Sunday, December 30, 2007

सन् २००८ का लागि सूचना तथा प्रविधिसँग सम्बन्धित केही अनुमानहरू

सन् २००७ सकिनै लागिसकेको छ। सन् २००७ को अन्त्य संगसंगै अब आउँदो २००८ मा सूचना तथा प्रविधिको क्षेत्रमा के के नयाँ आविष्कार तथा विकासहरू हुने हुन, यस बारेमा पनि निकै नै टीका-टिप्पणी तथा अड्कलबाजीहरू हुन थालिसकेका छन्।

विन्डोज भिष्टा
माइक्रोसफ्ट विन्डोज को नयाँ सँस्करण भिष्टाको निम्ति यस सन् २००७ निकै नै नराम्रो रह्यो। सकारात्मक भन्दा नकारात्मक पक्ष धेरै भएकाले धेरैले आफ्नो कम्प्युटरमा माइक्रोसफ्टको यस नयाँ सञ्चालन प्रणाली राखेनन्, र जसले राखे ती पनि यस विन्डोज भिष्टाको ढिलो चल्ने तथा र्‍याम धेरै प्रयोग हुने समस्याबाट दिक्क भइ पुरानै विन्डोज XP तिरै पुन लाग्न थालिसकेका छन्। यस कारण पनि माइक्रोसफ्ट ले २००८ मा भिष्टालाइ भन्दा XP लाई नै प्रबर्द्धन गर्ने बारे धेरै कम्प्युटर विज्ञहरूले अड्कलबाजी गरेका छन्। २००८ मा पनि धेरैले विन्डोज XP कै प्रयोग गर्ने कुरा विश्वास गरिएको छ।

लिनक्स
माइक्रोसफ्टको खराब Operating System तथा भाइरस अनि सुरक्षा सम्बन्धी कारणले धेरैले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। र यो प्रक्रिया २००८ मा अझ झन तीब्र गतिमा हुने कुराको विश्वास कम्प्युटर विज्ञहरूले लिएका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग, गुगलद्वारा लिनक्समा आधारित Android नामक मोबाइल सञ्चालन प्रणालीको विकास तथा प्रबर्द्धन तथा सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका कारणले पनि लिनक्सको प्रयोग २००८ मा अझै बढ्ने कुरामा धेरैले विश्वास लिएका छन्।

प्रविधि तथा वातावरण को तालमेल
आउँदो २००८ मा प्रविधि तथा वातावरण को तालमेल सम्बन्धी कुरामा निकै ध्यान दिइने कुराको पनि भविष्यवाणीहरू गर्न थालिएको छ। विश्वव्यापी रुपमा बिग्रँदो वातावरण सम्बन्धी बहस भइरहेको बेला सूचना प्रविधिको क्षेत्र पनि यसबाट टाढा रहनु सम्भव छैन। सूचना प्रविधि सम्बन्धी अब आउने उपकरणहरू बनाउँदा वातावरण तथा कम उर्जा खपत हुने गरि बनाउने कुरामा सन् २००८ मा ध्यान दिइने छ।

नेटवर्क सम्बन्धी विकासहरू
आउँदो २००८ मा कम्प्युटरका नेटवर्क सम्बन्धी उपकरण तथा प्रविधिमा अझ सुधार तथा बिकास हुने कुरा पनि कम्प्युटर विज्ञहरूले बताएका छन्। मोबाइल जस्ता साना उपकरण मात्र नभइ ठूला उपकरणहरूमा पनि WiFi जस्ता प्रविधिहरू समायोजन हुने छन्। मिडियाको खोज, अनलाइन सपिङ तथा अन्य विभिन्न नेटवर्क सम्बन्धी सफ्टवेयर तथा सुविधाको प्रयोग अझ बढ्नेछ।

Virtualization
कम्प्युटरमा virtualization सम्बन्धी प्रविधि पनि २००८ मा निकै नै विकास हुने छ। Virtualization को माध्यमद्वारा एकै कम्प्युटरमा विभिन्न प्रोसेसर तथा प्रणालीहरूलाई सञ्चालन गर्न सकिन्छ। उदाहरणको लागि virtualization को माध्यमद्वारा विन्डोजभित्रै लिनक्स चलाउन सकिन्छ। पहिले पहिलेका कम्प्युटरहरूमा केवल एक प्रोसेसर हुने भएकाले यो प्रविधि निकै नै जटिल तथा महँगो मानिन्थ्यो तर अहिले प्रोसेसर भित्र एक भन्दा बढि प्रोसेसरहरू हुने dual तथा quad प्रोसेसरहरूको विकास भैसकेकाले तथा यस्ता प्रोसेसरहरू सामान्य हुनै गइरहेकाले २००८ मा virtualization प्रविधि अझ बढ्दो रुपमा प्रयोग हुने निश्चित छ।

मोबाइल
यसबाहेक आउँदो २००८ मा मोबाइल जस्ता साना उपकरणहरू PC कम्प्युटर सरह हुने तथा यस्ता उपकरणमा पनि कम्प्युटरकै जस्तै तीब्र गतिको इन्टरनेटको सुविधा उपलब्ध हुने देखिएको छ। हुन त नोकिया र मोबाइल सेवा प्रदायक भोडाफोन जस्ता कम्पनीहरूले यो हुन नदिने प्रयास गर्छन्, तर यसै वर्ष निकालिएको Apple Corporation को iPhone तथा गुगलको मोबाइल सञ्चालन प्रणाली Android को विकास र यसको लोकप्रियताका कारणले अन्त्यमा मोबाइल उपकरणहरू नै हावी हुने कुरा अड्कल गरिएको छ।

भण्डारण
त्यस्तै कम्प्युटर विज्ञहरुले कम्प्युटरका भण्डारण प्रणाली तथा क्षमताको बारेमा पनि निकै अड्कलहरू गरेका छन्।

फ्ल्यास मेमेरीको भाउ घट्दै गइरहेकाले २००८ मा फ्ल्यास मेमेरी युक्त हार्ड डिस्कहरू निकै नै लोकप्रिय हुने तथा यसको भाउ पनि निकै ठूलो मात्रामा घट्ने अड्कल गरिएको छ। त्यस्तै सन् २००८ मा कम उर्जा खपत हुने हार्ड डिस्क सम्बन्धी निर्माण तथा अनुसन्धान को क्रंम पनि जारी रहने छ।

इन्टरनेट
त्यस्तै इन्टरनेट तथा वेब को क्षेत्रमा पनि निकै अड्कलबाजीहरू भएका छन्।

आउँदो २००८ मा बढि भन्दा बढि प्रयोगकर्ता केन्द्रित वेबसाइटको विकास हुने देखिएको छ। त्यस्तै Semantic web को क्षेत्रमा पनि निकै नै सुधार हुने कुराको अड्कल पनि कम्प्युटर पण्डितहरूले गरेका छन्।

त्यस्तै वेब २.० को क्षेत्रमा पनि निकै सुधार हुने तथा धेरै भन्दा धेरै वेबसाइटहरू वेब २.० मा परिवर्तन हुने बारेमा पनि निकै अड्कल भएका छन्। त्यस्तै वेब २.० मा प्रयोग हुने AJAX, RSS जस्ता प्रविधिहरूको प्रयोगमा पनि बृद्धि हुने देखिन्छ।

त्यस्तै वेब ब्राउजरको क्षेत्रमा फायरफक्स ब्राउजरले अहिले सबैभन्दा बढि प्रयोग हुने इन्टरनेट एक्सप्लोरर् लाई उछिन्ने कुरामा पनि धेरै कम्प्युटर विज्ञहरु ढुक्क भएका छन्।

त्यस्तै इन्टरनेटको प्रयोग बढि भन्दा बढि मोबाइलहरूमा हुने कुराको पनि अनुमान गरिएको छ।

धेरैले अब २००८ मा वेबमा हुने नया आविस्कार तथा नया प्रविधिहरु अमेरिका तथा पश्चिमी नभइ चीन, जापान जस्ता एसियाली राष्ट्रहरूमा हुने अनुमान गरेका छन्।

नकारात्मक अनुमानहरू
यसबाहेक सन् २००८ का निम्ति केही नकारात्मक अड्कलबाजीहरु पनि भएका छन्।

The Economist Magazine ले गरेको एक अड्कल अनुसार सन् २००८ मा इन्टरनेट निकै नै सुस्त गतिको हुने छ। सङ्गीत तथा भिडियो डाउनलोड गर्ने क्रम बढिरहेकाले र यस सम्बन्धी वेबसाइटहरू पनि बढिरहेकाले इन्टरनेटको जाम हुने त हैन भन्ने शङ्का पनि गरिएको छ।

त्यसतै गुगलको बढ्दो प्रभावको बारेमा जनमानसमा निकै नै शङ्का उपशङ्का हुने तथा प्रयोगकर्ताहरू केही मात्रामा गुगलको विपरीत जाने कुराको पनि अड्कल गरिएको छ।


यी सबै अड्कलहरूबाट के भन्न सकिन्छ भने सन् २००८ मा कम्प्युटर तथा सूचना प्रविधिको क्षेत्रमा निकै नै सुधार तथा परिवर्तनहरू हुनेछन्। यी सबै सकारात्मक अड्कलहरु पुरा होस् र यसबाहेक अन्य धेरै प्रविधि तथा आविष्कारहरू ले २००८ भरिपूर्ण होस् भनी हामी आशा गर्न सक्छौ।

स्रोत: PCWorld, The Economist, Slashdot.org

No comments: