Showing posts with label wikipedia. Show all posts
Showing posts with label wikipedia. Show all posts

Sunday, December 9, 2007

वेब २.०


यदि तपाइ लामो समय देखि इन्टरनेट चलाउँदै आउनु भएको छ भने तपाईँले अनुभव गर्नु भएको होला कि अचेलका वेब पेजहरू तथा समग्र रुपमा इन्टरनेट नै निकै फरक किसिमको हुँदै गइरहेको छ। पहिला पहिला वेब पेजहरू कुनै एक कम्पनी वा विकासकर्तामा केन्द्रित हुने गर्थ्यो भने अहिलेका धेरैजसो वेबपेजहरू प्रयोगकर्ता केन्द्रित हुँदै गइरहेका छन्। झट्ट हेर्दा अहिलेका वेबपेहहरू बढी प्रयोगकर्ता केन्द्रित, सूचना आदानप्रदान गर्न मिल्ने तथा मिलेर केही काम गर्ने खालका हुने गरेका छन्। यस्ता नयाँ पुस्ताका वेबपेजहरूलाई इन्टरनेट वेबको दोस्रो सँस्करण वा वेब २.० भन्ने गरिन्छ।

इन्टरनेट चलाउने जो कोहीले याद गर्ने गरेको कुरा के हो भने केही वर्षयता ब्लग, विकि, Hi5, Facebook जस्ता Social Networking वेबसाइटहरू तथा प्रयोगकर्तालाई मुख्य प्राथमिकता दिइएको वेबसाइटहरू निकै चलनचल्तीमा आइरहेका छन्। यस्ता वेबसाइटहरू लाई राम्रो संग हेर्ने हो यस्ता वेबसाइटहरूमा सूचना आदानप्रदान तथा प्रयोगकर्ताको सहभागिता प्रमुख तत्वको रुपमा रहने गरेका हुन्छन्।

केही समय अगाडि सम्म वेबसाइटहरू एकतर्फी हुने गर्दथे। वेबसाइटका विकासकर्ता वा त्यससम्बन्धि कम्पनीले वेबसाइटमा सूचनाहरू हाल्ने गर्दथे र वेबसाइटहरू हेर्ने प्रयोगकर्ताहरूले त्यसमा रहेका सूचना एकतर्फी रुपमा हेर्ने तथा पढ्ने गर्दथे। सरल रुपमा भन्नु पर्दा प्रयोगकर्ताहरूले वेबसाइटहरू मात्र सर्फ गर्ने गर्दथे। तर अहिलेका वेब २.० का वेबसाइटहरूमा प्रयोगकर्ताको सहभागितालाई प्रमुख प्राथमिकता दिने गर्दछन्। अहिले निकै ब्लग साइटहरु चलनचल्तीमा आएका छन् जहाँ प्रयोगकर्ताहरूले नै सूचना सिर्जना गर्ने गर्दछन्। यसबाहेक वेब २.० का सबै वेबसाइटहरूमा सूचना प्राप्‍त गर्ने व्यक्तिको सहभागितालाई पनि ध्यान दिइएको हुन्छ। हरेक व्लग साइटमा ब्लगरको आफ्नो लेख बाहेक पाठकले पठाउने comment को पनि ठूलो भुमिका हुने गर्दछ।

सूचना आदानप्रदान को क्षेत्रमा वेब २.० को अर्को ठूलो पाटो विकिहरुलाई लिन सकिन्छ। हामी सबैले विकिपेडिया प्रयोग गर्ने गर्दछौ। यस्ता विकिहरूमा प्रयोगकर्ताहरूले नै लेख तथा सूचनाहरू निर्माण गर्ने गर्दछन्। यसरी विकिपेडिया जस्ता विकिहरुमा सम्पूर्ण रुपमा प्रयोगकर्ताको सहभागिता रहने गर्दछ। वेब २.० को सुरुवात भन्दा पहिले विश्वकोशको रुपमा Microsoft Encarta वा Britannica जस्ता विश्वकोशहरू थिए जसमा रहेका सम्पूर्ण लेख तथा रचनाहरू कुनै एक व्यक्ति वा कम्पनीले राख्ने गर्दथे। त्यसका साथसाथै प्रयोगकर्ताहरूलाई त्यसमा रहेका लेखहरू सच्याउने तथा प्रतिक्रिया दिने कुनै सुविधा हुदैनथ्यो। यसको विपरीत विकिपेडिया जस्ता वेब २.० का वेबसाइटहरूले प्रयोगकर्ता तथा पाठकलाई वेबसाइटको प्रमुख पाटोको रुपमा प्रस्तुत गर्ने गर्दछ।
त्यस्तै अहिले निकै नै चलनचल्तीमा रहेका Social Bookmarking साइटहरू पनि वेब २.० को अन्तर्गत पर्ने गर्दछन्। Slashdot.org, Digg.com जस्ता इन्टरनेटमा रहेका राम्रा तथा महत्वपूर्ण वेबसाइटहरू को सूची लोकप्रियताको आधारमा देखाइने यस्ता वेबसाइटका सम्पूर्ण सूचनाहरू प्रयोगकर्ताहरूले नै निर्माण गर्ने गर्दछन्।

हामी मध्ये धेरैले प्रयोग गर्ने Hi5, Facebook तथा Myspace जस्ता Social Networking अर्थात् साथीहरूको सञ्जाल बनाउने वेबसाइटहरू पनि वेब २.० अन्तर्गत पर्ने गर्दछन्। यस्ता सञ्जालहरूमा सूचनाहरूको निर्माण तथा व्यवस्थापन सम्पूर्ण रुपमा प्रयोगकर्ताहरूले नै गर्ने गर्दछन्।

यस बाहेक वेबसाइटको प्रविधि तथा प्रस्तुतिको हिसाबले पनि वेब २.० निकै नै फरक हुने गर्दछ। वेब २.० को प्रमुख पक्षको रुपमा RIA अर्थात् Rich Internet Application रहने गर्दछ।

यदि तपाईले गुगलको Gmail चलाउनु भएको छ भने अरू मेल भन्दा पक्कै पनि निकै भिन्नता पाउनु भएको होला। Gmail मा मेलहरु हेर्न तथा पठाउन निकै नै सजिलो तथा छिटो हुने गर्दछ। यसको पछाडि Gmail बनाउन प्रयोग गरिएको AJAX नामक प्रविधिको निकै नै ठूलो हात रहेको छ। Hotmail जस्ता मेलहरुमा कुनै मेल खोल्दा नयाँ पेज खुल्ने गर्दछ, तर Gmail मा मेल त्यसै पेजभित्र निकै छिटो गतिमा खुल्ने गर्दछ। यसरी एकै पेजमा रहि सुचनाहरु देखाउनका निम्ति AJAX प्रविधिको ठुलो हात रहेको हुन्छ। यसरी AJAX को प्रयोग गरि बनाइएका वेबपेजहरुमा सूचना एकै पेजमा कुनै सफ्टवेयर चलाएजस्तै देखा पर्ने गर्दछ, जसले गर्दा प्रयोगकर्तालाई निकै सजिलो हुनुका साथै चाँडो काम पनि गर्न सकिन्छ। AJAX प्रविधि प्रयोग गरि बनाइएका वेबसाइटहरू वेब २.० भित्र पर्ने गर्दछन्।

वेब २.० का वेबसाइटहरूमा साइटको संरचना मा पनि निकै ध्यान पुर्‍याइएको हुन्छ। वेब २.० का साइटहरू बनाउँदा पालना गर्नु पर्ने सम्पूर्ण नियमहरूमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ। W3C नामक संस्थाले वेबपेजहरु विकास गर्दा ध्यान पुर्‍याउनु पर्ने विभिन्न कुराहरूको निर्धारण गर्ने गर्दछ। यस्ता नियमहरूमा वेबपेजको code अर्थात् HTML सहि रुपमा लेख्ने तरिका, वेबसाइटहरू लाई बढि भन्दा बढि प्रयोग योग्य बनाउन प्रयोग हुने नियमहरू पर्ने गर्दछन्। यस्ता नियमहरु प्रयोग गर्दा वेबसाइटहरू राम्रा मात्र नभइ गुणस्तरीय तथा एक रुपका हुने गर्दछन्। जसको कारणले वेब २.० का वेबसाइटहरू प्रयोग गर्दा आधारभूत कुराहरू मात्र जाने पुग्छ।

त्यस्तै वेब २.० मा श्रव्य तथा दृष्य लाई पनि निकै प्राथमिकता दिइएको हुन्छ। नेपालमा त्यति प्रचलनमा आइ नसकेको भए पनि विश्वव्यापी रुपमा Youtube, Metacafe जस्ता भिडियो आदानप्रदान गर्ने वेबसाइटहरू निकै प्रचलित रहेका छन्। यस्ता वेबसाइटहरू पनि वेब २.० अन्तर्गत पर्ने गर्दछन्।

वेब २.० को सबै भन्दा प्रमुख पक्ष के हो भने यस्ता वेबसाइटहरूमा सूचनालाई प्रमुख प्राथमिकता दिइएको हुन्छ। यसरी सूचनालाई प्राथमिकता दिने क्रममा RSS तथा feed जस्ता प्रबिधिहरू प्रमुख रुपमा आउने गर्दछन्। प्रयोगकर्ता केन्द्रित हुने हुँदा वेब २.० का वेबसाइटहरूमा सूचना निकै छिटो गतिमा तथा निकै ठूलो मात्रामा निर्माण हुने गर्दछ। यस्तो परिस्थितिमा घरीघरी वेबसाइटमा गइ उक्त सूचना हेरिरहनु निकै नै अप्ठ्यारो हुने गर्दछ। यस समस्याको समाधानका निम्ति RSS तथा Feed जस्ता प्रविधिको विकास भएको हो। यस्ता प्रविधिको प्रयोगले प्रयोगकर्ता वेबसाइटमा गइ सूचना हेर्ने नभइ सूचना नै प्रयोगकर्ता सम्म आइपुग्ने गर्दछ। यसले गर्दा आफुले चाहेको सूचना मात्र हेर्ने सुविधा हुनुका साथै समयको पनि निकै बचत हुने गर्दछ।

वेब २.० को अर्को महत्वपूर्ण पक्ष के हो भने यसले हामीले कम्प्युटर चलाउने तरिका मा निकै नै परिवर्तन ल्याउँदै छ। वेब २.० को माध्यमद्वारा हामीले कम्प्युटरमा चलाउने विभिन्न सफ्टवेयरहरू इन्टरनेटमा देखा पर्न थालेका छन्। हामीले कम्प्युटरमा चलाउने Microsoft word जस्तै Google ले Google Document नामको सफ्टवेयर बनाएको छ, जुन वेबपेजका रुपमा चल्ने गर्दछ। तपाइले कम्प्युटरमा Word मा फाइलहरू सम्पादन गरे जस्तै Google Document मा आफ्ना फाइलहरू सम्पादन गर्न सकिन्छ। फरक यत्ति छ कि Google Document इन्टरनेटमै वेबसाइटको रुपमा उपलब्ध छ र यसलाई कम्प्युटर हाल्नु पर्दैन। यसबाहेक फोटोहरू सम्पादन गर्ने तथा अन्य विभिन्न सफ्टवेयरहरू इन्टरनेटमा वेबपेजका रुपमा उपलब्ध हुन थालेका छन्। यस्ता सबै वेबपेजहरू वेब २.० अन्तर्गत पर्ने गर्दछन्। यस्ता वेब २.० सफ्टवेयरहरूको विकासले गर्दा भविष्यमा कम्प्युटरमा इन्टरनेट चलाउने ब्राउजर मात्र भए पनि आफ्नो सम्पूर्ण काम गर्न सकिने अवस्था नआउला भन्न सकिन्न।

Wednesday, August 8, 2007

विकिपेडिया

सायद तपाइले विकिपेडियाको बारे कतै न कतै सुन्‍नुभएको होला वा इन्टर्नेट सर्फ गर्दा विकिपेडियामा रहेका लेखहरु पढ्नु पनि भएको होला। विकिपेडिया यति प्रख्यात भएको छ कि, गुगलमा सर्च गर्दा धेरै पटक विकिपेडियाका लेखहरु देखिने गर्छन्। विकिपेडिया विश्वको प्रमुख १०० वेबसाइटमा पनि परेको छ।

यति प्रख्यात हुँदा हुदै पनि धेरैलाई विकिपेडियाको बारेमा खासै थाहा नहुन सक्छ। विकिपेडियामा रहेका त्यति धेरै लेखहरु कहाँबाट आउछ? के ती लेखहरु भरपर्दा छन्? विकिपेडिया यति धेरै चर्चित हुनुको कारण के हो? यस सम्बन्धमा केहि चर्चा गरौ।

विकिपेडियालाई बुझ्नु भन्दा पहिले विकिको बारेमा जानकारी हुनु आवश्यक हुन्छ। सामान्यत वेबसाइटहरु निर्माण गर्दा त्यस वेबसाइटमा रहेका विषयवस्तु त्यस वेबसाइटकै बिकासकर्ताले राख्ने गर्छन्। त्यस्ता वेबसाइटमा रहेका बिषयबस्तु त्यस वेबसाइटका निर्माताले परिवर्तन नगरुन्जेल जस्ताको तस्तै रहने गर्छ र कसैलाई त्यस वेबसाइटमा रहेका लेख तथा अन्य बिषयबस्तु अनुपयुक्त लागेमा त्यस सम्बन्धि केहि गर्ने सुबिधा हुदैन। त्यस्ता वेबसाइटका सम्पुर्ण कुराहरु त्यस बवेबसाइटका निर्मातामै निर्भर रहेको हुन्छ।

तर विकि भन्‍नाले त्यस्ता वेबसाइटहरुलाई जनाउदछ, जसमा रहेका लेखहरु वेबसाइटका बिकासकर्ताले नभइ त्यस वेबसाइटका प्रयोगकर्ताले राख्ने गर्छन्। वेबसाइटका प्रयोगकर्तालाई वेबसाइटमा लेख राख्न वा सम्पादन गर्ने सुबिधा हुने गर्दछ। वेबसाइटका आधारभुत कुराहरु वेबसाइटका बिकासकर्ताले राखे पनि वेबसाइटमा रहेका लेख तथा बिषयबस्तु प्रयोगकर्ताहरुले नै निर्माण गर्ने गर्छन्।

विकिको यति जानकारी पछि विकिपेडियातिर लागौ। विकिपेडिया एक खुला विश्वकोष हो जुन विकि प्रबिधिमा आधारित छ। अझ विस्तृत रुपमा भन्नु पर्दा विकिपेडिया एक बहुभाषिक, इन्टर्नेटमा आधारित, खुला विश्वकोष हो जसलाई विकिमिडिया नामक गैर नाफामुलक संस्थाले सञ्चालन गरेको छ। विकि प्रबिधिमा आधारित भएको हुँदा यस विश्वकोषमा रहेका लेखहरु जोसुकैले लेख्न वा सम्पादन गर्न सक्छन्। अहिले सम्म विकिपेडियामा बिभिन्न २५३ भाषाहरुमा गरी करिब ८० लाख लेखहरु रहेका छन् जसमध्ये करिब २० लाख लेखहरु अंग्रेजीमा रहेका छन्। यसमा रहेका विषयवस्तुहरु विश्वभर रहेका प्रयोगकर्ताहरुले लेखेका वा सम्पादन गरेका हुन्। विकिपेडियाको अंग्रेजी संस्करणको वेव ठेगाना en.wikipedia.org हो।

विकिपेडियाको बिकास एक बहुभाषिक तथा खुला विश्वकोश निर्माणका लागि भएको हो। यसैकारण विकिपेडिया अंग्रेजी बाहेक अन्य २५२ भाषाहरुमा उपलब्ध छ। विकिपेडियाको प्रयोगको आधारमा अंग्रेजी विकिपेडिया सबैभन्दा अगाडि भए पनि अन्य भाषाहरुमा पनि विकिपेडिया प्रयोग हुने गर्दछ। विकिपेडियाको कुल प्रयोगमध्ये कुल ४९% प्रयोग अंग्रेजी बाहेक अन्य भाषाहरुका लागि हुने गर्दछ।

विकिपेडियाको नेपाली संस्करण पनि उपलब्ध छ, जसको वेव ठगाना ne.wikipedia.org रहेको छ।

विकिपेडियाको अंग्रेजी संस्करणको सुरुवात जनवरी १५, २००१ मा जिमि वेल्स र ल्यारी सेन्जरले गरेका हुन। विकिपेडिया सञ्चालन गर्नका लागि मिडियाविकि नामक सफ्टवेयरको प्रयोग गरिएको छ। यस खुला तथा स्वतन्त्र सफ्टवेयरको निर्माण PHP मा गरिएको छ र विकिपेडियाका लेखहरु MySQL डेटाबेसमा रहने गर्दछ। त्यस्तै विकिपेडिया Apache नामक सर्भर प्रणालीमा सञ्चालन हुन्छ। स्मरण रहोस्, यी तीनै खुला तथा स्वतन्त्र सफ्टवेयरहरु हुन्। विकिपेडियामा धेरै मात्रामा लेखहरु रहने गर्नाले र बहुभाषिक हुनाले यसको सर्भर विश्वका बिभिन्न ठाउँहरुमा छरिएर रहेका छन्।

विकिपेडियामा रहेका हरेक लेखलाई सम्पादन गर्न सकिन्छ। यसको मतलब जोसुकैले जुनसुकै बेला विकिपेडियाका लेखहरुलाई बिगार्न सक्छन्। तर यति हुदाहुदै पनि विकिपेडियाका लेखहरु सधै किन सधै उच्‍चस्तरीय हुन्छन्? किन विकिपेडियाका लेखहरु बिगारिएका अबस्थामा हुदैनन् त?

यसरी विकिपेडियाका लेखहरु सधै ठिक रहिरहनुमा सामुदायिक योगदानको ठुलो भुमिका हुन्छ। विकिपेडियामा रहेका विभिन्‍न सुबिधाहरुद्वारा विकिपेडियाका प्रयोगकर्ताको समुदायले विकिपेडियालाई बिग्रनबाट बचाउने गर्दछन्। विकिपेडियाका बिभिन्न प्रकारका प्रयोगकर्ताहरु हुने गर्दछन्।

धेरैजसो प्रयोगकर्ताहरु पाठकहरु हुने गर्दछन्। यी पाठकहरुमध्ये कोही लेखकहरु पनि हुन सक्छन् जसले विकिपेडियामा नयाँ लेखहरु थप्ने गर्छन्। त्यस्तै कोही प्रयोगकर्ताहरु सम्पादक पनि हुन सक्छन् जसले विकिपेडियाका लेखहरुमा कुनै गल्ती फेला पर्नासाथ त्यसलाई सच्याउने काम गर्ने गर्छन्। लामो समयसम्म वा धेरै सम्पादन गर्ने व्यक्तिलाई विकिपेडियाले लेखहरु सम्पादन गर्नका लागि चाहिने अन्य विशेष अधिकारहरु दिने गर्दछ। यी विभिन्न प्रकारका विकिपेडिया प्रयोगकर्ताहरु मिलेर विकिपेडियामा अत्यन्त राम्रा लेखहरु निर्माण गर्ने गर्दछन्।

विकिपेडियाको कार्यशैलीको बारे अझ राम्ररी बुझ्न चाहनुहुन्छ भने तपाई एउटा सानो प्रयोग गर्न सक्नु हुन्छ। विकिपेडियामा गई आफुलाई जानकारी भएको कुनै लेखमा जानुहोस र त्यसमा आफुलाई थाहा भएको कुनै कुरा थपघट गर्नुहोस्। केहि दिन पछि पुन त्यस लेखमा जानुहोस्। तपाईले गर्नुभएको परिवर्तनमा निम्न कुराहरु भएको हुन सक्छन्।

तपाइले गर्नुभएको थपघटको बारेमा त्यस लेखका लेखक तथा अन्य सरोकारवालाहरुलाई विकिपेडियाले इमेल मार्फत जानकारी गराउने गर्दछ। यसरी लेखमा परिवर्तन आइसकेपछि ती लेखक तथा सरोकारवालाहरुले तपाईले गर्नुभएको परिवर्तनलाई हेर्ने गर्दछन्। यदि तपाईले गर्नु भएको परिवर्तन ठिक छ भने ती लेखकले परिवर्तनलाई स्वीकारि त्यसै छोडिदिन सक्छन्। तर यदि तपाईले गर्नुभएको परिवर्तन गलत छ भने लेखलाई पुरानै अवस्थामै लैजाने सुविधा विकिपेडियामा हुन्छ। यसरी विकिपेडियाका लेखहरुलाई बिगार्नबाट विकिपेडियाका प्रयोगकर्ताको समुदायले बचाउने गर्दछन् र यसरी सामुदायिक योगदान हुने गर्दा विकिपेडियाका लेखहरु अति नै उच्‍चस्तरीय तथा प्रयोगयोग्य हुने गर्दछन्।