
तर लिनक्स चलाउन चाहने जोसुकै सबै भन्दा पहिले लिनक्सका सयौं प्रकारहरूका बीच हराउने गर्दछन्। लिनक्सका बारेमा पहिले सुन्नु भएको छ भने पक्कै पनि तपाईले रेडह्याट, फेडोरा, उबुन्तु जस्ता विभिन्न लिनक्सका प्रकारका बारेमा सुन्नु भएको होला। यस्ता लिनक्सका प्रकारहरूलाई distribution वा छोटकरीमा distro भन्ने गरिन्छ। अहिलेसम्म पाच सय भन्दा बढि यस्ता डिस्ट्रोहरूको विकास भैसकेको छ। रमाइलो कुरा के छ भने, यदि तपाईसँग लिनक्सको ज्ञान छ भने तपाई पनि आफ्नै यस्तो डिस्ट्रो बनाउन सक्नु हुन्छ।
फरक फरक डिस्ट्रोको आ-आफ्नै विशेषता हुने गर्दछ। कुनै डिस्ट्रो डेस्कटप कार्यहरूका निम्ति उपयुक्त हुन्छ भने कुनै डिस्ट्रो सर्भरका निम्ति। त्यस्तै वैज्ञानिक खोज, इन्जिनियरिङ्ग कार्य तथा विभिन्न क्षेत्रको निम्ति फरक फरक विशेषता भएका डिस्ट्रोहरु पाउन सकिन्छ। आज हामी लिनक्सका केही प्रमुख डिस्ट्रोहरू तथा ती डिस्ट्रोहरू के कार्यका निम्ति प्रयोग गर्न सकिन्छ भनेर चर्चा गर्नेछौ।


यदि तपाई चलउादा विन्डोज जस्तै लाग्ने लिनक्सको खोजीमा हुनुहुन्छ भने सबै भन्दा राम्रो डिस्ट्रो Xandros Desktop हुन सक्छ। Xandros Desktop विन्डोजको प्रयोगकर्ताहरूलाई गार्हो नहुने गरि तथा चलाउँदा प्राय विन्डोज जस्तै लाग्ने गरि बनाइएको छ। हुन त लिनक्स चलाउने भनेपछि विन्डोज जस्तै देखिनु त्यति सान्दर्भिक नहोला, तर कसै कसै लाई यो पक्ष महत्वपूर्ण हुन सक्छ।
Linspire नामको डिस्ट्रो पनि विन्डोजका प्रयोगकर्ताहरूलाई सजिलो लाग्न सक्छ। Xandros जस्तै विन्डोजसंग मेल खाने बनाइएको भए तापनि यसमा Xandros को भन्दा सजिलो सँग सफ्टवेयरहरू हाल्न सकिन्छ। केही क्लिकमै सफ्टवेयर सर्च गर्ने तथा इन्स्टल गर्ने सुविधा Linspire मा रहेको छ।

विन्डोजमा चल्ने गेम लिनक्समा खेल्नका लागि विशेष प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्। यस प्रकारका कार्यका निम्ति Win4Lin नामको डिस्ट्रो उपयुक्त हुन सक्छ। तर यस डिस्ट्रोमा इन्टर्नेट चलाउन भने अलि अप्ठ्यारो भएको कुरा यसका प्रयोगकर्ताहरूले बताएका छन्। त्यस्तै TransGaming Technologies ले बनाएको Cedega नामको सफ्टवेयरको प्रयोगबाट पनि कुनै पनि लिनक्स डिस्ट्रोमा विन्डोजका गेमहरु खेल्न सकिन्छ।
यसबाहेक विन्डोजमा चल्ने सफ्टवेयरहरू लिनक्समा चलाउनको निम्ति Wine नामको सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ।
अफिसका निम्ति प्रयोग गर्न पनि विभिन्न प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्।

अफिसका निम्ति RedHat Enterprise Edition लिनक्स पनि प्रयोग गर्न सकिन्छ। केहि समय यता उबुन्तु लिनक्स पनि निकै राम्रो तथा सुधारिएको रुपमा उपलब्ध हुन थालेको छ। त्यसकारण यस लिनक्स पनि अफिसहरूमा प्रयोग गर्न सकिन्छ।
त्यस्तै यदि तपाई शैक्षिक कार्यका निम्ति लिनक्सको प्रयोग गर्न चाहनुहुन्छ भने Edubuntu नामको लिनक्समा निकै नै शैक्षिक सामाग्रीहरू रहेका छन्। बालबालिका निम्ति शैक्षिक खेलहरू देखि लिएर कलेज पढ्ने विद्यार्थीहरूका निम्ति पनि विभिन्न सफ्टवेयरहरू रहेको यस Edubuntu उबुन्तु लिनक्सलाई परिमार्जित गरि बनाइएको हो, र प्रत्येक ६ ६ महिनामा यसको नयाँ सँस्करण आउने गर्दछ।
श्रव्य दृश्य सम्बन्धी कार्यको निम्ति उबुन्तुकै छुट्टै डिस्ट्रो पनि रहेको छ। Ubuntu Studio नाम दिइएको यस लिनक्स डिस्ट्रोमा श्रव्य तथा दृश्य सम्पादनका निम्ति थुप्रै सफ्टवेयरहरू रहेका छन्।

लिनक्सलाई निकै नै पुरानो कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुराना कम्प्युटरहरूमै प्रयोग गर्न बनाइएको Damn Small Linux नामको लिनक्स डिस्ट्रो पुरानो Pentium तथा 486 कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुरानो कम्प्युटरमा चल्ने भए तापनि यस Damn Small Linux मा नयाँ लिनक्समा रहेका सम्पूर्ण सुविधाहरू रहेका छन्। यसरी लिनक्सको प्रयोग गरि तपाइ फाल्न तयार पारिएका कम्प्युटरहरूमा पनि नयाँ ज्यान भर्न सक्नुहुन्छ।
यदि तपाइ नेपाली मा लिनक्स चलाउन चाहनुहुन्छ भने यो सुविधा पनि लिनक्समा उपलब्ध छ। यसको निम्ति मदन पुरस्कार पुस्तकालयद्वारा निर्माण गरिएको नेपालीनक्स निकै नै राम्रो रहेको छ। हुन त अरू लिनक्स डिस्ट्रोहरू पनि नेपाली भाषामा आउने बनाउन सकिन्छ तर यस नेपालीनक्सलाई विशेषत नेपालीमै चलाउन मिल्ने गरि बनाइएको छ। यसमा रहेका सम्पूर्ण सफ्टवेयरहरू नेपाली भाषामा रहेको छन्। त्यसकारण अंग्रेजी भाषाको प्रयोगको कारण कम्प्युटरको प्रयोग गर्न गार्हो हुने गरेको छ भने यस नेपालीनक्स निकै नै सजिलो हुन सक्छ। नेपालीनक्सको सिडि ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयको कार्यालयमा निकै नै कम मूल्यमा प्राप्त गर्न सक्नु हुन्छ।
यति धेरै रहेका लिनक्सका डिस्ट्रोहरुमा निकै नै विविधता पाउन सकिन्छ। विभिन्न लिनक्स डिस्ट्रोका आ-आफ्नै विशेषता हुने भएका ले कुनै एक लिनक्स डिस्ट्रोलाई उत्तम भन्न सकिन्न। जति धेरै डिस्ट्रोहरु भए तापनि लिनक्सको प्रयोग गर्नु भन्दा पहिले आफ्नो आवश्यकताहरूको सहि पहिचान गर्न सकियो भने लिनक्स डिस्ट्रो छान्नु कुनै गार्हो कार्य भने पक्कै पनि हैन।