Tuesday, March 25, 2008

डकुमेन्ट स्वतन्त्रता

यही मार्च २६ गतेका दिनलाई विश्व डकुमेन्ट स्वतन्त्रता दिवसको रुपमा मनाइँदै छ। विश्वभर भइरहेको खुला तथा स्वतन्त्र सफ्टवेयरको अभियान तथा कम्प्युटरमा स्वतन्त्रताको सम्बन्धी चेतनामा अभिबृद्धि आइरहेको अवस्थामा कम्प्युटर प्रयोगकर्ताहरूले कम्प्युटरमा प्रयोग गरिने डकुमेन्टमा पनि स्वतन्त्रता खोज्न थालेका छन्। तर वास्तवमा यो डकुमेन्ट स्वतन्त्रता (अर्थात्, document freedom) के हो त, यो कसरी प्राप्त गर्ने र यसका के के फाइदाहरू छन्। यस विषयमा केही छलफल गरौं।

डकुमेन्ट स्वतन्त्रता भन्नाले आफूले प्रयोग गर्ने कुनै पनि कम्प्युटरका डकुमेन्ट कुनै सफ्टवेयर वा प्रणालीमा बाँधिएर बस्नु नपर्ने, तथा त्यस्ता डकुमेन्टलाई कम्प्युटरमा भण्डारण गर्न प्रयोग गरिने तरिका खुला हुने अवस्थालाई जनाउँछ। सबैभन्दा राम्रो उदाहरणको रुपमा हामी कम्प्युटरमा केही लेख्न तथा भण्डारण गर्न प्रयोग हुने माइक्रोसफ्ट को वर्ड सफ्टवेयरले बनाउने .doc फाइललाई लिन सक्छौ। यस माइक्रोसफ्ट वर्डले हामीले लेखेको कुरा कम्प्युटरमा .doc फाइलका रुपमा कसरी राख्ने गर्छ, वा त्यस .doc फाइलमा हामीले लेखेको कुन तरिकाले भण्डारण गरिएको हुन्छ भन्ने हामी मध्ये धेरैलाई लाग्न सक्छ। तर सत्य के हो भने त्यस .doc फाइलमा हामीले लेख्ने गरेको कुरा कसरी राखिन्छ भन्ने कुरा पूर्ण रुपमा माइक्रोसफ्ट बाहेक कसैलाई पनि थाहा छैन। .doc फाइल को आन्तरिक बनावट तथा यस सम्बन्धी प्रविधि पूर्ण रुपमा गोप्य राखिएको छ। यस्ता फाइलहरू स्वतन्त्र डकुमेन्ट भित्र पर्दैनन्। .doc को सट्टामा .odt (अर्थात् Open Document Text) जस्ता लेखेको कुरा कम्प्युटरमा भण्डारण गर्ने पनि फाइल प्रणालीहरू रहेका छन् र यस्ता प्रणालीको काम गर्ने सम्पूर्ण तरिका खुला रुपमा इन्टरनेटमा राखिएको छ। यसकारण .odt प्रणालीलाई खुला डकुमेण्ट प्रणाली भन्न सकिन्छ। र यस्ता प्रणालीको प्रयोग गरि लेखिएको डकुमेन्टलाई स्वतन्त्र डकुमेन्ट भन्ने गरिन्छ।

बन्द डकुमेन्टमा यसको आन्तरिक कार्य गर्ने तरिका गोप्य हुने भएकाले गर्दा यस्ता डकुमेन्टलाई खोल्न वा लेख्न त्यस डकुमेन्ट प्रणालीका निर्माताले बनाएको सफ्टवेयर नै चाहिने हुन्छ। उदाहरणको लागि .doc फाइल ठीक तरिकाले खोल्नका निम्ति Microsoft Word नै चाहिने हुन्छ। यसले गर्दा धेरै नै समस्याहरू आउने हुन्छ।

सर्वप्रथम त, बन्द डकुमेन्ट प्रणालीका कारणले गर्दा कुनै एक सफ्टवेयरमा बाँधिएर बस्नु पर्ने हुन्छ, जुन आफैमा नराम्रो कुरा हो। यसरी कुनै सफ्टवेयरमा बाँधिएर बस्नुका दीर्घकालीन समस्याहरू हुने गर्दछन्। जस्तै कि तपाईँले निकै वर्ष देखि Microsoft Word को .doc फाइल प्रणालीको प्रयोग गर्नु हुन्छ भने भविष्यमा पनि यसै सफ्टवेयर प्रयोग गर्न बाध्य हुनु पर्छ। त्यस्तै अन्य राम्रा सफ्टवेयर उपलब्ध भए पनि बन्द प्रकारका डकुमेन्टकै कारणले आफुले प्रयोग गरिराखेकै सफ्टवेयर परिवर्तन गर्न गार्‍हो हुने गर्दछ। त्यसमाथि डकुमेन्टको प्रणाली परिवर्तन भएको खण्डमा त्यसको सफ्टवेयर पनि परिवर्तन हुने गर्दछ र प्रयोगकर्ता त्यस नयाँ सफ्टवेयर किन्न बाध्य हुनु पर्दछ। यसको सबैभन्दा जल्दो बल्दो उदाहरण पनि Microsoft को Word नै रहेको छ। हरेक नयाँ सँस्करण सँग .doc को प्रणाली परिवर्तन हुने गर्दछ, र त्यसलाई पुरानो सफ्टवेयरले खोल्न नसक्ने हुन्छ। यसका कारण नयाँ सफ्टवेयर किनेर कम्प्युटरमा हाल्नै पर्ने तथा आफ्ना पुरानो डकुमेन्टलाई पनि नयाँ प्रणालीमा परिवर्तन गरिराख्नु पर्ने हुन सक्छ।

यस्ता बन्द प्रकारका डकुमेन्टको प्रयोग गर्नाले आफूलाई मात्र नभइ अरुलाई पनि अप्ठ्यारोमा पार्ने हुन्छ। कुनै पनि डकुमेन्ट प्रयोग गर्ने पनि निश्चित सफ्टवेयर नै हुने गर्दछ। त्यसैले यस्ता डकुमेन्ट अरुलाई पठाउँदा डकुमेन्ट प्राप्त गर्ने व्यक्तिसँग त्यस सफ्टवेयर नभएको खण्डमा समस्या उत्पन्न हुन सक्छ।

बन्द डकुमेन्टको प्रयोग गर्दा सुरक्षाको पनि प्रश्न उठ्न सक्छ। बन्द प्रणालीका डकुमेन्टमा के कुरा कसरी राखिन्छ भन्ने कुराको जानकारी नभएका कारणले गर्दा त्यस डकुमेन्ट सुरक्षात्मक दृष्टिकोणबाट पनि उपयुक्त नहुन सक्छ। त्यस्तै यस्ता बन्द डकुमेन्टले गर्दा कम्प्युटरमा भाइरस तथा अन्य समस्या पनि नआउला भन्न सकिन्न। Microsoft Word तथा Excel मा लाग्ने भाइरस पनि यसैको उपज हुन्।

सामान्य रुपमा डकुमेन्ट भन्दा धेरैले Microsoft Word वा Excel का फाइल भन्ने बुझ्ने गर्दछन। तर डकुमेन्ट भन्नाले अन्य फोटो तथा संगीतका डकुमेन्टलाई पनि बुझाउने गर्दछ। जस्तै हामी धेरैले फोटो भण्डारण गर्न प्रयोग गर्ने BMP प्रणाली पनि बन्द प्रणाली हो। त्यस्तै गीतहरू भण्डारण गर्न प्रयोग गरिने MP3 लाई पनि बन्द प्रणाली मान्ने गरिन्छ।

डकुमेन्ट स्वतन्त्रता तथा बन्द डकुमेन्टको यति जानकारी पछि खुला डकुमेन्टका केही उदाहरण तिर लागौ। हामी धेरैले प्रयोग गर्ने .doc फाइल प्रणालीको सट्टामा .odt (अर्थात् Open Document Text) प्रयोग गर्न सकिन्छ। यस डकुमेन्ट प्रयोग गर्नका निम्ति धेरै सफ्टवेयरहरू रहेका छन्। सबैभन्दा राम्रो तथा चर्चित सफ्टवेयरमा Openoffice.org को Writer भन्ने सफ्टवेयर रहेको छ। त्यस्तै अर्को धेरै प्रयोग हुने .xls को सट्टामा .ods (अर्थात Open Document Spreadsheet) डकुमेन्ट प्रणाली रहेको छ। यसको निम्ति प्रयोग हुने सफ्टवेयर Openoffice.org को Spreadsheet नामको सफ्टवेयर रहेको छ।

त्यस्तै फोटो अनि सङ्गीतका निम्ति पनि खुला डकुमेन्ट प्रणालीहरू रहेका छन्। MP3 को सट्टामा OGG Vorbis नामको प्रणालीको प्रयोग गर्न सकिन्छ। त्यस्तै BMP वा GIF को सट्टामा PNG वा SVG प्रयोग गर्न सकिन्छ।

खुला डकुमेन्टका धेरै फाइदाहरू हुने गर्दछन्। सबैभन्दा प्रमुख फाइदा स्वतन्त्रता नै हुने गर्दछ। खुला डकुमेन्ट प्रणाली प्रयोग गर्दा कुनै एक सफ्टवेयरमा बाँधिएर बस्नु पर्ने समस्या प्रयोगकर्तालाई हुँदैन। त्यस्तै आफूले प्रयोग गर्ने सफ्टवेयरको नयाँ सँस्करण निकालिएमा आफ्नो पनि सफ्टवेयर परिवर्तन गरिराख्नुपर्ने समस्याबाट पनि मुक्त हुन सकिन्छ।

अर्को फाइदा भनेको पारदर्शिता हो। डकुमेन्टको प्रणाली पूर्ण रुपले खुला हुने हुँदा त्यसको प्रयोग तथा आदानप्रदानमा पनि पारदर्शिता रहने गर्दछ। बन्द प्रकारका सफ्टवेयरका कारणले गर्दा आफ्नो कम्प्युटरका गोप्य सूचना त्यस बन्द फाइलको माध्यमबाट बाहिर जाने पिर पनि गरिराख्नु पर्दैन। यसै डकुमेन्टको पारदर्शिताका कारणले गर्दा भाइरस जस्ता समस्याबाट पनि धेरै हदसम्म बच्न सकिन्छ। खुला डकुमेन्टकै प्रयोगबाट अहिले केही हदसम्म रहिआएको डिजिटल एकाधिकारबाट पनि बच्न सकिन्छ।

Friday, March 7, 2008

Bluetooth

यदि तपाई मोबाइल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँले Bluetooth को बारेमा पक्कै पनि सुन्नु भएको होला। सामान्यतया मोबाइल र कम्प्युटरको बीचमा फाइल आदानप्रदान गर्न प्रयोग हुने यस प्रविधिको माध्यमबाट फाइल आदानप्रदान गर्ने मात्र नभइ अन्य विभिन्न कार्यहरू गर्न सकिन्छ। यसै Bluetooth प्रविधि तथा यसको विभिन्न उपयोगिताको बारेमा केही चर्चा गरौँं।

Bluetooth अत्यन्त कम बिजुली खपत गर्ने छोटो दुरीको वायरलेस प्रविधि हो। यसरी छोटो दुरीमा रहेका कम्प्युटर तथा मोबाइल उपकरणहरूको बीच तार रहित सञ्जालको प्रयोग गरि Bluetooth प्रविधिद्वारा फाइल देखि श्रव्य-दृश्य सम्म आदानप्रदान गर्ने कार्य गर्न सकिन्छ। Bluetooth नाम डेनमार्कका राजा Harold Bluetooth बाट लिइएको हो। राजा Harold ले डेनमार्क, स्वीडेन तथा नर्वेलाई एकीकरण गर्ने कार्य गरेका थिए। यसरी नै विभिन्न कम्प्युटर तथा अन्य उपकरणहरूलाई एकै प्रकारको सञ्जाल प्रविधिले एकीकरण गर्ने उद्देश्यका निम्ति Bluetooth प्रविधिको विकास भएको हो। Bluetooth को सवैभन्दा रमाइलो पक्ष भनेको यसको ताररहित प्रविधि नै हो। Bluetooth को माध्यमद्वारा कुनै दुई उपकरणहरूको बीच सूचना आदानप्रदान गर्दा ती उपकरणहरूलाई एक अर्काको signal समात्ने ठाउँमा जता राखेपनि हुन्छ। जसले गर्दा तारका कारणले हुने झन्झट तथा उपकरणहरू राखिएको डेस्क फोहोर हुने समस्याबाट पनि बच्न सकिन्छ।

Bluetooth को प्रयोग मोबाइलमा फाइल आदानप्रदान गर्न धेरै प्रयोग हुने गरे तापनि यसको प्रयोग विभिन्न प्रयोजनका निम्ति हुने गर्दछ। मोबाइल प्रयोगकर्ताहरूका निम्ति Bluetooth, wireless headset को रुपमा पनि प्रयोग हुने गर्दछ। यस्ता wireless headset ले तपाईँको मोबाइल फोनसंग Bluetooth को माध्यमद्वारा आवाज आदानप्रदान गर्ने गर्दछ, जसको फलस्वरुप मोबाइल फोन खल्तीमै हाली wireless headset मात्र कानमा अड्काएर मोबाइलमा कुरा गर्न सकिन्छ।

धेरैले Bluetooth को प्रयोग मोबाइलमा मात्र हुने देखे पनि यसको प्रयोग कम्प्युटरमा पनि गर्न सकिन्छ। अचेल Bluetooth को माध्यमद्वारा कम्प्युटरसँग सम्पर्क गर्न सकिने किबोर्ड तथा माउसहरू उपलब्ध छन्, जसको माध्यमद्वारा किबोर्ड तथा माउसलाई तारको माध्यमद्वारा कम्प्युटरमै जोडिराख्नुपर्ने झन्झट हुँदैन। त्यस्तै यस्ता Bluetooth किबोर्ड तपाईँको मोबाइलमा टाइप गर्नका निम्ति पनि प्रयोग गर्न सकिन्छ।

Bluetooth लाई दुई वा दुई भन्दा बढी कम्प्युटर नेटवोर्किङ्ग गर्न पनि प्रयोग गर्न सकिन्छ। Bluetooth प्रणाली आफैमा पनि एक नेटवर्किङ्ग प्रणाली भएकाले अन्य कार्यका निम्ति Bluetooth को प्रयोग गर्दा पनि एक प्रकारको सञ्जालकै प्रयोग हुने गर्दछ।

त्यस्तै अचेलका नया प्रिन्टरहरूमा पनि Bluetooth को सुविधा हुने गरेको छ, जसले गर्दा बिना तारनै प्रिन्टर र कम्प्युटरलाई जोड्न सकिन्छ। अचेलका केही नयाँ फोन तथा क्यामेरामा पनि Bluetooth को सुविधा हुने भएकाले कम्प्युटरमा नजोडि सिधै Bluetooth को माध्यमद्वारा तस्विरहरू प्रिन्ट गर्न सकिन्छ।

त्यस्तै Bluetooth प्रविधिको माध्यमद्वारा आफ्नो मोबाइल फोनलाई रिमोट कन्ट्रोलको रुपमा पनि प्रयोग गर्न सकिन्छ। यसरी मोबाइलबाटै कम्प्युटरमा बजिरहेको गीत परिवर्तन गर्ने देखि लिएर कम्प्युटरका विभिन्न गतिविधिहरू पनि सञ्चालन गर्न सकिन्छ।

यी त भए Bluetooth का केही प्रयोगहरू। अब लागौ Bluetooth प्रविधि तर्फ। Bluetooth २.५ गिगाहर्ज को रेडियो फ्रिक्वेन्सीमा चल्ने गर्दछ। Bluetooth अन्यन्त कम दुरी १० मिटरका चल्ने गर्दछ र यसको गति ३०० किलोबाइट प्रति सेकेण्ड हुने गर्दछ। Bluetooth सञ्चालन हुने २.५ गिगाहर्ज को रेडियो फ्रिक्वेन्सीले कडा बस्तु जस्तै भित्ता पनि पार गर्न सक्ने हुनाले Bluetooth उपकरणहरूले एक देखि अर्को कोठामा पनि वायरलेस सम्पर्क गर्न सक्दछ।

Bluetooth को प्रयोग हुने कुनै दुई उपकरण तदर्थ रुपमा बन्ने नेटवर्क को माध्यमद्वारा जोडिने गर्दछन्। Bluetooth प्रविधि भएका कुनै दुई उपकरणहरू संगै ल्याउदा ती उपकरणहरूले एक अर्कालाई चिनेर तत्कालै एक सञ्जालको माध्यमद्वारा जोडिने गर्दछन्। यस्ता सञ्जाललाई Ad-hoc Network भन्ने गरिन्छ। त्यस्तै आफ्नो दुरीबाट बाहिर गएमा त्यस्तो नेटवर्क तुरुन्तै टुट्ने पनि गर्दछ।

कुनै दुई Bluetooth भएका उपकरणहरू network मा जोडिएपछि ती दुई बीचमा फाइल आदानप्रदान गर्ने देखि लिएर बिभिन्न कार्यहरू गर्न सकिन्छ। यस्ता फरक फरक कार्य गर्नका निम्ति छुट्टा छुट्टै तरिकाहरू हुने गर्दछन्। यस्ता तरिकाहरूलाई प्रोटोकल भन्ने गरिन्छ। उदाहरणको निम्ति फाइल पठाउन, Bluetooth किबोर्ड तथा माउस प्रयोग गर्न अनि मोबाइल फोनलाई मोडेमको रुपमा प्रयोग गर्न छुट्टाछुट्टै प्रोटोकल हरू रहेका छन्।

Bluetooth को यति जानकारी पछि यसको प्रयोग कम्प्युटरमा कसरी गर्ने भन्ने तिर लागौ। अचेलका नयाँ ल्यापटपहरूमा Bluetooth को सुबिधा आन्तरिक रुपमै हुने भए तापनि डेस्कटप कम्प्युटरमा यो सुविधा नहुन पनि सक्छ। यसका निम्ति सानो पेनड्राइभ आकारको Bluetooth dongle नामको उपकरणको प्रयोग गर्नु पर्दछ। यस्ता उपकरणहरू बजारमा सजिलै किन्न पाइन्छन्।

यदि तपाई विन्डोज xp को SP2 भन्दा पहिलेको सँस्करण चलाउनुहुन्छ भने Bluetooth चलाउनका निम्ति Bluetooth dongle सैगै उपलब्ध हुने driver software कम्प्युटरमा हाल्नु पर्ने हुन्छ। तर यदी तपाई विन्डोज xp SP2 वा यो भन्दा नयाँ सँस्करणको प्रयोग गर्नु हुन्छ भने Bluetooth dongle लाई USB मा हाल्ने बित्तिकै यसको प्रयोग गर्न सक्नु हुन्छ।

त्यस्तै तपाई लिनक्सको प्रयोग गर्नु हुन्छ भने पनि यसमा Bluetooth को अत्यन्त राम्रो सुविधा रहेको छ, जसका निम्ति कुनै driver हालीरहनुपर्ने झन्झट हुदैन।

यसरी Bluetooth dongle कम्प्युटरमा हालीसकेपछि कम्प्युटरलाई मोबाईल वा कुनै कम्प्युटरसंग जोड्नका निम्ति pairing गर्नु जरुरी हुन्छ। pairing भन्नाले सामान्य रुपमा बुझ्दा कुनै दुई उपकरणहरूको बीच सूचना आदानप्रदान गर्न स्वीकृति प्रदान गर्नु भन्ने बुझिन्छ।

तत्कात वायरलेस सञ्जाल सुरु गर्न सक्ने भएकाले Bluetooth को सुरक्षामा पनि विशेष ध्यान दिइएको छ। कुनै दुई Bluetooth उपकरणहरू जोड्दा pairing गर्नु जरुरी हुन्छ। त्यस्तै दुई Bluetooth उपकरणहरूले सूचना आदानप्रदान गर्दा सूचनालाई encrypt पनि गर्न सकिन्छ।

तर यति हुँदा हुँदै पनि Bluetooth उपकरणहरूमा सुरक्षाका केही समस्याहरू देखा परेका छन्। मोबाइलहरूमा लाग्ने Bluetooth virus हरु यसैका उदाहरणहरू हुन्। यस्ता भाइरस तथा अन्य सुरक्षा सम्बन्धी समस्याहरू बाट बच्ने सबै भन्दा सजिलो उपाय नचाहिएको बेला आफ्नो मोबाइल वा कम्प्युटरको Bluetooth बन्द गर्नु नै हो। Bluetooth चलाइराख्नु परेमा पनि मोबाइल वा कम्प्युटरलाई Bluetooth को माध्यमद्वारा पत्ता लगाउन नसकिने अर्थात् discovery mode लाई बन्द गर्नु नै राम्रो हुन्छ।

Bluetooth को माध्यमद्वारा स-साना उपकरणहरू बीचको सूचना आदानप्रदान तथा तारका कारणले हुने झन्झटबाट मुक्ति पाउन सकिन्छ। Bluetooth को क्षेत्रमा निकै नै कार्य भैसकेतापनि यो प्रविधि अहिले पनि बिकासको क्रममा नै छ। Bluetooth का आउँदा सँस्करणहरूले १०० मिटरको दुरी सम्म काम गर्ने तथा १०० मेगाबाइट प्रति सेकेन्डको गतिमा पनि कार्य गर्ने बनाउनका निम्ति अनुसन्धानहरू भैरहेका छन्। यसरी आउँदा दिनहरूमा Bluetooth को माध्यमद्वारा कम्प्युटरमा केबल बिजुलीको तार मात्र जोडे पुग्ने तथा अन्य सबै उपकरणहरू Bluetooth को माध्यमद्वारा जोडिने नहोला भन्न सकिन्न।

Sunday, March 2, 2008

डिजिटल क्यामेरा किन्दा ध्यान पुर्‍याउनु पर्ने कुराहरू

डिजिटल क्यामेराको मूल्य दिन प्रतिदिन घट्दै गइरहेको छ। यस्ता क्यामेराको हरेक नयाँ मोडेलमा क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर भने बढ्दै गइरहेको अवस्थामा पुरानो रिल हाल्नु पर्ने क्यामेरालाई डिजिटल क्यामेराले पुरै विस्थापित गर्दै गइरहेको कुरालाई नकार्न सकिन्न। यदि तपाइ पनि डिजिटल क्यामेरा किन्ने सोचमा हुनुहुन्छ भने सम्भव छ, तपाईलाई पक्कै पनि यस्ता क्यामेरामा रहेका विभिन्न सुविधा तथा प्रविधिले अलमल्ल पारेको हुनुपर्छ। आज हामी डिजिटल क्यामेरा सम्बन्धित केही प्राविधिक पक्ष र यस्ता क्यामेरा किन्दा ध्यान पुर्‍याउनु पर्ने कुराहरूको बारेमा चर्चा गर्दैछौ।

मेगापिक्सेल
डिजिटल क्यामेरा किन्दा सबैभन्दा पहिले आउने पक्ष भनेको क्यामेराको मेगापिक्सेल हो। यस्ता डिजिटल क्यामेराले खिच्ने फोटोहरू स‍-साना विन्दुहरूले बनेका हुन्छन् जसलाई पिक्सेल भन्ने गरिन्छ। विभिन्न रङ्गका यस्ता लाखौं पिक्सेलहरू मिलेर एउटा ठूलो फोटो बन्ने गर्दछ। साधारण रुपमा हेर्ने हो भने जति धेरै यस्ता पिक्सेलहरू भयो, फोटो त्यति नै खाँदिलो तथा राम्रो देखिने गर्दछ। त्यसैकारणले गर्दा पनि धेरै डिजिटल क्यामेराले मेगापिक्सेललाई महत्व दिने गर्दछन् र धेरै खरिदकर्ताहरूले डिजिटल क्यामेरा किन्दा बढि मेगापिक्सेल भएको क्यामेरालाई प्राथमिकता दिने गर्दछन्। नयाँ नयाँ क्यामेरामा पनि बढि भन्दा बढि मेगापिक्सेल भएको हुने गर्दछ। अचेल बजारमा ६ देखि ८ मेगापिक्सेलका क्यामेराहरू बढि चलनचल्तीमा रहेको पाइएको छ।

क्यामेराको मेगापिक्सेलले क्यामेरा तथा यसले खिच्ने फोटोको गुणस्तर केही मात्रामा निर्धारण गर्ने भए तापनि बढि मेगापिक्सल भएको क्यामेरा नै राम्रो भन्ने कदापि हैन। डिजिटल क्यामेराले खिच्ने फोटोलाई क्यामेराको मेगापिक्सेलले बाहेक अन्य धेरै कुराहरूले फरक पार्ने गर्दछ। हामीले खिच्ने साधारण फोटोहरुका निम्ति ५ मेगापिक्सेल काफी हुने गर्दछ। त्यसैले सामान्य फोटोहरू खिच्नका निम्ति ५ देखि ६ मेगापिक्सेल भन्दा बढिको क्यामेरा किन्नु पैसाको बर्बादी मात्र हुने गर्दछ।

क्यामेराको प्रकार
डिजिटल क्यामेरा पनि विभिन्न प्रकारका हुने गर्दछन्। सर्वसाधारण रुपमा प्रयोग हुने सानो आकारका क्यामेरालाई point and shoot क्यामेरा भन्ने गरिन्छ। यस्ता क्यामेरा सस्तो हुनुका साथै सबै खालका प्रयोजनका निम्ति उपयुक्त हुने गर्दछ। तर यदि तपाई फोटोग्राफीमा रुचि राख्नु हुन्छ र निकै नै राम्रो गुणस्तरका फोटोहरू खिच्न चाहनुहुन्छ भने तपाईका निम्ति SLR डिजिटल क्यामेरा उपयुक्त हुन सक्छ। व्यावसायिक फोटोग्राफरहरूले प्रयोग गर्ने ठूलो खालको क्यामेराहरू यस्तै SLR क्यामेराहरू हुन्। पहिला पहिला यस्ता SLR डिजिटल क्यामेरा निकै नै महंगो हुनुका साथै प्रयोग गर्न पनि गार्‍हो हुने गर्दथ्यो, तर अचेल यस्ता क्यामेरा निकै नै सस्तो हुदै आइरहेका छन्। सामान्य point and shoot क्यामेरा भन्दा केही महंगो भएतापनि यदि तपाईलाई फोटोग्राफीमा रुचि छ भने SLR क्यामेरा किन्नु नै राम्रो हुन्छ।

Zoom
कुनै पनि फोटो किन्दा क्यामेराको zoom ले पनि निकै फरक पार्ने गर्दछ। zoom भन्नाले टाढाको वस्तुलाई दूरबिन जस्तै ठूलो पारेर फोटो खिच्न सक्ने खुबी लाई जनाउछ। पुराना रिल हाल्ने क्यामेरामा एकै प्रकारको zoom हुने गर्दथ्यो भने अचेलका डिजिटल क्यामेरामा दुई प्रकारका zoom हुने गर्दछन् - optical zoom र digital zoom। डिजिटल क्यामेराका धेरै खरिदकर्ताहरूलाई यी दुई प्रकारका zoom ले झुक्याउने गर्दछ। वास्तवमा optical zoom भन्नाले क्यामेराको असली zoom लाइ बुझाउँछ भने digital zoom भन्नाले डिजिटल फोटोलाई डिजिटल प्रविधिद्वारा आन्तरिक रुपमा ठूलो पार्ने प्रक्रियालाई बुझाउँछ। Digital zoom को प्रयोग गरि ठूलो पारिएको फोटो कदापि राम्रो गुणस्तरको हुँदैन। त्यसकारण क्यामेराको zoom निर्धारण गर्दा digital नभइ optical zoom लाई प्राथमिकता दिनु पर्दछ।

Anti-shake
पुराना पुराना डिजिटल क्यामेराहरूले फोटो खिच्दा क्यामेरा हल्लाएमा फोटोहरू निकै नै बिग्रने गर्दथ्यो, तर अचेलका धेरै क्यामेराहरूमा anti-share नामको सुविधा हुने गर्दछ। क्यामेरा किन्न गइरहनु भएको छ भने anti-shake भएको क्यामेरा किन्नु नै राम्रो हुन्छ।

Review
क्यामेरा किन्दा क्यामेराको review पनि पढ्न छुटाउनु हुँदैन। डिजिटल क्यामेराको review गर्ने इन्टरनेटमा विभिन्न वेवसाइटहरू रहेका छन्। यस्ता वेवसाइटमा गइ क्यामेराकै प्रयोगकर्ताहरूले पठाएका review हरु पढ्दा आफुले किन्न लागेको क्यामेराको बारेको असली जानकारी प्राप्त हुने गर्दछ। त्यसकारण डिजिटल क्यामेरा किन्दा पहिले बजारमा गइ क्यामेराहरू हेरी त्यस क्यामेराहरूको review विभिन्न वेबसाइटहरूमा पढिसकेपछि मात्र कुन क्यामेरा किन्ने भनि निर्णय गर्नु राम्रो हुने गर्छ।

ब्याट्री
डिजिटल क्यामेरामा दुई प्रकारका ब्याट्रीहरु प्रयोग भएको हुन सक्छ। कुनै क्यामेरामा साधारण टर्चको ब्याट्री अर्थात् AA ब्याट्री प्रयोग हुने गर्दछ भने कुनै क्यामेरामा lithium ion ब्याट्री प्रयोग हुने गर्दछ। दुवै प्रकारका ब्याट्रीहरूका आ-आफ्नै फाइदाहरू हुने गर्दछन्। AA ब्याट्री बजारमा जतासुकै पाइने भएकाले किन्न र प्रयोग गर्न सजिलो हुने गर्दछ। तर यस्ता ब्याट्री छिटै सकिने भएकाले चार्ज गरिराख्नु पर्ने वा नयाँ किनिराख्नु पर्ने हुन्छ। Lithium-ion ब्याट्री सबै चार्ज गर्ने खालका हुन्छन् र एक पटक चार्ज गरेपछि लामो समयसम्म टिक्ने पनि हुन्छन्। तर यस्ता ब्याट्री चार्ज गर्नु पर्ने हुनाले यदि तपाइ बिजुली नभएको ठाउँमा जाँदै हुनुहुन्छ भने यस्ता ब्याट्री प्रयोग हुने क्यामेरा उपयुक्त नहुन सक्छ। त्यसैले क्यामेरा किन्नु अगाडि आफ्नो प्रयोग तथा आवश्यकतालाई विचार गर्नु नै बुद्धिमानी हुन्छ।

क्यामेराका अतिरिक्त सामग्रीहरु
डिजिटल क्यामेराहरू किन्दा यसमा प्रयोग हुने memory card संगै नआउन सक्छ। यस्ता क्यामेरा किन्दा memory card छुट्टै किन्नु पर्ने हुन सक्छ। त्यसकारण क्यामेरा किन्ने आफ्नो बजेट निर्धारण गर्दा यस्ता कुराहरूलाई पनि ध्यान पुर्‍याउनु पर्ने हुन्छ। त्यस्तै क्यामेराको खोल तथा ब्याट्री जस्ता अन्य सामाग्रीहरूले पनि क्यामेराको मुल्यमा फरक पार्न सक्छ। यस कुरामा पनि बिशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ।

इन्टरनेट ब्राउजरहरूको युद्ध

हामी सबैले इन्टरनेट चलाउन प्रयोग गर्ने इन्टरनेट ब्राउजर संभवत सबैभन्दा बढि प्रयोग हुने कम्प्युटर सफ्टवेयर हो। यसकारण पनि यस प्रकारका इन्टरनेट ब्राउजिङका निम्ति प्रयोग हुने निकै नै धेरै सफ्टवेयरहरूको विकास भएको छ। र यस्ता सफ्टवेयरहरू बीच एक आपसमा निकै नै धेरै प्रतिस्पर्धा हुने गरेको पाइएको छ। स-साना सफ्टवेयरहरू बीच त्यति ठूलो खालको प्रतिस्पर्धा नभए पनि केही ठूला तथा प्रमुख ब्राउजरहरू बीच युद्धस्तरमा नै प्रतिस्पर्धा हुने गरेको पाइएको छ। यस ब्राउजर युद्धको प्रमुख प्रतिस्पर्धीको रुपमा इन्टरनेट एक्सप्लोरर् (Internet Explorer), मोजिला फायरफक्स (Mozilla Firefox) तथा ओपेरा (Opera) ब्राउजर पर्ने गरेका छन्।

इन्टरनेट ब्राउजरको इतिहास खोतल्दै जादाँ सन् १९९० को सुरुतिर भएको इन्टरनेट प्रविधिको विकास तथा सर्वसाधारणको त्यससम्मको पहुँच सम्म पुग्न सकिन्छ। सन् १९९० को सुरु तिर इन्टरनेट सर्वसाधारणका लागि खुला हुन थाले पछि HTML को विकास भयो। HTML कोडिङ प्रणालीको माध्यमबाट इन्टरनेटको मार्फत अक्षर तथा तस्विरहरू हेर्न सकिन्थ्यो। तर त्यति बेला कुनै ब्राउजरको विकास भैसकेको थिएन। तर Mosiac नामको ब्राउजरको विकासपछि इन्टरनेट चलाउने तरिका बारे व्यापक परिवर्तन आयो। Mosiac सुरुमा Unix Operating System का निम्ति बनाइएको भए पनि पछि यसलाई Windows तथा Apple मा पनि चल्ने बनाइयो। यसबाट Mosiac ब्राउजर निकै प्रचलित हुनुका साथै प्रयोगकर्ताहरू माझ इन्टरनेट तथा www को अवधारणा विकसित गरिदियो। पछि Mosiac का विकासकर्ताहरू ले Netscape Communications Corporation नामक कम्पनीको सुरुवात गरे र निकै नै प्रसिद्ध Netscape Navigator नामको ब्राउजरको बिकास गरे। निकै लामो समय सम्म यस Netscape Navigator निकै नै चलन चल्तीमा रह्यो।

यसै बीचमा Spyglass नामको कम्पनी ले Internet Explorer नामको ब्राउजरको विकास गरेको थियो, जुन पछि माइक्रोसफ्ट ले खरिद गर्‍यो र Internet Explorer को बिक्रीवितरण माइक्रोसफ्टले गर्न थाल्यो, जुन अहिले विश्वको सबै भन्दा बढि प्रयोग हुने ब्राउजरमा पर्दछ। धेरैलाई यो कुरा अचम्म लाग्न सक्छ कि माइक्रोसफ्टको यति धेरै प्रचलित ब्राउजर Internet Explorer माइक्रोसफ्ट आफैले विकास गरेको थिएन।

Internet Explorer को बिकास हुनु भन्दा अगाडि Netscape Navigator प्रमुख ब्राउजर थियो। Internet Explorer को चौथो संस्करण आउँदा सम्म पनि यसको बजार केबल १८% मात्र थियो। Netscape Navigator गुणात्मक तथा प्रयोगको हिसाबले पनि Internet Explorer भन्दा निकै नै अगाडि थियो।

तर internet explorer को चौथो संस्करणले धरै कुरामा परिवर्तन ल्याइदियो। Internet explorer को यस संस्करण निकै छिटो हुनुका साथै सबै गुणस्तर तथा मापदण्डहरु प्रयोग गरि बनाइएको थियो। माइक्रोसफ्ट विन्डोजको update रुपमा वितरण गरिएको यस Internet Explorer को यस संस्करण कम्प्युटरमा हालेपछि ब्राउजर मात्र नभइ कम्प्युटरमा mp3 तथा अन्य श्रव्य दृश्यको सुविधा पनि उपलब्ध हुने गर्नाले Internet Explorer को यस चौथो संस्करण निकै नै प्रचलित रह्यो। Netscape Navigator तथा Internet Explorer बीचको युद्ध त्यसपश्चात निकै चर्को रुपमा बढ्न थाल्यो।

ब्राउजरहरूको यस युद्धमा माइक्रोसफ्टका केही फाइदा पुर्‍याउने विषयहरू थिए। माइक्रोसफ्ट निकै नै धनी कम्पनीको रुपमा विकसित भइसकेको थियो। Netscape जम्मा एक सफ्टवेयर Netscape Navigator को भरमा टिकेको थियो भने माइक्रोसफ्टमा बिभिन्न सफ्टवेयरहरू थिए। त्यसकारण पनि Netscape Navigator मा लगानी गर्न Netscape का निम्ति कुनै अन्य आर्थिक श्रोत थिएन।

माइक्रोसफ्टको विन्डोजको बजार करिब ९०% थियो, र हरेक विन्डोज संगै Internet Explorer सित्तैमा उपलब्ध हुने गर्दथ्यो। त्यसकारण पनि हरेक विन्डोजको प्रयोगकर्तासंग सित्तैमा Internet Explorer उपलब्ध हुने गर्दथ्यो। सुरु सुरुमा Netscape Navigator को गुणस्तर Internet Explorer भन्दा निकै राम्रो भएकाले Internet Explorer हुदाहुदै पनि धेरै प्रयोगकर्ताहरूले Netscape Navigator कम्प्युटरका हालेर प्रयोग गर्ने गर्दथे। तर विस्तारै Internet Explorer को गुणस्तरमा सुधार हुदै गएपछि धेरैले विन्डोजमै सित्तैमा उपलब्ध हुने Internet Explorer नै चलाउन थाले।

यसबाहेक माइक्रोसफ्टले आफ्नो प्रभावको फाइदा उठाउदै Internet Explorer लाई निकै अगाडि ल्याएको थियो। माइक्रोसफ्टले Mac कम्प्युटरमा पनि Internet Explorer चलाउनु पर्ने गरि Apple Computer संग सम्झौता गर्न सफल भएको थियो, जसका कारणले Mac कम्प्युटरमा पनि सन् १९९७ देखि ५ वर्षका निम्ति माइक्रोसफ्टको Internet Explorer चलाउनु पर्ने भयो। सन् २००२ सम्म आइपुग्दा Internet Explorer को बजार ९६% पुगिसकेको थियो। Netscape यस अवस्था सम्ममा पूर्ण रुपमा यस युद्धबाट बाहिर पुगिसकेको थियो। Internet Explorer विश्वको प्रमुख ब्राउजर बन्न पुग्यो।

Internet Explorer को यस जित माइक्रोसफ्टको निम्ति सुखद भएपनि प्रयोगकर्ता को निम्ति यो निकै नै दुर्भाग्यपूर्ण हुन गयो। एउटै मात्र ब्राउजर भएका कारण ब्राउजरमा कुनै पनि महत्वपूर्ण सुधारहरु भएनन्। आफुमात्र ब्राउजरहरू मध्ये प्रमुख भएकाले Internet Explorer ले वेबपेजहरुका गुणस्तर तथा मापदण्डहरु पालना गर्न जरुरी मानेन। त्यसतै Internet Explorer मा रहेका विशेषत सुरक्षा प्रणालीमा रहेका खराबीहरू पनि सुधार भएनन्।

Internet Explorer लाई सुरक्षा तथा गुणात्मक हिसाबले निकै नै नराम्रो ब्राउजर भएका कारण तथा एकै मात्र ब्राउजरको प्रभाव भएको हुदा यस ब्राउजरको प्रतिस्पर्धीको रुपमा फायरफक्स वेब ब्राउजर अगाडि आयो Mozilla Firefox पहिले प्रचलित Netscape Navigator मा आधारित छ र यसलाई Mozilla Foundation ले मोजिला प्रोजेक्ट अन्तर्गत निर्माण गर्ने गर्दछ। यसको सबैभन्दा पहिलो सँस्करण सन् २००४ मा निकालिएको थियो।

अहिले पनि Internet Explorer को बजार निकै नै माथि भएपनि मोजिला फायरफक्सले बढ्दो रुपमा बजार लिइरहेको छ। गुणस्तर तथा सुरक्षाको हिसाबले पनि मोजिला फायरफक्स निकै नै उच्चस्तरीय रहेको पाइएको छ। त्यसमाथि Internet Explorer को पछिल्लो सातौ संस्करण लाई निकै नै कम प्रयोगकर्ताले मात्र रुचाउने गरेको पाइएको छ।

ब्राउजरको यस युद्धमा Opera ब्राउजर पनि निकै नै बलियो रुपमा पहिले देखि आइरहेको छ। निकै नै सुविधाहरु तथा छिटो यस ब्राउजर पनि निके धेरै प्रयोगकर्ताहरूले रुचाउने गरेको पाइएको छ। यसबाहेक यस Opera ब्राउजर मोबाइलहरूमा पनि उपलब्ध हुने गरेकाले कम्प्युटरमा भन्दा मोबाइल जस्ता स-साना उपलकरणहरूमा यस Opera ब्राउजर धेरै प्रचलित रहेको छ।

Friday, January 25, 2008

लिनक्सका डिस्ट्रो छान्ने तरिका

केही समय यता लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट विन्डोजमा हुने भाइरस तथा कम्प्युटर ह्याङग हुने समस्या अनि सुरक्षा सम्बन्धी कारणले गर्दा दिक्क भई विश्वका धेरै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग तथा सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका कारणले पनि लिनक्सको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ।

तर लिनक्स चलाउन चाहने जोसुकै सबै भन्दा पहिले लिनक्सका सयौं प्रकारहरूका बीच हराउने गर्दछन्। लिनक्सका बारेमा पहिले सुन्नु भएको छ भने पक्कै पनि तपाईले रेडह्याट, फेडोरा, उबुन्तु जस्ता विभिन्न लिनक्सका प्रकारका बारेमा सुन्नु भएको होला। यस्ता लिनक्सका प्रकारहरूलाई distribution वा छोटकरीमा distro भन्ने गरिन्छ। अहिलेसम्म पाच सय भन्दा बढि यस्ता डिस्ट्रोहरूको विकास भैसकेको छ। रमाइलो कुरा के छ भने, यदि तपाईसँग लिनक्सको ज्ञान छ भने तपाई पनि आफ्नै यस्तो डिस्ट्रो बनाउन सक्नु हुन्छ।

फरक फरक डिस्ट्रोको आ-आफ्नै विशेषता हुने गर्दछ। कुनै डिस्ट्रो डेस्कटप कार्यहरूका निम्ति उपयुक्त हुन्छ भने कुनै डिस्ट्रो सर्भरका निम्ति। त्यस्तै वैज्ञानिक खोज, इन्जिनियरिङ्ग कार्य तथा विभिन्न क्षेत्रको निम्ति फरक फरक विशेषता भएका डिस्ट्रोहरु पाउन सकिन्छ। आज हामी लिनक्सका केही प्रमुख डिस्ट्रोहरू तथा ती डिस्ट्रोहरू के कार्यका निम्ति प्रयोग गर्न सकिन्छ भनेर चर्चा गर्नेछौ।

यदि तपाइ घरमा टाइप गर्न, इमेल इन्टरनेट प्रयोग गर्न, भिडियो तथा अडियो कार्यहरूका निम्ति प्रयोग गर्न लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ भने उबुन्तु लिनक्स उपयुक्त हुन सक्छ। केही समय यता उबुन्तु लिनक्स निकै नै राम्रो हुदै गइरहेको तथा बढि भन्दा बढि हार्डवेयर हरू चल्ने हुँदै गइरहेको छ। त्यसमाथि Canonical नामको कम्पनीले निर्माण गर्ने तथा हरेक ६ महिनामा नया सँस्करण निकालिने हुनाले पनि यस डिस्ट्रोको प्रयोग गर्दा सधै updated भइने कुराको ग्यारेन्टी हुने गर्दछ। यदि तपाईको कम्प्युटरमा इन्टरनेटको सुविधा छ भने नयाँ सफ्टवेयरहरू हाल्न पनि यस उबुन्तु लिनक्समा निकै नै सजिलो हुने गर्दछ।

यसबाहेक घरको कम्प्युटरमा प्रयोग गर्नको निम्ति Fedora लिनक्स पनि निकै नै प्रचलित छ। उबुन्तु लिनक्स जस्तै ६ ६ महिनामा नयाँ सँस्करण आउने नभए पनि यस लिनक्स विश्वव्यापी रुपमा धेरै प्रयोगकर्ताहरूले प्रयोग गर्ने गर्दछन्।

यदि तपाई चलउादा विन्डोज जस्तै लाग्ने लिनक्सको खोजीमा हुनुहुन्छ भने सबै भन्दा राम्रो डिस्ट्रो Xandros Desktop हुन सक्छ। Xandros Desktop विन्डोजको प्रयोगकर्ताहरूलाई गार्‍हो नहुने गरि तथा चलाउँदा प्राय विन्डोज जस्तै लाग्ने गरि बनाइएको छ। हुन त लिनक्स चलाउने भनेपछि विन्डोज जस्तै देखिनु त्यति सान्दर्भिक नहोला, तर कसै कसै लाई यो पक्ष महत्वपूर्ण हुन सक्छ।
Linspire नामको डिस्ट्रो पनि विन्डोजका प्रयोगकर्ताहरूलाई सजिलो लाग्न सक्छ। Xandros जस्तै विन्डोजसंग मेल खाने बनाइएको भए तापनि यसमा Xandros को भन्दा सजिलो सँग सफ्टवेयरहरू हाल्न सकिन्छ। केही क्लिकमै सफ्टवेयर सर्च गर्ने तथा इन्स्टल गर्ने सुविधा Linspire मा रहेको छ।

यदि तपाई Xandros वा Linspire प्रयोग गर्ने सुरमा हुनुहुन्छ भने तपाईका निम्ति Progression Desktop नामको सफ्टवेयर पनि निकै काम लाग्न सक्छ। यस सफ्टवेयरले कम्प्युटरमा रहेको विन्डोजका सेटिङ् तथा फाइलहरूलाई लिनक्समा सार्ने गर्दछ।
विन्डोजमा चल्ने गेम लिनक्समा खेल्नका लागि विशेष प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्। यस प्रकारका कार्यका निम्ति Win4Lin नामको डिस्ट्रो उपयुक्त हुन सक्छ। तर यस डिस्ट्रोमा इन्टर्नेट चलाउन भने अलि अप्ठ्यारो भएको कुरा यसका प्रयोगकर्ताहरूले बताएका छन्। त्यस्तै TransGaming Technologies ले बनाएको Cedega नामको सफ्टवेयरको प्रयोगबाट पनि कुनै पनि लिनक्स डिस्ट्रोमा विन्डोजका गेमहरु खेल्न सकिन्छ।

यसबाहेक विन्डोजमा चल्ने सफ्टवेयरहरू लिनक्समा चलाउनको निम्ति Wine नामको सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ।
अफिसका निम्ति प्रयोग गर्न पनि विभिन्न प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्।

यदि तपाइ हेर्दा राम्रो तथा चलाउन पनि सजिलो लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ भने Novell को OpenSUSE प्रयोग गर्न सक्नु हुन्छ।

अफिसका निम्ति RedHat Enterprise Edition लिनक्स पनि प्रयोग गर्न सकिन्छ। केहि समय यता उबुन्तु लिनक्स पनि निकै राम्रो तथा सुधारिएको रुपमा उपलब्ध हुन थालेको छ। त्यसकारण यस लिनक्स पनि अफिसहरूमा प्रयोग गर्न सकिन्छ।
त्यस्तै यदि तपाई शैक्षिक कार्यका निम्ति लिनक्सको प्रयोग गर्न चाहनुहुन्छ भने Edubuntu नामको लिनक्समा निकै नै शैक्षिक सामाग्रीहरू रहेका छन्। बालबालिका निम्ति शैक्षिक खेलहरू देखि लिएर कलेज पढ्ने विद्यार्थीहरूका निम्ति पनि विभिन्न सफ्टवेयरहरू रहेको यस Edubuntu उबुन्तु लिनक्सलाई परिमार्जित गरि बनाइएको हो, र प्रत्येक ६ ६ महिनामा यसको नयाँ सँस्करण आउने गर्दछ।

श्रव्य दृश्य सम्बन्धी कार्यको निम्ति उबुन्तुकै छुट्टै डिस्ट्रो पनि रहेको छ। Ubuntu Studio नाम दिइएको यस लिनक्स डिस्ट्रोमा श्रव्य तथा दृश्य सम्पादनका निम्ति थुप्रै सफ्टवेयरहरू रहेका छन्।

यदि तपाई कम्प्युटर सम्बन्धी काम गर्नु हुन्छ र लिनक्स सिकि यसलाई आफ्नो पेसा बनाउन चाहनुहुन्छ भने तपाईको निम्ति Redhat Linux उपयुक्त हुने गर्दछ। Redhat linux ले लिनक्सका विभिन्न पाठ्यक्रम बनाउनुका साथै परीक्षा पनि लिने गर्दछ। Redhat को Redhat Certified Professional नामको लिनक्स सम्बन्धी पाठ्यक्रम तथा यसको परीक्षा विश्वभरी नै चर्चित रहेको छ र यसको परीक्षा उत्तीर्ण गरेको जो कोहीलाई विश्वव्यापी रूपमा लिनक्सको विज्ञको मान्यता दिइने गरिन्छ।

लिनक्सलाई निकै नै पुरानो कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुराना कम्प्युटरहरूमै प्रयोग गर्न बनाइएको Damn Small Linux नामको लिनक्स डिस्ट्रो पुरानो Pentium तथा 486 कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुरानो कम्प्युटरमा चल्ने भए तापनि यस Damn Small Linux मा नयाँ लिनक्समा रहेका सम्पूर्ण सुविधाहरू रहेका छन्। यसरी लिनक्सको प्रयोग गरि तपाइ फाल्न तयार पारिएका कम्प्युटरहरूमा पनि नयाँ ज्यान भर्न सक्नुहुन्छ।

यदि तपाइ नेपाली मा लिनक्स चलाउन चाहनुहुन्छ भने यो सुविधा पनि लिनक्समा उपलब्ध छ। यसको निम्ति मदन पुरस्कार पुस्तकालयद्वारा निर्माण गरिएको नेपालीनक्स निकै नै राम्रो रहेको छ। हुन त अरू लिनक्स डिस्ट्रोहरू पनि नेपाली भाषामा आउने बनाउन सकिन्छ तर यस नेपालीनक्सलाई विशेषत नेपालीमै चलाउन मिल्ने गरि बनाइएको छ। यसमा रहेका सम्पूर्ण सफ्टवेयरहरू नेपाली भाषामा रहेको छन्। त्यसकारण अंग्रेजी भाषाको प्रयोगको कारण कम्प्युटरको प्रयोग गर्न गार्‍हो हुने गरेको छ भने यस नेपालीनक्स निकै नै सजिलो हुन सक्छ। नेपालीनक्सको सिडि ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयको कार्यालयमा निकै नै कम मूल्यमा प्राप्त गर्न सक्नु हुन्छ।

यति धेरै रहेका लिनक्सका डिस्ट्रोहरुमा निकै नै विविधता पाउन सकिन्छ। विभिन्न लिनक्स डिस्ट्रोका आ-आफ्नै विशेषता हुने भएका ले कुनै एक लिनक्स डिस्ट्रोलाई उत्तम भन्न सकिन्न। जति धेरै डिस्ट्रोहरु भए तापनि लिनक्सको प्रयोग गर्नु भन्दा पहिले आफ्नो आवश्यकताहरूको सहि पहिचान गर्न सकियो भने लिनक्स डिस्ट्रो छान्नु कुनै गार्‍हो कार्य भने पक्कै पनि हैन।

Sunday, January 20, 2008

इमेल लेख्दा ध्यान पुर्‍याउनु पर्ने केही कुराहरू

इमेल आधुनिक सूचना प्रविधिको युगको एक अपरिहार्य सञ्चारको माध्यम भइसकेको छ। पठाएको केही सेकेन्डमै विश्वको एक कुना देखि अर्को कुनामा सन्देश पठाउन सकिने यस प्रविधिले हामी सबैको जीवनशैलीमा अवश्य नै परिवर्तन ल्याएको छ।

चिठीको तुलनामा इमेललाई निकै नै अनौपचारिक तथा बढि व्यक्तिगत प्रयोजनको निम्ति प्रयोग गरिन्छ। साथीभाईहरुलाई सन्देश पठाउँदा जस्तो सुकै तरिकाले प्रयोग गर्न सकिने भए तापनि औपचारिक कार्यहरूका निम्ति यसको प्रयोग गर्दा भाषा तथा शैलीमा ध्यान पुर्‍याउनु राम्रो हुन्छ। इमेल प्रयोग गर्दा के के कुरामा ध्यान पुर्‍याउनु पर्छ त? आज हामी यसै विषयमा छलफल गर्दैछौँ।
  • इमेल लेख्दा कहिले पनि capital अक्षरहरूको प्रयोग गर्नु हुँदैन। capital अक्षरहरूको प्रयोग गर्दा कराएको वा ठूलो स्वरमा बोलेको भन्ने बुझिन्छ। कसैसैग साच्चै चिच्याएको आशय बाहेक capital अक्षरहरूको प्रयोग कहिल्यै गर्नु हुँदैन। पुरै इमेल capital अक्षरमा लेखिएको छ भने त्यस इमेल प्राप्त गर्ने व्यक्तिलाई कराएको जस्तो अर्थ लाग्छ। यो कुरा इमेल प्राप्त गर्ने व्यक्तिले पक्कै पनि राम्रो मान्नै छैन।
  • इमेल लेख्दा subject वा विषय को ठाउँ पनि खालि राख्नु हुँदैन। यदि तपाइ धेरै इमेल प्राप्त गर्ने व्यक्तिलाई मेल गर्दै हुनुहुन्छ भने उसलाई विषय खाली भएका मेल मिलाउन गार्‍हो हुने गर्दछ। त्यस्तै विषय खाली राख्दा यस्ता इमेललाई spam ठानी मेटाउने सम्भावना पनि रहने गर्दछ। त्यसमाथि विषयले पठाइएको इमेलको बारेमा छोटकरीमा जानकारी पनि दिने हुनाले विषय लेख्न नछुटाउन नै राम्रो हुन्छ।
  • त्यस्तै इमेलको subject मा Hi Hello जस्ता स साना शब्दहरू प्रयोग गर्नु सट्टा इमेलको बारे पूर्ण जानकारी दिने वाक्यहरूको प्रयोग गर्नु नै राम्रो हुने गर्दछ। यस्ता स‍-सामा शब्दहरूको प्रयोग गर्ना इमेल को विषय झन अस्पष्ट हुने गर्दछ।
  • इमेल एक भन्दा बढि व्यक्तिलाई पठाउनु छ भने Blind Carbon Copy अर्थात् BCC को प्रयोग गर्न पनि हिच्किचाउनु हुदैन्। धेरै व्यक्तिहरूले bcc को सट्टा Carbon copy अर्थात् cc को प्रयोग गर्ने गर्दछन्। तर यसरी cc को प्रयोग गर्दा सबैले इमेल क-कसलाई पठाइएको छ भनी थाहा पाउने हुनाले गोपनीयताको हिसाबले पनि bcc प्रयोग गर्नु राम्रो हुन्छ।
  • इमेल फर्वर्ड गर्दा पनि निकै नै ध्यान पुर्‍याउनु पर्छ। कुनै पनि मेल फर्वार्ड गर्दा त्यो इमेल प्राप्त गर्ने व्यक्तिलाई मन पर्ला कि मन नपर्ला भनि विचार गर्नु जरुरी हुन्छ। तपाईँलाई रमाइलो लाग्ने सामग्री अरू कुनै व्यक्तिलाई बेइज्जत गरेजस्तो लाग्न पनि सक्छ। त्यसैले इमेल फरवर्ड गर्दा साथीहरूको इमेल ठेगाना छान्दा उसलाई त्यस इमेल मन पर्ला कि नपर्ला भनी सुरुमै विचार गर्नु राम्रो हुन्छ।
  • आफूलाई आएको व्यक्तिगत इमेल पनि फरवर्ड नगर्दा नै राम्रो हुन्छ। यसरी forward गर्नै परेमा पनि इमेल पठाउने व्यक्तिको स्वीकृति लिनु राम्रो हुन्छ।
  • त्यस्तै नयाँ भाइरसको सूचना दिने आशय भएका इमेलहरू पनि अरुलाई फरवार्ड नगर्दा नै राम्रो हुन्छ। भाइरस सम्बन्धी इमेल पाउनु भनेको निकै नै असान्दर्भिक कुरा हो। यस्ता इमेलहरूमा भाइरस हटाउने सम्बन्धी पनि जानकारी हुन सक्छ, जसको प्रयोगले तपाईको साथीहरूको कम्प्युटर झन् बिग्रन पनि सक्छ। त्यसमाथि यस प्रकारका इमेलहरू ९९% गलत नै हुने गर्दछ। यसरी गलत सूचना अरुलाई पठाउनु पक्कै पनि राम्रो कुरो हैन।
  • इमेल पठाउँदा ठुल्ठुला attachment हरू पठाउनु पनि राम्रो हैन। धेरै इमेल भण्डारण क्षमता भएका प्रयोगकर्ताहरूलाई यो कुराले समस्या नपार्ला तर भण्डारण क्षमता कम भएका इमेलहरूमा यस्ता ठूला मलेहरु पठाउँदा भण्डारण पुर्णरुपमा भरिइ अरू इमेल प्राप्त गर्न नसक्ने पनि हुन सक्छ। त्यसमाथि इमेल पाउनेलाई यस्ता ठूला ठूला इमेलहरू हेर्न पनि झर्को हुने गर्दछ।
  • त्यस्तै इमेलमा attachment पठाउँदा दुई भन्दा बढि फाइलहरू छन् भने यस्ता फाइलहरूलाई zip गर्नु राम्रो हुन्छ। यसले गर्दा इमेल प्राप्त गर्ने व्यक्तिलाई यी फाइलहरू डाउनलोड गर्न सजिलो हुनुका साथै छिटो पनि हुने गर्दछ। यसरी zip गर्दा फाइलको आकार सानो हुने भएकाले पठाउँदा पनि कम समय लाग्ने गर्दछ।
  • इमेल पठाउनु भन्दा पहिले एक पटक पुरा इमेल पढ्न तथा spell check गर्न पनि बिर्सन हुँदैन। इमेल एकपटक पठाइसकेपछि रद्द गर्न मिल्दैन। तपाइले गरेको सानो गल्तीले अर्थको अनर्थ लगाउन सक्छ।
  • इमेलको अन्त्यमा आफ्नो नाम पनि लेख्न छुटाउनु हुदैन। हुन त इमेल प्राप्त गर्दा नै नाम आउने गर्दछ, तर कसैकसैले यसरी आएको नामलाई आधिकारिक नमान्न सक्छन। त्यस्तै इमेल अरुको इमेल account बाट पनि पठाउन सकिन्छ। त्यसैलै इमेलको अन्त्यमा आफ्नो नाम लेख्नु नै राम्रो हुने गर्दछ। यदि तपाईलाई आफ्नो नाम उल्लेख गर्न मन छैन भने आफूलाई सम्पर्क गर्न सकिने इमेल ठेगाना भने राख्न भुल्नु हुदैन।
  • इमेलको भाषिक शैली ले तपाईको मुडको बारेमा जानकारी दिन सक्छ। त्यस कारण खराब मुडमा इमेल नलेख्नु नै राम्रो हुन्छ।
  • इमेल प्राप्त गरिसकेपछि यदि त्यो आफूलाई मात्र पठाइएको हो भने reply पठाउन बिर्सन हुँदैन। यसो गर्दा पठाउने व्यक्तिलाई त्यो इमेल तपाइले प्राप्त गरिसक्नु भयो भन्ने कुराको पनि जानकारी हुने गर्दछ।
  • यदि तपाइ कुनै discussion group वा forum मा इमेलमा पठाउँदै हुनुहुन्छ भने कुनै पनि हालतमा आफ्नो वा अरु कसैको फोन वा इमेल ठेगाना उल्लेख गर्नु हुदैन। यसरी इमेल उल्लेख गर्दा अर्काको गोपनीयता भङ्ग हुनुका साथसाथै spam इमेलहरू पनि आउने सम्भावना हुने गर्दछ।
  • त्यस्तै आफूलाई प्राप्त भएको spam इमेलहरूलाई पनि कहिल्यै reply गर्नु हुदैन। यस्ता इमेल reply गर्दा spam इमेल पठाउने व्यक्तिहरूलाई तपाई साच्चिकै spam इमेल पनि हेर्नुहुन्छ भन्ने भान पर्न जान्छ र तपाईलाई झन् धेरै spam इमेल प्राप्त हुन सक्छ।
  • इमेल reply गर्दा reply तथा reply to all भनी दुई सुविधाहरू हुने गर्दछन्। reply मात्र गर्दा केबल इमेल पठाउने व्यक्तिलाई इमेल जाने गर्दछ। तर reply to all गर्दा इमेल प्राप्त गर्ने सबैलाई तपाईले पठाएको reply जाने गर्दछ। त्यसकारण यी दुई सुविधाको प्रयोग गर्दा निकै नै ध्यान पुर्‍याउनु गर्ने हुन्छ।
  • इमेल लेख्दा हामी शब्दहरूलाई निकै नै छोट्याउने गर्दछौ। जस्तै कि please लेख्दा plz, you को सट्टामा u मात्र। साथीभाइहरुका बीच यस्ता शब्दहरूले खासै फरक नपारे पनि औपचारिक मेल लेख्दा यस्ता शब्दहरूको प्रयोग नगर्दा नै राम्रो हुन्छ।
  • यदि तपाइ कुनै संस्थामा काम गर्नु हुन्छ र तपाईको त्यस संस्थाको इमेल ठेगाना छ भने त्यस इमेल ठेगानालाई आफ्नो व्यक्तिगत प्रयोजनका निम्ति प्रयोग नगर्दा नै राम्रो हुन्छ। त्यस्तै ती इमेलहरूमा अनावश्यक forward हरू पठाउनु पनि राम्रो हैन। फरक फरक संस्थाका इमेलको प्रयोग सम्बन्धी फरक फरक नियमहरू हुन सक्छन्। इमेलको प्रयोग गर्नु भन्दा पहिले नै इमेल प्रयोग सम्बन्धी संस्थाका नियमहरुबारे जानकारी राख्नु राम्रो हुन्छ।
  • इमेलको आकार सके सम्म छोटो राख्दा नै राम्रो हुने गर्दछ। साधारण चिठीको तुलनामा सबैले इमेल निकै नै ठूलो संख्यामा प्राप्त गर्ने गर्दछन्। त्यसैले आफ्नो कुरा छोटो राख्दा आफ्नो मात्र नभइ इमेल प्राप्त गर्ने व्यक्तिको पनि समयको बचत हुने गर्दछ।
सामान्य चिठीहरू जस्तै इमेल पनि एक प्रकारको चिठी नै हो। हामीले कागजी चिठीमा लगाउने मिहिनेत इमेलमा पनि लगाउँदा इमेल राम्रो तथा स्पष्ट नहोला भन्न सकिन्न।

Friday, January 11, 2008

कम्प्युटर सम्बन्धी केही गलत अवधारणाहरू

कम्प्युटर कसैका निम्ति खैलौना सरह हुने गर्दछ भने कसै कसैलाई यो कुरा निकै नै जटिल लाग्न पनि सक्छ। तर जुनसुकै प्रकारको प्रयोगकर्ता भएपनि धेरैमा कम्प्युटर सम्बन्धी गलत अवधारणाहरू रहेको पाइन्छ। यस्तै अवधारणाहरू मध्ये केही चर्चित अवधारणाहरूका बारेमा केही चर्चा गरौं।

धेरै खोल्ने बन्द गर्ने गर्दा कम्प्युटर बिग्रिन्छ
विद्युतीय सामान खोल्दा वा बन्द गर्दा त्यसमा केही मात्रामा विद्युतीय दवाब पर्ने गर्दछ र यस्ता यन्त्रहरू धेरै खोल्ने तथा बन्द गर्ने गर्दा पक्कै पनि आयु घट्ने गर्दछ। तर कम्प्युटर जस्तो दिनमा केही पटक मात्र खोल्ने तथा बन्द गर्दा कुनै खराबी गर्दैन। कम्प्युटर तथा अन्य कुनै पनि विद्युतीय उपकरणले यसरी हजारौं पटकको खोल्ने तथा बन्द हुने प्रक्रियालाई थेग्न सक्छ। यसरी खोल्ने तथा बन्द गरि कम्प्युटर बिग्रनलाई कम्तिमा पनि १०-२० वर्ष लाग्न सक्छ। त्यसैले धेरै खोल्ने बन्द गर्ने गर्दा कम्प्युटर बिग्रन्छ भन्नु तथा कम्प्युटरलाई जोगाइराख्न सधैं खुला राखिराख्नु एक गलत अवधारणा मात्र हो।

पुरा चार्ज गराउन ल्यापटपको ब्याट्री पूर्णरुपमा डिस्चार्ज गर्नु
यो पनि एक गलत धारणा हो। हुन त केही वर्ष पहिले Nickel Cadmium तथा Nickel Metal Hydride द्वारा बनेका ब्याट्री प्रयोग गर्दा यो कुरा सत्य हुन आउथ्यो तर अहिलेका Lithium-ion प्रयोग हुने ब्याट्रीहरूमा त्यस्तो समस्या आउँदैन। यो तथ्य ल्यापटपहरूमा मात्र नभइ मोबाइल फोनहरूमा पनि लागु हुन आउँछ।

स्क्रिन-सेभर
धेरैले कम्प्युटरमा स्क्रिन-सेभर प्रयोग गर्दा नाम अनुसार कम्प्युटरको मनिटरको आयु बढ्छ भन्ने बिश्वास राख्ने गर्छन्। तर यो पनि एक गलत धारणा हो। स्क्रिन-सेभरको प्रयोग पहिले पहिले श्याम-स्वेत मनिटरको बेला देखि हुन थालेको हो। त्यस्ता मनिटरहरूमा स्क्रिनलाई त्यसै छोडिराख्दा मनिटरमा देखिएको तस्विर सधैको लागि बस्ने गर्दथ्यो। यसको समाधानको निम्ति मनिटरमा देखिएको दृश्य परिवर्तन गरिराख्न स्क्रिन-सेभरको विकास गरिएको हो। तर अचेलका मनिटरहरूमा यस प्रकारको समस्या हुँदैन। यस अर्थमा स्क्रिन-सेभरले मनिटरको आयु बढाउने हैन कि मनिटरको बढि प्रयोगको कारणले गर्दा केही मात्रामा आयु घटाउने गर्दछ। त्यसमाथि काम नभएको बेलामा पनि मनिटरमा स्क्रिन-सेभर चलाइराख्नाले विद्युतको पनि खपत बढ्ने गर्दछ।

पेनड्राइभ safely remove नगर्नाले बिग्रन्छ
कम्प्युटरमा पेनड्राइभ safely remove नगर्दा विन्डोजले warning messege देखाउने गर्दछ। हामी सबैले पेनड्राइभ safely remove गर्ने बानी पनि बसाएका छौ। तर सत्य के हो भने, यसरी safely remove नगर्दा पनि पेनड्राइभ बिग्रँदैन। पेनड्राइभ तथा USB मा चल्ने अन्य सम्पूर्ण सामानहरू hot-swappable अर्थात् कुनै पनि बखतमा जोड्न तथा निकाल्न सकिन्छ। तर यसरी safely remove गर्नुको कारण के हो भने पेनड्राइभमा फाइल कपि गरिसकेपछि पनि डेटाहरु पूर्ण रुपमा कपि नभइसकेको हुन सक्छ। त्यसैले safely remove नगर्दा पेनड्राइभमा कपि भएका फाइलहरू कपि नभइसकेको तथा कुनै कुनै अवस्थामा बिग्रेको पनि हुन सक्छ। safely remove गर्दा कपि हुन बाँकी सम्पूर्ण डेटाहरु कपि हुने गर्दछ। त्यसैले safely remove नगर्दा डेटा बिग्रन सक्ने भएतापनि पेनड्राइभ नै बिग्रन्छ भन्नु गलत धारणा हो।

हार्डडिस्क defrag गर्नाले कम्प्युटर छिटो हुन्छ
यो कुरामा केही मात्रामा सत्यता भएपनि हार्डडिस्क defrag गर्दैमा कम्प्युटर छिटो हुने भने हैन। हार्डडिस्क defrag गर्ने प्रक्रिया धेरै पहिले विकास भएको हो, जतिबेला हार्डडिस्कहरू सानो क्षमताका तथा ढिलो गतिका हुने गर्दथे। र त्यतिबेला defrag गर्नाले कहिलेकाही कम्प्युटर छिटो हुने गर्दथ्यो। तर अहिलेका अत्यन्त छिटो गतिमा चल्ने हार्डडिस्कहरूका लागि defrag गरिराख्नु जरुरी छैन। अचेलका हार्डडिस्कहरू defrag गर्नु समयको बर्बादी मात्र हो।

भाइरस लाग्नाले कम्प्युटर पड्किन सक्छ
भाइरस अरू कुनै कम्प्युटर सफ्टवेयर जस्तै एक सफ्टवेयर प्रोग्राम हो। यसले कम्प्युटरमा रहेका डेटा तथा अन्य सफ्टवेयरहरूलाई बिगार्न सक्छ, तर कम्प्युटर नै पड्किने जस्ता हार्डवेयर सम्बन्धित खराबी भाइरसका कारणले हुदैन। र अहिले सम्म यस्ता भाइरसको विकास पनि भएको छैन।

मनिटरले X-Ray जस्ता विकिरण फाल्ने गर्दछ, जसका कारणले ट्युमर वा क्यान्सर हुन सक्छ
यो पूर्णरूपमा गलत धारणा हो। कम्प्युटर मनिटरका सिसामा lead का crystal को तह रहेको हुन्छ जसले xray जस्ता खराब विकिरणलाई रोक्ने गर्दछ। कम्प्युटर मनिटर बाट बढिमा २% विकिरण मात्र बाहिर आउने गर्दछ। यो प्रतिशत यति कम हो कि हामी घाममा बस्दा पनि यो भन्दा बढि विकिरण हाम्रो शरीरमा पर्ने गर्दछ। त्यसैले मनिटरले फाल्ने विकिरणका कारणले गर्दा स्वास्थमा कुनै खराबी हुँदैन।

तर कुनै कुनै पुराना मनिटरले तिखो खालको आवाज निकाल्ने गर्दछ, जुसले गर्दा कसै कसैमा टाउको दुख्ने तथा वाकवाकी लाग्ने जस्ता समस्या देखिएका छन्। त्यस्तै धेरैबेर मनिटर हेरिराख्दा आखामा समस्या आउने कुरालाई पनि नकार्न सकिन्न। तर यी कुनैमा मनिटरले फाल्ने विकिरणको हात भने छैन।

तर ल्यापटपहरूमा प्रयोग हुने जस्ता LCD मनिटरहरूले भने त्यस्तो कुनै पनि विकिरण फाल्ने गर्दैन।

कम्प्युटरको प्रोसेसर जति छिटो गतिको तथा महँगो भयो, त्यति राम्रो
नयाँ कम्प्युटर किन्ने धेरैलाई प्रोसेसर जति छिटो गतिको तथा महँगो भयो, त्यति राम्रो भन्ने लाग्न सक्छ, तर यसमा पूर्ण सत्यता भने छैन। कम्प्युटर चाँडो हुनुमा धेरै कुराहरूको हात हुने गर्दछ जसमध्ये कम्प्युटरको र्‍याम, हार्डडिस्क को गति तथा अन्य धैरै कुराहरू पर्ने गर्दछ।

चुम्बकले मेमोरि कार्डको डेटा बिगार्छ
चुम्बकले पहिले पहिले प्रयोग हुने फ्लपी डिस्क बिगार्न सक्ने भएपनि अहिले प्रयोग हुने पेन ड्राइभ तथा मेमोरि कार्डका डेटा भने बिगार्न सक्दैन। अहिलेका पेन ड्राइभ तथा मेमोरि कार्डहरूमा कुनै पनि चुम्बकीय तत्वको प्रयोग गरिएको हुदैन।

कम्प्युटर shut down नगरि बन्द गर्दा बिग्रन्छ
कम्प्युटरलाई राम्रो सँग shut down नगरि बन्द गर्दा फाइलहरू बिग्रने, हराउने तथा पुरै कम्प्युटर नै बिग्रन सक्छ भन्ने गरिन्छ। सैद्धान्तिक रुपमा यो कुरा केही हद सम्म ठीक पनि हो। तर अधिकांश समयमा कम्प्युटर यसरी shut down नगरि बन्द गर्दा खासै कुनै हानी गर्दैन। त्यसकारण बत्ती गई कम्प्युटर बन्द भएमा पनि कम्प्युटर बिग्रेला भनी चिन्ता गरिरहनु पर्दैन। तर यसो भन्दैमा shut down नगरि कम्प्युटर बन्द गर्ने बानी भने नबसाल्नु होला। कम्प्युटर बन्द गर्न shut down गर्नु नै सही तरिका हो।

Sunday, December 30, 2007

सन् २००८ का लागि सूचना तथा प्रविधिसँग सम्बन्धित केही अनुमानहरू

सन् २००७ सकिनै लागिसकेको छ। सन् २००७ को अन्त्य संगसंगै अब आउँदो २००८ मा सूचना तथा प्रविधिको क्षेत्रमा के के नयाँ आविष्कार तथा विकासहरू हुने हुन, यस बारेमा पनि निकै नै टीका-टिप्पणी तथा अड्कलबाजीहरू हुन थालिसकेका छन्।

विन्डोज भिष्टा
माइक्रोसफ्ट विन्डोज को नयाँ सँस्करण भिष्टाको निम्ति यस सन् २००७ निकै नै नराम्रो रह्यो। सकारात्मक भन्दा नकारात्मक पक्ष धेरै भएकाले धेरैले आफ्नो कम्प्युटरमा माइक्रोसफ्टको यस नयाँ सञ्चालन प्रणाली राखेनन्, र जसले राखे ती पनि यस विन्डोज भिष्टाको ढिलो चल्ने तथा र्‍याम धेरै प्रयोग हुने समस्याबाट दिक्क भइ पुरानै विन्डोज XP तिरै पुन लाग्न थालिसकेका छन्। यस कारण पनि माइक्रोसफ्ट ले २००८ मा भिष्टालाइ भन्दा XP लाई नै प्रबर्द्धन गर्ने बारे धेरै कम्प्युटर विज्ञहरूले अड्कलबाजी गरेका छन्। २००८ मा पनि धेरैले विन्डोज XP कै प्रयोग गर्ने कुरा विश्वास गरिएको छ।

लिनक्स
माइक्रोसफ्टको खराब Operating System तथा भाइरस अनि सुरक्षा सम्बन्धी कारणले धेरैले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। र यो प्रक्रिया २००८ मा अझ झन तीब्र गतिमा हुने कुराको विश्वास कम्प्युटर विज्ञहरूले लिएका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग, गुगलद्वारा लिनक्समा आधारित Android नामक मोबाइल सञ्चालन प्रणालीको विकास तथा प्रबर्द्धन तथा सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका कारणले पनि लिनक्सको प्रयोग २००८ मा अझै बढ्ने कुरामा धेरैले विश्वास लिएका छन्।

प्रविधि तथा वातावरण को तालमेल
आउँदो २००८ मा प्रविधि तथा वातावरण को तालमेल सम्बन्धी कुरामा निकै ध्यान दिइने कुराको पनि भविष्यवाणीहरू गर्न थालिएको छ। विश्वव्यापी रुपमा बिग्रँदो वातावरण सम्बन्धी बहस भइरहेको बेला सूचना प्रविधिको क्षेत्र पनि यसबाट टाढा रहनु सम्भव छैन। सूचना प्रविधि सम्बन्धी अब आउने उपकरणहरू बनाउँदा वातावरण तथा कम उर्जा खपत हुने गरि बनाउने कुरामा सन् २००८ मा ध्यान दिइने छ।

नेटवर्क सम्बन्धी विकासहरू
आउँदो २००८ मा कम्प्युटरका नेटवर्क सम्बन्धी उपकरण तथा प्रविधिमा अझ सुधार तथा बिकास हुने कुरा पनि कम्प्युटर विज्ञहरूले बताएका छन्। मोबाइल जस्ता साना उपकरण मात्र नभइ ठूला उपकरणहरूमा पनि WiFi जस्ता प्रविधिहरू समायोजन हुने छन्। मिडियाको खोज, अनलाइन सपिङ तथा अन्य विभिन्न नेटवर्क सम्बन्धी सफ्टवेयर तथा सुविधाको प्रयोग अझ बढ्नेछ।

Virtualization
कम्प्युटरमा virtualization सम्बन्धी प्रविधि पनि २००८ मा निकै नै विकास हुने छ। Virtualization को माध्यमद्वारा एकै कम्प्युटरमा विभिन्न प्रोसेसर तथा प्रणालीहरूलाई सञ्चालन गर्न सकिन्छ। उदाहरणको लागि virtualization को माध्यमद्वारा विन्डोजभित्रै लिनक्स चलाउन सकिन्छ। पहिले पहिलेका कम्प्युटरहरूमा केवल एक प्रोसेसर हुने भएकाले यो प्रविधि निकै नै जटिल तथा महँगो मानिन्थ्यो तर अहिले प्रोसेसर भित्र एक भन्दा बढि प्रोसेसरहरू हुने dual तथा quad प्रोसेसरहरूको विकास भैसकेकाले तथा यस्ता प्रोसेसरहरू सामान्य हुनै गइरहेकाले २००८ मा virtualization प्रविधि अझ बढ्दो रुपमा प्रयोग हुने निश्चित छ।

मोबाइल
यसबाहेक आउँदो २००८ मा मोबाइल जस्ता साना उपकरणहरू PC कम्प्युटर सरह हुने तथा यस्ता उपकरणमा पनि कम्प्युटरकै जस्तै तीब्र गतिको इन्टरनेटको सुविधा उपलब्ध हुने देखिएको छ। हुन त नोकिया र मोबाइल सेवा प्रदायक भोडाफोन जस्ता कम्पनीहरूले यो हुन नदिने प्रयास गर्छन्, तर यसै वर्ष निकालिएको Apple Corporation को iPhone तथा गुगलको मोबाइल सञ्चालन प्रणाली Android को विकास र यसको लोकप्रियताका कारणले अन्त्यमा मोबाइल उपकरणहरू नै हावी हुने कुरा अड्कल गरिएको छ।

भण्डारण
त्यस्तै कम्प्युटर विज्ञहरुले कम्प्युटरका भण्डारण प्रणाली तथा क्षमताको बारेमा पनि निकै अड्कलहरू गरेका छन्।

फ्ल्यास मेमेरीको भाउ घट्दै गइरहेकाले २००८ मा फ्ल्यास मेमेरी युक्त हार्ड डिस्कहरू निकै नै लोकप्रिय हुने तथा यसको भाउ पनि निकै ठूलो मात्रामा घट्ने अड्कल गरिएको छ। त्यस्तै सन् २००८ मा कम उर्जा खपत हुने हार्ड डिस्क सम्बन्धी निर्माण तथा अनुसन्धान को क्रंम पनि जारी रहने छ।

इन्टरनेट
त्यस्तै इन्टरनेट तथा वेब को क्षेत्रमा पनि निकै अड्कलबाजीहरू भएका छन्।

आउँदो २००८ मा बढि भन्दा बढि प्रयोगकर्ता केन्द्रित वेबसाइटको विकास हुने देखिएको छ। त्यस्तै Semantic web को क्षेत्रमा पनि निकै नै सुधार हुने कुराको अड्कल पनि कम्प्युटर पण्डितहरूले गरेका छन्।

त्यस्तै वेब २.० को क्षेत्रमा पनि निकै सुधार हुने तथा धेरै भन्दा धेरै वेबसाइटहरू वेब २.० मा परिवर्तन हुने बारेमा पनि निकै अड्कल भएका छन्। त्यस्तै वेब २.० मा प्रयोग हुने AJAX, RSS जस्ता प्रविधिहरूको प्रयोगमा पनि बृद्धि हुने देखिन्छ।

त्यस्तै वेब ब्राउजरको क्षेत्रमा फायरफक्स ब्राउजरले अहिले सबैभन्दा बढि प्रयोग हुने इन्टरनेट एक्सप्लोरर् लाई उछिन्ने कुरामा पनि धेरै कम्प्युटर विज्ञहरु ढुक्क भएका छन्।

त्यस्तै इन्टरनेटको प्रयोग बढि भन्दा बढि मोबाइलहरूमा हुने कुराको पनि अनुमान गरिएको छ।

धेरैले अब २००८ मा वेबमा हुने नया आविस्कार तथा नया प्रविधिहरु अमेरिका तथा पश्चिमी नभइ चीन, जापान जस्ता एसियाली राष्ट्रहरूमा हुने अनुमान गरेका छन्।

नकारात्मक अनुमानहरू
यसबाहेक सन् २००८ का निम्ति केही नकारात्मक अड्कलबाजीहरु पनि भएका छन्।

The Economist Magazine ले गरेको एक अड्कल अनुसार सन् २००८ मा इन्टरनेट निकै नै सुस्त गतिको हुने छ। सङ्गीत तथा भिडियो डाउनलोड गर्ने क्रम बढिरहेकाले र यस सम्बन्धी वेबसाइटहरू पनि बढिरहेकाले इन्टरनेटको जाम हुने त हैन भन्ने शङ्का पनि गरिएको छ।

त्यसतै गुगलको बढ्दो प्रभावको बारेमा जनमानसमा निकै नै शङ्का उपशङ्का हुने तथा प्रयोगकर्ताहरू केही मात्रामा गुगलको विपरीत जाने कुराको पनि अड्कल गरिएको छ।


यी सबै अड्कलहरूबाट के भन्न सकिन्छ भने सन् २००८ मा कम्प्युटर तथा सूचना प्रविधिको क्षेत्रमा निकै नै सुधार तथा परिवर्तनहरू हुनेछन्। यी सबै सकारात्मक अड्कलहरु पुरा होस् र यसबाहेक अन्य धेरै प्रविधि तथा आविष्कारहरू ले २००८ भरिपूर्ण होस् भनी हामी आशा गर्न सक्छौ।

स्रोत: PCWorld, The Economist, Slashdot.org

Saturday, December 22, 2007

आर एस एस (RSS)

केही वर्ष यता इन्टरनेटमा सूचना आकासिँदो रूपमा बढ्दै गइरहेको छ। ब्लग, social bookmarking जस्ता सूचना आदानप्रदान हुने वेबसाइटहरू दिनप्रतिदिन थपिँदै गइ रहेका छन्। पहिले पहिले हामी सूचना प्राप्त गर्नका निम्ति वेबसाइटहरू जाने गर्थ्यौ तर अचेल त्यस्ता वेबसाइटहरूको सङ्ख्या यति धेरै भइसक्यो कि एक त ती वेबसाइटहरूका नाम मात्र सम्झन पनि गार्‍हो भैसकेको छ, अर्को ती सबै वेबसाइटहरूमा रहेका त्यति धेरै सूचना वेबसाइटमै गइ हेरिरहन समयको दृष्टिकोणले पनि असान्दर्भिक भएको छ। यी सबै समस्याको समाधानको रुपमा RSS एक उपयोगी प्रविधिको रुपमा देखा परेको छ।

RSS को पुरा नाम RDF Site Summary भए तापनि यसलाई Rich Site Summary वा Really Simple Syndication पनि भन्ने गरिएको छ। सामान्य रूपमा भन्नु पर्दा यस प्रविधिको प्रयोग गरेर कुनै पनि समाचार वा सूचना धेरै प्रयोगकर्ता माझ निकै सजिलो तरिकाले पुर्‍याउन सकिन्छ। RSS लाई Syndication वा Feed पनि भन्ने गरिन्छ।

प्रयोगकर्ताको दृष्टिकोणबाट हेर्ने हो भने RSS ले सूचना प्राप्त गर्ने तरिकालाई निकै छिटो तथा सजिलो बनाइदिन्छ। यदि तपाई कुनै एक मात्र समाचारको साइट हेर्नु हुन्छ भने, त्यस साइटमा बारम्बार गइ समाचारहरू हेरि रहन त्यति गार्‍हो नहोला। तर यदि तपाई त्यस्ता धेरै समाचार तथा ब्लगका साइटहरू हेरिरहनुहुन्छ भने ती सबै वेबसाइटहरूमा गइ नयाँ समाचार वा सूचना छ कि छैन भनेर हेरिरहनु निकै झन्झटिलो हुनुका साथै समयको पनि बर्बादि हुने गर्दछ। त्यसमाथि आफुले सर्फ गर्ने साइटमा सूचना update नभएको पनि हुन सक्छ। अत्यन्त छिटो गतिमा चल्ने सूचना प्रविधिको युगमा यो तरिका निकै नै ढिलो हुने गर्दछ।

यो सबै प्रक्रियालाई हेर्ने हो भने के निष्कर्ष निकाल्न सकिन्छ भने यो तरिकामा प्रयोगकर्ता नै सूचनाको स्रोत तर्फ गइरहेको देखिन्छ। तर RSS को माध्यमद्वारा प्रयोगकर्ता सूचनाको स्रोत तर्फ जाने नभइ सूचना नै प्रयोगकर्ता तर्फ आउने गर्दछ।

RSS मार्फत सूचना प्राप्त गर्नका निम्ति आफ्नो कम्प्युटरमा RSS Reader सफ्टवेयर हाल्नु पर्दछ। यदि तपाई विन्डोज चलाउनु हुन्छ भने मेजिला Thunderbird वा SharpReader जस्ता सफ्टवेयरको प्रयोग गर्न सक्नु हुन्छ। त्यस्तै लिनक्सका लागि Aggregrator वा Liferea Feed Reader जस्ता सफ्टवेयर रहेका छन्। RSS प्रयोग गर्नका निम्ति अनलाइन वेबसाइटहरूपनि रहेका छन्। यदि तपाईको Gmail account छ भने गुगलकै RSS Reader सफ्टवेयर google.com/reader मा गइ प्रयोग गर्न सक्नु हुन्छ। यसबाहेक RSS प्रयोग गर्नका निम्ति bloglines.com वा newsgator.com जस्ता अनलाइन वेबसाइटहरू पनि रहेका छन्। यदि तपाईको याहु account छ भने yahoo मा पनि यो सुविधा रहेको छ।

RSS बाट सूचना प्राप्त गर्नका निम्ति सर्वप्रथम जुन वेबसाइटको सूचना चाहिने हो, त्यस वेबसाइटमा RSS प्रविधि हुनु जरुरी हुन्छ। यदि वेबसाइटमा नै RSS प्रविधि छैन भने त्यस वेबसाइटको सूचना RSS मार्फत हेर्न सकिन्न। तर अचेलका प्राय सम्पूर्ण ब्लग वा सूचना सम्बन्धी वेबसाइटहरूमा यो सुविधा हुने गर्दछ।

RSS बाट सूचना प्राप्त गर्नका निम्ति सर्वप्रथम त्यस वेबसाइटको RSS ठेगाना पत्ता लगाउन जरुरी हुन्छ। यदि वेबसाइटमा RSS को सुविधा छ भने सानो सुन्तला रङ्गको बटन हुने गर्दछ, त्यसमा क्लिक गरि RSS को ठेगाना प्राप्त गर्न सकिन्छ। यदि तपाई RSS प्रयोग गर्ने सफ्टवेयर कम्प्युटरमा हाल्नु भएको छ भने त्यसैमा कुनै पनि वेबसाइटको RSS ठेगाना आफै पत्ता लगाउने सुविधा पनि हुने गर्दछ।
यसरी RSS ठेगाना सफ्टवेयरमा हालिसकेपछि त्यस RSS Readerसफ्टवेयरले त्यस वेबसाइटको सूचनाहरू कम्प्युटरमा डाउनलोड गर्न थाल्छ। एक भन्दा बढि वेबसाइटहरूको ठेगाना त्यस सफ्टवेयरमा हाली सबै वेबसाइटहरूका सूचनाहरू एकै ठाउँमा पढ्न पनि सकिन्छ। यदि तपाईले RSS को प्रयोग समाचार पढ्न प्रयोग गर्नु हुन्छ भने RSS मार्फत समाचारको शीर्षक र छोटकरीमा समाचार प्राप्त हुने गर्दछ। यदि तपाईलाई सम्पूर्ण समाचार पढ्न मन लागेमा त्यस शीर्षकमा क्लिक गरी वेबसाइटमा गइ पुरा समाचार पनि पढ्न सकिन्छ।

त्यस्तै RSS को निम्ति अनलाईन RSS Reader वेबसाइटहरूको प्रयोग नगरि कम्प्युटरमै सफ्टवेयर हाल्नु भएको छ भने, त्यस सफ्टवेयरले इन्टरनेट जोडेको बेला समाचार तथा सूचना डाउनलोड गरि कुनै नयाँ समाचार भएमा सूचित पनि गराउने गर्दछ। त्यसमाथि पुरै वेबपेज डाउनलोड गर्नुको सट्टा शीर्षक र केही वाक्यहरू मात्र डाउनलोड गर्नु भएकाले RSS वेबसाइट हेर्नु भन्दा निकै नै छिटो पनि हुने गर्दछ।

RSS को यति जानकारी पछि यसको प्रयोग गर्ने बारे क्रमबद्ध रुपमा पुन चर्चा गरौ।
  • कुनै पनि वेबसाइटको RSS मार्फत सूचना प्राप्त गर्नका निम्ति सर्वप्रथम त्यस वेबसाइटको RSS ठेगाना थाहा हुनु जरुरी हुन्छ। प्राय वेबसाइटको वेबसाइट ठेगाना नै RSS ठेगाना पनि हुने गर्दछ भने कुनै वेबसाइटमा त्यसो नहुन पनि सक्छ
  • त्यसकारण सर्वप्रथम जुन वेबसाइटको सूचना RSS मार्फत हेर्न मन छ, त्यस वेबसाइटमा जानुहोस
  • त्यस वेबसाइटमा एउटा सानो सुन्तला रङ्गको बटन हुने गर्दछ, त्यसमा क्लिक गर्नुहोस्
  • यदि तपाई फायरफक्स ब्राउजरको प्रयोग गर्नु हुन्छ RSS को सुविधा भएको वेबसाइट सर्फ गर्दा address bar को दायाँतिरै सुन्तला रङको बटन देखा पर्ने गर्दछ, त्यसमा क्लिक गरेर पनि RSS ठेगाना प्राप्त गर्न सकिन्छ।
  • यसरी प्राप्त भएको RSS ठेगाना लाई तपाईले प्रयोग गर्ने RSS Reader सफ्टवेयरमा हाल्नुहोस्
  • RSS सफ्टवेयरले त्यस वेबसाइटको सूचनाहरू डाउनलोड गर्न थाल्छ
  • यही तरिकाले अन्य विभिन्न वेबसाइटहरू पनि RSS Reader मा थप्न सकिन्छ
  • RSS सफ्टवेयर कम्प्युटरमा हाल्नुभएको हो भने त्यसलाई background मा चलाउने सुविधा त्यस सफ्टवेयरमा रहेको हुन्छ, र कम्प्युटर इन्टरनेटमा जोडिएको वेला नयाँ सूचना आएमा आफै सूचित पनि गराउने गर्दछ।
सबै अन्तर्राष्ट्रिय समाचारका वेबसाइटहरू तथा प्राय सम्पूर्ण ब्लग साइटहरुले यो प्रविधिको प्रयोग गरे तापनि ekantipur.com, nepalnews.com तथा hamrosamachar.com जस्ता नेपालका प्रमुख समाचार वेबसाइटहरूमा अझै पनि यो प्रविधिको प्रयोग गरिएको छैन। आशा गरौँ यी तथा अन्य नेपाली वेबसाइटहरूमा पनि छिट्टै नै RSS प्रविधिको प्रयोग गरिने छ।

Sunday, December 9, 2007

वेब २.०


यदि तपाइ लामो समय देखि इन्टरनेट चलाउँदै आउनु भएको छ भने तपाईँले अनुभव गर्नु भएको होला कि अचेलका वेब पेजहरू तथा समग्र रुपमा इन्टरनेट नै निकै फरक किसिमको हुँदै गइरहेको छ। पहिला पहिला वेब पेजहरू कुनै एक कम्पनी वा विकासकर्तामा केन्द्रित हुने गर्थ्यो भने अहिलेका धेरैजसो वेबपेजहरू प्रयोगकर्ता केन्द्रित हुँदै गइरहेका छन्। झट्ट हेर्दा अहिलेका वेबपेहहरू बढी प्रयोगकर्ता केन्द्रित, सूचना आदानप्रदान गर्न मिल्ने तथा मिलेर केही काम गर्ने खालका हुने गरेका छन्। यस्ता नयाँ पुस्ताका वेबपेजहरूलाई इन्टरनेट वेबको दोस्रो सँस्करण वा वेब २.० भन्ने गरिन्छ।

इन्टरनेट चलाउने जो कोहीले याद गर्ने गरेको कुरा के हो भने केही वर्षयता ब्लग, विकि, Hi5, Facebook जस्ता Social Networking वेबसाइटहरू तथा प्रयोगकर्तालाई मुख्य प्राथमिकता दिइएको वेबसाइटहरू निकै चलनचल्तीमा आइरहेका छन्। यस्ता वेबसाइटहरू लाई राम्रो संग हेर्ने हो यस्ता वेबसाइटहरूमा सूचना आदानप्रदान तथा प्रयोगकर्ताको सहभागिता प्रमुख तत्वको रुपमा रहने गरेका हुन्छन्।

केही समय अगाडि सम्म वेबसाइटहरू एकतर्फी हुने गर्दथे। वेबसाइटका विकासकर्ता वा त्यससम्बन्धि कम्पनीले वेबसाइटमा सूचनाहरू हाल्ने गर्दथे र वेबसाइटहरू हेर्ने प्रयोगकर्ताहरूले त्यसमा रहेका सूचना एकतर्फी रुपमा हेर्ने तथा पढ्ने गर्दथे। सरल रुपमा भन्नु पर्दा प्रयोगकर्ताहरूले वेबसाइटहरू मात्र सर्फ गर्ने गर्दथे। तर अहिलेका वेब २.० का वेबसाइटहरूमा प्रयोगकर्ताको सहभागितालाई प्रमुख प्राथमिकता दिने गर्दछन्। अहिले निकै ब्लग साइटहरु चलनचल्तीमा आएका छन् जहाँ प्रयोगकर्ताहरूले नै सूचना सिर्जना गर्ने गर्दछन्। यसबाहेक वेब २.० का सबै वेबसाइटहरूमा सूचना प्राप्‍त गर्ने व्यक्तिको सहभागितालाई पनि ध्यान दिइएको हुन्छ। हरेक व्लग साइटमा ब्लगरको आफ्नो लेख बाहेक पाठकले पठाउने comment को पनि ठूलो भुमिका हुने गर्दछ।

सूचना आदानप्रदान को क्षेत्रमा वेब २.० को अर्को ठूलो पाटो विकिहरुलाई लिन सकिन्छ। हामी सबैले विकिपेडिया प्रयोग गर्ने गर्दछौ। यस्ता विकिहरूमा प्रयोगकर्ताहरूले नै लेख तथा सूचनाहरू निर्माण गर्ने गर्दछन्। यसरी विकिपेडिया जस्ता विकिहरुमा सम्पूर्ण रुपमा प्रयोगकर्ताको सहभागिता रहने गर्दछ। वेब २.० को सुरुवात भन्दा पहिले विश्वकोशको रुपमा Microsoft Encarta वा Britannica जस्ता विश्वकोशहरू थिए जसमा रहेका सम्पूर्ण लेख तथा रचनाहरू कुनै एक व्यक्ति वा कम्पनीले राख्ने गर्दथे। त्यसका साथसाथै प्रयोगकर्ताहरूलाई त्यसमा रहेका लेखहरू सच्याउने तथा प्रतिक्रिया दिने कुनै सुविधा हुदैनथ्यो। यसको विपरीत विकिपेडिया जस्ता वेब २.० का वेबसाइटहरूले प्रयोगकर्ता तथा पाठकलाई वेबसाइटको प्रमुख पाटोको रुपमा प्रस्तुत गर्ने गर्दछ।
त्यस्तै अहिले निकै नै चलनचल्तीमा रहेका Social Bookmarking साइटहरू पनि वेब २.० को अन्तर्गत पर्ने गर्दछन्। Slashdot.org, Digg.com जस्ता इन्टरनेटमा रहेका राम्रा तथा महत्वपूर्ण वेबसाइटहरू को सूची लोकप्रियताको आधारमा देखाइने यस्ता वेबसाइटका सम्पूर्ण सूचनाहरू प्रयोगकर्ताहरूले नै निर्माण गर्ने गर्दछन्।

हामी मध्ये धेरैले प्रयोग गर्ने Hi5, Facebook तथा Myspace जस्ता Social Networking अर्थात् साथीहरूको सञ्जाल बनाउने वेबसाइटहरू पनि वेब २.० अन्तर्गत पर्ने गर्दछन्। यस्ता सञ्जालहरूमा सूचनाहरूको निर्माण तथा व्यवस्थापन सम्पूर्ण रुपमा प्रयोगकर्ताहरूले नै गर्ने गर्दछन्।

यस बाहेक वेबसाइटको प्रविधि तथा प्रस्तुतिको हिसाबले पनि वेब २.० निकै नै फरक हुने गर्दछ। वेब २.० को प्रमुख पक्षको रुपमा RIA अर्थात् Rich Internet Application रहने गर्दछ।

यदि तपाईले गुगलको Gmail चलाउनु भएको छ भने अरू मेल भन्दा पक्कै पनि निकै भिन्नता पाउनु भएको होला। Gmail मा मेलहरु हेर्न तथा पठाउन निकै नै सजिलो तथा छिटो हुने गर्दछ। यसको पछाडि Gmail बनाउन प्रयोग गरिएको AJAX नामक प्रविधिको निकै नै ठूलो हात रहेको छ। Hotmail जस्ता मेलहरुमा कुनै मेल खोल्दा नयाँ पेज खुल्ने गर्दछ, तर Gmail मा मेल त्यसै पेजभित्र निकै छिटो गतिमा खुल्ने गर्दछ। यसरी एकै पेजमा रहि सुचनाहरु देखाउनका निम्ति AJAX प्रविधिको ठुलो हात रहेको हुन्छ। यसरी AJAX को प्रयोग गरि बनाइएका वेबपेजहरुमा सूचना एकै पेजमा कुनै सफ्टवेयर चलाएजस्तै देखा पर्ने गर्दछ, जसले गर्दा प्रयोगकर्तालाई निकै सजिलो हुनुका साथै चाँडो काम पनि गर्न सकिन्छ। AJAX प्रविधि प्रयोग गरि बनाइएका वेबसाइटहरू वेब २.० भित्र पर्ने गर्दछन्।

वेब २.० का वेबसाइटहरूमा साइटको संरचना मा पनि निकै ध्यान पुर्‍याइएको हुन्छ। वेब २.० का साइटहरू बनाउँदा पालना गर्नु पर्ने सम्पूर्ण नियमहरूमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ। W3C नामक संस्थाले वेबपेजहरु विकास गर्दा ध्यान पुर्‍याउनु पर्ने विभिन्न कुराहरूको निर्धारण गर्ने गर्दछ। यस्ता नियमहरूमा वेबपेजको code अर्थात् HTML सहि रुपमा लेख्ने तरिका, वेबसाइटहरू लाई बढि भन्दा बढि प्रयोग योग्य बनाउन प्रयोग हुने नियमहरू पर्ने गर्दछन्। यस्ता नियमहरु प्रयोग गर्दा वेबसाइटहरू राम्रा मात्र नभइ गुणस्तरीय तथा एक रुपका हुने गर्दछन्। जसको कारणले वेब २.० का वेबसाइटहरू प्रयोग गर्दा आधारभूत कुराहरू मात्र जाने पुग्छ।

त्यस्तै वेब २.० मा श्रव्य तथा दृष्य लाई पनि निकै प्राथमिकता दिइएको हुन्छ। नेपालमा त्यति प्रचलनमा आइ नसकेको भए पनि विश्वव्यापी रुपमा Youtube, Metacafe जस्ता भिडियो आदानप्रदान गर्ने वेबसाइटहरू निकै प्रचलित रहेका छन्। यस्ता वेबसाइटहरू पनि वेब २.० अन्तर्गत पर्ने गर्दछन्।

वेब २.० को सबै भन्दा प्रमुख पक्ष के हो भने यस्ता वेबसाइटहरूमा सूचनालाई प्रमुख प्राथमिकता दिइएको हुन्छ। यसरी सूचनालाई प्राथमिकता दिने क्रममा RSS तथा feed जस्ता प्रबिधिहरू प्रमुख रुपमा आउने गर्दछन्। प्रयोगकर्ता केन्द्रित हुने हुँदा वेब २.० का वेबसाइटहरूमा सूचना निकै छिटो गतिमा तथा निकै ठूलो मात्रामा निर्माण हुने गर्दछ। यस्तो परिस्थितिमा घरीघरी वेबसाइटमा गइ उक्त सूचना हेरिरहनु निकै नै अप्ठ्यारो हुने गर्दछ। यस समस्याको समाधानका निम्ति RSS तथा Feed जस्ता प्रविधिको विकास भएको हो। यस्ता प्रविधिको प्रयोगले प्रयोगकर्ता वेबसाइटमा गइ सूचना हेर्ने नभइ सूचना नै प्रयोगकर्ता सम्म आइपुग्ने गर्दछ। यसले गर्दा आफुले चाहेको सूचना मात्र हेर्ने सुविधा हुनुका साथै समयको पनि निकै बचत हुने गर्दछ।

वेब २.० को अर्को महत्वपूर्ण पक्ष के हो भने यसले हामीले कम्प्युटर चलाउने तरिका मा निकै नै परिवर्तन ल्याउँदै छ। वेब २.० को माध्यमद्वारा हामीले कम्प्युटरमा चलाउने विभिन्न सफ्टवेयरहरू इन्टरनेटमा देखा पर्न थालेका छन्। हामीले कम्प्युटरमा चलाउने Microsoft word जस्तै Google ले Google Document नामको सफ्टवेयर बनाएको छ, जुन वेबपेजका रुपमा चल्ने गर्दछ। तपाइले कम्प्युटरमा Word मा फाइलहरू सम्पादन गरे जस्तै Google Document मा आफ्ना फाइलहरू सम्पादन गर्न सकिन्छ। फरक यत्ति छ कि Google Document इन्टरनेटमै वेबसाइटको रुपमा उपलब्ध छ र यसलाई कम्प्युटर हाल्नु पर्दैन। यसबाहेक फोटोहरू सम्पादन गर्ने तथा अन्य विभिन्न सफ्टवेयरहरू इन्टरनेटमा वेबपेजका रुपमा उपलब्ध हुन थालेका छन्। यस्ता सबै वेबपेजहरू वेब २.० अन्तर्गत पर्ने गर्दछन्। यस्ता वेब २.० सफ्टवेयरहरूको विकासले गर्दा भविष्यमा कम्प्युटरमा इन्टरनेट चलाउने ब्राउजर मात्र भए पनि आफ्नो सम्पूर्ण काम गर्न सकिने अवस्था नआउला भन्न सकिन्न।

Sunday, November 18, 2007

मोजिला फायरफक्स

हामी धेरैले इन्टरनेट चलाउनका निम्ति माइक्रोसफ्टको Internet Explorer ब्राउजरको प्रयोग गर्ने गर्दछौं। तर यसबाहेक पनि इन्टरनेट सर्फ गर्नका निम्ति अन्य विभिन्न ब्राउजरहरू पनि उपलब्ध छन्। हामी सबैले Opera, Netscape, Safari जस्ता ब्राउजरहरूको नाम पनि बेलाबखतमा सुनेका गरेका छौ। ब्राउजरहरूको यस भिडमा अहिले Mozilla Firefox नामको ब्राउजर निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट कम्पनीको 'इन्टरनेट एक्सप्लोरर' ब्राउजरको प्रतिस्पर्धामा उत्रिएर मोजिला फाउन्डेसनले निकालेको फायरफक्स वेब ब्राउजरको लोकप्रियतामा वृद्धि भैरहेको छ।

सन् १९९० को सुरु तिर इन्टरनेट सर्वसाधारणका लागि खुला हुन थाले पछि HTML को विकास भयो। HTML कोडिङ प्रणालीको माध्यमबाट इन्टरनेटको मार्फत अक्षर तथा तस्विरहरू हेर्न सकिन्थ्यो। तर त्यति बेला कुनै ब्राउजरको विकास भैसकेको थिएन। तर Mosiac नामको ब्राउजरको विकासपछि इन्टरनेट चलाउने तरिका बारे व्यापक परिवर्तन आयो। Mosiac सुरुमा Unix Operating System का निम्ति बनाइएको भए पनि पछि यसलाई Windows तथा Apple मा पनि चल्ने बनाइयो। यसबाट Mosiac ब्राउजर निकै प्रचलित हुनुका साथै प्रयोगकर्ताहरू माझ इन्टरनेट तथा www को अवधारणा विकसित गरिदियो। पछि Mosiac का विकासकर्ताहरू ले Netscape Communications Corporation नामक कम्पनीको सुरुवात गरे र निकै नै प्रसिद्ध Netscape Navigator नामको ब्राउजरको बिकास गरे। निकै लामो समय सम्म यस Netscape Navigator निकै नै चलन चल्तीमा रह्यो।

यसै बीचमा Spyglass नामको कम्पनी ले Internet Explorer नामको ब्राउजरको विकास गरेको थियो, जुन पछि माइक्रोसफ्ट ले खरिद गर्‍यो र Internet Explorer को बिक्रीवितरण माइक्रोसफ्टले गर्न थाल्यो, जुन अहिले विश्वको सबै भन्दा बढि प्रयोग हुने ब्राउजरमा पर्दछ। धेरैलाई यो कुरा अचम्म लाग्न सक्छ कि माइक्रोसफ्टको यति धेरै प्रचलित ब्राउजर Internet Explorer माइक्रोसफ्ट आफैले विकास गरेको थिएन।

Internet Explorer माइक्रोसफ्ट को विन्डोज Operating System (OS) सैगै आउने भएकाले र माइक्रोसफ्ट विन्डोज धेरैले प्रयोग गर्ने हुनाले Internet Explorer धेरैले चलाउने गर्दछन्। तर Internet Explorer लाई सुरक्षा तथा गुणात्मक हिसाबले निकै नै नराम्रो ब्राउजर मान्ने गरिन्छ। यसै कुरा ध्यानमा राखि माइक्रोसफ्ट कम्पनीको 'इन्टरनेट एक्सप्लोरर' ब्राउजरको प्रतिस्पर्धीको रुपमा फायरफक्स वेब ब्राउजर अगाडि आएको हो। Mozilla Firefox पहिले प्रचलित Netscape Navigator मा आधारित छ र यसलाई Mozilla Foundation ले मोजिला प्रोजेक्ट अन्तर्गत निर्माण गर्ने गर्दछ। यसको सबैभन्दा पहिलो सँस्करण सन् २००४ मा निकालिएको थियो।

तर धेरैलाई लाग्न सक्छ – Internet Explorer हुँदा हुँदै किन Firefox प्रयोग गर्ने त? Firefox प्रयोग गर्नका धेरै कारणहरू छन्। सबैभन्दा प्रमुख कारण सुरक्षा हुन सक्छ।

हामी सबैले इन्टरनेटबाट सर्ने भाइरसहरूका बारेमा सुन्ने गरेका छौ। यस्ता भाइरसहरू कम्प्युटरमा लाग्नमा ब्राउजरको कमजोर सुरक्षा प्रणालीको ठूलो हात हुने गर्दछ। Internet Explorer लाई सुरक्षाका हिसाबले निकै नै कमजोर ब्राउजरको रुपमा हेर्ने गरिन्छ र यसको प्रयोग गर्दा कम्प्युटरमा भाइरसहरू सर्ने तथा ह्याक हुने जस्ता समस्याहरू पनि निकै ठूलो मात्रामा हुने कुराको पुष्टि पनि भैसकेको छ। यस्ता सुरक्षा सम्बन्धी कुराहरूलाई Firefox मा निकै नै ध्यान दिइएको छ र फलस्वरुप Firefox निकै नै सुरक्षित ब्राउजरको रुपमा अगाडि आएको छ। अचेल इन्टरनेटको माध्यमद्वारा महत्वपूर्ण कागजातहरू आदानप्रदान गर्नुका साथै व्यापारिक कार्यहरू पनि गर्ने गरिन्छ। यसै कारण पनि एक सुरक्षित ब्राउजरको प्रयोग गर्नु निकै नै आवश्यक हुन आउँछ।

सुरक्षा बाहेक Firefox मा अरू पनि निकै नै धेरै सुबिधाहरु रहेका छन्।

Tabbed Browsing
Internet Explorer चलाउँदा प्रत्येक नयाँ पेज खोल्दा फरक फरक विन्डो खोल्नु पर्ने हुन्छ। थोरै विन्डोहरु खोल्दा यो कुरा त्यति महत्वपूर्ण नहुन सक्छ, तर खोलिएका विन्डो हरू धेरै हुन थाले पछि ब्राउज गर्न निकै नै गार्‍हो हुने गर्छ। यस समस्याको समाधानका निम्ति Firefox मा Tabbed Browsing को सुविधा रहेको छ। यस सुविधाको माध्यमद्वारा प्रयोगकर्ताले एकै विन्डो भित्र एक भन्दा बढि पेजहरू खोल्न सक्छन्।

Themes
Firefox ब्राउजरमा आफूलाई मनपर्ने खालको रंङ तथा प्रकारमा देखाउन मिल्ने गरि theme हरू हाल्न मिल्ने सुविधा पनि रहेको छ।

Spelling Checking
Firefox का पछिल्ला सँस्करणहरूमा Spelling Checking का सुविधाहरू पनि समावेश गरिएको छ। इमेल लेख्दा तथा अनलाइन फोरुमहरुमा केही लेख्दा लेखेका कुराहरूको spelling Firefox ले लेख्दा लेख्दै जाँच्ने गर्दछ।

Session Restore
यदि इन्टरनेट सर्फ गर्दा गर्दै बत्ति गएमा वा कम्प्युटर ह्याङ्ग भएमा आफूले सर्फ गर्दै गरेको सम्पूर्ण वेबपेजहरू जाने गर्दछ। यसै समस्याको समाधान गर्न का लागि Firefox मा Session Restore नामको सुविधा रहेको छ। यस सुविधाको माध्यमद्वारा बत्ति गएमा वा कम्प्युटर ह्याङ्ग भएमा आफुले सर्फ गर्दै गरेको सम्पूर्ण वेबपेजहरु जस्ताको तस्तै फेरी खुल्ने गर्दछ।

ब्राउजरभित्रै सिधै इन्टरनेट सर्च गर्ने सुविधा
हामी इन्टरनेट सर्च गर्नु पर्दा छुट्टै विन्डो खोलेर त्यसमा गुगल वा याहु जस्ता सर्च इन्जिनको साइट खोल्ने गर्दछौ र त्यसबार सर्च गर्ने गर्दछौ। Firefox browser मा यस कार्यलाई सजिलो पार्नका निम्ति ब्राउजरभित्रै सिधै इन्टरनेट सर्च गर्ने सुविधा प्रदान गरिएको छ। Firefox browser को विन्डो भित्रै सर्च गर्न का निम्ति textbox हुने गर्दछ, र त्यहा टाइप गरेपछि सिधै गुगल, याहु वा आफुलाई मानपर्ने सर्चइन्जिनमा गइ Firefox ले सर्च गरि नतिजाहरू देखाउने गर्दछ।

Pop-up Blocker
Internet Explorer चलाउँदा हामी धेरैले विज्ञापनहरू आउने समस्या भोग्ने गरेका छौ। छुट्टै विन्डो खोलेर आउने यस्ता विज्ञापनहरूले इन्टरनेट सर्फ गर्दा निकै नै समस्या पुर्‍याउने गर्दछन्। तर firefox मा यस्ता विज्ञापनहरूलाई आफै रोक्ने सुविधाहरू प्रदान गरिएको छ।

Extensions
Firefox का आफ्ना सुविधाहरू बाहेक पनि यसलाई Extension हरुका माध्यमद्वारा अझ धेरै शक्तिशाली तथा सुविधायुक्त बनाउन सकिन्छ। Firefox का लागि २००० भन्दा बढि extension हरुको विकास भैसकेको छ।

यी सुविधाहरू बाहेक पनि वेबपेज विकासकर्ताहरू का निम्ति Firefox निकै नै राम्रो ब्राउजर मानिन्छ। यदि तपाईंले वेबपेज विकास गर्नुभएको छ भने तपाइले ख्याल गर्नु भएको होला कि Internet Explorer मा परीक्षण गर्दै वेबपेज विकास गर्दा निकै नै समस्याहरू आउने गर्दछन्, र वेबपेज विकास गर्दा निकै नै कसरत गर्नु पर्ने हुन्छ। Firefox ब्राउजरले वेबपेज बनाउन प्रयोग हुने सम्पूर्ण नियमहरू पालना गर्ने गर्दछ। जसका कारण Firefox को मद्दतले आफुले चाहेजस्तो वेबपेज निर्माण गर्न सकिन्छ। यसबाहेक पनि बेवपेज विकासकर्ताहरूका निम्ति Firefox मा निकै नै धेरै तथा राम्रा extension हरू रहेका छन्। यदि तपाई बेवपेज विकास गर्दै हुनुहुन्छ भने Firefox को प्रयोग होला। तपाइले अवश्य नै फरक महसुस गर्नु हुने छ।

यी सबै सुविधाहरू भन्दा पनि Firefox को सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यो खुला तथा स्वतन्त्र सफ्टवेयर हो र यो सित्तैमा उपलब्ध छ। Firefox Browser Windows लगायत Linux, Mac, FreeBSD, Solaris जस्ता विभिन्न प्रणालीहरूका लागि पनि उपलब्ध छ।

Firefox का यी विभिन्न गुणहरूका कारणले विश्वभरका निकै नै धेरै प्रयोगकर्ताहरूले यस ब्राउजर प्रयोग गर्न थालेका छन्। निकै नै राम्रा सुविधाहरूका कारणले गर्दा Firefox ले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारहरू पनि हासिल गर्न सफल भएको छ। यस बहुगुणी बाउजर प्रयोग गर्न हामी किन पछि पर्ने त? Firefox www.getfirefox.com बाट डाउनलोड गर्न सकिन्छ।

Thursday, October 11, 2007

इन्टरनेटले कसरी काम गर्छ

हामी सबैले इन्टरनेट चलाउँदा ब्राउजरको address bar मा आफूले हेर्न चाहेको वेबसाइटको ठेगाना टाइप गर्ने गर्दैछौ र केही बेर मै त्यस वेब पेज देखा पर्ने गर्दैछ। झट्ट हेर्दा यो सब कुरा जादु जस्तो लाग्न सक्छ। यी सबै वेबपेजहरु कहाबाट आउँछ त? आफूले चाहेको पेज देखाउन कम्प्युटरले के कस्तो कामहरू गर्नु पर्छ त? यस बारेमा केही छलफल गरौँ।

सबै भन्दा पहिले वेब सर्भरको वारेमा जान्नु जरुरी हुन्छ। वेब सर्भर भन्नाले त्यस्ता सर्भर कम्प्युटरहरूलाई जनाउँछ, जहाँ वेब पेजहरू राखिएको हुन्छ, र कसैले त्यसमा रहेका वेब पेज हेर्न चाहेमा वेब सर्भरले त्यस प्रयोगकर्तालाई वेब पेज पठाउने गर्दछ। उदाहरणको लागी नेपाली समाचारहरूको वेबसाइट नेपालन्युज डट कम को वेब सर्भरमा त्यस वेबसाइटका आधारभूत पेजहरू तथा सम्पूर्ण समाचारहरू भण्डारण गरेर राखिएको हुन्छ। यदि कसैले कुनै समाचार हेर्न चाहेमा त्यस वेब सर्भरमा रहेको सफ्टवेयरले त्यस समाचारको पेज प्रदान गर्ने गर्दछ। त्यस्तै गुगल सर्च वेब पेजले प्रयोगकर्ताले मागे अनुरुपको सूचना दिने गर्दछ।

वेब सर्भरमा विभिन्न प्रकारका सफ्टवेयरहरूको प्रयोग गरिएको हुन्छ। एपाचे नामको सफ्टवेयर अहिले विश्वको प्रमुख वेब सर्भर सफ्टवेयरमा पर्दछ। यस बाहेक अन्य विभिन्न प्रकारका वेब सर्भर सफ्टवेयर पनि प्रयोग गरिएको हुन सक्छ। त्यस्तै यस वेब सर्भरमा राखिने पेजहरू HTML मा हुने गर्दछन्। HTML वेब पेजहरु बनाउने एउटा तरिका हो। यसलाई वेब पेजको कोड भन्न सकिन्छ। वेब सर्भरले यिनै वेब पेजको HTML कोड प्रयोगकर्तालाई दिने गर्दछ र प्रयोगकर्ताको ब्राउजरले त्यस कोडमा भएको सूचनालाई बुझिने गरि देखाउने गर्दछ। तर HTML मात्र प्रयोग गर्दा पेजहरू एक रुपका हुने हुनाले वेबपेजहरूलाई अझ बढि लचिलो तथा प्रयोगकर्ताले चाहेअनुरुप बनाउन PHP, ASP जस्ता अन्य कोडिङ प्रणालीहरूको पनि प्रयोग गरिएको हुन्छ। त्यस्तै वेब सर्भरमा सूचनाहरू भण्डारण गर्नका लागि डेटाबेसहरूको पनि प्रयोग गरिएको हुन्छ। यी सबै प्रणालीको प्रयोग गरेर वेब सर्भरले प्रयोगकर्ताले मागेअनुरुपको सूचना HTML प्रणालीमा दिने गर्दछ।

यो त भयो वेब सर्भरले काम गर्ने तरिका। तर ब्राउजरमा टाइप गरेको कुरा वेब सर्भर सम्म कसरी पुग्छ त? वेब पेजको ठेगाना टाइप गरेको केहीबेरमै पेज देखा पर्ने भए पनि यस बीचमा धेरै कार्यहरु भएको हुने गर्दछ। हामी सबैलाई थाहा छ कि कम्प्युटरले अंकहरू मात्र बुझ्ने गर्दछ र हामीले टाइप गर्ने www.google.com जस्ता ठेगानाहरू कम्प्युटरले सिधै बुझ्ने गर्दैन। कम्प्युटरले इन्टरनेटको ठेगानालाई चार अंकको रुपमा बुझ्ने गर्दछ। जस्तै www.google.com को ठेगाना कम्प्युटरले बुझ्ने भाषामा 74.125.19.99 हो। यस्ता ठेगानालाई IP Address भन्ने गरिन्छ। तर यस्ता अंकका ठेगानाहरू हामीलाई बुझ्न गार्‍हो हुने भएकाले मानिस र कम्प्युटरको दोभाषेको रुपमा name server नामक सर्भरले काम गर्ने गर्दछ। वेबसर्भरहरू विश्वको कुनै पनि स्थानमा इन्टरनेटमा जोडिएर रहेको हुने गर्दछ। यसरी हामीले टाइप गर्ने ठेगाना कम्प्युटरले बुझ्ने IP Address मा परिवर्तन भए पछि मात्र त्यस वेब सर्भर कता छ भन्ने कुरा थाहा हुन्छ र त्यस वेब सर्भर सम्म वेब पेजको request पुर्‍याउन सकिन्छ।

तर आफूले हेर्न चाहेको वेब पेजको request वेब सर्भर सम्म कसरी पुग्छ त? हामीले इन्टरनेट चलाउँदा हामीले हेर्न चाहेको वेब पेजको request सर्वप्रथम स्थानीय इन्टरनेट प्रदायक कम्पनी (अर्थात् ISP) सम्म पुग्ने गर्दछ। नेपालमा ISP को उदाहरणको रुपमा Worldlink वा Mercantile लाई लिन सकिन्छ। यस्ता ISP हरू क्षेत्रीय ISP सँग जोडिएका हुन्छन्। र ती विश्वस्तरीय ISP सँग जोडिएका हुने गर्दछन्। यसरी विश्व भरका कम्प्युटरहरू एक आपसमा जोडिएर रहेका हुने गर्दछन्। र यसैलाई नै इन्टरनेटको सञ्जाल भन्ने गरिन्छ। यसै सञ्जालको माध्यमद्वारा विश्वको कुनै पनि वेब सर्भर सम्म पुग्न सकिन्छ।

यसरी चाहिएको वेब सर्भरसम्म पुगिसकेपछि आफूले हेर्न चाहेको पेजको request त्यस वेब सर्भर समक्ष ब्राउजरले प्रस्तुत गर्ने गर्दछ। यसरी request प्रस्तुत गर्ने तथा सूचना प्राप्त गर्ने पनि एक निश्चित तरिका हुने गर्दछ, जसलाई protocol भन्ने गरिन्छ। विभिन्न कार्यको लागि विभिन्न प्रकारका protocol हरू हुने गर्दछन्। वेब पेजको लागि HTTP नामक protocol को प्रयोग गर्ने गरिन्छ। यस protocol मा रहि वेब सर्भरलाई ब्राउजरले प्रयोगकर्ताले हेर्न चाहेको पेजको माग गर्ने गर्दछ, र वेब सर्भरले ब्राउजरलाई उक्त पेज प्रदान गर्ने गर्दछ। यसरी प्राप्त भएको पेज ब्राउजरले प्रयोगकर्तालाई देखाउने गर्दछ।

Wednesday, October 3, 2007

कम्प्युटर भाइरस

कम्प्युटर भाइरस भन्नाले त्यस्ता कम्प्युटर प्रोग्रामहरूलाई जनाउँछ, जुन एक बाट अर्को कम्प्युटरमा सर्ने तथा कम्प्युटरमा खराब प्रकारका कार्यहरू गर्ने गर्दछ। भाइरसहरू कम्प्युटरमा फाइल तथा डेटाहरू बिगार्ने देखि लिएर पुरै हार्ड डिस्क नै बिगार्ने पनि हुने गर्दछन्। भाइरसहरू विशेषत इमेलको माध्यमबाट सर्ने भए तापनि अचेल पेन ड्राइभबाट सर्ने भाइरस पनि निकै ठूलो मात्रामा देखिएको छ।

भाइरस लागेमा निम्न लक्षणहरू कम्प्युटरमा देखा पर्ने गर्दछ।
  • कम्प्युटर एकदमै ढिलो हुने गर्दछ।
  • कम्प्युटर अड्केको जस्तो हुने
  • कम्प्युटर बारम्बार क्र्र्यास हुने, तथा आफै रिस्टार्ट भैरहने
  • कम्प्युटरमा रहेका प्रोग्रामहरूले पहिले जस्तो काम नगर्ने
  • पहिले देखाइ रहेका डिस्कहरू नदेखाउनु
  • मेनुहरु बिग्रिएका अवस्थामा हुनु
  • एन्टिभाइरस प्रोग्रामहरू बन्द अवस्थामा रहनु
  • डेस्कटपमा नयाँ icon हरू आफैं देखा पर्नु
  • स्पिकरबाट त्यसै आवाज आउनु
  • हालेका प्रोग्रामहरू आफैं हराउनु
भाइरसद्वारा विभिन्न तरिकाले बच्न सकिन्छ।

हामी सबैले प्रयोग गर्ने विन्डोजलाई निकै नै असुरक्षित प्रणाली मानिन्छ। TweakHound नामक संस्थाले गरेको एक सर्वेक्षण अनुसार, यदि इन्टरनेट जोडिएको छ भने विन्डोजमा औसत २७ मिनेट भित्रमा भाइरस लागि सक्छ। यदि तपाइ भाइरसद्वारा निकै नै पिडित हुनुहुन्छ भने विन्डोजको सट्टामा लिनक्स, FreeBSD जस्ता Unix मा आधारित सञ्चालन प्रणाली प्रयोग गर्न सक्नु हुन्छ। लिनक्सजस्ता अपरेटिङ सिस्टमको प्रयोगद्वारा भाइरसबाट पुर्णरुपमा मुक्ति पाउनुका साथै ह्याक हुने जस्ता समस्याबाट पनि बच्न सकिन्छ।

विन्डोजमा जस्तै हामी सबैले प्रयोग गर्ने Internet Explorer एक निकै नै असुरक्षित सफ्टवेयरको श्रेणीमा पर्ने गर्दछ। यदि तपाई कम्प्युटर इन्टरनेट चलाउन प्रयोग गर्नु हुन्छ भने, Internet Explorer को सट्टामा Mozilla Firefox नामक इन्टरनेट ब्राउजरको प्रयोग गर्नु उचित हुन्छ। यस Mozilla Firefox निकै नै सुरक्षित भएका कारण इन्टरनेटबाट सर्ने भाइरसबाट धेरै मात्रामा बच्न सकिन्छ।

यस भन्दा बाहेक भाइरसबाट बच्ने सबै भन्दा राम्रो उपाय एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्नु नै हो। यसरी एन्टिभाइरस सफ्टवेयरको प्रयोग गर्दा बेला बेलामा update गर्न चाहि बिर्सनु हुँदैन। तर पुलिस भन्दा चोर बाठो भनेझै भाइरसहरू एन्टिभाइरस सफ्टवेयर भन्दा निकै नै बाठो हुने गरेको पाइएको छ। त्यस कारण भाइरसबाट बच्न का लागि आफू पनि सतर्क रहनु जरुरी हुन्छ।
इमेलमा आएका कुराहरूमा फोटोहरू बाहेक अन्य नखोल्न नै उचित हुन्छ। यदि नचिनेको व्यक्तिबाट आएको इमेल हो र त्यसमा Attachment छ भने, त्यस्ता इमेल नखोल्न नै राम्रो हुन्छ।

त्यस्तै इन्टरनेटबाट जथाभाबी रुपमा सफ्टवेयरहरू डाउनलोड गरेर चलाइ रहनु पनि हुँदैन। यदि तपाइ माइक्रोसफ्ट वोर्ड चलाउनु हुन्छ भने त्यसमा Macro Virus Protection लाई enable गर्नु राम्रो हुन्छ।

अचेल पेनड्राइभबाट सर्ने भाइरस पनि निकै ठूलो मात्रामा देखा परेको छ। यस किसिमका भाइरसहरू विन्डोजको अटो-रन द्वारा सर्ने गर्दछन्। अटो-रनका माध्यमद्वारा विन्डोजमा CDROM तथा पेनड्राइभ कम्प्युटरमा हाल्ने बित्तिकै त्यसमा भएका प्रोग्रामहरू आफैं चल्ने गर्दछन्। यसरी तपाईँको पेनड्राइभमा भाइरस छ भने अर्को कम्प्युटरमा हाल्ने बित्तिकै अटो-रनको माध्यमद्वारा उक्त भाइरस प्रोग्राम आफैं रन हुने गर्दछ र त्यस कम्प्युटरमा पनि भाइरस लाग्ने गर्दछ। त्यस्तै कम्प्युटरमा त्यस किसिमको भाइरस लागेको छ भने पेनड्राइभ हाल्ने बित्तिकै भाइरसले उक्त पेनड्राइभमा पनि भाइरस हाली अटो-रनद्वारा चल्ने बनाउने गर्दछन्। अचेल सबैले पेनड्राइभ चलाउने भएकाले यस्ता किसिमका भाइरसहरु निकै ठूलो मात्रामा देखा परेको हो।

यस्ता भाइरसद्वारा बच्नका लागि आफ्नो कम्प्युटरमा अटोरन बन्द गर्नु सबै भन्दा उपयुक्त हुने गर्दछ्। यदि तपाइ विन्डोज XP चलाउनु हुन्छ भने अटोरन बन्द गर्न निम्न प्रक्रिया अपनाउनु होस्।
  • कम्प्युटरमा Start मा गइ Run क्लिक गर्नुस
  • Run को विन्डो देखापर्छ, त्यहा gpedit.msc टाइप गरि इन्टर गर्नु होस्
  • यस पछि एउटा प्रोग्राम खुल्छ, त्यहाँ Computer Configuration मा गई Administrative Templates मा क्लिक गर्नुस। त्यस पछि System मा क्लिक गरि Turn off Autoplay लाई डबल क्लिक गर्नुहोस्।
यति गरिसकेपछि तपाईँको कम्प्युटरमा अटोरन बन्द हुने गर्दछ र पेनड्राइभ हाल्दैमा भाइरस सरिहाल्दैन।

तर यदि तपाई अरु कसैको कम्प्युटरमा पेनड्राइभ हाल्दै हुनुहुन्छ भने भाइरस सर्नुबाट कसरी बच्ने त? यसको लागि सबैभन्दा सरल उपाय, पेनड्राइभ हाल्नु भन्दा पहिले देखि पेनड्राइभ हालेको केहि बेर सम्म Shift थिचिराख्नुस। यसरी Shift थिच्दा पेनड्राइभको अटोरन Shift थिचुन्जेल बन्द हुने गर्दछ। अब पेनड्राभ खोल्दा पेनड्राइभको icon लाइ डबलक्लिक नगरी Right-click गरि Explore गर्ने गर्नुहोस्।

त्यसतै गरि अचेल विन्डोजको फोल्डर जस्तै icon भएको तथा जुन folder मा हो त्यसकै नाम भएको भाइरस प्रोग्रामहरू पनि धेरै मात्रामा देखा परेको छ। धेरै कम्प्युटर प्रयोगकर्ताहरु यस्ता प्रोग्रामहरूलाई folder भनी double click गर्ने गर्दछन, जसले गर्दा भाइरस run हुने गर्दछ। यस्ता भाइरसहरुद्वारा सतर्क रहन तथा अन्जानमै double click गर्नबाट जोगिन निम्न तरिका अपनाउन सकिन्छ।
  • Windows Explorer मा जानुहोस
  • मेनुको View को Arrange Icons By मा Show in Groups छान्नुहोस
  • त्यस्तै सोही मेनुमा By type पनि छान्नुहोस
यति गरिसकेपछि तपाइको कम्प्युटरमा फाइलहरु प्रकारका आधारमा मिलेर आउछन्। साच्चिकैका फोल्डरहरु एक ठाउमा हुन्छन भने फोल्डर जस्तै देखिने भाइरसहरु अर्को ठाउमा। र तपाई भाइरसको फाइललाई अन्जानमै double click गर्नबाट जोगिन सक्नुहुन्छ। यो सेटिङलाई राखिराख्न Tools मेनुको folder Option मा गइ View मा Apply to All Folders भन्ने बटन क्लिक गर्नुस्।

कम्प्युटरमा सुरक्षाको जतिसुकै तरिका अपनाएपनि शतप्रतिशत सुरक्षित हुन सकिन्न। अहिलेसम्म कम्प्युटरको हार्डवेयरलाई बिगार्ने भाइरसको बिकास भएको छैन, त्यसैले भाइरसद्वारा बचाउनु पर्ने सबैभन्दा महत्वपुर्ण कुरा भनेकै आफ्नो फाइल तथा डेटाहरु हुन। त्यसैले आफ्ना फाइल तथा डेटाहरु लाई बेलाबेलामा Backup गर्नु नै उचित हुन्छ। त्यस्तै राम्रो खालको एन्टिभाइरस सफ्टबेयरको प्रयोग गर्न र सधै सतर्क रहिरहन पनि बिर्सन हुदैन।

Saturday, September 29, 2007

खुला तथा स्वतन्त्र सफ्टवेयर

हामी मध्ये धेरैले कम्प्युटर चलाउँदा वैधानिक सफ्टवेयर चलाइ रहेका हुँदैनौ। हामीले अहिले चलाइ रहेको अधिकांश सफ्टवेयर चोरीको हुने गर्छन्। सक्कली सफ्टवेयरको तुलनामा अत्यन्त नगण्य मूल्यमा पाइने यी सफ्टवेयरहरू हामीले बजारबाट किनेर ल्याइ प्रतिलिपि पनि बनाई आफ्नो कम्प्युटरमा हाल्ने गर्दछौं। तर ती सफ्टवेयर कम्प्युटरमा हाल्दा आउने उक्त सफ्टवेयर सम्बन्धि लाइसेन्स भने हामी कसैले पनि पढ्ने गरेका हुँदैनौ। उक्त लाइसेन्स राम्रो सँग अध्ययन गर्ने हो भने हामीले गरिरहेका यी सबै कार्यहरू अवैधानिक हुन भन्ने कुरा प्रस्ट हुन आउँछ। यसरी अवैधानिक रुपमा चोरीको सफ्टवेयर चलाउनु पक्कै पनि राम्रो कुरा हैन।

यसरी अवैधानिक रुपमा सफ्टवेयर चलाउन बाट बच्ने दुई तरिकाहरू छन्। एक, सफ्टवेयरको वैधानिक तथा सक्कली प्रति किन्ने। तर यो कुरा हामी आम सामान्य प्रयोगकर्ताको लागि सम्भव नहुन सक्छ किनकी सफ्टवेयरहरूको मूल्य हाम्रो पहुँच बाहिरको कुरा हुन आउँछ। जस्तै उदाहरणको लागि हामी सबैले प्रयोग गर्ने माइक्रोसफ्ट विन्डोजको मूल्य करिब ३०० डलर अर्थात् करिब १८ हजार सम्म पर्न सक्छ। त्यस्तै सबैले प्रयोग गर्ने अर्को सफ्टवेयर माइक्रोसफ्ट अफिसको मूल्य करिब ४०० डलर अर्थात् करिब २५ हजार जति पर्ने गर्छ। यसरी कम्प्युटरलाई चाहिने सम्पूर्ण सफ्टवेयरको मूल्य हिसाब गर्दै जाँदा लाखौं पुग्न सक्छ। यो मूल्य अवश्य नै आम नेपाली कम्प्युटर प्रयोगकर्ताको पहुँच बाहिरको कुरा हो। तर यो सबैको विकल्प नभएको भने पक्कै पनि हैन। यसरी क्षमता भन्दा बाहिरको वा चोरीको सफ्टवेयरको प्रयोगबाट मुक्त हुन हामी खुला तथा स्वतन्त्र सफ्टवेयरको प्रयोग गर्न सक्छौ।

खुला तथा स्वतन्त्र सफ्टवेयर भन्नाले त्यस्ता सफ्टवेयरलाई जनाउँछ, जसले प्रयोगकर्तालाई त्यस सफ्टवेयर कुनै पनि कामको निम्ति प्रयोग गर्न, सफ्टवेयरले कसरी काम गर्छ भनि अध्ययन गर्न, त्यस सफ्टवेयरलाई आफ्नो चाहना वा परिस्थिति अनुसार परिवर्तन गर्न तथा सफ्टवेयरको प्रतिलिपि बनाइ बाँड्न स्वतन्त्रता दिएको हुन्छ। बन्द तथा व्यापारिक सफ्टवेयरहरूलाई प्रतिलिपि बनाइ बाँड्न मनाही गरिएको हुन्छ भने खुला तथा स्वतन्त्र सफ्टवेयरहरूले सफ्टवेयर बाँड्न प्रेरित गर्ने गर्छन्।

प्रोग्रामर या सफ्टवेयर विकासकर्ताले कुनै पनि सफ्टवेयर तयार गर्दा सधैं भावी प्रयोगकर्ताहरूको लागि त्यसका सोर्स कोडहरु अध्ययन र आवश्यक परिमार्जनको निम्ति खुला राखि दिनु पर्ने स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरको नीति रहेको छ। यसै कारणले स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरका प्रयोगकर्ताले आफ्ना इच्छा तथा आवश्यकता अनुसार प्रोग्रामको कोडहरुमा फेरबदल गर्न सक्छन्। स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरका यही गुणका कारण यसमा आधारित सफ्टवेयरहरूलाई कम लागत मै स्थानीय करण गर्न सकिन्छ अर्थात् आफ्नो आवश्यकता अनुसार सफ्टवेयरलाई कुनै पनि स्थानीय भाषा, संस्कृति, पात्रो र समय अनुसार सजिलै ढाल्न सकिन्छ। यसै गरी कुनै पनि सफ्टवेयरको बिक्री गर्दा केवल सफ्टवेयर जडान तथा अन्य आवश्यक सेवाका निम्ति मात्र आवश्यक शुल्क लिन सकिन्छ भन्ने नीतिका कारण स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर सर्वाधिकार सुरक्षित सफ्टवेयरहरू (अर्थात Proprietary Software) भन्दा निकै सस्तो पनि पर्न आउँछन्। सर्वाधिकार सुरक्षित सफ्टवेयरहरूमा हरेक सफ्टवेयरमा सफ्टवेयर बनाउँदा पर्न गएको मूल्यका साथसाथै त्यसलाई चलाउन आवश्यक लाइसेन्स र सेवाको मूल्य पनि संलग्न हुने हुँदा निकै महँगो पर्न जान्छ। फेरि, सर्वाधिकार सुरक्षित सफ्टवेयरहरूलाई समय समयमा स्तरवृद्धि नगरिएमा खडा हुने समस्याहरूले पनि प्रयोगकर्तालाई धेरै पिरोल्ने गर्छ।

स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरको सबै भन्दा ठूलो विशेषता भनेकै संसारभरका हजारौं सफ्टवेयर विकासकर्ताहरुका संलग्नता र सफ्टवेयर तयार गर्न अपनाइएको विधि बारे सर्वसाधारणले जानकारी लिन सक्नु हो। तर सफ्टवेयर विकासकर्ताले पनि आफ्नो सृजना ओझेलमा पर्न जान्छ भनेर पनि चिन्ता गर्नु पर्दैन किनकि उक्त सफ्टवेयरमा कसैले फेरबदल गरेपनि पहिला कुन कुन कोडमा आधारित थियो र पछि त्यसमा के कस्ता परिवर्तन गरियो भनेर खुलस्त राख्नु पर्ने नियम छ। यसका लागि खुला सफ्टवेयरको वितरण गर्दा यसै विधामा आधारित विभिन्न लाइसेन्सहरूको प्रयोग गरि आफ्नो सफ्टवेयरलाई बजारमा ल्याउन सकिन्छ।

यी बाहेक पनि प्रयोगकर्ताहरूलाई स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरको प्रयोगबाट विभिन्न फाइदाहरू हुने गर्दछ। सबै भन्दा ठूलो तथा महत्वपूर्ण फाइदा सफ्टवेयरको मूल्यमा हुने गर्दछ। अधिकांश स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरहरू प्राय सित्तैमा पाइने गर्दछ। यस कारणले गर्दा पनि यस्ता सफ्टवेयरको प्रयोग गर्दा मूल्यमा व्यापक कटौती हुने गर्दछ। त्यस्तै यदि तपाई एक सम्मानित व्यक्ति हुनुहुन्छ र चोरीको सफ्टवेयरको प्रयोग गरि आफ्नो छवि धमिल्याउन चाहनु हुन्न भने पनि खुला स्रोत सफ्टवेयरको प्रयोग गर्न सक्नु हुन्छ। त्यस्तै खुला स्रोत सफ्टवेयरको सबै भन्दा प्रमुख प्रयोग सरकारी क्षेत्रमा हुन सक्छ। यस्ता ठाउँहरूमा सफ्टवेयर पारदर्शिताको ठूलो महत्व हुने गर्दछ, र यो केबल खुला स्रोत सफ्टवेयरको माध्यमबाट मात्र सम्भव हुन सक्दछ। खुला स्रोत सफ्टवेयरहरूले यस्ता क्षेत्रहरूलाई कुनै एक निश्चित सफ्टवेयर निर्मातामा निर्भर रहनु पर्ने समस्याबाट पनि मुक्त पार्ने गर्दछ।

खुला स्रोत सफ्टवेयरहरूको यति चर्चा गरिसकेपछि केही उदाहरण तिर लागौँ। अहिले कम्प्युटरमा गर्न सकिने हरेक कामको लागि खुला स्रोत सफ्टवेयरहरू उपलब्ध छन्। सर्वप्रथम कम्प्युटर सञ्चालन प्रणालीकै कुरा गर्दा अहिले लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। लिनक्सलाई कम्प्युटरमा हामीमध्ये धेरैले चलाउने विन्डोजको सट्टामा प्रयोग गर्न सकिन्छ। लिनक्स खुला तथा स्वतन्त्र हुनुका साथै निकै भरपर्दो पनि छ। विन्डोजमा जस्तो भाइरस लाग्ने तथा क्र्यास हुने समस्या यसमा हुँदैन।

त्यस्तै माइक्रोसफ्ट वोर्ड, एक्सेल अर्थात अफिसको रुपमा ओपनअफिस डट अर्ग प्रयोग गर्न सकिन्छ। यस खुला सफ्टवेयरमा माइक्रोसफ्ट वोर्ड तथा एक्सेलका फाइलहरू लगायत अन्य विभिन्न प्रकारका फाइलहरू खोल्ने तथा भण्डारण गर्ने सुविधा रहेको छ। यसका साथै पिडिएफ फाइल बनाउने तथा नेपाली spelling checking जस्ता सुविधाहरू पनि यसमा रहेका छन्। त्यस्तै धेरैले प्रयोग गर्ने मोजिला फायरफक्स नामक इन्टरनेट चलाउने सफ्टवेयर पनि खुला तथा स्वतन्त्र हो। फोटोहरू सम्पादन गर्न प्रयोग गरिने फोटोसपको सट्टामा जिम्प नामक सफ्टवेयर प्रयोग गर्न सकिन्छ। त्यस्तै इन्टरनेट मेसेन्जरको रुपमा गायम नामक सफ्टवेयरको प्रयोग गर्न सकिन्छ। रमाइलो कुरा के छ भने, इन्टरनेट चलाउँदा तपाइले अप्रत्यक्ष रुपमा स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयरनै चलाइरहनुभएको हुन्छ। विश्वका अधिकांश वेब सर्भरहरुमा एपाचे नामक सफ्टवेयरको प्रयोग गरिएको हुन्छ जुन खुला सफ्टवेयर हो। त्यस्तै गुगलले पनि आफ्ना प्राय सम्पूर्ण सर्भरमा लिनक्स राखेको छ।

अहिले विश्वमा नै खुला तथा स्वतन्त्र सफ्टवेयरको प्रयोग बढ्दो छ। सरकारी तवरमा हेर्ने हो भने फ्रेन्च सरकारले आफ्नो सम्पुर्ण कार्य खुला तथा स्वतन्त्र सफ्टवेयरमा गर्ने गर्दछ। जापानी सरकारले पनि भर्खरै आफ्नो सम्पूर्ण काम खुला सफ्टवेयरमा गर्ने निर्णय गरेको छ। अफ्रिकाका प्राय देशहरूले खुला सफ्टवेयर प्रयोग गर्ने गर्दछन्। अमेरिकी आर्मीले समेत आफ्नो कामकाज खुला तथा स्वतन्त्र सफ्टवेयरमा गर्ने गर्दछ। आम प्रयोगकर्ताहरुमाझ पनि लिनक्स तथा अन्य खुला सफ्टवेयरहरू निकै नै प्रचलित हुँदै गइरहेको छ। नेपालमा पनि खुला तथा स्वतन्त्र सफ्टवेयर प्रयोग गर्नेहरुको जमात निकै ठूलो भैसकेको छ। अब हामी पनि खुला तथा स्वतन्त्र सफ्टवेयर प्रयोग गर्नमा किन पछि पर्ने त?

Thursday, September 20, 2007

ब्लग कसरी सुरु गर्ने

ब्लग भन्नाले त्यस्ता वेबसाइटहरूलाई जनाउँछ जहाँ प्रयोगकर्ताहरूले आफ्ना लेख तथा विचारहरू एक अनलाइन डायरीको रुपमा प्रकाशित गर्ने गर्दछन्। आफुलाई लागेको कुरा लेखेर इन्टरनेटमा प्रकाशित गर्नका लागि ब्लग अहिले विश्वमा नै चर्चित बन्दै गएको छ। ब्लग शब्द अङ्ग्रेजी शब्दहरू वेब र लग को समिश्रणद्वारा बनेको हो। सुरुमा ब्लगको प्रयोग इन्टरनेटमा आफ्नो स-साना नोटहरू राख्न भए पनि अहिले ब्लग आफ्नो विचार प्रस्तुत गर्ने एक प्रमुख माध्यमको रुपमा विकसित भएको छ। नेपालको परिप्रेक्षमा ब्लगको शुरुवात कहिलेवाट भयो भन्ने एकिन इतिहास छैन । तर २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले राजनीतिक कु गरी शासनसत्ता आफ्नो हातमा लिएपछि नेपालमा वैकल्पिक सञ्चारमाध्यमको रुपमा ब्लग देखिएको हो । नेपाली भाषाको ब्लगहरू हेर्ने हो भने माइसंसार डटकम र हाम्रोब्लग डटकम अगाडि देखिएका छन् । अहिले करिब एक सयको हाराहारीमा नेपाली ब्लगहरु संचालनमा रहेका पाइन्छ । नेपाली ब्लगहरुको संग्रह bloggers.com.np मा हेर्न सकिन्छ।

सामान्यतया लेखहरू राखिने ब्लगहरू प्रचलित भए पनि ब्लगहरू अन्य विभिन्न प्रकारका हुने गर्दछन्। भिडियो सम्बन्धित ब्लग लाई भि-लग भन्ने गरिन्छ। त्यस्तै फोटोहरू राखिने फोटो-ब्लगहरू पनि प्रचलित छन्। अचेल मोबाइलबाट पनि ब्लग गर्ने प्रबिधिको बिकास भैसकेको छ, त्यस्ता ब्लगलाई मोब्लग भन्ने गरिन्छ। विषयवस्तुको हिसाबले पनि बिभिन्न प्रकारका ब्लगहरु हुने गर्दछन्, जस्तै राजनैतिक ब्लग, ट्राभल ब्लग, फेसन ब्लग, आदि। यी सबै ब्लगहरू खोज्न technorati.com नामक सर्च इन्जिनको पनि बिकास गरिएको छ।
ब्लगको यति जानकारी पछि ब्लग लेख्न कसरी सुरु गर्ने भन्नेतिर लागौ। ब्लग लेख्न सुरु गर्नु भन्दा पहिले आफु कुन विषयवस्तुमा ब्लग लेख्ने भन्ने बारे निर्णय गर्नु राम्रो हुन्छ। कसैले ब्लग लेख्दा आफ्नो दिमागमा जे आयो त्यही लेख्ने गर्छन। कसैले कुनै निश्चित बिषयमा ब्लग लेख्ने गर्छन। धेरैले कुनै निश्चित विषयमा लेख्ने गरे पनि बेला बेलामा विषय परिवर्तन गर्ने गर्छन्। ब्लग इन्टरनेटमा सबैले पढ्न मिल्ने गरि राखिने हुनाले आफुलाई जे मन लाग्यो त्यहि लेख्नु भन्दा कुनै विषयवस्तुमा लेख्नु नै उचित मानिन्छ।

के को बारेमा ब्लग लेख्ने भन्ने कुरा निश्चित गरेपछि कहाँ लेख्ने भन्ने प्रश्न आउँछ। ब्लग लेख्न दुई तरिकाहरू अपनाउन सकिन्छ। यदि तपाइको आफ्नै वेबसाइट छ भने, त्यसैमा ब्लग लेख्ने सफ्टवेयर राखेर ब्लग सुरु गर्न सकिन्छ। Wordpress, Movable Type र Typo जस्ता ब्लग लेख्न प्रयोग गरिने सफ्टवेयर इन्टरनेटमा सित्तैमा डाउनलोड गरि प्रयोग गर्न पाइन्छ। तर सबैको आफ्नै वेबसाइटह नहुन सक्छ, यस्तो अवस्थामा इन्टरनेटमा रहेका blogger.com वा wordpress.com जस्ता साइटहरूमा गएर आफ्नो ब्लग सुरु गर्न सकिन्छ। यी वेबसाइटहरूमा सित्तैमा आफ्नो ब्लग साइट निर्माण गर्न सकिन्छ।

यी ब्लग साइटहरु मध्ये Wordpress.com सजिलो तथा निकै प्रख्यात पनि छ। Wordpress मा आफ्नो ब्लग सुरु गर्नका निम्ति सुरुमा एउटा account खोल्नु पर्दछ। यसरी नयाँ account सुरु गर्दा तपाइले आफ्नो ब्लगको शिर्षक पनि दिनु पर्ने हुन्छ। Account बनिसकेपछि तपाइले ब्लग लेख्न सुरु गर्न सक्नु हुन्छ। त्यस्तै अर्को ब्लग साइट Blogger.com पनि अचेल निकै प्रचलित हुदै गइरहेको छ। Blogger.com को फाइदा के छ भने यसमा ब्लग लेख्नको लागि यदि तपाइसंग Gmail ठेगाना छ भने त्यसैको प्रयोग गर्न सक्नु हुन्छ।

ब्लग सबैका लागि पढ्न खुला हुने हुनाले निम्न कुराहरुमा बिशेष ध्यान पुर्‍याउनु पर्दछ।
  • ब्लगमा अन्य व्यक्तिको इमेल ठेगाना देखाउने गरि राख्नु हुदैन
  • लेखिएका कुराहरुको स्रोत स्पष्ट रुपमा खुलाउनु पर्दछ।
  • ब्लगमा सकेसम्म नम्र भाषा प्रयोग गर्नु राम्रो हुन्छ।
  • लेखाइ सकेसम्म स्पष्ट हुनु राम्रो हुन्छ।
  • एकपटक लेखिसकेको ब्लगलाइ पटकपटक सच्याउनु हुदैन।

ब्लग अहिले आफ्नो आवाज सर्वसाधारण पुर्‍याउन सबै भन्दा छिटो तथा सशक्त माध्यम भएको छ। आफुलाई लागेको कुरा पत्रिकाहरूमा छपाउने तथा त्यसको प्रतिक्रिया पर्खने लामो प्रक्रियाबाट ब्लगको माध्यमद्वारा मुक्त हुन सकिन्छ। ब्लगको अझ रमाइलो कुरा के छ भने आफुले लेखेको ब्लगको प्रतिक्रिया तुरुन्तै प्राप्‍त हुने गर्दछ। अझ धेरैले Google Adsense जस्ता अनलाइन विज्ञापन आफ्नो ब्लगमा प्रकाशित गरेर आम्दानी पनि गर्ने गर्दछन्। यति धेरै रमाइलो ब्लगिङ्गको दुनियामा आजै किन नछिर्ने त?

Thursday, August 30, 2007

इन्टरनेटको इतिहास

इन्टरनेट आफैमा एउटा सञ्जाल नभइ विश्वभर छरिएर रहेका एउटा निश्चित नियममा काम गर्ने तथा एकैखाले सुविधा प्रदान गर्ने विभिन्न सञ्जालहरूको समूह हो। इन्टरनेट कुनै व्यक्ति वा संस्थाको योजना बमोजिम सुरुवात भएको हैन। त्यस्तै इन्टरनेट कसैको नियन्त्रणमा पनि छैन।

इन्टरनेटको इतिहास खोतल्दै जाँदा संयुक्त राज्य अमेरिकाले विकास गरेको आर्पानेट सम्म पुग्न सकिन्छ। सन् १९५० को अन्त्य तिर जति बेला शीतयुद्ध चरम अवस्थामा पुगेको थियो, त्यति बेला अमेरिका जस्तोसुकै युद्धमा पनि भरपर्दो रुपमा काम गर्न सक्ने सञ्जाल प्रणालीको विकास गर्न लागिपरेको थियो। त्यतिबेला प्रयोग हुने सबै टेलिफोन प्रणाली केन्द्रीय स्तरमा काम गर्ने गर्थे, जुन अति नै असुरक्षित थियो। टेलिफोनको केन्द्रमा हमला भएको खण्डमा पुरै टेलिफोन प्रणाली नै ध्वस्त हुने सम्भावना थियो। त्यसैले टेलिफोन सञ्जाल प्रणालीको विकल्पको रुपमा अमेरिकाको Department of Defense ले RAND Corporation लाई एक सुरक्षित तथा भरपर्दो सञ्जाल प्रणालीको बिकास गर्ने काम सुम्पियो।

त्यस RAND Corporation का Paul Baran नामक एक इन्जिनियरले स्विचिङ प्रविधिमा आधारित एक विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा अगाडि ल्याए। Baran ले यस सम्बन्धी धेरै रिपोर्टहरू अमेरिकाको Pentagon मा पठाए र अन्ततः Pentagon ले यस प्रकारको सञ्जाल विकास गर्ने जिम्मा अमेरिकाको त्यस बेलाको सबैभन्दा ठूलो टेलिफोन कम्पनी AT&T लाई दियो। तर AT&T जस्तो ठूलो कम्पनीले Baran जस्तो सामान्य व्यक्तिले विकास गरेको प्रविधिलाई पत्याउने कुरै भएन। स्विचिङ प्रविधिमा आधारित त्यस विकेन्द्रीत सञ्जाल प्रणालीको अवधारणा त्यसै तुहिएर गयो।

निकै लामो समयसम्म पनि भरपर्दो सञ्जाल प्रणालीको विकास हुन नसकेपछि अमेरिकी सरकारले यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नका निम्ति Advanced Research Projects Agency वा ARPA नामक संस्थाको सुरुवात गर्‍यो। सन् १९६७ तिर ARPA का निर्देशक Larry Roberts ले Paul Baran ले विकास गरेजस्तै Packet Switching मा आधारित सञ्जाल प्रणाली को अवधारणा अगाडि ल्याए। यसै प्रविधिमा आधारित ARPANET नामक सञ्जाल प्रणालीको पनि उनले निर्माण गरे।

यस प्रविधिद्वारा विभिन्न स्थानमा रहेका दुई कम्प्युटरहरूलाई जोड्न सकिन्थ्यो। यसरी सूचना आदानप्रदानका निम्ति कम्प्युटरमा Interface Message Processors अर्थात् IMP नामक मिनि-कम्प्युटर जोडिन्थ्यो। फरक फरक स्थानमा रहेका यी दुई IMP हरुबीच टेलिफोन लाइनको माध्यमद्वारा ५६ किलोवाइटको गतिमा सूचना आदानप्रदान हुन्थ्यो। यस ARPANET सञ्जाल प्रणालीमा सर्वप्रथम California विश्वविद्यालय, क्याम्ब्रिज अनुसन्धान केन्द्र, UCSB र Utah विश्वविद्यालय जोडिए। सन् १९७० को मध्यसम्ममा MIT, Harvard, BBN र Systems Development Corporation पनि यस सञ्जालमा जोडिए। आउँदा वर्षहरूमा अन्य धेरै संघ संस्था तथा विश्वविद्यालयहरू यस सञ्जालमा जोडिए।

ARPANET को यस स्वरूप नै इन्टरनेटको सुरुवात थियो। तर यो इन्टरनेटको सञ्जाल अहिलेजस्तो चलाउन सजिलो पक्कै पनि थिएन। यस ARPANET को प्रयोग केबल कम्प्युटर विज्ञ, इन्जिनियर तथा वैज्ञानिकहरू ले गर्ने गर्दथे।

सन् १९७२ मा Ray Tomlinsonले इन्टरनेटको सम्भवत: सबैभन्दा महत्वपूर्ण आविष्कार इमेलको बिकास गरे। इमेल ठेगानामा प्रयोग हुने प्रख्यात @ को छनौट पनि उनैले गरेका हुन्। यसबाहेक सञ्जालमा रहेका कम्प्युटरहरू चलाउन प्रयोग हुने telnet तथा फाइलहरू आदानप्रदान गर्न प्रयोग हुने ftp को विकास पनि त्यसैताका भयो।

इन्टरनेटको यति विकास भइसक्दा पनि सूचना आदानप्रदान गर्न कुनै एक निश्चित प्रणाली थिएन। सन् १९७० को दशकमा Stanford विश्वविद्यालयका Bob Kahn र Vint Cerf ले TCP/IP नामक सुचना आदानप्रदान गर्ने प्रणालीको बिकास गरे, जुन आज पनि प्रयोग हुने गर्दछ। यस प्रणालीको प्रयोग गर्ने पहिलो संस्था अमेरिकाकै Defense Department थियो। सन् १९८३ सम्ममा इन्टरनेटमा जोडिएका सबैले यस TCP/IP प्रणालीको प्रयोग गर्न थाले। सन् १९८० दशकको अन्त्यसम्ममा धेरै व्यापारिक संघसंस्थाहरू पनि इन्टरनेटमा जोडिन थाले जसले गर्दा इन्टरनेटको विकास द्रुत गतिमा हुन थाल्यो।

इन्टरनेटको यति विकास भइसक्दा पनि सन् १९९० को सुरुवात सम्म इन्टरनेटको प्रयोग केवल अनुसन्धानकर्ता, सरकारी क्षेत्र तथा विश्वविद्यालयहरूले मात्र गर्थे। इन्टरनेट सर्वसाधारणले प्रयोग गर्न मिल्ने गरी सजिलो भइसकेको थिएन। तर सन् १९९० मा CERN अनुसन्धान केन्द्रका वैज्ञानिक Tim Berners Lee ले विकास गरेको World Wide Web ले इन्टरनेटको नयाँ ढोका खोलिदियो। World Wide Webलाई हामी www को नामबाट पनि चिन्दछौ।

धेरैले www लाई नै इन्टरनेट भन्ने गर्छन्, तर यो गलत धारणा हो। इन्टरनेट भन्नाले विश्वभर रहेका सञ्जालको समूहलाई जनाउँछ, जबकि www इन्टरनेटमा सूचना आदानप्रदान गर्न प्रयोग गरिने धेरै प्रणालीहरू मध्ये एक हो।

www को निर्माणले इन्टरनेटमा सूचना आदानप्रदान गर्न धेरै सजिलो भए पनि अहिले जस्तो क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सुविधा थिएन। यसरी क्लिक गर्दै इन्टरनेट चलाउन सकिने सफ्टवेयर, जसलाई Browser भनेर चिनिन्छ, यसको निर्माण Illinios स्थित National center for Supercomputer Application का अनुसन्धानकर्ता Marc Andreessen ले गरेका हुन। यस पहिलो Browser को नाम Mosiac थियो। पछि उनै Marc Andreessen ले Netscape Corporation को पनि सुरुवात गरे जसले निर्माण गरेको Netscape Navigator नामक इन्टरनेट browser निकै प्रख्यात पनि भयो। यसै इन्टरनेट browser को सफलतालाई पछ्याउदै माइक्रोसफ्टले पनि Internet Explorer नामक browser को विकास गर्‍यो, जुन अहिलेको एक प्रमुख ब्राउजरमा पर्दछ।

इन्टरनेटको विकासका लागि अमेरिकी सरकारले लगानी गरेकाले पहिले सर्वसाधारणलाई इन्टरनेटको प्रयोग गर्ने अनुमति थिएन। तर www को सफलता पछि धेरै इन्टरनेट प्रदायक कम्पनीहरू खुले जसले सरकारी सञ्जालको भर नपर्ने गरि आफ्नै सञ्जालको विकास गरे। सन् १९९५ सम्ममा अमेरिकी सरकारले इन्टरनेट प्रयोग गर्न बन्देज लगाउने सम्पूर्ण नियमहरू खारेज गर्‍यो। अमेरिकामा AOL, Prodigy र CompuServe जस्ता चर्चित इन्टरनेट प्रदायक कम्पनीहरू सुरु भए। इन्टरनेटको प्रयोग विश्वव्यापी रुपमा पनि हुन थाल्यो।

आजको दिन सम्ममा इन्टरनेटले लामो फड्को मारिसकेको छ। ARPANET मा जोडिएका ४ कम्प्युटरहरूबाट सुरु भएको इन्टरनेटमा अहिले एकैपटकमा १ अरब भन्दा बढि प्रयोगकर्ताहरू जोडिएर रहेको हुने गर्दछ। इन्टरनेटको विकासको क्रम अझै पनि जारी छ र भविष्यमा अहिलेको भन्दा द्रुत गतिको र उच्चस्तरीय सुविधायुक्त इन्टरनेटको विकास हुने कुरामा दुईमत नहोला।