Sunday, November 18, 2007

मोजिला फायरफक्स

हामी धेरैले इन्टरनेट चलाउनका निम्ति माइक्रोसफ्टको Internet Explorer ब्राउजरको प्रयोग गर्ने गर्दछौं। तर यसबाहेक पनि इन्टरनेट सर्फ गर्नका निम्ति अन्य विभिन्न ब्राउजरहरू पनि उपलब्ध छन्। हामी सबैले Opera, Netscape, Safari जस्ता ब्राउजरहरूको नाम पनि बेलाबखतमा सुनेका गरेका छौ। ब्राउजरहरूको यस भिडमा अहिले Mozilla Firefox नामको ब्राउजर निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट कम्पनीको 'इन्टरनेट एक्सप्लोरर' ब्राउजरको प्रतिस्पर्धामा उत्रिएर मोजिला फाउन्डेसनले निकालेको फायरफक्स वेब ब्राउजरको लोकप्रियतामा वृद्धि भैरहेको छ।

सन् १९९० को सुरु तिर इन्टरनेट सर्वसाधारणका लागि खुला हुन थाले पछि HTML को विकास भयो। HTML कोडिङ प्रणालीको माध्यमबाट इन्टरनेटको मार्फत अक्षर तथा तस्विरहरू हेर्न सकिन्थ्यो। तर त्यति बेला कुनै ब्राउजरको विकास भैसकेको थिएन। तर Mosiac नामको ब्राउजरको विकासपछि इन्टरनेट चलाउने तरिका बारे व्यापक परिवर्तन आयो। Mosiac सुरुमा Unix Operating System का निम्ति बनाइएको भए पनि पछि यसलाई Windows तथा Apple मा पनि चल्ने बनाइयो। यसबाट Mosiac ब्राउजर निकै प्रचलित हुनुका साथै प्रयोगकर्ताहरू माझ इन्टरनेट तथा www को अवधारणा विकसित गरिदियो। पछि Mosiac का विकासकर्ताहरू ले Netscape Communications Corporation नामक कम्पनीको सुरुवात गरे र निकै नै प्रसिद्ध Netscape Navigator नामको ब्राउजरको बिकास गरे। निकै लामो समय सम्म यस Netscape Navigator निकै नै चलन चल्तीमा रह्यो।

यसै बीचमा Spyglass नामको कम्पनी ले Internet Explorer नामको ब्राउजरको विकास गरेको थियो, जुन पछि माइक्रोसफ्ट ले खरिद गर्‍यो र Internet Explorer को बिक्रीवितरण माइक्रोसफ्टले गर्न थाल्यो, जुन अहिले विश्वको सबै भन्दा बढि प्रयोग हुने ब्राउजरमा पर्दछ। धेरैलाई यो कुरा अचम्म लाग्न सक्छ कि माइक्रोसफ्टको यति धेरै प्रचलित ब्राउजर Internet Explorer माइक्रोसफ्ट आफैले विकास गरेको थिएन।

Internet Explorer माइक्रोसफ्ट को विन्डोज Operating System (OS) सैगै आउने भएकाले र माइक्रोसफ्ट विन्डोज धेरैले प्रयोग गर्ने हुनाले Internet Explorer धेरैले चलाउने गर्दछन्। तर Internet Explorer लाई सुरक्षा तथा गुणात्मक हिसाबले निकै नै नराम्रो ब्राउजर मान्ने गरिन्छ। यसै कुरा ध्यानमा राखि माइक्रोसफ्ट कम्पनीको 'इन्टरनेट एक्सप्लोरर' ब्राउजरको प्रतिस्पर्धीको रुपमा फायरफक्स वेब ब्राउजर अगाडि आएको हो। Mozilla Firefox पहिले प्रचलित Netscape Navigator मा आधारित छ र यसलाई Mozilla Foundation ले मोजिला प्रोजेक्ट अन्तर्गत निर्माण गर्ने गर्दछ। यसको सबैभन्दा पहिलो सँस्करण सन् २००४ मा निकालिएको थियो।

तर धेरैलाई लाग्न सक्छ – Internet Explorer हुँदा हुँदै किन Firefox प्रयोग गर्ने त? Firefox प्रयोग गर्नका धेरै कारणहरू छन्। सबैभन्दा प्रमुख कारण सुरक्षा हुन सक्छ।

हामी सबैले इन्टरनेटबाट सर्ने भाइरसहरूका बारेमा सुन्ने गरेका छौ। यस्ता भाइरसहरू कम्प्युटरमा लाग्नमा ब्राउजरको कमजोर सुरक्षा प्रणालीको ठूलो हात हुने गर्दछ। Internet Explorer लाई सुरक्षाका हिसाबले निकै नै कमजोर ब्राउजरको रुपमा हेर्ने गरिन्छ र यसको प्रयोग गर्दा कम्प्युटरमा भाइरसहरू सर्ने तथा ह्याक हुने जस्ता समस्याहरू पनि निकै ठूलो मात्रामा हुने कुराको पुष्टि पनि भैसकेको छ। यस्ता सुरक्षा सम्बन्धी कुराहरूलाई Firefox मा निकै नै ध्यान दिइएको छ र फलस्वरुप Firefox निकै नै सुरक्षित ब्राउजरको रुपमा अगाडि आएको छ। अचेल इन्टरनेटको माध्यमद्वारा महत्वपूर्ण कागजातहरू आदानप्रदान गर्नुका साथै व्यापारिक कार्यहरू पनि गर्ने गरिन्छ। यसै कारण पनि एक सुरक्षित ब्राउजरको प्रयोग गर्नु निकै नै आवश्यक हुन आउँछ।

सुरक्षा बाहेक Firefox मा अरू पनि निकै नै धेरै सुबिधाहरु रहेका छन्।

Tabbed Browsing
Internet Explorer चलाउँदा प्रत्येक नयाँ पेज खोल्दा फरक फरक विन्डो खोल्नु पर्ने हुन्छ। थोरै विन्डोहरु खोल्दा यो कुरा त्यति महत्वपूर्ण नहुन सक्छ, तर खोलिएका विन्डो हरू धेरै हुन थाले पछि ब्राउज गर्न निकै नै गार्‍हो हुने गर्छ। यस समस्याको समाधानका निम्ति Firefox मा Tabbed Browsing को सुविधा रहेको छ। यस सुविधाको माध्यमद्वारा प्रयोगकर्ताले एकै विन्डो भित्र एक भन्दा बढि पेजहरू खोल्न सक्छन्।

Themes
Firefox ब्राउजरमा आफूलाई मनपर्ने खालको रंङ तथा प्रकारमा देखाउन मिल्ने गरि theme हरू हाल्न मिल्ने सुविधा पनि रहेको छ।

Spelling Checking
Firefox का पछिल्ला सँस्करणहरूमा Spelling Checking का सुविधाहरू पनि समावेश गरिएको छ। इमेल लेख्दा तथा अनलाइन फोरुमहरुमा केही लेख्दा लेखेका कुराहरूको spelling Firefox ले लेख्दा लेख्दै जाँच्ने गर्दछ।

Session Restore
यदि इन्टरनेट सर्फ गर्दा गर्दै बत्ति गएमा वा कम्प्युटर ह्याङ्ग भएमा आफूले सर्फ गर्दै गरेको सम्पूर्ण वेबपेजहरू जाने गर्दछ। यसै समस्याको समाधान गर्न का लागि Firefox मा Session Restore नामको सुविधा रहेको छ। यस सुविधाको माध्यमद्वारा बत्ति गएमा वा कम्प्युटर ह्याङ्ग भएमा आफुले सर्फ गर्दै गरेको सम्पूर्ण वेबपेजहरु जस्ताको तस्तै फेरी खुल्ने गर्दछ।

ब्राउजरभित्रै सिधै इन्टरनेट सर्च गर्ने सुविधा
हामी इन्टरनेट सर्च गर्नु पर्दा छुट्टै विन्डो खोलेर त्यसमा गुगल वा याहु जस्ता सर्च इन्जिनको साइट खोल्ने गर्दछौ र त्यसबार सर्च गर्ने गर्दछौ। Firefox browser मा यस कार्यलाई सजिलो पार्नका निम्ति ब्राउजरभित्रै सिधै इन्टरनेट सर्च गर्ने सुविधा प्रदान गरिएको छ। Firefox browser को विन्डो भित्रै सर्च गर्न का निम्ति textbox हुने गर्दछ, र त्यहा टाइप गरेपछि सिधै गुगल, याहु वा आफुलाई मानपर्ने सर्चइन्जिनमा गइ Firefox ले सर्च गरि नतिजाहरू देखाउने गर्दछ।

Pop-up Blocker
Internet Explorer चलाउँदा हामी धेरैले विज्ञापनहरू आउने समस्या भोग्ने गरेका छौ। छुट्टै विन्डो खोलेर आउने यस्ता विज्ञापनहरूले इन्टरनेट सर्फ गर्दा निकै नै समस्या पुर्‍याउने गर्दछन्। तर firefox मा यस्ता विज्ञापनहरूलाई आफै रोक्ने सुविधाहरू प्रदान गरिएको छ।

Extensions
Firefox का आफ्ना सुविधाहरू बाहेक पनि यसलाई Extension हरुका माध्यमद्वारा अझ धेरै शक्तिशाली तथा सुविधायुक्त बनाउन सकिन्छ। Firefox का लागि २००० भन्दा बढि extension हरुको विकास भैसकेको छ।

यी सुविधाहरू बाहेक पनि वेबपेज विकासकर्ताहरू का निम्ति Firefox निकै नै राम्रो ब्राउजर मानिन्छ। यदि तपाईंले वेबपेज विकास गर्नुभएको छ भने तपाइले ख्याल गर्नु भएको होला कि Internet Explorer मा परीक्षण गर्दै वेबपेज विकास गर्दा निकै नै समस्याहरू आउने गर्दछन्, र वेबपेज विकास गर्दा निकै नै कसरत गर्नु पर्ने हुन्छ। Firefox ब्राउजरले वेबपेज बनाउन प्रयोग हुने सम्पूर्ण नियमहरू पालना गर्ने गर्दछ। जसका कारण Firefox को मद्दतले आफुले चाहेजस्तो वेबपेज निर्माण गर्न सकिन्छ। यसबाहेक पनि बेवपेज विकासकर्ताहरूका निम्ति Firefox मा निकै नै धेरै तथा राम्रा extension हरू रहेका छन्। यदि तपाई बेवपेज विकास गर्दै हुनुहुन्छ भने Firefox को प्रयोग होला। तपाइले अवश्य नै फरक महसुस गर्नु हुने छ।

यी सबै सुविधाहरू भन्दा पनि Firefox को सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यो खुला तथा स्वतन्त्र सफ्टवेयर हो र यो सित्तैमा उपलब्ध छ। Firefox Browser Windows लगायत Linux, Mac, FreeBSD, Solaris जस्ता विभिन्न प्रणालीहरूका लागि पनि उपलब्ध छ।

Firefox का यी विभिन्न गुणहरूका कारणले विश्वभरका निकै नै धेरै प्रयोगकर्ताहरूले यस ब्राउजर प्रयोग गर्न थालेका छन्। निकै नै राम्रा सुविधाहरूका कारणले गर्दा Firefox ले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि हासिल गर्न सफल भएको छ। यस बहुगुणी बाउजर प्रयोग गर्न हामी किन पछि पर्ने त? Firefox www.getfirefox.com बाट डाउनलोड गर्न सकिन्छ।

No comments: