पनि कारणले बन्द हुने सम्भावना हुदैन। बन्द स्रोत भएका सफ्टवेयरहरुको भविष्य त्यस सफ्टवेयरको निर्माताको इच्छा वा स्वार्थमा निर्भर रहेको हुन्छ। त्यसैले त्यस्ता सफ्टवेयरको भविष्य निश्चित नहुन सक्छ। तर लिनक्स जस्ता खुला सफ्टवेयरहरुको सोर्स कोड खुला हुने गर्दा धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने सफ्टवेयर पुर्णरुपमा बन्द हुने सम्भावना हुदैन।

. लिनक्सको आन्तरिक सञ्चालन प्रक्रिया परिवर्तन हुदैन। लिनक्स युनिक्स सञ्चालन प्रणालीमा आधारित छ, जुन ३५ वर्ष भन्दा बढि प्रयोग हुदै आएको छ। लिनक्सको जतिसुकै नयाँ संस्करण आएपनि आन्तरिक सञ्चालन प्रक्रिया युनिक्समै आधारित हुने गर्छ।

. लिनक्सको नयाँ संस्करण निकाल्दा पुरानो हार्डवेयर तथा सफ्टवेयर पनि चल्ने बनाइएको हुन्छ। त्यसैले प्रत्येक पटक नयाँ संस्करण आउँदा आफुले चलाइराखेको पुरानो हार्डवेयर वा सफ्टवेयर नचल्ने समस्या लिनक्समा हुदैन।

. आफुले चलाइरहेको लिनक्सलाई नयाँ संस्करणमा परिवर्तन गर्न कुनै शुल्क लाग्ने गर्दैन।

. लिनक्सलाई एक भन्दा बढी कम्प्युटरहरुमा प्रयोग गर्न लाइसेन्सको ख्याल राखिराख्नु पर्ने झन्झट हुदैन।

. लिनक्समा भाइरसहरुको समस्या हुदैन। त्यस्तै लिनक्स अत्यन्त सुरक्षित सञ्चालन प्रणाली भएको हुँदा ह्याक हुने जस्ता सम्स्याहरु पनि अत्यन्त न्यून हुन्छ।

१०. लिनक्स crash हुने सम्भावना पनि अत्यन्त न्युन हुन्छ। त्यस्तै लिनक्सलाई हरेक पटक नयाँ सफ्टवेयर हाल्दा वा कुनै कुरा परिवर्तन गर्दा घरिघरि restart पनि गरिरहनु पर्दैन। यो सुबिधा बिशेषत: व्यापारिक संस्थालाई महत्वपुर्ण हुन सक्छ किनकी यस्ता क्षेत्रमा एक मिनेट पनि कम्प्युटर बन्द हुँदा ठुलो घाटा हुन सक्छ।

११. लिनक्सका सयौं distribution हरु हुने गर्छन्। त्यसैले प्रयोगकर्तालाई आफ्नो प्रयोग सुहाउँदो प्रणाली छान्‍न पाउने सुबिधा हुन्छ।

१२. लिनक्स तथा अन्य खुला तथा स्वतन्त्र सफ्टवेयरहरुले खुला file format हरु प्रयोग गर्ने गर्दछ जसले गर्दा कुनै फाइल खोल्नका लागि एउटै सफ्टवेयरमा बाधिएर बस्नु पर्दैन।

१३. लिनक्सलाई कुनै निश्चित हार्डवेयर अनुरुप चल्ने बनाउन सकिन्छ। यसै विशेषताका कारणले गर्दा लिनक्स मोबाइल फोनदेखि ठुला ठुला सर्भर तथा सुपर-कम्प्युटर हरु समेतमा चलाउन सकिन्छ।

१४. लिनक्स बिभिन्‍न प्रकारका कम्प्युटर तथा प्रोसेसरहरुका लागि उपलब्ध छ। लिनक्स धेरैले प्रयोग गर्ने Intel का प्रोसेसरहरु बाहेक AMD, SunSparc जस्ता बिभिन्‍न प्रोसेसरहरुमा पनि चल्ने गर्दछ।

१५. लिनक्स विशेषत: शैक्षिक क्षेत्रका लागि अति उपयुक्त हुने गर्दछ। लिनक्सको सबै स्रोत खुला हुने गर्दा बिद्यार्थीहरुले कम्प्युटरले कसरी काम गर्छ भन्‍ने कुरा राम्ररी बुझ्न सक्छन्। लिनक्स तथा अन्य खुला स्रोत भएका सफ्टवेयरहरुले आफुसंग भएका सफ्टवेयरहरु अरुलाई पनि दिन प्रेरित गर्ने गर्छन्, जुन सन्देशले बिद्यार्थीहरुलाई सामाजिक हुन सिकाउँदछ। यसको विपरीत व्यापारिक सफ्टवेयरहरुको लाइसेन्समा उक्त सफ्टवेयरको प्रतिलिपी बनाइएमा वा अरुलाई दिइएमा कानुनी कारबाही हुने बताइएको हुन्छ, जुन बिद्यार्थीहरुला लागि पक्कै पनि राम्रो सन्देश हैन।

१६. लिनक्स तथा यसमा प्रयोग हुने खुला स्रोत भएका सफ्टवेयरहरु सरकारी कामकाजका लागि पनि उपयुक्त हुने गर्दछ। सरकारी कामकाजमा सुचना सम्पादन तथा भण्डारण सम्बन्धी बढी कार्यहरु हुने गर्दछन् र यस काममा पारदर्शिताको ठुलो महत्व रहने गर्छ। लिनक्स तथा खुला स्रोत सफ्टवेयरले फाइलहरु भण्डारण गर्न अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्‍त प्रणालीहरु प्रयोग गर्ने हुँदा सम्पुर्ण प्रक्रिया पारर्दर्शी हुने गर्छ।

१७. खुला बिकास प्रणाली तथा उपलब्धताका कारण लिनक्स तथा खुला सफ्टवेयरहरुमा नैतिक पक्षहरुलाई ठुलो महत्व दिइएको हुन्छ।

१८. स्रोत खुला हुने कारणले लिनक्स तथा खुला स्रोत सफ्टवेयरले आन्तरिक रुपमा कुनै गलन तरिकाले काम गरिरहेको त छैन भनेर शंका गरिरहनु पर्दैन।

१९. लिनक्स तथा खुला स्रोत सफ्टवेयरको बिकास गति व्यवसायिक सफ्टवेयरको तुलनामा निकै छिटो हुने गर्दछ, जसले गर्दा सफ्टवेयरहरुको गुणस्तरमा निकै छिटो सुधार आउने गर्दछ।

२०. लिनक्स तथा खुला स्रोत सफ्टवेयर प्रयोग गर्दा खर्चमा पनि व्यापक कटौति आउने गर्दछ।