Sunday, December 30, 2007

सन् २००८ का लागि सूचना तथा प्रविधिसँग सम्बन्धित केही अनुमानहरू

सन् २००७ सकिनै लागिसकेको छ। सन् २००७ को अन्त्य संगसंगै अब आउँदो २००८ मा सूचना तथा प्रविधिको क्षेत्रमा के के नयाँ आविष्कार तथा विकासहरू हुने हुन, यस बारेमा पनि निकै नै टीका-टिप्पणी तथा अड्कलबाजीहरू हुन थालिसकेका छन्।

विन्डोज भिष्टा
माइक्रोसफ्ट विन्डोज को नयाँ सँस्करण भिष्टाको निम्ति यस सन् २००७ निकै नै नराम्रो रह्यो। सकारात्मक भन्दा नकारात्मक पक्ष धेरै भएकाले धेरैले आफ्नो कम्प्युटरमा माइक्रोसफ्टको यस नयाँ सञ्चालन प्रणाली राखेनन्, र जसले राखे ती पनि यस विन्डोज भिष्टाको ढिलो चल्ने तथा र्‍याम धेरै प्रयोग हुने समस्याबाट दिक्क भइ पुरानै विन्डोज XP तिरै पुन लाग्न थालिसकेका छन्। यस कारण पनि माइक्रोसफ्ट ले २००८ मा भिष्टालाइ भन्दा XP लाई नै प्रबर्द्धन गर्ने बारे धेरै कम्प्युटर विज्ञहरूले अड्कलबाजी गरेका छन्। २००८ मा पनि धेरैले विन्डोज XP कै प्रयोग गर्ने कुरा विश्वास गरिएको छ।

लिनक्स
माइक्रोसफ्टको खराब Operating System तथा भाइरस अनि सुरक्षा सम्बन्धी कारणले धेरैले माइक्रोसफ्ट विन्डोज को सट्टा लिनक्स प्रयोग गर्न थालेका छन्। र यो प्रक्रिया २००८ मा अझ झन तीब्र गतिमा हुने कुराको विश्वास कम्प्युटर विज्ञहरूले लिएका छन्। विश्वव्यापी रुपमा सरकारी तवरमा पनि लिनक्सको प्रयोग, गुगलद्वारा लिनक्समा आधारित Android नामक मोबाइल सञ्चालन प्रणालीको विकास तथा प्रबर्द्धन तथा सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कम्पनीहरूले लिनक्स तथा खुला तथा स्वतन्त्र सफ्टवेयरमा देखाउन थालेको चासोका कारणले पनि लिनक्सको प्रयोग २००८ मा अझै बढ्ने कुरामा धेरैले विश्वास लिएका छन्।

प्रविधि तथा वातावरण को तालमेल
आउँदो २००८ मा प्रविधि तथा वातावरण को तालमेल सम्बन्धी कुरामा निकै ध्यान दिइने कुराको पनि भविष्यवाणीहरू गर्न थालिएको छ। विश्वव्यापी रुपमा बिग्रँदो वातावरण सम्बन्धी बहस भइरहेको बेला सूचना प्रविधिको क्षेत्र पनि यसबाट टाढा रहनु सम्भव छैन। सूचना प्रविधि सम्बन्धी अब आउने उपकरणहरू बनाउँदा वातावरण तथा कम उर्जा खपत हुने गरि बनाउने कुरामा सन् २००८ मा ध्यान दिइने छ।

नेटवर्क सम्बन्धी विकासहरू
आउँदो २००८ मा कम्प्युटरका नेटवर्क सम्बन्धी उपकरण तथा प्रविधिमा अझ सुधार तथा बिकास हुने कुरा पनि कम्प्युटर विज्ञहरूले बताएका छन्। मोबाइल जस्ता साना उपकरण मात्र नभइ ठूला उपकरणहरूमा पनि WiFi जस्ता प्रविधिहरू समायोजन हुने छन्। मिडियाको खोज, अनलाइन सपिङ तथा अन्य विभिन्न नेटवर्क सम्बन्धी सफ्टवेयर तथा सुविधाको प्रयोग अझ बढ्नेछ।

Virtualization
कम्प्युटरमा virtualization सम्बन्धी प्रविधि पनि २००८ मा निकै नै विकास हुने छ। Virtualization को माध्यमद्वारा एकै कम्प्युटरमा विभिन्न प्रोसेसर तथा प्रणालीहरूलाई सञ्चालन गर्न सकिन्छ। उदाहरणको लागि virtualization को माध्यमद्वारा विन्डोजभित्रै लिनक्स चलाउन सकिन्छ। पहिले पहिलेका कम्प्युटरहरूमा केवल एक प्रोसेसर हुने भएकाले यो प्रविधि निकै नै जटिल तथा महँगो मानिन्थ्यो तर अहिले प्रोसेसर भित्र एक भन्दा बढि प्रोसेसरहरू हुने dual तथा quad प्रोसेसरहरूको विकास भैसकेकाले तथा यस्ता प्रोसेसरहरू सामान्य हुनै गइरहेकाले २००८ मा virtualization प्रविधि अझ बढ्दो रुपमा प्रयोग हुने निश्चित छ।

मोबाइल
यसबाहेक आउँदो २००८ मा मोबाइल जस्ता साना उपकरणहरू PC कम्प्युटर सरह हुने तथा यस्ता उपकरणमा पनि कम्प्युटरकै जस्तै तीब्र गतिको इन्टरनेटको सुविधा उपलब्ध हुने देखिएको छ। हुन त नोकिया र मोबाइल सेवा प्रदायक भोडाफोन जस्ता कम्पनीहरूले यो हुन नदिने प्रयास गर्छन्, तर यसै वर्ष निकालिएको Apple Corporation को iPhone तथा गुगलको मोबाइल सञ्चालन प्रणाली Android को विकास र यसको लोकप्रियताका कारणले अन्त्यमा मोबाइल उपकरणहरू नै हावी हुने कुरा अड्कल गरिएको छ।

भण्डारण
त्यस्तै कम्प्युटर विज्ञहरुले कम्प्युटरका भण्डारण प्रणाली तथा क्षमताको बारेमा पनि निकै अड्कलहरू गरेका छन्।

फ्ल्यास मेमेरीको भाउ घट्दै गइरहेकाले २००८ मा फ्ल्यास मेमेरी युक्त हार्ड डिस्कहरू निकै नै लोकप्रिय हुने तथा यसको भाउ पनि निकै ठूलो मात्रामा घट्ने अड्कल गरिएको छ। त्यस्तै सन् २००८ मा कम उर्जा खपत हुने हार्ड डिस्क सम्बन्धी निर्माण तथा अनुसन्धान को क्रंम पनि जारी रहने छ।

इन्टरनेट
त्यस्तै इन्टरनेट तथा वेब को क्षेत्रमा पनि निकै अड्कलबाजीहरू भएका छन्।

आउँदो २००८ मा बढि भन्दा बढि प्रयोगकर्ता केन्द्रित वेबसाइटको विकास हुने देखिएको छ। त्यस्तै Semantic web को क्षेत्रमा पनि निकै नै सुधार हुने कुराको अड्कल पनि कम्प्युटर पण्डितहरूले गरेका छन्।

त्यस्तै वेब २.० को क्षेत्रमा पनि निकै सुधार हुने तथा धेरै भन्दा धेरै वेबसाइटहरू वेब २.० मा परिवर्तन हुने बारेमा पनि निकै अड्कल भएका छन्। त्यस्तै वेब २.० मा प्रयोग हुने AJAX, RSS जस्ता प्रविधिहरूको प्रयोगमा पनि बृद्धि हुने देखिन्छ।

त्यस्तै वेब ब्राउजरको क्षेत्रमा फायरफक्स ब्राउजरले अहिले सबैभन्दा बढि प्रयोग हुने इन्टरनेट एक्सप्लोरर् लाई उछिन्ने कुरामा पनि धेरै कम्प्युटर विज्ञहरु ढुक्क भएका छन्।

त्यस्तै इन्टरनेटको प्रयोग बढि भन्दा बढि मोबाइलहरूमा हुने कुराको पनि अनुमान गरिएको छ।

धेरैले अब २००८ मा वेबमा हुने नया आविस्कार तथा नया प्रविधिहरु अमेरिका तथा पश्चिमी नभइ चीन, जापान जस्ता एसियाली राष्ट्रहरूमा हुने अनुमान गरेका छन्।

नकारात्मक अनुमानहरू
यसबाहेक सन् २००८ का निम्ति केही नकारात्मक अड्कलबाजीहरु पनि भएका छन्।

The Economist Magazine ले गरेको एक अड्कल अनुसार सन् २००८ मा इन्टरनेट निकै नै सुस्त गतिको हुने छ। सङ्गीत तथा भिडियो डाउनलोड गर्ने क्रम बढिरहेकाले र यस सम्बन्धी वेबसाइटहरू पनि बढिरहेकाले इन्टरनेटको जाम हुने त हैन भन्ने शङ्का पनि गरिएको छ।

त्यसतै गुगलको बढ्दो प्रभावको बारेमा जनमानसमा निकै नै शङ्का उपशङ्का हुने तथा प्रयोगकर्ताहरू केही मात्रामा गुगलको विपरीत जाने कुराको पनि अड्कल गरिएको छ।


यी सबै अड्कलहरूबाट के भन्न सकिन्छ भने सन् २००८ मा कम्प्युटर तथा सूचना प्रविधिको क्षेत्रमा निकै नै सुधार तथा परिवर्तनहरू हुनेछन्। यी सबै सकारात्मक अड्कलहरु पुरा होस् र यसबाहेक अन्य धेरै प्रविधि तथा आविष्कारहरू ले २००८ भरिपूर्ण होस् भनी हामी आशा गर्न सक्छौ।

स्रोत: PCWorld, The Economist, Slashdot.org

Saturday, December 22, 2007

आर एस एस (RSS)

केही वर्ष यता इन्टरनेटमा सूचना आकासिँदो रूपमा बढ्दै गइरहेको छ। ब्लग, social bookmarking जस्ता सूचना आदानप्रदान हुने वेबसाइटहरू दिनप्रतिदिन थपिँदै गइ रहेका छन्। पहिले पहिले हामी सूचना प्राप्त गर्नका निम्ति वेबसाइटहरू जाने गर्थ्यौ तर अचेल त्यस्ता वेबसाइटहरूको सङ्ख्या यति धेरै भइसक्यो कि एक त ती वेबसाइटहरूका नाम मात्र सम्झन पनि गार्‍हो भैसकेको छ, अर्को ती सबै वेबसाइटहरूमा रहेका त्यति धेरै सूचना वेबसाइटमै गइ हेरिरहन समयको दृष्टिकोणले पनि असान्दर्भिक भएको छ। यी सबै समस्याको समाधानको रुपमा RSS एक उपयोगी प्रविधिको रुपमा देखा परेको छ।

RSS को पुरा नाम RDF Site Summary भए तापनि यसलाई Rich Site Summary वा Really Simple Syndication पनि भन्ने गरिएको छ। सामान्य रूपमा भन्नु पर्दा यस प्रविधिको प्रयोग गरेर कुनै पनि समाचार वा सूचना धेरै प्रयोगकर्ता माझ निकै सजिलो तरिकाले पुर्‍याउन सकिन्छ। RSS लाई Syndication वा Feed पनि भन्ने गरिन्छ।

प्रयोगकर्ताको दृष्टिकोणबाट हेर्ने हो भने RSS ले सूचना प्राप्त गर्ने तरिकालाई निकै छिटो तथा सजिलो बनाइदिन्छ। यदि तपाई कुनै एक मात्र समाचारको साइट हेर्नु हुन्छ भने, त्यस साइटमा बारम्बार गइ समाचारहरू हेरि रहन त्यति गार्‍हो नहोला। तर यदि तपाई त्यस्ता धेरै समाचार तथा ब्लगका साइटहरू हेरिरहनुहुन्छ भने ती सबै वेबसाइटहरूमा गइ नयाँ समाचार वा सूचना छ कि छैन भनेर हेरिरहनु निकै झन्झटिलो हुनुका साथै समयको पनि बर्बादि हुने गर्दछ। त्यसमाथि आफुले सर्फ गर्ने साइटमा सूचना update नभएको पनि हुन सक्छ। अत्यन्त छिटो गतिमा चल्ने सूचना प्रविधिको युगमा यो तरिका निकै नै ढिलो हुने गर्दछ।

यो सबै प्रक्रियालाई हेर्ने हो भने के निष्कर्ष निकाल्न सकिन्छ भने यो तरिकामा प्रयोगकर्ता नै सूचनाको स्रोत तर्फ गइरहेको देखिन्छ। तर RSS को माध्यमद्वारा प्रयोगकर्ता सूचनाको स्रोत तर्फ जाने नभइ सूचना नै प्रयोगकर्ता तर्फ आउने गर्दछ।

RSS मार्फत सूचना प्राप्त गर्नका निम्ति आफ्नो कम्प्युटरमा RSS Reader सफ्टवेयर हाल्नु पर्दछ। यदि तपाई विन्डोज चलाउनु हुन्छ भने मेजिला Thunderbird वा SharpReader जस्ता सफ्टवेयरको प्रयोग गर्न सक्नु हुन्छ। त्यस्तै लिनक्सका लागि Aggregrator वा Liferea Feed Reader जस्ता सफ्टवेयर रहेका छन्। RSS प्रयोग गर्नका निम्ति अनलाइन वेबसाइटहरूपनि रहेका छन्। यदि तपाईको Gmail account छ भने गुगलकै RSS Reader सफ्टवेयर google.com/reader मा गइ प्रयोग गर्न सक्नु हुन्छ। यसबाहेक RSS प्रयोग गर्नका निम्ति bloglines.com वा newsgator.com जस्ता अनलाइन वेबसाइटहरू पनि रहेका छन्। यदि तपाईको याहु account छ भने yahoo मा पनि यो सुविधा रहेको छ।

RSS बाट सूचना प्राप्त गर्नका निम्ति सर्वप्रथम जुन वेबसाइटको सूचना चाहिने हो, त्यस वेबसाइटमा RSS प्रविधि हुनु जरुरी हुन्छ। यदि वेबसाइटमा नै RSS प्रविधि छैन भने त्यस वेबसाइटको सूचना RSS मार्फत हेर्न सकिन्न। तर अचेलका प्राय सम्पूर्ण ब्लग वा सूचना सम्बन्धी वेबसाइटहरूमा यो सुविधा हुने गर्दछ।

RSS बाट सूचना प्राप्त गर्नका निम्ति सर्वप्रथम त्यस वेबसाइटको RSS ठेगाना पत्ता लगाउन जरुरी हुन्छ। यदि वेबसाइटमा RSS को सुविधा छ भने सानो सुन्तला रङ्गको बटन हुने गर्दछ, त्यसमा क्लिक गरि RSS को ठेगाना प्राप्त गर्न सकिन्छ। यदि तपाई RSS प्रयोग गर्ने सफ्टवेयर कम्प्युटरमा हाल्नु भएको छ भने त्यसैमा कुनै पनि वेबसाइटको RSS ठेगाना आफै पत्ता लगाउने सुविधा पनि हुने गर्दछ।
यसरी RSS ठेगाना सफ्टवेयरमा हालिसकेपछि त्यस RSS Readerसफ्टवेयरले त्यस वेबसाइटको सूचनाहरू कम्प्युटरमा डाउनलोड गर्न थाल्छ। एक भन्दा बढि वेबसाइटहरूको ठेगाना त्यस सफ्टवेयरमा हाली सबै वेबसाइटहरूका सूचनाहरू एकै ठाउँमा पढ्न पनि सकिन्छ। यदि तपाईले RSS को प्रयोग समाचार पढ्न प्रयोग गर्नु हुन्छ भने RSS मार्फत समाचारको शीर्षक र छोटकरीमा समाचार प्राप्त हुने गर्दछ। यदि तपाईलाई सम्पूर्ण समाचार पढ्न मन लागेमा त्यस शीर्षकमा क्लिक गरी वेबसाइटमा गइ पुरा समाचार पनि पढ्न सकिन्छ।

त्यस्तै RSS को निम्ति अनलाईन RSS Reader वेबसाइटहरूको प्रयोग नगरि कम्प्युटरमै सफ्टवेयर हाल्नु भएको छ भने, त्यस सफ्टवेयरले इन्टरनेट जोडेको बेला समाचार तथा सूचना डाउनलोड गरि कुनै नयाँ समाचार भएमा सूचित पनि गराउने गर्दछ। त्यसमाथि पुरै वेबपेज डाउनलोड गर्नुको सट्टा शीर्षक र केही वाक्यहरू मात्र डाउनलोड गर्नु भएकाले RSS वेबसाइट हेर्नु भन्दा निकै नै छिटो पनि हुने गर्दछ।

RSS को यति जानकारी पछि यसको प्रयोग गर्ने बारे क्रमबद्ध रुपमा पुन चर्चा गरौ।
  • कुनै पनि वेबसाइटको RSS मार्फत सूचना प्राप्त गर्नका निम्ति सर्वप्रथम त्यस वेबसाइटको RSS ठेगाना थाहा हुनु जरुरी हुन्छ। प्राय वेबसाइटको वेबसाइट ठेगाना नै RSS ठेगाना पनि हुने गर्दछ भने कुनै वेबसाइटमा त्यसो नहुन पनि सक्छ
  • त्यसकारण सर्वप्रथम जुन वेबसाइटको सूचना RSS मार्फत हेर्न मन छ, त्यस वेबसाइटमा जानुहोस
  • त्यस वेबसाइटमा एउटा सानो सुन्तला रङ्गको बटन हुने गर्दछ, त्यसमा क्लिक गर्नुहोस्
  • यदि तपाई फायरफक्स ब्राउजरको प्रयोग गर्नु हुन्छ RSS को सुविधा भएको वेबसाइट सर्फ गर्दा address bar को दायाँतिरै सुन्तला रङको बटन देखा पर्ने गर्दछ, त्यसमा क्लिक गरेर पनि RSS ठेगाना प्राप्त गर्न सकिन्छ।
  • यसरी प्राप्त भएको RSS ठेगाना लाई तपाईले प्रयोग गर्ने RSS Reader सफ्टवेयरमा हाल्नुहोस्
  • RSS सफ्टवेयरले त्यस वेबसाइटको सूचनाहरू डाउनलोड गर्न थाल्छ
  • यही तरिकाले अन्य विभिन्न वेबसाइटहरू पनि RSS Reader मा थप्न सकिन्छ
  • RSS सफ्टवेयर कम्प्युटरमा हाल्नुभएको हो भने त्यसलाई background मा चलाउने सुविधा त्यस सफ्टवेयरमा रहेको हुन्छ, र कम्प्युटर इन्टरनेटमा जोडिएको वेला नयाँ सूचना आएमा आफै सूचित पनि गराउने गर्दछ।
सबै अन्तर्राष्ट्रिय समाचारका वेबसाइटहरू तथा प्राय सम्पूर्ण ब्लग साइटहरुले यो प्रविधिको प्रयोग गरे तापनि ekantipur.com, nepalnews.com तथा hamrosamachar.com जस्ता नेपालका प्रमुख समाचार वेबसाइटहरूमा अझै पनि यो प्रविधिको प्रयोग गरिएको छैन। आशा गरौँ यी तथा अन्य नेपाली वेबसाइटहरूमा पनि छिट्टै नै RSS प्रविधिको प्रयोग गरिने छ।

Sunday, December 9, 2007

वेब २.०


यदि तपाइ लामो समय देखि इन्टरनेट चलाउँदै आउनु भएको छ भने तपाईँले अनुभव गर्नु भएको होला कि अचेलका वेब पेजहरू तथा समग्र रुपमा इन्टरनेट नै निकै फरक किसिमको हुँदै गइरहेको छ। पहिला पहिला वेब पेजहरू कुनै एक कम्पनी वा विकासकर्तामा केन्द्रित हुने गर्थ्यो भने अहिलेका धेरैजसो वेबपेजहरू प्रयोगकर्ता केन्द्रित हुँदै गइरहेका छन्। झट्ट हेर्दा अहिलेका वेबपेहहरू बढी प्रयोगकर्ता केन्द्रित, सूचना आदानप्रदान गर्न मिल्ने तथा मिलेर केही काम गर्ने खालका हुने गरेका छन्। यस्ता नयाँ पुस्ताका वेबपेजहरूलाई इन्टरनेट वेबको दोस्रो सँस्करण वा वेब २.० भन्ने गरिन्छ।

इन्टरनेट चलाउने जो कोहीले याद गर्ने गरेको कुरा के हो भने केही वर्षयता ब्लग, विकि, Hi5, Facebook जस्ता Social Networking वेबसाइटहरू तथा प्रयोगकर्तालाई मुख्य प्राथमिकता दिइएको वेबसाइटहरू निकै चलनचल्तीमा आइरहेका छन्। यस्ता वेबसाइटहरू लाई राम्रो संग हेर्ने हो यस्ता वेबसाइटहरूमा सूचना आदानप्रदान तथा प्रयोगकर्ताको सहभागिता प्रमुख तत्वको रुपमा रहने गरेका हुन्छन्।

केही समय अगाडि सम्म वेबसाइटहरू एकतर्फी हुने गर्दथे। वेबसाइटका विकासकर्ता वा त्यससम्बन्धि कम्पनीले वेबसाइटमा सूचनाहरू हाल्ने गर्दथे र वेबसाइटहरू हेर्ने प्रयोगकर्ताहरूले त्यसमा रहेका सूचना एकतर्फी रुपमा हेर्ने तथा पढ्ने गर्दथे। सरल रुपमा भन्नु पर्दा प्रयोगकर्ताहरूले वेबसाइटहरू मात्र सर्फ गर्ने गर्दथे। तर अहिलेका वेब २.० का वेबसाइटहरूमा प्रयोगकर्ताको सहभागितालाई प्रमुख प्राथमिकता दिने गर्दछन्। अहिले निकै ब्लग साइटहरु चलनचल्तीमा आएका छन् जहाँ प्रयोगकर्ताहरूले नै सूचना सिर्जना गर्ने गर्दछन्। यसबाहेक वेब २.० का सबै वेबसाइटहरूमा सूचना प्राप्‍त गर्ने व्यक्तिको सहभागितालाई पनि ध्यान दिइएको हुन्छ। हरेक व्लग साइटमा ब्लगरको आफ्नो लेख बाहेक पाठकले पठाउने comment को पनि ठूलो भुमिका हुने गर्दछ।

सूचना आदानप्रदान को क्षेत्रमा वेब २.० को अर्को ठूलो पाटो विकिहरुलाई लिन सकिन्छ। हामी सबैले विकिपेडिया प्रयोग गर्ने गर्दछौ। यस्ता विकिहरूमा प्रयोगकर्ताहरूले नै लेख तथा सूचनाहरू निर्माण गर्ने गर्दछन्। यसरी विकिपेडिया जस्ता विकिहरुमा सम्पूर्ण रुपमा प्रयोगकर्ताको सहभागिता रहने गर्दछ। वेब २.० को सुरुवात भन्दा पहिले विश्वकोशको रुपमा Microsoft Encarta वा Britannica जस्ता विश्वकोशहरू थिए जसमा रहेका सम्पूर्ण लेख तथा रचनाहरू कुनै एक व्यक्ति वा कम्पनीले राख्ने गर्दथे। त्यसका साथसाथै प्रयोगकर्ताहरूलाई त्यसमा रहेका लेखहरू सच्याउने तथा प्रतिक्रिया दिने कुनै सुविधा हुदैनथ्यो। यसको विपरीत विकिपेडिया जस्ता वेब २.० का वेबसाइटहरूले प्रयोगकर्ता तथा पाठकलाई वेबसाइटको प्रमुख पाटोको रुपमा प्रस्तुत गर्ने गर्दछ।
त्यस्तै अहिले निकै नै चलनचल्तीमा रहेका Social Bookmarking साइटहरू पनि वेब २.० को अन्तर्गत पर्ने गर्दछन्। Slashdot.org, Digg.com जस्ता इन्टरनेटमा रहेका राम्रा तथा महत्वपूर्ण वेबसाइटहरू को सूची लोकप्रियताको आधारमा देखाइने यस्ता वेबसाइटका सम्पूर्ण सूचनाहरू प्रयोगकर्ताहरूले नै निर्माण गर्ने गर्दछन्।

हामी मध्ये धेरैले प्रयोग गर्ने Hi5, Facebook तथा Myspace जस्ता Social Networking अर्थात् साथीहरूको सञ्जाल बनाउने वेबसाइटहरू पनि वेब २.० अन्तर्गत पर्ने गर्दछन्। यस्ता सञ्जालहरूमा सूचनाहरूको निर्माण तथा व्यवस्थापन सम्पूर्ण रुपमा प्रयोगकर्ताहरूले नै गर्ने गर्दछन्।

यस बाहेक वेबसाइटको प्रविधि तथा प्रस्तुतिको हिसाबले पनि वेब २.० निकै नै फरक हुने गर्दछ। वेब २.० को प्रमुख पक्षको रुपमा RIA अर्थात् Rich Internet Application रहने गर्दछ।

यदि तपाईले गुगलको Gmail चलाउनु भएको छ भने अरू मेल भन्दा पक्कै पनि निकै भिन्नता पाउनु भएको होला। Gmail मा मेलहरु हेर्न तथा पठाउन निकै नै सजिलो तथा छिटो हुने गर्दछ। यसको पछाडि Gmail बनाउन प्रयोग गरिएको AJAX नामक प्रविधिको निकै नै ठूलो हात रहेको छ। Hotmail जस्ता मेलहरुमा कुनै मेल खोल्दा नयाँ पेज खुल्ने गर्दछ, तर Gmail मा मेल त्यसै पेजभित्र निकै छिटो गतिमा खुल्ने गर्दछ। यसरी एकै पेजमा रहि सुचनाहरु देखाउनका निम्ति AJAX प्रविधिको ठुलो हात रहेको हुन्छ। यसरी AJAX को प्रयोग गरि बनाइएका वेबपेजहरुमा सूचना एकै पेजमा कुनै सफ्टवेयर चलाएजस्तै देखा पर्ने गर्दछ, जसले गर्दा प्रयोगकर्तालाई निकै सजिलो हुनुका साथै चाँडो काम पनि गर्न सकिन्छ। AJAX प्रविधि प्रयोग गरि बनाइएका वेबसाइटहरू वेब २.० भित्र पर्ने गर्दछन्।

वेब २.० का वेबसाइटहरूमा साइटको संरचना मा पनि निकै ध्यान पुर्‍याइएको हुन्छ। वेब २.० का साइटहरू बनाउँदा पालना गर्नु पर्ने सम्पूर्ण नियमहरूमा ध्यान पुर्‍याउनु पर्ने हुन्छ। W3C नामक संस्थाले वेबपेजहरु विकास गर्दा ध्यान पुर्‍याउनु पर्ने विभिन्न कुराहरूको निर्धारण गर्ने गर्दछ। यस्ता नियमहरूमा वेबपेजको code अर्थात् HTML सहि रुपमा लेख्ने तरिका, वेबसाइटहरू लाई बढि भन्दा बढि प्रयोग योग्य बनाउन प्रयोग हुने नियमहरू पर्ने गर्दछन्। यस्ता नियमहरु प्रयोग गर्दा वेबसाइटहरू राम्रा मात्र नभइ गुणस्तरीय तथा एक रुपका हुने गर्दछन्। जसको कारणले वेब २.० का वेबसाइटहरू प्रयोग गर्दा आधारभूत कुराहरू मात्र जाने पुग्छ।

त्यस्तै वेब २.० मा श्रव्य तथा दृष्य लाई पनि निकै प्राथमिकता दिइएको हुन्छ। नेपालमा त्यति प्रचलनमा आइ नसकेको भए पनि विश्वव्यापी रुपमा Youtube, Metacafe जस्ता भिडियो आदानप्रदान गर्ने वेबसाइटहरू निकै प्रचलित रहेका छन्। यस्ता वेबसाइटहरू पनि वेब २.० अन्तर्गत पर्ने गर्दछन्।

वेब २.० को सबै भन्दा प्रमुख पक्ष के हो भने यस्ता वेबसाइटहरूमा सूचनालाई प्रमुख प्राथमिकता दिइएको हुन्छ। यसरी सूचनालाई प्राथमिकता दिने क्रममा RSS तथा feed जस्ता प्रबिधिहरू प्रमुख रुपमा आउने गर्दछन्। प्रयोगकर्ता केन्द्रित हुने हुँदा वेब २.० का वेबसाइटहरूमा सूचना निकै छिटो गतिमा तथा निकै ठूलो मात्रामा निर्माण हुने गर्दछ। यस्तो परिस्थितिमा घरीघरी वेबसाइटमा गइ उक्त सूचना हेरिरहनु निकै नै अप्ठ्यारो हुने गर्दछ। यस समस्याको समाधानका निम्ति RSS तथा Feed जस्ता प्रविधिको विकास भएको हो। यस्ता प्रविधिको प्रयोगले प्रयोगकर्ता वेबसाइटमा गइ सूचना हेर्ने नभइ सूचना नै प्रयोगकर्ता सम्म आइपुग्ने गर्दछ। यसले गर्दा आफुले चाहेको सूचना मात्र हेर्ने सुविधा हुनुका साथै समयको पनि निकै बचत हुने गर्दछ।

वेब २.० को अर्को महत्वपूर्ण पक्ष के हो भने यसले हामीले कम्प्युटर चलाउने तरिका मा निकै नै परिवर्तन ल्याउँदै छ। वेब २.० को माध्यमद्वारा हामीले कम्प्युटरमा चलाउने विभिन्न सफ्टवेयरहरू इन्टरनेटमा देखा पर्न थालेका छन्। हामीले कम्प्युटरमा चलाउने Microsoft word जस्तै Google ले Google Document नामको सफ्टवेयर बनाएको छ, जुन वेबपेजका रुपमा चल्ने गर्दछ। तपाइले कम्प्युटरमा Word मा फाइलहरू सम्पादन गरे जस्तै Google Document मा आफ्ना फाइलहरू सम्पादन गर्न सकिन्छ। फरक यत्ति छ कि Google Document इन्टरनेटमै वेबसाइटको रुपमा उपलब्ध छ र यसलाई कम्प्युटर हाल्नु पर्दैन। यसबाहेक फोटोहरू सम्पादन गर्ने तथा अन्य विभिन्न सफ्टवेयरहरू इन्टरनेटमा वेबपेजका रुपमा उपलब्ध हुन थालेका छन्। यस्ता सबै वेबपेजहरू वेब २.० अन्तर्गत पर्ने गर्दछन्। यस्ता वेब २.० सफ्टवेयरहरूको विकासले गर्दा भविष्यमा कम्प्युटरमा इन्टरनेट चलाउने ब्राउजर मात्र भए पनि आफ्नो सम्पूर्ण काम गर्न सकिने अवस्था नआउला भन्न सकिन्न।