हामी मध्ये धेरैले कम्प्युटर चलाउँदा वैधानिक सफ्टवेयर चलाइ रहेका हुँदैनौ। हामीले अहिले चलाइ रहेको अधिकांश सफ्टवेयर चोरीको हुने गर्छन्। सक्कली सफ्टवेयरको तुलनामा अत्यन्त नगण्य मूल्यमा पाइने यी सफ्टवेयरहरू हामीले बजारबाट किनेर ल्याइ प्रतिलिपि पनि बनाई आफ्नो कम्प्युटरमा हाल्ने गर्दछौं। तर ती सफ्टवेयर कम्प्युटरमा हाल्दा आउने उक्त सफ्टवेयर सम्बन्धि लाइसेन्स भने हामी कसैले पनि पढ्ने गरेका हुँदैनौ। उक्त लाइसेन्स राम्रो सँग अध्ययन गर्ने हो भने हामीले गरिरहेका यी सबै कार्यहरू अवैधानिक हुन भन्ने कुरा प्रस्ट हुन आउँछ। यसरी अवैधानिक रुपमा चोरीको सफ्टवेयर चलाउनु पक्कै पनि राम्रो कुरा हैन।
यसरी अवैधानिक रुपमा सफ्टवेयर चलाउन बाट बच्ने दुई तरिकाहरू छन्। एक, सफ्टवेयरको वैधानिक तथा सक्कली प्रति किन्ने। तर यो कुरा हामी आम सामान्य प्रयोगकर्ताको लागि सम्भव नहुन सक्छ किनकी सफ्टवेयरहरूको मूल्य हाम्रो पहुँच बाहिरको कुरा हुन आउँछ। जस्तै उदाहरणको लागि हामी सबैले प्रयोग गर्ने माइक्रोसफ्ट विन्डोजको मूल्य करिब ३०० डलर अर्थात् करिब १८ हजार सम्म पर्न सक्छ। त्यस्तै सबैले प्रयोग गर्ने अर्को सफ्टवेयर माइक्रोसफ्ट अफिसको मूल्य करिब ४०० डलर अर्थात् करिब २५ हजार जति पर्ने गर्छ। यसरी कम्प्युटरलाई चाहिने सम्पूर्ण सफ्टवेयरको मूल्य हिसाब गर्दै जाँदा लाखौं पुग्न सक्छ। यो मूल्य अवश्य नै आम नेपाली कम्प्युटर प्रयोगकर्ताको पहुँच बाहिरको कुरा हो। तर यो सबैको विकल्प नभएको भने पक्कै पनि हैन। यसरी क्षमता भन्दा बाहिरको वा चोरीको सफ्टवेयरको प्रयोगबाट मुक्त हुन हामी खुला तथा स्वतन्त्र सफ्टवेयरको प्रयोग गर्न सक्छौ।
खुला तथा स्वतन्त्र सफ्टवेयर भन्नाले त्यस्ता सफ्टवेयरलाई जनाउँछ, जसले प्रयोगकर्तालाई त्यस सफ्टवेयर कुनै पनि कामको निम्ति प्रयोग गर्न, सफ्टवेयरले कसरी काम गर्छ भनि अध्ययन गर्न, त्यस सफ्टवेयरलाई आफ्नो चाहना वा परिस्थिति अनुसार परिवर्तन गर्न तथा सफ्टवेयरको प्रतिलिपि बनाइ बाँड्न स्वतन्त्रता दिएको हुन्छ। बन्द तथा व्यापारिक सफ्टवेयरहरूलाई प्रतिलिपि बनाइ बाँड्न मनाही गरिएको हुन्छ भने खुला तथा स्वतन्त्र सफ्टवेयरहरूले सफ्टवेयर बाँड्न प्रेरित गर्ने गर्छन्।
प्रोग्रामर या सफ्टवेयर विकासकर्ताले कुनै पनि सफ्टवेयर तयार गर्दा सधैं भावी प्रयोगकर्ताहरूको लागि त्यसका सोर्स कोडहरु अध्ययन र आवश्यक परिमार्जनको निम्ति खुला राखि दिनु पर्ने स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरको नीति रहेको छ। यसै कारणले स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरका प्रयोगकर्ताले आफ्ना इच्छा तथा आवश्यकता अनुसार प्रोग्रामको कोडहरुमा फेरबदल गर्न सक्छन्। स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरका यही गुणका कारण यसमा आधारित सफ्टवेयरहरूलाई कम लागत मै स्थानीय करण गर्न सकिन्छ अर्थात् आफ्नो आवश्यकता अनुसार सफ्टवेयरलाई कुनै पनि स्थानीय भाषा, संस्कृति, पात्रो र समय अनुसार सजिलै ढाल्न सकिन्छ। यसै गरी कुनै पनि सफ्टवेयरको बिक्री गर्दा केवल सफ्टवेयर जडान तथा अन्य आवश्यक सेवाका निम्ति मात्र आवश्यक शुल्क लिन सकिन्छ भन्ने नीतिका कारण स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर सर्वाधिकार सुरक्षित सफ्टवेयरहरू (अर्थात Proprietary Software) भन्दा निकै सस्तो पनि पर्न आउँछन्। सर्वाधिकार सुरक्षित सफ्टवेयरहरूमा हरेक सफ्टवेयरमा सफ्टवेयर बनाउँदा पर्न गएको मूल्यका साथसाथै त्यसलाई चलाउन आवश्यक लाइसेन्स र सेवाको मूल्य पनि संलग्न हुने हुँदा निकै महँगो पर्न जान्छ। फेरि, सर्वाधिकार सुरक्षित सफ्टवेयरहरूलाई समय समयमा स्तरवृद्धि नगरिएमा खडा हुने समस्याहरूले पनि प्रयोगकर्तालाई धेरै पिरोल्ने गर्छ।
स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरको सबै भन्दा ठूलो विशेषता भनेकै संसारभरका हजारौं सफ्टवेयर विकासकर्ताहरुका संलग्नता र सफ्टवेयर तयार गर्न अपनाइएको विधि बारे सर्वसाधारणले जानकारी लिन सक्नु हो। तर सफ्टवेयर विकासकर्ताले पनि आफ्नो सृजना ओझेलमा पर्न जान्छ भनेर पनि चिन्ता गर्नु पर्दैन किनकि उक्त सफ्टवेयरमा कसैले फेरबदल गरेपनि पहिला कुन कुन कोडमा आधारित थियो र पछि त्यसमा के कस्ता परिवर्तन गरियो भनेर खुलस्त राख्नु पर्ने नियम छ। यसका लागि खुला सफ्टवेयरको वितरण गर्दा यसै विधामा आधारित विभिन्न लाइसेन्सहरूको प्रयोग गरि आफ्नो सफ्टवेयरलाई बजारमा ल्याउन सकिन्छ।
यी बाहेक पनि प्रयोगकर्ताहरूलाई स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरको प्रयोगबाट विभिन्न फाइदाहरू हुने गर्दछ। सबै भन्दा ठूलो तथा महत्वपूर्ण फाइदा सफ्टवेयरको मूल्यमा हुने गर्दछ। अधिकांश स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरहरू प्राय सित्तैमा पाइने गर्दछ। यस कारणले गर्दा पनि यस्ता सफ्टवेयरको प्रयोग गर्दा मूल्यमा व्यापक कटौती हुने गर्दछ। त्यस्तै यदि तपाई एक सम्मानित व्यक्ति हुनुहुन्छ र चोरीको सफ्टवेयरको प्रयोग गरि आफ्नो छवि धमिल्याउन चाहनु हुन्न भने पनि खुला स्रोत सफ्टवेयरको प्रयोग गर्न सक्नु हुन्छ। त्यस्तै खुला स्रोत सफ्टवेयरको सबै भन्दा प्रमुख प्रयोग सरकारी क्षेत्रमा हुन सक्छ। यस्ता ठाउँहरूमा सफ्टवेयर पारदर्शिताको ठूलो महत्व हुने गर्दछ, र यो केबल खुला स्रोत सफ्टवेयरको माध्यमबाट मात्र सम्भव हुन सक्दछ। खुला स्रोत सफ्टवेयरहरूले यस्ता क्षेत्रहरूलाई कुनै एक निश्चित सफ्टवेयर निर्मातामा निर्भर रहनु पर्ने समस्याबाट पनि मुक्त पार्ने गर्दछ।
खुला स्रोत सफ्टवेयरहरूको यति चर्चा गरिसकेपछि केही उदाहरण तिर लागौँ। अहिले कम्प्युटरमा गर्न सकिने हरेक कामको लागि खुला स्रोत सफ्टवेयरहरू उपलब्ध छन्। सर्वप्रथम कम्प्युटर सञ्चालन प्रणालीकै कुरा गर्दा अहिले लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। लिनक्सलाई कम्प्युटरमा हामीमध्ये धेरैले चलाउने विन्डोजको सट्टामा प्रयोग गर्न सकिन्छ। लिनक्स खुला तथा स्वतन्त्र हुनुका साथै निकै भरपर्दो पनि छ। विन्डोजमा जस्तो भाइरस लाग्ने तथा क्र्यास हुने समस्या यसमा हुँदैन।
त्यस्तै माइक्रोसफ्ट वोर्ड, एक्सेल अर्थात अफिसको रुपमा ओपनअफिस डट अर्ग प्रयोग गर्न सकिन्छ। यस खुला सफ्टवेयरमा माइक्रोसफ्ट वोर्ड तथा एक्सेलका फाइलहरू लगायत अन्य विभिन्न प्रकारका फाइलहरू खोल्ने तथा भण्डारण गर्ने सुविधा रहेको छ। यसका साथै पिडिएफ फाइल बनाउने तथा नेपाली spelling checking जस्ता सुविधाहरू पनि यसमा रहेका छन्। त्यस्तै धेरैले प्रयोग गर्ने मोजिला फायरफक्स नामक इन्टरनेट चलाउने सफ्टवेयर पनि खुला तथा स्वतन्त्र हो। फोटोहरू सम्पादन गर्न प्रयोग गरिने फोटोसपको सट्टामा जिम्प नामक सफ्टवेयर प्रयोग गर्न सकिन्छ। त्यस्तै इन्टरनेट मेसेन्जरको रुपमा गायम नामक सफ्टवेयरको प्रयोग गर्न सकिन्छ। रमाइलो कुरा के छ भने, इन्टरनेट चलाउँदा तपाइले अप्रत्यक्ष रुपमा स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरनै चलाइरहनुभएको हुन्छ। विश्वका अधिकांश वेब सर्भरहरुमा एपाचे नामक सफ्टवेयरको प्रयोग गरिएको हुन्छ जुन खुला सफ्टवेयर हो। त्यस्तै गुगलले पनि आफ्ना प्राय सम्पूर्ण सर्भरमा लिनक्स राखेको छ।
अहिले विश्वमा नै खुला तथा स्वतन्त्र सफ्टवेयरको प्रयोग बढ्दो छ। सरकारी तवरमा हेर्ने हो भने फ्रेन्च सरकारले आफ्नो सम्पुर्ण कार्य खुला तथा स्वतन्त्र सफ्टवेयरमा गर्ने गर्दछ। जापानी सरकारले पनि भर्खरै आफ्नो सम्पूर्ण काम खुला सफ्टवेयरमा गर्ने निर्णय गरेको छ। अफ्रिकाका प्राय देशहरूले खुला सफ्टवेयर प्रयोग गर्ने गर्दछन्। अमेरिकी आर्मीले समेत आफ्नो कामकाज खुला तथा स्वतन्त्र सफ्टवेयरमा गर्ने गर्दछ। आम प्रयोगकर्ताहरुमाझ पनि लिनक्स तथा अन्य खुला सफ्टवेयरहरू निकै नै प्रचलित हुँदै गइरहेको छ। नेपालमा पनि खुला तथा स्वतन्त्र सफ्टवेयर प्रयोग गर्नेहरुको जमात निकै ठूलो भैसकेको छ। अब हामी पनि खुला तथा स्वतन्त्र सफ्टवेयर प्रयोग गर्नमा किन पछि पर्ने त?
Saturday, September 29, 2007
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment