Wednesday, October 3, 2007

कम्प्युटर भाइरस

कम्प्युटर भाइरस भन्नाले त्यस्ता कम्प्युटर प्रोग्रामहरूलाई जनाउँछ, जुन एक बाट अर्को कम्प्युटरमा सर्ने तथा कम्प्युटरमा खराब प्रकारका कार्यहरू गर्ने गर्दछ। भाइरसहरू कम्प्युटरमा फाइल तथा डेटाहरू बिगार्ने देखि लिएर पुरै हार्ड डिस्क नै बिगार्ने पनि हुने गर्दछन्। भाइरसहरू विशेषत इमेलको माध्यमबाट सर्ने भए तापनि अचेल पेन ड्राइभबाट सर्ने भाइरस पनि निकै ठूलो मात्रामा देखिएको छ।

भाइरस लागेमा निम्न लक्षणहरू कम्प्युटरमा देखा पर्ने गर्दछ।
  • कम्प्युटर एकदमै ढिलो हुने गर्दछ।
  • कम्प्युटर अड्केको जस्तो हुने
  • कम्प्युटर बारम्बार क्र्र्यास हुने, तथा आफै रिस्टार्ट भैरहने
  • कम्प्युटरमा रहेका प्रोग्रामहरूले पहिले जस्तो काम नगर्ने
  • पहिले देखाइ रहेका डिस्कहरू नदेखाउनु
  • मेनुहरु बिग्रिएका अवस्थामा हुनु
  • एन्टिभाइरस प्रोग्रामहरू बन्द अवस्थामा रहनु
  • डेस्कटपमा नयाँ icon हरू आफैं देखा पर्नु
  • स्पिकरबाट त्यसै आवाज आउनु
  • हालेका प्रोग्रामहरू आफैं हराउनु
भाइरसद्वारा विभिन्न तरिकाले बच्न सकिन्छ।

हामी सबैले प्रयोग गर्ने विन्डोजलाई निकै नै असुरक्षित प्रणाली मानिन्छ। TweakHound नामक संस्थाले गरेको एक सर्वेक्षण अनुसार, यदि इन्टरनेट जोडिएको छ भने विन्डोजमा औसत २७ मिनेट भित्रमा भाइरस लागि सक्छ। यदि तपाइ भाइरसद्वारा निकै नै पिडित हुनुहुन्छ भने विन्डोजको सट्टामा लिनक्स, FreeBSD जस्ता Unix मा आधारित सञ्चालन प्रणाली प्रयोग गर्न सक्नु हुन्छ। लिनक्सजस्ता अपरेटिङ सिस्टमको प्रयोगद्वारा भाइरसबाट पुर्णरुपमा मुक्ति पाउनुका साथै ह्याक हुने जस्ता समस्याबाट पनि बच्न सकिन्छ।

विन्डोजमा जस्तै हामी सबैले प्रयोग गर्ने Internet Explorer एक निकै नै असुरक्षित सफ्टवेयरको श्रेणीमा पर्ने गर्दछ। यदि तपाई कम्प्युटर इन्टरनेट चलाउन प्रयोग गर्नु हुन्छ भने, Internet Explorer को सट्टामा Mozilla Firefox नामक इन्टरनेट ब्राउजरको प्रयोग गर्नु उचित हुन्छ। यस Mozilla Firefox निकै नै सुरक्षित भएका कारण इन्टरनेटबाट सर्ने भाइरसबाट धेरै मात्रामा बच्न सकिन्छ।

यस भन्दा बाहेक भाइरसबाट बच्ने सबै भन्दा राम्रो उपाय एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नु नै हो। यसरी एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्दा बेला बेलामा update गर्न चाहि बिर्सनु हुँदैन। तर पुलिस भन्दा चोर बाठो भनेझै भाइरसहरू एन्टिभाइरस सफ्टवेयर भन्दा निकै नै बाठो हुने गरेको पाइएको छ। त्यस कारण भाइरसबाट बच्न का लागि आफू पनि सतर्क रहनु जरुरी हुन्छ।
इमेलमा आएका कुराहरूमा फोटोहरू बाहेक अन्य नखोल्न नै उचित हुन्छ। यदि नचिनेको व्यक्तिबाट आएको इमेल हो र त्यसमा Attachment छ भने, त्यस्ता इमेल नखोल्न नै राम्रो हुन्छ।

त्यस्तै इन्टरनेटबाट जथाभाबी रुपमा सफ्टवेयरहरू डाउनलोड गरेर चलाइ रहनु पनि हुँदैन। यदि तपाइ माइक्रोसफ्ट वोर्ड चलाउनु हुन्छ भने त्यसमा Macro Virus Protection लाई enable गर्नु राम्रो हुन्छ।

अचेल पेनड्राइभबाट सर्ने भाइरस पनि निकै ठूलो मात्रामा देखा परेको छ। यस किसिमका भाइरसहरू विन्डोजको अटो-रन द्वारा सर्ने गर्दछन्। अटो-रनका माध्यमद्वारा विन्डोजमा CDROM तथा पेनड्राइभ कम्प्युटरमा हाल्ने बित्तिकै त्यसमा भएका प्रोग्रामहरू आफैं चल्ने गर्दछन्। यसरी तपाईँको पेनड्राइभमा भाइरस छ भने अर्को कम्प्युटरमा हाल्ने बित्तिकै अटो-रनको माध्यमद्वारा उक्त भाइरस प्रोग्राम आफैं रन हुने गर्दछ र त्यस कम्प्युटरमा पनि भाइरस लाग्ने गर्दछ। त्यस्तै कम्प्युटरमा त्यस किसिमको भाइरस लागेको छ भने पेनड्राइभ हाल्ने बित्तिकै भाइरसले उक्त पेनड्राइभमा पनि भाइरस हाली अटो-रनद्वारा चल्ने बनाउने गर्दछन्। अचेल सबैले पेनड्राइभ चलाउने भएकाले यस्ता किसिमका भाइरसहरु निकै ठूलो मात्रामा देखा परेको हो।

यस्ता भाइरसद्वारा बच्नका लागि आफ्नो कम्प्युटरमा अटोरन बन्द गर्नु सबै भन्दा उपयुक्त हुने गर्दछ्। यदि तपाइ विन्डोज XP चलाउनु हुन्छ भने अटोरन बन्द गर्न निम्न प्रक्रिया अपनाउनु होस्।
  • कम्प्युटरमा Start मा गइ Run क्लिक गर्नुस
  • Run को विन्डो देखापर्छ, त्यहा gpedit.msc टाइप गरि इन्टर गर्नु होस्
  • यस पछि एउटा प्रोग्राम खुल्छ, त्यहाँ Computer Configuration मा गई Administrative Templates मा क्लिक गर्नुस। त्यस पछि System मा क्लिक गरि Turn off Autoplay लाई डबल क्लिक गर्नुहोस्।
यति गरिसकेपछि तपाईँको कम्प्युटरमा अटोरन बन्द हुने गर्दछ र पेनड्राइभ हाल्दैमा भाइरस सरिहाल्दैन।

तर यदि तपाई अरु कसैको कम्प्युटरमा पेनड्राइभ हाल्दै हुनुहुन्छ भने भाइरस सर्नुबाट कसरी बच्ने त? यसको लागि सबैभन्दा सरल उपाय, पेनड्राइभ हाल्नु भन्दा पहिले देखि पेनड्राइभ हालेको केहि बेर सम्म Shift थिचिराख्नुस। यसरी Shift थिच्दा पेनड्राइभको अटोरन Shift थिचुन्जेल बन्द हुने गर्दछ। अब पेनड्राभ खोल्दा पेनड्राइभको icon लाइ डबलक्लिक नगरी Right-click गरि Explore गर्ने गर्नुहोस्।

त्यसतै गरि अचेल विन्डोजको फोल्डर जस्तै icon भएको तथा जुन folder मा हो त्यसकै नाम भएको भाइरस प्रोग्रामहरू पनि धेरै मात्रामा देखा परेको छ। धेरै कम्प्युटर प्रयोगकर्ताहरु यस्ता प्रोग्रामहरूलाई folder भनी double click गर्ने गर्दछन, जसले गर्दा भाइरस run हुने गर्दछ। यस्ता भाइरसहरुद्वारा सतर्क रहन तथा अन्जानमै double click गर्नबाट जोगिन निम्न तरिका अपनाउन सकिन्छ।
  • Windows Explorer मा जानुहोस
  • मेनुको View को Arrange Icons By मा Show in Groups छान्नुहोस
  • त्यस्तै सोही मेनुमा By type पनि छान्नुहोस
यति गरिसकेपछि तपाइको कम्प्युटरमा फाइलहरु प्रकारका आधारमा मिलेर आउछन्। साच्चिकैका फोल्डरहरु एक ठाउमा हुन्छन भने फोल्डर जस्तै देखिने भाइरसहरु अर्को ठाउमा। र तपाई भाइरसको फाइललाई अन्जानमै double click गर्नबाट जोगिन सक्नुहुन्छ। यो सेटिङलाई राखिराख्न Tools मेनुको folder Option मा गइ View मा Apply to All Folders भन्ने बटन क्लिक गर्नुस्।

कम्प्युटरमा सुरक्षाको जतिसुकै तरिका अपनाएपनि शतप्रतिशत सुरक्षित हुन सकिन्न। अहिलेसम्म कम्प्युटरको हार्डवेयरलाई बिगार्ने भाइरसको बिकास भएको छैन, त्यसैले भाइरसद्वारा बचाउनु पर्ने सबैभन्दा महत्वपुर्ण कुरा भनेकै आफ्नो फाइल तथा डेटाहरु हुन। त्यसैले आफ्ना फाइल तथा डेटाहरु लाई बेलाबेलामा Backup गर्नु नै उचित हुन्छ। त्यस्तै राम्रो खालको एन्टिभाइरस सफ्टबेयरको प्रयोग गर्न र सधै सतर्क रहिरहन पनि बिर्सन हुदैन।

No comments: