हामी सबैले इन्टरनेट चलाउँदा ब्राउजरको address bar मा आफूले हेर्न चाहेको वेबसाइटको ठेगाना टाइप गर्ने गर्दैछौ र केही बेर मै त्यस वेब पेज देखा पर्ने गर्दैछ। झट्ट हेर्दा यो सब कुरा जादु जस्तो लाग्न सक्छ। यी सबै वेबपेजहरु कहाबाट आउँछ त? आफूले चाहेको पेज देखाउन कम्प्युटरले के कस्तो कामहरू गर्नु पर्छ त? यस बारेमा केही छलफल गरौँ।
सबै भन्दा पहिले वेब सर्भरको वारेमा जान्नु जरुरी हुन्छ। वेब सर्भर भन्नाले त्यस्ता सर्भर कम्प्युटरहरूलाई जनाउँछ, जहाँ वेब पेजहरू राखिएको हुन्छ, र कसैले त्यसमा रहेका वेब पेज हेर्न चाहेमा वेब सर्भरले त्यस प्रयोगकर्तालाई वेब पेज पठाउने गर्दछ। उदाहरणको लागी नेपाली समाचारहरूको वेबसाइट नेपालन्युज डट कम को वेब सर्भरमा त्यस वेबसाइटका आधारभूत पेजहरू तथा सम्पूर्ण समाचारहरू भण्डारण गरेर राखिएको हुन्छ। यदि कसैले कुनै समाचार हेर्न चाहेमा त्यस वेब सर्भरमा रहेको सफ्टवेयरले त्यस समाचारको पेज प्रदान गर्ने गर्दछ। त्यस्तै गुगल सर्च वेब पेजले प्रयोगकर्ताले मागे अनुरुपको सूचना दिने गर्दछ।
वेब सर्भरमा विभिन्न प्रकारका सफ्टवेयरहरूको प्रयोग गरिएको हुन्छ। एपाचे नामको सफ्टवेयर अहिले विश्वको प्रमुख वेब सर्भर सफ्टवेयरमा पर्दछ। यस बाहेक अन्य विभिन्न प्रकारका वेब सर्भर सफ्टवेयर पनि प्रयोग गरिएको हुन सक्छ। त्यस्तै यस वेब सर्भरमा राखिने पेजहरू HTML मा हुने गर्दछन्। HTML वेब पेजहरु बनाउने एउटा तरिका हो। यसलाई वेब पेजको कोड भन्न सकिन्छ। वेब सर्भरले यिनै वेब पेजको HTML कोड प्रयोगकर्तालाई दिने गर्दछ र प्रयोगकर्ताको ब्राउजरले त्यस कोडमा भएको सूचनालाई बुझिने गरि देखाउने गर्दछ। तर HTML मात्र प्रयोग गर्दा पेजहरू एक रुपका हुने हुनाले वेबपेजहरूलाई अझ बढि लचिलो तथा प्रयोगकर्ताले चाहेअनुरुप बनाउन PHP, ASP जस्ता अन्य कोडिङ प्रणालीहरूको पनि प्रयोग गरिएको हुन्छ। त्यस्तै वेब सर्भरमा सूचनाहरू भण्डारण गर्नका लागि डेटाबेसहरूको पनि प्रयोग गरिएको हुन्छ। यी सबै प्रणालीको प्रयोग गरेर वेब सर्भरले प्रयोगकर्ताले मागेअनुरुपको सूचना HTML प्रणालीमा दिने गर्दछ।
यो त भयो वेब सर्भरले काम गर्ने तरिका। तर ब्राउजरमा टाइप गरेको कुरा वेब सर्भर सम्म कसरी पुग्छ त? वेब पेजको ठेगाना टाइप गरेको केहीबेरमै पेज देखा पर्ने भए पनि यस बीचमा धेरै कार्यहरु भएको हुने गर्दछ। हामी सबैलाई थाहा छ कि कम्प्युटरले अंकहरू मात्र बुझ्ने गर्दछ र हामीले टाइप गर्ने www.google.com जस्ता ठेगानाहरू कम्प्युटरले सिधै बुझ्ने गर्दैन। कम्प्युटरले इन्टरनेटको ठेगानालाई चार अंकको रुपमा बुझ्ने गर्दछ। जस्तै www.google.com को ठेगाना कम्प्युटरले बुझ्ने भाषामा 74.125.19.99 हो। यस्ता ठेगानालाई IP Address भन्ने गरिन्छ। तर यस्ता अंकका ठेगानाहरू हामीलाई बुझ्न गार्हो हुने भएकाले मानिस र कम्प्युटरको दोभाषेको रुपमा name server नामक सर्भरले काम गर्ने गर्दछ। वेबसर्भरहरू विश्वको कुनै पनि स्थानमा इन्टरनेटमा जोडिएर रहेको हुने गर्दछ। यसरी हामीले टाइप गर्ने ठेगाना कम्प्युटरले बुझ्ने IP Address मा परिवर्तन भए पछि मात्र त्यस वेब सर्भर कता छ भन्ने कुरा थाहा हुन्छ र त्यस वेब सर्भर सम्म वेब पेजको request पुर्याउन सकिन्छ।
तर आफूले हेर्न चाहेको वेब पेजको request वेब सर्भर सम्म कसरी पुग्छ त? हामीले इन्टरनेट चलाउँदा हामीले हेर्न चाहेको वेब पेजको request सर्वप्रथम स्थानीय इन्टरनेट प्रदायक कम्पनी (अर्थात् ISP) सम्म पुग्ने गर्दछ। नेपालमा ISP को उदाहरणको रुपमा Worldlink वा Mercantile लाई लिन सकिन्छ। यस्ता ISP हरू क्षेत्रीय ISP सँग जोडिएका हुन्छन्। र ती विश्वस्तरीय ISP सँग जोडिएका हुने गर्दछन्। यसरी विश्व भरका कम्प्युटरहरू एक आपसमा जोडिएर रहेका हुने गर्दछन्। र यसैलाई नै इन्टरनेटको सञ्जाल भन्ने गरिन्छ। यसै सञ्जालको माध्यमद्वारा विश्वको कुनै पनि वेब सर्भर सम्म पुग्न सकिन्छ।
यसरी चाहिएको वेब सर्भरसम्म पुगिसकेपछि आफूले हेर्न चाहेको पेजको request त्यस वेब सर्भर समक्ष ब्राउजरले प्रस्तुत गर्ने गर्दछ। यसरी request प्रस्तुत गर्ने तथा सूचना प्राप्त गर्ने पनि एक निश्चित तरिका हुने गर्दछ, जसलाई protocol भन्ने गरिन्छ। विभिन्न कार्यको लागि विभिन्न प्रकारका protocol हरू हुने गर्दछन्। वेब पेजको लागि HTTP नामक protocol को प्रयोग गर्ने गरिन्छ। यस protocol मा रहि वेब सर्भरलाई ब्राउजरले प्रयोगकर्ताले हेर्न चाहेको पेजको माग गर्ने गर्दछ, र वेब सर्भरले ब्राउजरलाई उक्त पेज प्रदान गर्ने गर्दछ। यसरी प्राप्त भएको पेज ब्राउजरले प्रयोगकर्तालाई देखाउने गर्दछ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment