Friday, January 25, 2008

लिनक्सका डिस्ट्रो छान्ने तरिका

केही समय यता लिनक्स निकै नै प्रचलित हुँदै गइरहेको छ। माइक्रोसफ्ट विन्डोजमा हुने भाइरस तथा कम्प्युटर ह्याङग हुने समस्या अनि सुरक्षा सम्बन्धी कारणले गर्दा दिक्क भई विश्वका धेरै प्रयोगकर्ताहरूले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग तथा सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका कारणले पनि लिनक्सको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ।

तर लिनक्स चलाउन चाहने जोसुकै सबै भन्दा पहिले लिनक्सका सयौं प्रकारहरूका बीच हराउने गर्दछन्। लिनक्सका बारेमा पहिले सुन्नु भएको छ भने पक्कै पनि तपाईले रेडह्याट, फेडोरा, उबुन्तु जस्ता विभिन्न लिनक्सका प्रकारका बारेमा सुन्नु भएको होला। यस्ता लिनक्सका प्रकारहरूलाई distribution वा छोटकरीमा distro भन्ने गरिन्छ। अहिलेसम्म पाच सय भन्दा बढि यस्ता डिस्ट्रोहरूको विकास भैसकेको छ। रमाइलो कुरा के छ भने, यदि तपाईसँग लिनक्सको ज्ञान छ भने तपाई पनि आफ्नै यस्तो डिस्ट्रो बनाउन सक्नु हुन्छ।

फरक फरक डिस्ट्रोको आ-आफ्नै विशेषता हुने गर्दछ। कुनै डिस्ट्रो डेस्कटप कार्यहरूका निम्ति उपयुक्त हुन्छ भने कुनै डिस्ट्रो सर्भरका निम्ति। त्यस्तै वैज्ञानिक खोज, इन्जिनियरिङ्ग कार्य तथा विभिन्न क्षेत्रको निम्ति फरक फरक विशेषता भएका डिस्ट्रोहरु पाउन सकिन्छ। आज हामी लिनक्सका केही प्रमुख डिस्ट्रोहरू तथा ती डिस्ट्रोहरू के कार्यका निम्ति प्रयोग गर्न सकिन्छ भनेर चर्चा गर्नेछौ।

यदि तपाइ घरमा टाइप गर्न, इमेल इन्टरनेट प्रयोग गर्न, भिडियो तथा अडियो कार्यहरूका निम्ति प्रयोग गर्न लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ भने उबुन्तु लिनक्स उपयुक्त हुन सक्छ। केही समय यता उबुन्तु लिनक्स निकै नै राम्रो हुदै गइरहेको तथा बढि भन्दा बढि हार्डवेयर हरू चल्ने हुँदै गइरहेको छ। त्यसमाथि Canonical नामको कम्पनीले निर्माण गर्ने तथा हरेक ६ महिनामा नया सँस्करण निकालिने हुनाले पनि यस डिस्ट्रोको प्रयोग गर्दा सधै updated भइने कुराको ग्यारेन्टी हुने गर्दछ। यदि तपाईको कम्प्युटरमा इन्टरनेटको सुविधा छ भने नयाँ सफ्टवेयरहरू हाल्न पनि यस उबुन्तु लिनक्समा निकै नै सजिलो हुने गर्दछ।

यसबाहेक घरको कम्प्युटरमा प्रयोग गर्नको निम्ति Fedora लिनक्स पनि निकै नै प्रचलित छ। उबुन्तु लिनक्स जस्तै ६ ६ महिनामा नयाँ सँस्करण आउने नभए पनि यस लिनक्स विश्वव्यापी रुपमा धेरै प्रयोगकर्ताहरूले प्रयोग गर्ने गर्दछन्।

यदि तपाई चलउादा विन्डोज जस्तै लाग्ने लिनक्सको खोजीमा हुनुहुन्छ भने सबै भन्दा राम्रो डिस्ट्रो Xandros Desktop हुन सक्छ। Xandros Desktop विन्डोजको प्रयोगकर्ताहरूलाई गार्‍हो नहुने गरि तथा चलाउँदा प्राय विन्डोज जस्तै लाग्ने गरि बनाइएको छ। हुन त लिनक्स चलाउने भनेपछि विन्डोज जस्तै देखिनु त्यति सान्दर्भिक नहोला, तर कसै कसै लाई यो पक्ष महत्वपूर्ण हुन सक्छ।
Linspire नामको डिस्ट्रो पनि विन्डोजका प्रयोगकर्ताहरूलाई सजिलो लाग्न सक्छ। Xandros जस्तै विन्डोजसंग मेल खाने बनाइएको भए तापनि यसमा Xandros को भन्दा सजिलो सँग सफ्टवेयरहरू हाल्न सकिन्छ। केही क्लिकमै सफ्टवेयर सर्च गर्ने तथा इन्स्टल गर्ने सुविधा Linspire मा रहेको छ।

यदि तपाई Xandros वा Linspire प्रयोग गर्ने सुरमा हुनुहुन्छ भने तपाईका निम्ति Progression Desktop नामको सफ्टवेयर पनि निकै काम लाग्न सक्छ। यस सफ्टवेयरले कम्प्युटरमा रहेको विन्डोजका सेटिङ् तथा फाइलहरूलाई लिनक्समा सार्ने गर्दछ।
विन्डोजमा चल्ने गेम लिनक्समा खेल्नका लागि विशेष प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्। यस प्रकारका कार्यका निम्ति Win4Lin नामको डिस्ट्रो उपयुक्त हुन सक्छ। तर यस डिस्ट्रोमा इन्टर्नेट चलाउन भने अलि अप्ठ्यारो भएको कुरा यसका प्रयोगकर्ताहरूले बताएका छन्। त्यस्तै TransGaming Technologies ले बनाएको Cedega नामको सफ्टवेयरको प्रयोगबाट पनि कुनै पनि लिनक्स डिस्ट्रोमा विन्डोजका गेमहरु खेल्न सकिन्छ।

यसबाहेक विन्डोजमा चल्ने सफ्टवेयरहरू लिनक्समा चलाउनको निम्ति Wine नामको सफ्टवेयर पनि प्रयोग गर्न सकिन्छ।
अफिसका निम्ति प्रयोग गर्न पनि विभिन्न प्रकारका लिनक्स डिस्ट्रोहरू रहेका छन्।

यदि तपाइ हेर्दा राम्रो तथा चलाउन पनि सजिलो लिनक्स डिस्ट्रोको खोजीमा हुनुहुन्छ भने Novell को OpenSUSE प्रयोग गर्न सक्नु हुन्छ।

अफिसका निम्ति RedHat Enterprise Edition लिनक्स पनि प्रयोग गर्न सकिन्छ। केहि समय यता उबुन्तु लिनक्स पनि निकै राम्रो तथा सुधारिएको रुपमा उपलब्ध हुन थालेको छ। त्यसकारण यस लिनक्स पनि अफिसहरूमा प्रयोग गर्न सकिन्छ।
त्यस्तै यदि तपाई शैक्षिक कार्यका निम्ति लिनक्सको प्रयोग गर्न चाहनुहुन्छ भने Edubuntu नामको लिनक्समा निकै नै शैक्षिक सामाग्रीहरू रहेका छन्। बालबालिका निम्ति शैक्षिक खेलहरू देखि लिएर कलेज पढ्ने विद्यार्थीहरूका निम्ति पनि विभिन्न सफ्टवेयरहरू रहेको यस Edubuntu उबुन्तु लिनक्सलाई परिमार्जित गरि बनाइएको हो, र प्रत्येक ६ ६ महिनामा यसको नयाँ सँस्करण आउने गर्दछ।

श्रव्य दृश्य सम्बन्धी कार्यको निम्ति उबुन्तुकै छुट्टै डिस्ट्रो पनि रहेको छ। Ubuntu Studio नाम दिइएको यस लिनक्स डिस्ट्रोमा श्रव्य तथा दृश्य सम्पादनका निम्ति थुप्रै सफ्टवेयरहरू रहेका छन्।

यदि तपाई कम्प्युटर सम्बन्धी काम गर्नु हुन्छ र लिनक्स सिकि यसलाई आफ्नो पेसा बनाउन चाहनुहुन्छ भने तपाईको निम्ति Redhat Linux उपयुक्त हुने गर्दछ। Redhat linux ले लिनक्सका विभिन्न पाठ्यक्रम बनाउनुका साथै परीक्षा पनि लिने गर्दछ। Redhat को Redhat Certified Professional नामको लिनक्स सम्बन्धी पाठ्यक्रम तथा यसको परीक्षा विश्वभरी नै चर्चित रहेको छ र यसको परीक्षा उत्तीर्ण गरेको जो कोहीलाई विश्वव्यापी रूपमा लिनक्सको विज्ञको मान्यता दिइने गरिन्छ।

लिनक्सलाई निकै नै पुरानो कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुराना कम्प्युटरहरूमै प्रयोग गर्न बनाइएको Damn Small Linux नामको लिनक्स डिस्ट्रो पुरानो Pentium तथा 486 कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ। पुरानो कम्प्युटरमा चल्ने भए तापनि यस Damn Small Linux मा नयाँ लिनक्समा रहेका सम्पूर्ण सुविधाहरू रहेका छन्। यसरी लिनक्सको प्रयोग गरि तपाइ फाल्न तयार पारिएका कम्प्युटरहरूमा पनि नयाँ ज्यान भर्न सक्नुहुन्छ।

यदि तपाइ नेपाली मा लिनक्स चलाउन चाहनुहुन्छ भने यो सुविधा पनि लिनक्समा उपलब्ध छ। यसको निम्ति मदन पुरस्कार पुस्तकालयद्वारा निर्माण गरिएको नेपालीनक्स निकै नै राम्रो रहेको छ। हुन त अरू लिनक्स डिस्ट्रोहरू पनि नेपाली भाषामा आउने बनाउन सकिन्छ तर यस नेपालीनक्सलाई विशेषत नेपालीमै चलाउन मिल्ने गरि बनाइएको छ। यसमा रहेका सम्पूर्ण सफ्टवेयरहरू नेपाली भाषामा रहेको छन्। त्यसकारण अंग्रेजी भाषाको प्रयोगको कारण कम्प्युटरको प्रयोग गर्न गार्‍हो हुने गरेको छ भने यस नेपालीनक्स निकै नै सजिलो हुन सक्छ। नेपालीनक्सको सिडि ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयको कार्यालयमा निकै नै कम मूल्यमा प्राप्त गर्न सक्नु हुन्छ।

यति धेरै रहेका लिनक्सका डिस्ट्रोहरुमा निकै नै विविधता पाउन सकिन्छ। विभिन्न लिनक्स डिस्ट्रोका आ-आफ्नै विशेषता हुने भएका ले कुनै एक लिनक्स डिस्ट्रोलाई उत्तम भन्न सकिन्न। जति धेरै डिस्ट्रोहरु भए तापनि लिनक्सको प्रयोग गर्नु भन्दा पहिले आफ्नो आवश्यकताहरूको सहि पहिचान गर्न सकियो भने लिनक्स डिस्ट्रो छान्नु कुनै गार्‍हो कार्य भने पक्कै पनि हैन।

Sunday, January 20, 2008

इमेल लेख्दा ध्यान पुर्‍याउनु पर्ने केही कुराहरू

इमेल आधुनिक सूचना प्रविधिको युगको एक अपरिहार्य सञ्चारको माध्यम भइसकेको छ। पठाएको केही सेकेन्डमै विश्वको एक कुना देखि अर्को कुनामा सन्देश पठाउन सकिने यस प्रविधिले हामी सबैको जीवनशैलीमा अवश्य नै परिवर्तन ल्याएको छ।

चिठीको तुलनामा इमेललाई निकै नै अनौपचारिक तथा बढि व्यक्तिगत प्रयोजनको निम्ति प्रयोग गरिन्छ। साथीभाईहरुलाई सन्देश पठाउँदा जस्तो सुकै तरिकाले प्रयोग गर्न सकिने भए तापनि औपचारिक कार्यहरूका निम्ति यसको प्रयोग गर्दा भाषा तथा शैलीमा ध्यान पुर्‍याउनु राम्रो हुन्छ। इमेल प्रयोग गर्दा के के कुरामा ध्यान पुर्‍याउनु पर्छ त? आज हामी यसै विषयमा छलफल गर्दैछौँ।
  • इमेल लेख्दा कहिले पनि capital अक्षरहरूको प्रयोग गर्नु हुँदैन। capital अक्षरहरूको प्रयोग गर्दा कराएको वा ठूलो स्वरमा बोलेको भन्ने बुझिन्छ। कसैसैग साच्चै चिच्याएको आशय बाहेक capital अक्षरहरूको प्रयोग कहिल्यै गर्नु हुँदैन। पुरै इमेल capital अक्षरमा लेखिएको छ भने त्यस इमेल प्राप्त गर्ने व्यक्तिलाई कराएको जस्तो अर्थ लाग्छ। यो कुरा इमेल प्राप्त गर्ने व्यक्तिले पक्कै पनि राम्रो मान्नै छैन।
  • इमेल लेख्दा subject वा विषय को ठाउँ पनि खालि राख्नु हुँदैन। यदि तपाइ धेरै इमेल प्राप्त गर्ने व्यक्तिलाई मेल गर्दै हुनुहुन्छ भने उसलाई विषय खाली भएका मेल मिलाउन गार्‍हो हुने गर्दछ। त्यस्तै विषय खाली राख्दा यस्ता इमेललाई spam ठानी मेटाउने सम्भावना पनि रहने गर्दछ। त्यसमाथि विषयले पठाइएको इमेलको बारेमा छोटकरीमा जानकारी पनि दिने हुनाले विषय लेख्न नछुटाउन नै राम्रो हुन्छ।
  • त्यस्तै इमेलको subject मा Hi Hello जस्ता स साना शब्दहरू प्रयोग गर्नु सट्टा इमेलको बारे पूर्ण जानकारी दिने वाक्यहरूको प्रयोग गर्नु नै राम्रो हुने गर्दछ। यस्ता स‍-सामा शब्दहरूको प्रयोग गर्ना इमेल को विषय झन अस्पष्ट हुने गर्दछ।
  • इमेल एक भन्दा बढि व्यक्तिलाई पठाउनु छ भने Blind Carbon Copy अर्थात् BCC को प्रयोग गर्न पनि हिच्किचाउनु हुदैन्। धेरै व्यक्तिहरूले bcc को सट्टा Carbon copy अर्थात् cc को प्रयोग गर्ने गर्दछन्। तर यसरी cc को प्रयोग गर्दा सबैले इमेल क-कसलाई पठाइएको छ भनी थाहा पाउने हुनाले गोपनीयताको हिसाबले पनि bcc प्रयोग गर्नु राम्रो हुन्छ।
  • इमेल फर्वर्ड गर्दा पनि निकै नै ध्यान पुर्‍याउनु पर्छ। कुनै पनि मेल फर्वार्ड गर्दा त्यो इमेल प्राप्त गर्ने व्यक्तिलाई मन पर्ला कि मन नपर्ला भनि विचार गर्नु जरुरी हुन्छ। तपाईँलाई रमाइलो लाग्ने सामग्री अरू कुनै व्यक्तिलाई बेइज्जत गरेजस्तो लाग्न पनि सक्छ। त्यसैले इमेल फरवर्ड गर्दा साथीहरूको इमेल ठेगाना छान्दा उसलाई त्यस इमेल मन पर्ला कि नपर्ला भनी सुरुमै विचार गर्नु राम्रो हुन्छ।
  • आफूलाई आएको व्यक्तिगत इमेल पनि फरवर्ड नगर्दा नै राम्रो हुन्छ। यसरी forward गर्नै परेमा पनि इमेल पठाउने व्यक्तिको स्वीकृति लिनु राम्रो हुन्छ।
  • त्यस्तै नयाँ भाइरसको सूचना दिने आशय भएका इमेलहरू पनि अरुलाई फरवार्ड नगर्दा नै राम्रो हुन्छ। भाइरस सम्बन्धी इमेल पाउनु भनेको निकै नै असान्दर्भिक कुरा हो। यस्ता इमेलहरूमा भाइरस हटाउने सम्बन्धी पनि जानकारी हुन सक्छ, जसको प्रयोगले तपाईको साथीहरूको कम्प्युटर झन् बिग्रन पनि सक्छ। त्यसमाथि यस प्रकारका इमेलहरू ९९% गलत नै हुने गर्दछ। यसरी गलत सूचना अरुलाई पठाउनु पक्कै पनि राम्रो कुरो हैन।
  • इमेल पठाउँदा ठुल्ठुला attachment हरू पठाउनु पनि राम्रो हैन। धेरै इमेल भण्डारण क्षमता भएका प्रयोगकर्ताहरूलाई यो कुराले समस्या नपार्ला तर भण्डारण क्षमता कम भएका इमेलहरूमा यस्ता ठूला मलेहरु पठाउँदा भण्डारण पुर्णरुपमा भरिइ अरू इमेल प्राप्त गर्न नसक्ने पनि हुन सक्छ। त्यसमाथि इमेल पाउनेलाई यस्ता ठूला ठूला इमेलहरू हेर्न पनि झर्को हुने गर्दछ।
  • त्यस्तै इमेलमा attachment पठाउँदा दुई भन्दा बढि फाइलहरू छन् भने यस्ता फाइलहरूलाई zip गर्नु राम्रो हुन्छ। यसले गर्दा इमेल प्राप्त गर्ने व्यक्तिलाई यी फाइलहरू डाउनलोड गर्न सजिलो हुनुका साथै छिटो पनि हुने गर्दछ। यसरी zip गर्दा फाइलको आकार सानो हुने भएकाले पठाउँदा पनि कम समय लाग्ने गर्दछ।
  • इमेल पठाउनु भन्दा पहिले एक पटक पुरा इमेल पढ्न तथा spell check गर्न पनि बिर्सन हुँदैन। इमेल एकपटक पठाइसकेपछि रद्द गर्न मिल्दैन। तपाइले गरेको सानो गल्तीले अर्थको अनर्थ लगाउन सक्छ।
  • इमेलको अन्त्यमा आफ्नो नाम पनि लेख्न छुटाउनु हुदैन। हुन त इमेल प्राप्त गर्दा नै नाम आउने गर्दछ, तर कसैकसैले यसरी आएको नामलाई आधिकारिक नमान्न सक्छन। त्यस्तै इमेल अरुको इमेल account बाट पनि पठाउन सकिन्छ। त्यसैलै इमेलको अन्त्यमा आफ्नो नाम लेख्नु नै राम्रो हुने गर्दछ। यदि तपाईलाई आफ्नो नाम उल्लेख गर्न मन छैन भने आफूलाई सम्पर्क गर्न सकिने इमेल ठेगाना भने राख्न भुल्नु हुदैन।
  • इमेलको भाषिक शैली ले तपाईको मुडको बारेमा जानकारी दिन सक्छ। त्यस कारण खराब मुडमा इमेल नलेख्नु नै राम्रो हुन्छ।
  • इमेल प्राप्त गरिसकेपछि यदि त्यो आफूलाई मात्र पठाइएको हो भने reply पठाउन बिर्सन हुँदैन। यसो गर्दा पठाउने व्यक्तिलाई त्यो इमेल तपाइले प्राप्त गरिसक्नु भयो भन्ने कुराको पनि जानकारी हुने गर्दछ।
  • यदि तपाइ कुनै discussion group वा forum मा इमेलमा पठाउँदै हुनुहुन्छ भने कुनै पनि हालतमा आफ्नो वा अरु कसैको फोन वा इमेल ठेगाना उल्लेख गर्नु हुदैन। यसरी इमेल उल्लेख गर्दा अर्काको गोपनीयता भङ्ग हुनुका साथसाथै spam इमेलहरू पनि आउने सम्भावना हुने गर्दछ।
  • त्यस्तै आफूलाई प्राप्त भएको spam इमेलहरूलाई पनि कहिल्यै reply गर्नु हुदैन। यस्ता इमेल reply गर्दा spam इमेल पठाउने व्यक्तिहरूलाई तपाई साच्चिकै spam इमेल पनि हेर्नुहुन्छ भन्ने भान पर्न जान्छ र तपाईलाई झन् धेरै spam इमेल प्राप्त हुन सक्छ।
  • इमेल reply गर्दा reply तथा reply to all भनी दुई सुविधाहरू हुने गर्दछन्। reply मात्र गर्दा केबल इमेल पठाउने व्यक्तिलाई इमेल जाने गर्दछ। तर reply to all गर्दा इमेल प्राप्त गर्ने सबैलाई तपाईले पठाएको reply जाने गर्दछ। त्यसकारण यी दुई सुविधाको प्रयोग गर्दा निकै नै ध्यान पुर्‍याउनु गर्ने हुन्छ।
  • इमेल लेख्दा हामी शब्दहरूलाई निकै नै छोट्याउने गर्दछौ। जस्तै कि please लेख्दा plz, you को सट्टामा u मात्र। साथीभाइहरुका बीच यस्ता शब्दहरूले खासै फरक नपारे पनि औपचारिक मेल लेख्दा यस्ता शब्दहरूको प्रयोग नगर्दा नै राम्रो हुन्छ।
  • यदि तपाइ कुनै संस्थामा काम गर्नु हुन्छ र तपाईको त्यस संस्थाको इमेल ठेगाना छ भने त्यस इमेल ठेगानालाई आफ्नो व्यक्तिगत प्रयोजनका निम्ति प्रयोग नगर्दा नै राम्रो हुन्छ। त्यस्तै ती इमेलहरूमा अनावश्यक forward हरू पठाउनु पनि राम्रो हैन। फरक फरक संस्थाका इमेलको प्रयोग सम्बन्धी फरक फरक नियमहरू हुन सक्छन्। इमेलको प्रयोग गर्नु भन्दा पहिले नै इमेल प्रयोग सम्बन्धी संस्थाका नियमहरुबारे जानकारी राख्नु राम्रो हुन्छ।
  • इमेलको आकार सके सम्म छोटो राख्दा नै राम्रो हुने गर्दछ। साधारण चिठीको तुलनामा सबैले इमेल निकै नै ठूलो संख्यामा प्राप्त गर्ने गर्दछन्। त्यसैले आफ्नो कुरा छोटो राख्दा आफ्नो मात्र नभइ इमेल प्राप्त गर्ने व्यक्तिको पनि समयको बचत हुने गर्दछ।
सामान्य चिठीहरू जस्तै इमेल पनि एक प्रकारको चिठी नै हो। हामीले कागजी चिठीमा लगाउने मिहिनेत इमेलमा पनि लगाउँदा इमेल राम्रो तथा स्पष्ट नहोला भन्न सकिन्न।

Friday, January 11, 2008

कम्प्युटर सम्बन्धी केही गलत अवधारणाहरू

कम्प्युटर कसैका निम्ति खैलौना सरह हुने गर्दछ भने कसै कसैलाई यो कुरा निकै नै जटिल लाग्न पनि सक्छ। तर जुनसुकै प्रकारको प्रयोगकर्ता भएपनि धेरैमा कम्प्युटर सम्बन्धी गलत अवधारणाहरू रहेको पाइन्छ। यस्तै अवधारणाहरू मध्ये केही चर्चित अवधारणाहरूका बारेमा केही चर्चा गरौं।

धेरै खोल्ने बन्द गर्ने गर्दा कम्प्युटर बिग्रिन्छ
विद्युतीय सामान खोल्दा वा बन्द गर्दा त्यसमा केही मात्रामा विद्युतीय दवाब पर्ने गर्दछ र यस्ता यन्त्रहरू धेरै खोल्ने तथा बन्द गर्ने गर्दा पक्कै पनि आयु घट्ने गर्दछ। तर कम्प्युटर जस्तो दिनमा केही पटक मात्र खोल्ने तथा बन्द गर्दा कुनै खराबी गर्दैन। कम्प्युटर तथा अन्य कुनै पनि विद्युतीय उपकरणले यसरी हजारौं पटकको खोल्ने तथा बन्द हुने प्रक्रियालाई थेग्न सक्छ। यसरी खोल्ने तथा बन्द गरि कम्प्युटर बिग्रनलाई कम्तिमा पनि १०-२० वर्ष लाग्न सक्छ। त्यसैले धेरै खोल्ने बन्द गर्ने गर्दा कम्प्युटर बिग्रन्छ भन्नु तथा कम्प्युटरलाई जोगाइराख्न सधैं खुला राखिराख्नु एक गलत अवधारणा मात्र हो।

पुरा चार्ज गराउन ल्यापटपको ब्याट्री पूर्णरुपमा डिस्चार्ज गर्नु
यो पनि एक गलत धारणा हो। हुन त केही वर्ष पहिले Nickel Cadmium तथा Nickel Metal Hydride द्वारा बनेका ब्याट्री प्रयोग गर्दा यो कुरा सत्य हुन आउथ्यो तर अहिलेका Lithium-ion प्रयोग हुने ब्याट्रीहरूमा त्यस्तो समस्या आउँदैन। यो तथ्य ल्यापटपहरूमा मात्र नभइ मोबाइल फोनहरूमा पनि लागु हुन आउँछ।

स्क्रिन-सेभर
धेरैले कम्प्युटरमा स्क्रिन-सेभर प्रयोग गर्दा नाम अनुसार कम्प्युटरको मनिटरको आयु बढ्छ भन्ने बिश्वास राख्ने गर्छन्। तर यो पनि एक गलत धारणा हो। स्क्रिन-सेभरको प्रयोग पहिले पहिले श्याम-स्वेत मनिटरको बेला देखि हुन थालेको हो। त्यस्ता मनिटरहरूमा स्क्रिनलाई त्यसै छोडिराख्दा मनिटरमा देखिएको तस्विर सधैको लागि बस्ने गर्दथ्यो। यसको समाधानको निम्ति मनिटरमा देखिएको दृश्य परिवर्तन गरिराख्न स्क्रिन-सेभरको विकास गरिएको हो। तर अचेलका मनिटरहरूमा यस प्रकारको समस्या हुँदैन। यस अर्थमा स्क्रिन-सेभरले मनिटरको आयु बढाउने हैन कि मनिटरको बढि प्रयोगको कारणले गर्दा केही मात्रामा आयु घटाउने गर्दछ। त्यसमाथि काम नभएको बेलामा पनि मनिटरमा स्क्रिन-सेभर चलाइराख्नाले विद्युतको पनि खपत बढ्ने गर्दछ।

पेनड्राइभ safely remove नगर्नाले बिग्रन्छ
कम्प्युटरमा पेनड्राइभ safely remove नगर्दा विन्डोजले warning messege देखाउने गर्दछ। हामी सबैले पेनड्राइभ safely remove गर्ने बानी पनि बसाएका छौ। तर सत्य के हो भने, यसरी safely remove नगर्दा पनि पेनड्राइभ बिग्रँदैन। पेनड्राइभ तथा USB मा चल्ने अन्य सम्पूर्ण सामानहरू hot-swappable अर्थात् कुनै पनि बखतमा जोड्न तथा निकाल्न सकिन्छ। तर यसरी safely remove गर्नुको कारण के हो भने पेनड्राइभमा फाइल कपि गरिसकेपछि पनि डेटाहरु पूर्ण रुपमा कपि नभइसकेको हुन सक्छ। त्यसैले safely remove नगर्दा पेनड्राइभमा कपि भएका फाइलहरू कपि नभइसकेको तथा कुनै कुनै अवस्थामा बिग्रेको पनि हुन सक्छ। safely remove गर्दा कपि हुन बाँकी सम्पूर्ण डेटाहरु कपि हुने गर्दछ। त्यसैले safely remove नगर्दा डेटा बिग्रन सक्ने भएतापनि पेनड्राइभ नै बिग्रन्छ भन्नु गलत धारणा हो।

हार्डडिस्क defrag गर्नाले कम्प्युटर छिटो हुन्छ
यो कुरामा केही मात्रामा सत्यता भएपनि हार्डडिस्क defrag गर्दैमा कम्प्युटर छिटो हुने भने हैन। हार्डडिस्क defrag गर्ने प्रक्रिया धेरै पहिले विकास भएको हो, जतिबेला हार्डडिस्कहरू सानो क्षमताका तथा ढिलो गतिका हुने गर्दथे। र त्यतिबेला defrag गर्नाले कहिलेकाही कम्प्युटर छिटो हुने गर्दथ्यो। तर अहिलेका अत्यन्त छिटो गतिमा चल्ने हार्डडिस्कहरूका लागि defrag गरिराख्नु जरुरी छैन। अचेलका हार्डडिस्कहरू defrag गर्नु समयको बर्बादी मात्र हो।

भाइरस लाग्नाले कम्प्युटर पड्किन सक्छ
भाइरस अरू कुनै कम्प्युटर सफ्टवेयर जस्तै एक सफ्टवेयर प्रोग्राम हो। यसले कम्प्युटरमा रहेका डेटा तथा अन्य सफ्टवेयरहरूलाई बिगार्न सक्छ, तर कम्प्युटर नै पड्किने जस्ता हार्डवेयर सम्बन्धित खराबी भाइरसका कारणले हुदैन। र अहिले सम्म यस्ता भाइरसको विकास पनि भएको छैन।

मनिटरले X-Ray जस्ता विकिरण फाल्ने गर्दछ, जसका कारणले ट्युमर वा क्यान्सर हुन सक्छ
यो पूर्णरूपमा गलत धारणा हो। कम्प्युटर मनिटरका सिसामा lead का crystal को तह रहेको हुन्छ जसले xray जस्ता खराब विकिरणलाई रोक्ने गर्दछ। कम्प्युटर मनिटर बाट बढिमा २% विकिरण मात्र बाहिर आउने गर्दछ। यो प्रतिशत यति कम हो कि हामी घाममा बस्दा पनि यो भन्दा बढि विकिरण हाम्रो शरीरमा पर्ने गर्दछ। त्यसैले मनिटरले फाल्ने विकिरणका कारणले गर्दा स्वास्थमा कुनै खराबी हुँदैन।

तर कुनै कुनै पुराना मनिटरले तिखो खालको आवाज निकाल्ने गर्दछ, जुसले गर्दा कसै कसैमा टाउको दुख्ने तथा वाकवाकी लाग्ने जस्ता समस्या देखिएका छन्। त्यस्तै धेरैबेर मनिटर हेरिराख्दा आखामा समस्या आउने कुरालाई पनि नकार्न सकिन्न। तर यी कुनैमा मनिटरले फाल्ने विकिरणको हात भने छैन।

तर ल्यापटपहरूमा प्रयोग हुने जस्ता LCD मनिटरहरूले भने त्यस्तो कुनै पनि विकिरण फाल्ने गर्दैन।

कम्प्युटरको प्रोसेसर जति छिटो गतिको तथा महँगो भयो, त्यति राम्रो
नयाँ कम्प्युटर किन्ने धेरैलाई प्रोसेसर जति छिटो गतिको तथा महँगो भयो, त्यति राम्रो भन्ने लाग्न सक्छ, तर यसमा पूर्ण सत्यता भने छैन। कम्प्युटर चाँडो हुनुमा धेरै कुराहरूको हात हुने गर्दछ जसमध्ये कम्प्युटरको र्‍याम, हार्डडिस्क को गति तथा अन्य धैरै कुराहरू पर्ने गर्दछ।

चुम्बकले मेमोरि कार्डको डेटा बिगार्छ
चुम्बकले पहिले पहिले प्रयोग हुने फ्लपी डिस्क बिगार्न सक्ने भएपनि अहिले प्रयोग हुने पेन ड्राइभ तथा मेमोरि कार्डका डेटा भने बिगार्न सक्दैन। अहिलेका पेन ड्राइभ तथा मेमोरि कार्डहरूमा कुनै पनि चुम्बकीय तत्वको प्रयोग गरिएको हुदैन।

कम्प्युटर shut down नगरि बन्द गर्दा बिग्रन्छ
कम्प्युटरलाई राम्रो सँग shut down नगरि बन्द गर्दा फाइलहरू बिग्रने, हराउने तथा पुरै कम्प्युटर नै बिग्रन सक्छ भन्ने गरिन्छ। सैद्धान्तिक रुपमा यो कुरा केही हद सम्म ठीक पनि हो। तर अधिकांश समयमा कम्प्युटर यसरी shut down नगरि बन्द गर्दा खासै कुनै हानी गर्दैन। त्यसकारण बत्ती गई कम्प्युटर बन्द भएमा पनि कम्प्युटर बिग्रेला भनी चिन्ता गरिरहनु पर्दैन। तर यसो भन्दैमा shut down नगरि कम्प्युटर बन्द गर्ने बानी भने नबसाल्नु होला। कम्प्युटर बन्द गर्न shut down गर्नु नै सही तरिका हो।