Wednesday, August 8, 2007

विकिपेडिया

सायद तपाइले विकिपेडियाको बारे कतै न कतै सुन्‍नुभएको होला वा इन्टर्नेट सर्फ गर्दा विकिपेडियामा रहेका लेखहरु पढ्नु पनि भएको होला। विकिपेडिया यति प्रख्यात भएको छ कि, गुगलमा सर्च गर्दा धेरै पटक विकिपेडियाका लेखहरु देखिने गर्छन्। विकिपेडिया विश्वको प्रमुख १०० वेबसाइटमा पनि परेको छ।

यति प्रख्यात हुँदा हुदै पनि धेरैलाई विकिपेडियाको बारेमा खासै थाहा नहुन सक्छ। विकिपेडियामा रहेका त्यति धेरै लेखहरु कहाँबाट आउछ? के ती लेखहरु भरपर्दा छन्? विकिपेडिया यति धेरै चर्चित हुनुको कारण के हो? यस सम्बन्धमा केहि चर्चा गरौ।

विकिपेडियालाई बुझ्नु भन्दा पहिले विकिको बारेमा जानकारी हुनु आवश्यक हुन्छ। सामान्यत वेबसाइटहरु निर्माण गर्दा त्यस वेबसाइटमा रहेका विषयवस्तु त्यस वेबसाइटकै बिकासकर्ताले राख्ने गर्छन्। त्यस्ता वेबसाइटमा रहेका बिषयबस्तु त्यस वेबसाइटका निर्माताले परिवर्तन नगरुन्जेल जस्ताको तस्तै रहने गर्छ र कसैलाई त्यस वेबसाइटमा रहेका लेख तथा अन्य बिषयबस्तु अनुपयुक्त लागेमा त्यस सम्बन्धि केहि गर्ने सुबिधा हुदैन। त्यस्ता वेबसाइटका सम्पुर्ण कुराहरु त्यस बवेबसाइटका निर्मातामै निर्भर रहेको हुन्छ।

तर विकि भन्‍नाले त्यस्ता वेबसाइटहरुलाई जनाउदछ, जसमा रहेका लेखहरु वेबसाइटका बिकासकर्ताले नभइ त्यस वेबसाइटका प्रयोगकर्ताले राख्ने गर्छन्। वेबसाइटका प्रयोगकर्तालाई वेबसाइटमा लेख राख्न वा सम्पादन गर्ने सुबिधा हुने गर्दछ। वेबसाइटका आधारभुत कुराहरु वेबसाइटका बिकासकर्ताले राखे पनि वेबसाइटमा रहेका लेख तथा बिषयबस्तु प्रयोगकर्ताहरुले नै निर्माण गर्ने गर्छन्।

विकिको यति जानकारी पछि विकिपेडियातिर लागौ। विकिपेडिया एक खुला विश्वकोष हो जुन विकि प्रबिधिमा आधारित छ। अझ विस्तृत रुपमा भन्नु पर्दा विकिपेडिया एक बहुभाषिक, इन्टर्नेटमा आधारित, खुला विश्वकोष हो जसलाई विकिमिडिया नामक गैर नाफामुलक संस्थाले सञ्चालन गरेको छ। विकि प्रबिधिमा आधारित भएको हुँदा यस विश्वकोषमा रहेका लेखहरु जोसुकैले लेख्न वा सम्पादन गर्न सक्छन्। अहिले सम्म विकिपेडियामा बिभिन्न २५३ भाषाहरुमा गरी करिब ८० लाख लेखहरु रहेका छन् जसमध्ये करिब २० लाख लेखहरु अंग्रेजीमा रहेका छन्। यसमा रहेका विषयवस्तुहरु विश्वभर रहेका प्रयोगकर्ताहरुले लेखेका वा सम्पादन गरेका हुन्। विकिपेडियाको अंग्रेजी संस्करणको वेव ठेगाना en.wikipedia.org हो।

विकिपेडियाको बिकास एक बहुभाषिक तथा खुला विश्वकोश निर्माणका लागि भएको हो। यसैकारण विकिपेडिया अंग्रेजी बाहेक अन्य २५२ भाषाहरुमा उपलब्ध छ। विकिपेडियाको प्रयोगको आधारमा अंग्रेजी विकिपेडिया सबैभन्दा अगाडि भए पनि अन्य भाषाहरुमा पनि विकिपेडिया प्रयोग हुने गर्दछ। विकिपेडियाको कुल प्रयोगमध्ये कुल ४९% प्रयोग अंग्रेजी बाहेक अन्य भाषाहरुका लागि हुने गर्दछ।

विकिपेडियाको नेपाली संस्करण पनि उपलब्ध छ, जसको वेव ठगाना ne.wikipedia.org रहेको छ।

विकिपेडियाको अंग्रेजी संस्करणको सुरुवात जनवरी १५, २००१ मा जिमि वेल्स र ल्यारी सेन्जरले गरेका हुन। विकिपेडिया सञ्चालन गर्नका लागि मिडियाविकि नामक सफ्टवेयरको प्रयोग गरिएको छ। यस खुला तथा स्वतन्त्र सफ्टवेयरको निर्माण PHP मा गरिएको छ र विकिपेडियाका लेखहरु MySQL डेटाबेसमा रहने गर्दछ। त्यस्तै विकिपेडिया Apache नामक सर्भर प्रणालीमा सञ्चालन हुन्छ। स्मरण रहोस्, यी तीनै खुला तथा स्वतन्त्र सफ्टवेयरहरु हुन्। विकिपेडियामा धेरै मात्रामा लेखहरु रहने गर्नाले र बहुभाषिक हुनाले यसको सर्भर विश्वका बिभिन्न ठाउँहरुमा छरिएर रहेका छन्।

विकिपेडियामा रहेका हरेक लेखलाई सम्पादन गर्न सकिन्छ। यसको मतलब जोसुकैले जुनसुकै बेला विकिपेडियाका लेखहरुलाई बिगार्न सक्छन्। तर यति हुदाहुदै पनि विकिपेडियाका लेखहरु सधै किन सधै उच्‍चस्तरीय हुन्छन्? किन विकिपेडियाका लेखहरु बिगारिएका अबस्थामा हुदैनन् त?

यसरी विकिपेडियाका लेखहरु सधै ठिक रहिरहनुमा सामुदायिक योगदानको ठुलो भुमिका हुन्छ। विकिपेडियामा रहेका विभिन्‍न सुबिधाहरुद्वारा विकिपेडियाका प्रयोगकर्ताको समुदायले विकिपेडियालाई बिग्रनबाट बचाउने गर्दछन्। विकिपेडियाका बिभिन्न प्रकारका प्रयोगकर्ताहरु हुने गर्दछन्।

धेरैजसो प्रयोगकर्ताहरु पाठकहरु हुने गर्दछन्। यी पाठकहरुमध्ये कोही लेखकहरु पनि हुन सक्छन् जसले विकिपेडियामा नयाँ लेखहरु थप्ने गर्छन्। त्यस्तै कोही प्रयोगकर्ताहरु सम्पादक पनि हुन सक्छन् जसले विकिपेडियाका लेखहरुमा कुनै गल्ती फेला पर्नासाथ त्यसलाई सच्याउने काम गर्ने गर्छन्। लामो समयसम्म वा धेरै सम्पादन गर्ने व्यक्तिलाई विकिपेडियाले लेखहरु सम्पादन गर्नका लागि चाहिने अन्य विशेष अधिकारहरु दिने गर्दछ। यी विभिन्न प्रकारका विकिपेडिया प्रयोगकर्ताहरु मिलेर विकिपेडियामा अत्यन्त राम्रा लेखहरु निर्माण गर्ने गर्दछन्।

विकिपेडियाको कार्यशैलीको बारे अझ राम्ररी बुझ्न चाहनुहुन्छ भने तपाई एउटा सानो प्रयोग गर्न सक्नु हुन्छ। विकिपेडियामा गई आफुलाई जानकारी भएको कुनै लेखमा जानुहोस र त्यसमा आफुलाई थाहा भएको कुनै कुरा थपघट गर्नुहोस्। केहि दिन पछि पुन त्यस लेखमा जानुहोस्। तपाईले गर्नुभएको परिवर्तनमा निम्न कुराहरु भएको हुन सक्छन्।

तपाइले गर्नुभएको थपघटको बारेमा त्यस लेखका लेखक तथा अन्य सरोकारवालाहरुलाई विकिपेडियाले इमेल मार्फत जानकारी गराउने गर्दछ। यसरी लेखमा परिवर्तन आइसकेपछि ती लेखक तथा सरोकारवालाहरुले तपाईले गर्नुभएको परिवर्तनलाई हेर्ने गर्दछन्। यदि तपाईले गर्नु भएको परिवर्तन ठिक छ भने ती लेखकले परिवर्तनलाई स्वीकारि त्यसै छोडिदिन सक्छन्। तर यदि तपाईले गर्नुभएको परिवर्तन गलत छ भने लेखलाई पुरानै अवस्थामै लैजाने सुविधा विकिपेडियामा हुन्छ। यसरी विकिपेडियाका लेखहरुलाई बिगार्नबाट विकिपेडियाका प्रयोगकर्ताको समुदायले बचाउने गर्दछन् र यसरी सामुदायिक योगदान हुने गर्दा विकिपेडियाका लेखहरु अति नै उच्‍चस्तरीय तथा प्रयोगयोग्य हुने गर्दछन्।



No comments: