Saturday, August 18, 2007

ओएलपिसि

ओएलपिसि एक सस्तो शैक्षिक ल्यापटप कम्प्युटर हो जसलाई विश्वभरका हरेक बालबालिकाहरू माझ बाँड्ने योजना बनाइएको छ, खास गरेर विकासोन्मुख मुलुकहरूमा। १०० डलरको ल्यापटप वा प्रति बच्चा एक ल्यापटप भनेर चिनिने यस ल्यापटपको आधिकारिक नाम XO-1 हो। नेपालमा यस ल्यापटपलाई 'मेरो सानो साथी' भनेर नामकरण गरिएको छ। यस ल्यापटपको मुख्य उद्देश्य ज्ञान र शिक्षाको आधुनिक रूपको पहुँच बालबालिकाहरू माझ पुर्‍याउनु रहेको छ। यस ल्यापटपको विकास प्रति बच्चा एक ल्यापटप (अर्थात, One Laptop Per Child, OLPC) ले गरिरहेको छ। ओएलपिसि अमेरिका स्थित एक गैर सरकारी नाफा रहित संस्था हो, जसको स्थापना एमआइटि मिडिया ल्याबका अध्यापकहरूले त्यस ल्यापटपको परिकल्पना, निर्माण र वितरणका लागी गरेका हुन्।

विशेषत: बलियो तथा कम उर्जा प्रयोग गर्ने यो ल्यापटपमा हार्ड डिस्कको सट्टामा फ्ल्यास मेमोरी राखिएको छ र सञ्चालन प्रणालीको रुपमा लिनक्स राखिएको छ। यसमा रहेको ताररहित सञ्जालको सुविधाद्वारा एक भन्दा बढि ल्यापटप बीच सूचना आदानप्रदान गर्ने सुविधा पनि यस ल्यापटपमा रहेको छ।

यस ल्यापटपलाई बालबालिकाहरूका अभिभावकले किन्ने नभइ सरकारी तवरमा देशका हरेक बच्चालाई बाँड्ने लक्ष्य राखिएको छ। यस ल्यापटपको मूल्य अहिले १३५ देखि १७५ डलरसम्म पर्ने गर्दछ। तर सन् २००८ सम्ममा ठुलो मात्रामा उत्पादन गर्दा यसको मूल्य १०० डलर सम्ममा झार्ने लक्ष्य राखिएको छ। यस ल्यापटपको उत्पादन गर्ने ठेक्का ताइवानको क्वान्टा नामक कम्पनीले पाएको छ। ओएलपिसिलाई ए.एम्.डि, -बे, गुगल, मार्भल, न्युज कर्पोरेसन, रेड ह्याट जस्ता बिभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले प्रायोजन गरेको छ। पछिल्लो समयमा इन्टेल पनि यो सुचीमा थपिएको छ। त्यस्तै संयुक्त राष्ट्र बिकास कार्यक्रम (UNDP) ले पनि यस ल्यापटपलाई सहयोग पुर्‍याउने बताएका छन्।

अहिले सम्म ७ वटा राष्ट्रहरु अर्जेन्टीना, ब्राजिल, लिबिया, नाइजेरिया, रुवान्डा, थाइल्यान्ड र उरुग्वेले यस ल्यापटप खरिद गर्ने सहमति जनाइसकेका छन्। नाइजेरियाले १० लाख प्रति ल्यापटप खरिद गर्ने भैसकेको छ। त्यस्तै लिबियाले १२ लाख प्रति खरिद गर्ने भएको छ। अन्य देशहरूमा यस ल्यापटपको सम्भाव्यता सम्बन्धी अध्ययनहरु भइरहेका छन्। भर्खरै नेपाल सरकारले पनि प्रयोगको रूपमा दुई जिल्लामा यस ल्यापटपको वितरण गर्ने कुरा बताएको छ।

ओएलपिसि सेमोर पेपर्ट तथा एलेन कि द्वारा प्रतिपादित रचनात्मक सिकाइको सिद्धान्तमा आधारित छ। यस ल्यापटपको परिकल्पना तथा अनुसन्धान धेरै पहिले देखि भए पनि नोभेम्बर १६, २००५ मा ट्युनिसियामा भएको World Summit on the Information Society मा ओएलपिसिका संस्थापक निकोलस नेग्रोपोन्ते तथा संयुक्त राष्ट्रका पुर्व महासचिव कोफी अन्नानद्वारा सार्वजनिक गरे पछि यस ल्यापटप चर्चामा आएको हो। ओएलपिसिको पहिलो काम गर्ने मोडेल मे २३, २००६ मा सार्वजनिक भएको थियो।

यस ल्यापटपको बिकास गर्दा सानो आकार, कम मूल्य तथा धेरै खप्ने बनाउने प्रयास गरिएको छ। प्राबिधिक रुपमा हेर्दा यस ल्यापटपमा भिडियो क्यामेरा, माइक र लामो दुरीको ताररहित वाइ-फाई सञ्जालको सुबिधा रहेका छन्। ल्यापटपको बिकासका लागि निम्न कुराहरुमा बिशेष ध्यान पुर्‍याइएको छ।

  • कम उर्जा खपत, करिब २-३ वाट मात्र

  • सस्तो

  • हेर्दा राम्रो देखिने

  • ल्यापटपमा किताब पढ्नका निम्ति कम उर्जा प्रयोग हुने छुट्टै प्रणाली

  • प्रयोग हुने सम्पुर्ण सफ्टवेयरहरु खुला तथा स्वतन्त्र

ल्यापटपको हार्डवेयर पक्षहरुमा यस ल्यापटपमा ०.८ वाट् मा चल्ने ४३३ मेगाहर्जको प्रोसेसरको प्रयोग गरिएको छ। त्यसतै यस सानो आकारको ल्यापटपमा ७.५ इन्चको एल सि डि स्क्रिन रहेको छ। भण्डारण क्षमताको रुपमा २५६ मेगाबाइट र्‍याम तथा हार्ड डिस्कको सट्टामा १ गिगाबाइटको फ्ल्यास मेमोरीको प्रयोग गरिएको छ। त्यस्तै यसमा लामो दुरी सम्म काम गर्ने ताररहित सञ्जालको उपकरणहरुको प्रयोग गरिएको छ, जसको एन्टेना ल्यापटप बन्द गर्दा पनि काम गर्ने गर्दछ। श्रव्य दृश्यको लागि यस ल्यापटपमा भिडियो क्यामेरा, माइक र स्पिकरहरु रहेका छन्। यसमा प्रयोग हुने ब्याट्रि सामान्य ल्यापटपहरुको भन्दा १० गुणा बढि टिक्ने खालको छ। बत्ती नभएको ठाउँमा प्रयोग गर्नका निम्ति यसमा हातले दम दिई चार्ज गर्न सकिने प्रबिधिको पनि बिकास गरिएको छ। यस ल्यापटपमा USB को माध्यमद्वारा प्रिन्टर जस्ता अन्य उपकरणहरु पनि जोड्न सकिन्छ।

यस ल्यापटपको बिकास गर्दा कम उर्जा खपतमा बिशेष ध्यान दिइएको छ। यस ल्यापटपले सामान्य कार्य गर्दा करिब २ वाट् बिजुली खपत गर्ने गर्दछ, जब कि अन्य सामान्य ल्यापटपहरुले ४५ वाट सम्म बिजुली खपत गर्ने गर्दछ। त्यस्तै यसमा किताब पढ्नका निम्ति कम उर्जा प्रयोग हुने छुट्टै प्रणाली रहेको छ, जसको उर्जा खपत जम्मा ०.३ वाट् रहेको छ।

यस ल्यापटपमा प्रयोग हुने सम्पुर्ण सफ्टवेयरहरु खुला तथा स्वतन्त्र रहेको छ। यसको मतलब यसमा रहेका सफ्टवेयरले कसरी काम गर्छ भनी जान्न चाहेमा यस सुबिधा बालबालिकाहरूलाई हुने गर्छ र चाहेमा त्यसमा सुधार ल्याउने तथा परिवर्तन गर्ने सुबिधा पनि बालबालिकाहरूमा हुने गर्दछ।

ओएलपिसिको प्राबिधिक पक्षको जतिसुकै चर्चा गरेपनि यो एक शैक्षिक परियोजना हो। यस ल्यापटपको प्रयोग गर्दा बालबालिकाहरूको सिकाईलाई प्रमुख प्राथमिकता दिइएको छ। विकासोन्मुख देशहरु जहाँ बालबालिकाहरूको विद्यालयसम्मको पहुँच कम छ, त्यस्ता ठाउँहरूमा यस ल्यापटपको प्रयोग महत्वपूर्ण हुन सक्छ। यस ल्यापटपको प्रमुख उद्देश्य बालबालिकाहरूलाई ल्यापटपमा बिभिन्न शैक्षिक खेलहरु खेल्दै सिक्न प्रेरित गर्नु रहेको छ। यसकारण यो ल्यापटप बालबालिकाहरूका लागि शिक्षा हासिल गर्ने एक साधनका रुपमा बिकास गरिएको छ।

धेरैलाई यस ल्यापटपको मुल्य अलि चर्को पनि लाग्न सक्छ। तर यो ल्यापटपलाई किताबको सट्टामा पनि प्रयोग गर्न सकिन्छ। यसरी किताबको सट्टामा मात्रै यस ल्यापटपको प्रयोग गर्दा पनि लगभग ल्यापटपको खर्च उठाउन सकिन्छ। यसबाहेक यस ल्यापटपलाई बालबालिकाहरूले पढ्न, लेख्न तथा रचनात्मक कार्य गर्न सहयोग पुर्‍याउने सानो साथीका रुपमा प्रयोग गर्न सक्छन्।

ओएलपिसि ल्यापटपको यति धेरै गुणहरू हुँदा हुँदै पनि यसका आलोचकहरु पनि नभएका हैनन्। धेरैले यस ल्यापटपको सुरक्षा तथा अवैध चोरी निकासी प्रति प्रश्‍न उठाएका छन्। हाम्रै छिमेकी राष्ट्र भारतले आफै छुट्टै खालको प्रबिधि बिकास गरी ल्यापटपको उत्पादन तथा वितरण गर्ने बताएको छ। त्यस्तै कसैले यस ल्यापटपको प्रयोग शिक्षा हासिल गर्न नभई अरु नै गलत कार्यको लागि पनि हुन सक्ने प्रति सतर्क गराएका छन्।

ओएलपिसि विद्यालय सम्मको पहुँच कम भएका बालबालिकाहरूको लागि आशा लाग्दो प्रबिधि हो। नेपाल जस्तो मुलुक जहाँ अझै पनि रटन्ते सिकाइ हावी छ, त्यहाँ ओएलपिसि ल्यापटपले बालबालिकाहरूले शिक्षा हासिल गर्ने तरिकामा आमूल परिवर्तन ल्याउन सक्छ। यस ल्यापटप अझै पनि बिकासको क्रममा छ, तर बालबालिकाहरूको हातमा पुगुन्जेल सम्ममा पक्कै पनि यो ल्यापटप बालबालिकाहरूको एक सानो साथीको रुपमा प्रस्तुत हुने कुरामा हामी आशावादी हुन सक्छौ।


No comments: