Tuesday, March 25, 2008

डकुमेन्ट स्वतन्त्रता

यही मार्च २६ गतेका दिनलाई विश्व डकुमेन्ट स्वतन्त्रता दिवसको रुपमा मनाइँदै छ। विश्वभर भइरहेको खुला तथा स्वतन्त्र सफ्टवेयरको अभियान तथा कम्प्युटरमा स्वतन्त्रताको सम्बन्धी चेतनामा अभिबृद्धि आइरहेको अवस्थामा कम्प्युटर प्रयोगकर्ताहरूले कम्प्युटरमा प्रयोग गरिने डकुमेन्टमा पनि स्वतन्त्रता खोज्न थालेका छन्। तर वास्तवमा यो डकुमेन्ट स्वतन्त्रता (अर्थात्, document freedom) के हो त, यो कसरी प्राप्त गर्ने र यसका के के फाइदाहरू छन्। यस विषयमा केही छलफल गरौं।

डकुमेन्ट स्वतन्त्रता भन्नाले आफूले प्रयोग गर्ने कुनै पनि कम्प्युटरका डकुमेन्ट कुनै सफ्टवेयर वा प्रणालीमा बाँधिएर बस्नु नपर्ने, तथा त्यस्ता डकुमेन्टलाई कम्प्युटरमा भण्डारण गर्न प्रयोग गरिने तरिका खुला हुने अवस्थालाई जनाउँछ। सबैभन्दा राम्रो उदाहरणको रुपमा हामी कम्प्युटरमा केही लेख्न तथा भण्डारण गर्न प्रयोग हुने माइक्रोसफ्ट को वर्ड सफ्टवेयरले बनाउने .doc फाइललाई लिन सक्छौ। यस माइक्रोसफ्ट वर्डले हामीले लेखेको कुरा कम्प्युटरमा .doc फाइलका रुपमा कसरी राख्ने गर्छ, वा त्यस .doc फाइलमा हामीले लेखेको कुन तरिकाले भण्डारण गरिएको हुन्छ भन्ने हामी मध्ये धेरैलाई लाग्न सक्छ। तर सत्य के हो भने त्यस .doc फाइलमा हामीले लेख्ने गरेको कुरा कसरी राखिन्छ भन्ने कुरा पूर्ण रुपमा माइक्रोसफ्ट बाहेक कसैलाई पनि थाहा छैन। .doc फाइल को आन्तरिक बनावट तथा यस सम्बन्धी प्रविधि पूर्ण रुपमा गोप्य राखिएको छ। यस्ता फाइलहरू स्वतन्त्र डकुमेन्ट भित्र पर्दैनन्। .doc को सट्टामा .odt (अर्थात् Open Document Text) जस्ता लेखेको कुरा कम्प्युटरमा भण्डारण गर्ने पनि फाइल प्रणालीहरू रहेका छन् र यस्ता प्रणालीको काम गर्ने सम्पूर्ण तरिका खुला रुपमा इन्टरनेटमा राखिएको छ। यसकारण .odt प्रणालीलाई खुला डकुमेण्ट प्रणाली भन्न सकिन्छ। र यस्ता प्रणालीको प्रयोग गरि लेखिएको डकुमेन्टलाई स्वतन्त्र डकुमेन्ट भन्ने गरिन्छ।

बन्द डकुमेन्टमा यसको आन्तरिक कार्य गर्ने तरिका गोप्य हुने भएकाले गर्दा यस्ता डकुमेन्टलाई खोल्न वा लेख्न त्यस डकुमेन्ट प्रणालीका निर्माताले बनाएको सफ्टवेयर नै चाहिने हुन्छ। उदाहरणको लागि .doc फाइल ठीक तरिकाले खोल्नका निम्ति Microsoft Word नै चाहिने हुन्छ। यसले गर्दा धेरै नै समस्याहरू आउने हुन्छ।

सर्वप्रथम त, बन्द डकुमेन्ट प्रणालीका कारणले गर्दा कुनै एक सफ्टवेयरमा बाँधिएर बस्नु पर्ने हुन्छ, जुन आफैमा नराम्रो कुरा हो। यसरी कुनै सफ्टवेयरमा बाँधिएर बस्नुका दीर्घकालीन समस्याहरू हुने गर्दछन्। जस्तै कि तपाईँले निकै वर्ष देखि Microsoft Word को .doc फाइल प्रणालीको प्रयोग गर्नु हुन्छ भने भविष्यमा पनि यसै सफ्टवेयर प्रयोग गर्न बाध्य हुनु पर्छ। त्यस्तै अन्य राम्रा सफ्टवेयर उपलब्ध भए पनि बन्द प्रकारका डकुमेन्टकै कारणले आफुले प्रयोग गरिराखेकै सफ्टवेयर परिवर्तन गर्न गार्‍हो हुने गर्दछ। त्यसमाथि डकुमेन्टको प्रणाली परिवर्तन भएको खण्डमा त्यसको सफ्टवेयर पनि परिवर्तन हुने गर्दछ र प्रयोगकर्ता त्यस नयाँ सफ्टवेयर किन्न बाध्य हुनु पर्दछ। यसको सबैभन्दा जल्दो बल्दो उदाहरण पनि Microsoft को Word नै रहेको छ। हरेक नयाँ सँस्करण सँग .doc को प्रणाली परिवर्तन हुने गर्दछ, र त्यसलाई पुरानो सफ्टवेयरले खोल्न नसक्ने हुन्छ। यसका कारण नयाँ सफ्टवेयर किनेर कम्प्युटरमा हाल्नै पर्ने तथा आफ्ना पुरानो डकुमेन्टलाई पनि नयाँ प्रणालीमा परिवर्तन गरिराख्नु पर्ने हुन सक्छ।

यस्ता बन्द प्रकारका डकुमेन्टको प्रयोग गर्नाले आफूलाई मात्र नभइ अरुलाई पनि अप्ठ्यारोमा पार्ने हुन्छ। कुनै पनि डकुमेन्ट प्रयोग गर्ने पनि निश्चित सफ्टवेयर नै हुने गर्दछ। त्यसैले यस्ता डकुमेन्ट अरुलाई पठाउँदा डकुमेन्ट प्राप्त गर्ने व्यक्तिसँग त्यस सफ्टवेयर नभएको खण्डमा समस्या उत्पन्न हुन सक्छ।

बन्द डकुमेन्टको प्रयोग गर्दा सुरक्षाको पनि प्रश्न उठ्न सक्छ। बन्द प्रणालीका डकुमेन्टमा के कुरा कसरी राखिन्छ भन्ने कुराको जानकारी नभएका कारणले गर्दा त्यस डकुमेन्ट सुरक्षात्मक दृष्टिकोणबाट पनि उपयुक्त नहुन सक्छ। त्यस्तै यस्ता बन्द डकुमेन्टले गर्दा कम्प्युटरमा भाइरस तथा अन्य समस्या पनि नआउला भन्न सकिन्न। Microsoft Word तथा Excel मा लाग्ने भाइरस पनि यसैको उपज हुन्।

सामान्य रुपमा डकुमेन्ट भन्दा धेरैले Microsoft Word वा Excel का फाइल भन्ने बुझ्ने गर्दछन। तर डकुमेन्ट भन्नाले अन्य फोटो तथा संगीतका डकुमेन्टलाई पनि बुझाउने गर्दछ। जस्तै हामी धेरैले फोटो भण्डारण गर्न प्रयोग गर्ने BMP प्रणाली पनि बन्द प्रणाली हो। त्यस्तै गीतहरू भण्डारण गर्न प्रयोग गरिने MP3 लाई पनि बन्द प्रणाली मान्ने गरिन्छ।

डकुमेन्ट स्वतन्त्रता तथा बन्द डकुमेन्टको यति जानकारी पछि खुला डकुमेन्टका केही उदाहरण तिर लागौ। हामी धेरैले प्रयोग गर्ने .doc फाइल प्रणालीको सट्टामा .odt (अर्थात् Open Document Text) प्रयोग गर्न सकिन्छ। यस डकुमेन्ट प्रयोग गर्नका निम्ति धेरै सफ्टवेयरहरू रहेका छन्। सबैभन्दा राम्रो तथा चर्चित सफ्टवेयरमा Openoffice.org को Writer भन्ने सफ्टवेयर रहेको छ। त्यस्तै अर्को धेरै प्रयोग हुने .xls को सट्टामा .ods (अर्थात Open Document Spreadsheet) डकुमेन्ट प्रणाली रहेको छ। यसको निम्ति प्रयोग हुने सफ्टवेयर Openoffice.org को Spreadsheet नामको सफ्टवेयर रहेको छ।

त्यस्तै फोटो अनि सङ्गीतका निम्ति पनि खुला डकुमेन्ट प्रणालीहरू रहेका छन्। MP3 को सट्टामा OGG Vorbis नामको प्रणालीको प्रयोग गर्न सकिन्छ। त्यस्तै BMP वा GIF को सट्टामा PNG वा SVG प्रयोग गर्न सकिन्छ।

खुला डकुमेन्टका धेरै फाइदाहरू हुने गर्दछन्। सबैभन्दा प्रमुख फाइदा स्वतन्त्रता नै हुने गर्दछ। खुला डकुमेन्ट प्रणाली प्रयोग गर्दा कुनै एक सफ्टवेयरमा बाँधिएर बस्नु पर्ने समस्या प्रयोगकर्तालाई हुँदैन। त्यस्तै आफूले प्रयोग गर्ने सफ्टवेयरको नयाँ सँस्करण निकालिएमा आफ्नो पनि सफ्टवेयर परिवर्तन गरिराख्नुपर्ने समस्याबाट पनि मुक्त हुन सकिन्छ।

अर्को फाइदा भनेको पारदर्शिता हो। डकुमेन्टको प्रणाली पूर्ण रुपले खुला हुने हुँदा त्यसको प्रयोग तथा आदानप्रदानमा पनि पारदर्शिता रहने गर्दछ। बन्द प्रकारका सफ्टवेयरका कारणले गर्दा आफ्नो कम्प्युटरका गोप्य सूचना त्यस बन्द फाइलको माध्यमबाट बाहिर जाने पिर पनि गरिराख्नु पर्दैन। यसै डकुमेन्टको पारदर्शिताका कारणले गर्दा भाइरस जस्ता समस्याबाट पनि धेरै हदसम्म बच्न सकिन्छ। खुला डकुमेन्टकै प्रयोगबाट अहिले केही हदसम्म रहिआएको डिजिटल एकाधिकारबाट पनि बच्न सकिन्छ।

1 comment:

udayan said...

dherai raamro lekhai Jwalanta!

yo lekh ko 2nd last para ko pahilo sabda 'खुला'hunu parney maa 'बन्द' bhayechha, hera ta.

best,
Udayan